Hilsa Yatayat

तन्नेरीले सोधे– किन दिने तिमीलाई भोट ?

निर्वाचनमा विजयी उम्मेदवारलाई आफुले प्रतिवद्धता गरेका योजनाहरु पुरा गरे नगरेको विषयमा पनि यस्तै युवा पुस्तासंग डिवेटको कार्यक्रमहरु गरी सचेत तथा खबरदारी गरिने
तन्नेरीले सोधे– किन दिने तिमीलाई भोट ?

२१ बैशाख, सुर्खेत– वीरेन्द्रनगर नगरपालिकाका मेयरका उम्मेदवारलाई एक ठाउंमा राखेर तन्नेरीहरुले स्थानिय तहको निर्वाचनमा भोट दिनुपर्ने कारण सोधेका छन् ।


आज वीरेन्द्रनगर नगरपालीकाको कार्यालयमा तन्नेरी चासो सुर्खेतले विभिन्न राजनीतिक पार्टीका मेयरका उम्मेदवारहरु बीच ‘डिवेट’ कार्यक्रमको आयोजना गरी सबै उम्मेदवारहरुलाई भोट दिनुपर्ने कारणबारे जान्न चाहेका हुन् । कार्यक्रममा नेपाली कांग्रेसका देवकुमार सुवेदी, नेकपा एमालेका बालाराम शर्मा, माओवादी केन्द्रका रत्न बहादुर गाहा मगर, स्तन्त्रबाट गेहेन्द्र प्रसाद दाहाल र राप्रपाबाट इश्वर श्रेष्ठ गरी ५ जना मेयरका उम्मेदवारलाई सहभागी बनाइएको थियो । निर्वाचनमा विजयी उम्मेदवारलाई आफुले प्रतिवद्धता गरेका योजनाहरु पुरा गरे नगरेको विषयमा पनि यस्तै युवा पुस्तासंग डिवेटको कार्यक्रमहरु गरी सचेत तथा खबरदारी गरिने तन्नेरी चासो सुर्खेतका नवराज खरालले जानकारी दिए ।


यस्ता छन् उम्मेदवारका योजनाहरु:  


नेपाली कांग्रेस–देवकुमार सुवेदी


माटो र प्रविधिलाई चिन्ने समाज बनाउछु । फोहोर मैला व्यवस्थापन, खानेपानीको उपलब्धता, सडक निर्माण, सार्वजनिक यातायातको सुरुवात गर्नेछु । आर्थिक क्रियाकलाप पारदर्शि, सुशासनको प्रत्याभूति, जवाफदेखि शासन प्रणालि, जनपक्षिय सेवा उपलब्ध गराउनेछु । पर्यटन ‘हब’को रुपमा विकास गर्ने योजना छ । प्रविधियुक्त शैक्षिक नगर । बाल मैत्री र महिला मैत्री समाजको निर्माण गर्ने मेरो योजना हो ।


बालाराम शर्मा–नेकपा एमाले


हिजो मेयर हुँदा मैले सुरु गरेका र नयाँ योजनालाई पुरा गर्नको लागि मलाई जिताउनुहोस् । वीरेन्द्रनगरलाई शैक्षिक, प्रशासनिक र पर्यटकीय केन्द्र बनाउने छु । खानेपानी समस्या समाधानका लागि अघिल्लो पटक मैले सञ्चालन गरेका झुप्रा वृहत खानेपानी योजनालाई व्यवस्थित गरी आवश्यक समस्या समाधानका लागि भेरीको पानी सप्लाइ गर्ने व्यवस्था गर्छु । वीरेन्द्रनगर नगरपालिकालाई ६ नम्बर प्रदेशको राजधानी बनाउने कुराको अगुवाइ गर्ने छु । यातायातलाई सहज बनाउने छु । शहरी नापी र उपत्यकाको रिङरोडको योजनालाई अगाडी बढाउने छु । निर्माणाधिन मुख्य सडकलाई सम्पन्न गर्नेछु । विश्व विद्यालयको सर्वाङ्गिन विकासका लागि लाग्ने छु । संविधानको कार्यान्वयन र स्थानिय विकासमा लाग्नेछु ।


रत्न बहादुर गाहा मगर– नेकपा माओवादी केन्द्र


वीरेन्द्रनगरलाई भारत र चिनको व्यापारीक हब बनाउने योजना छ । विकास र पर्यटकीय केन्द्रको रुपमा विकास गर्ने छु । २४ घण्टा उज्यालो, सुरक्षित र पानीको उपलब्धतापुर्ण शहर बनाउने छु । नगर बस सञ्चालन गर्ने, फोहोर मैला व्यवस्थापन, बसपार्कलाई व्यगवस्थित गर्ने तथा अर्को बसपार्कको निर्माण, हरित शहरको निर्माणमा प्राथमिकता दिनेछु । दुव्र्यसनिको अन्त्य गर्ने र विकसित ठाउंबाट विकास र संस्कृतिको आधान प्रदान गर्ने मेरो योजना हो ।


गेहेन्द्र प्रसाद दाहाल– स्वतन्त्र उम्मेदवार


होमस्टे स्ञ्चालन, सुर्खेत काठमाडौं हवाइजहाजको सहजता, नगरपालिकाको आफ्नै रेडियो स्थापना, जनताको कामलाई सहज बनाउन २४ घण्टा ‘हेल्प डेक्स’, सुविधा सम्पन्न अस्पताल, ९ कक्षा देखि इन्जिनियरीङ शिक्षाको सुरुवात, युवाकाृ क्षमतालाई पहिचान गरी त्यसको सदुपयोग गर्ने छु । पर्यटकीय रुपमा सुर्खेतलाई हेर्न लायक बनाउने छु । बुलबुले ताललाई मुख्य गन्तव्य बनाउने, फोहोर मैला व्यवस्थापनको लागि ‘डम्पिङ साइड’ बनाउने, व्यरोजगार युवालाई ‘३ पी अप्रोच’ बाट रोजगारीको सिर्जना गर्ने छु । पहिलेका कतिपय योजनाको अहिले सान्दर्भिकता छैन । त्यसैले वर्तमान अवस्थामा आवश्यक योजना निर्माण गरी कार्यान्वयन गर्नेछु । योजना संगै मुख्य कुरा मानिसको चेतना शक्तिमा परिवर्तन ल्याएर सामाजिक रुपान्तरण गर्नेमा लाग्नेछु ।


इश्वर श्रेष्ठ– राप्रपा


नेपालकै उत्कृष्ठ शहर बनाउने, सम्वृद्ध नगर र सुविधान सम्पन्न ‘स्मार्ट सिटी’ निर्माण गर्ने मेरो योजना छ । खानेपानीको समस्या समाधान गर्ने । बुलबुले ताल, सिद्ध पाइला, देउती बज्यै मन्दिर, कांक्रेबिहार लगाएतलाई व्यवस्थित गरी पर्यटकीय नगरी बनाउने । आर्थिक विकासमा टेवा दिने । शिक्षाबाट बञ्चित वालवालिकालाई निशुल्क शिक्षाको प्रत्याभूति गराउने । जनतालाई स्वास्थ्य सेवा उपलब्ध गराउने । बर्गीय समस्या समाधान गर्नको लागि गरिवको छुट्टै परिचय पत्रको व्यवस्था गर्ने । धर्म, संस्कृतिलाई बचाउने र मठ, मन्दिर, चर्च, गुम्बाहरुको जगेर्ना तथा निर्माण गर्ने योजना लिएर आएको छु ।

२०७४ बैशाख २१ मा प्रकाशित

प्रतिकृया दिनुहोस्