Hilsa Yatayat

दृष्टिबिहीन युवतीको दर्दनाक कथाः बुवाको विभेददेखि होस्टेलको यातना

सेरोफेरो
दृष्टिबिहीन युवतीको दर्दनाक कथाः  बुवाको विभेददेखि होस्टेलको यातना

मेरो नाम सोमना खड्का हो । २०४७ सालमा दैलेखको कट्टीमा जन्मिएकी हुँ । वीरेनद्रनगर नगरपालिका कालिन्चोकमा बस्छु । नेपाली विषयमा एमए पढीरहेको छु ।


दुइवटा आमाबाट हामी आठ भाइ बहिनी छौं । मेरो आमाबाट ४ बहिनी एउटा भाइ र कान्छि आमाबाट ३ भाइ हो । म जन्मिदा दृष्टि थियो रे । दुई वर्षको उमेरमा ६ महिना सम्म आँखा पाक्यो । त्यसपछि दृष्टि गुम्यो । पहिले धामि झाँक्री बसाल्ने, दिनहुँ कुखुरा, बोका काट्ने गरिएछ । धेरै पछि उपचार गर्न लैजाँदा ढिला भैसकेछ । अब यो आँखाले देख्न सक्दैन भनेछन् डाक्टरले । त्यहीँबाट मेरा दुःखका दिन सुरु भए ।


आँखाको ज्वति गुमिसकेपछि ५ वर्ष गाउँमै बसें । बाँचेको सार छैन, जीवनमा यसले केही गर्न सक्दिन, हामी मर्नुभन्दा अघि यो मरेको भए कम्तिमा दुःख त पाउँथिन भन्ने आमाको भनाई हुन्थ्यो । गाउँघरले यो ठुली भइ भने महिनावारी होला, वलात्कारको सामना गर्नु पो पर्ने हो कि, यसलाई कसरी हुर्काउने, लामो समय सम्म यसको जिन्दगीमा को हुन्छ र ? जस्ता कुरा गर्थे । सात वर्षमा मैले घर छोडें ।


सुर्खेत स्थित रामघाटको शिखर माविमा दृष्टिविहीनलाई पढाउन होस्टेल सञ्चालन भएको रहेछ । त्यही स्कूलको स्रोत शिक्षक टेकबहादुर वलीले दृष्टिविहीन बालबालिकाको खोजी गरेको सुचना हाम्रो घरसम्म आयो । आमाले मलाई पढ्न पठाउने निर्णय गर्नुभो । बुबाले मलाई स्कूलसम्म छोडिदिनुभो । कान्छी श्रीमती लिएर हिंडेका बा त्यसपछि फर्केर आउनु भएन । मसंग अर्को जोर कपडा पनि थिएन । १० जनाको कोटा थियो स्कूलमा तर म ११ औं विद्यार्थी भएँ ।


२०५५ साल पुषको महिना पढ्ने सपना देखेर म स्कूल गएको थिएँ । तर जेठको महिना देखि होस्टेल बन्द भयो । त्यसपछि फेरी गाउँमै फर्किएँ । अत्यन्त गाह्रो भयो । मेरो बारेमा गाउँलेहरुलाई बुझाउनै कठिन । केटाकेटीलाई भन्दा जाने बुझेकालाई नै झन् समस्या । सजिलो बाटोमा हिंडिरहेको समयमा आफू हाँस्नको लागि पनि अप्ठेरो बाटो पठाउने, संवेदनशील अंगमा छुन खोज्ने प्रवृत्ति हुन्थ्यो । पछि एकजना शिक्षकलाई गाउँमै ब्रेललिपि सिकाउन लगाइयो । मौखिक रुपमा परीक्षा लिन शिक्षकहरु पनि गाह्रो मान्ने । यो सबै थाहा पाएपछि श्रोत शिक्षक टेकबहादुर वलीले रामघाट घरमा राखेर पढाउने निर्णय गर्नुभयो । ४ र ५ कक्षा रामघाटमै पढें ।

IMG_3096

पछि मैले नेपालगंजमा बसेर मंगलप्रसाद माध्यामिक विद्यालयमा पढ्नको लागि (एफएनएस) भन्ने संस्थाकोे छात्रवृत्ति पाएँ । शुरुमा विद्यालयले भर्ना लिन मानेन । जिल्ला शिक्षा कार्यालयमा गएर मलाई पढ्न नदिए कार्यालयकै ढोकामा मर्छु भनें । शिक्षा कार्यालयको दवावमा विद्यालयले भर्ना लियो । तर विछ्यौना, खाट लगाएतका सबै सामानहरु माग्यो । आखिर त्यो चाहिंदो रहेनछ । ६० देखि ६६ सम्म त्यही स्कूलमा पढेर मैले एसएलसी दिएँ ।

 

वाल्यकाल भन्दा पनि उत्तर वाल्यावस्था र किशोरावस्थामा मलाई धेरै गाह्रो भयो । बिदामा आमा बुवा भेट्न लिन आउनु हुन्थेन । चाडपर्वमा खल्लो हुन्थ्यो । समस्या सुन्ने कोही थिएन । एकजना धर्म फुपु हुनुहुन्थ्यो । उहाँले मेरो जिम्मा लिनुभएको थियो । त्यस्ता मनकारीको पनि समस्याको थुप्रो थियो । द्वन्द्वकालमा विस्थापित हुनुभएको हो । घर पनि थिएन । सामान्य घुम्तीमा खाने र सुत्ने गर्नुहुन्थ्यो मलाइ पनि त्यहीं अटाउनु भयो । 

 

होस्टेलमा बस्दा अनेक किसिमका हिंसाहरु हुन्थे । को व्यक्ति होस्टेलमा आयो भन्ने थाहा नहुने । बोल्यो भने निकालिदिन्छौं भन्थे । मानसिक यातना हुन्थ्यो । लाग्थ्यो मानिसहरु बोल्दा किन हामीलाई छोएर बोल्छन् ? किन छेउमै आउनुपर्छ ? किन अंगालो नै हाल्नु पर्छ ? होस्टेलमा केटाकेटी गरी करिब ४० जना विद्यार्थी थियौं । होस्टेलको इन्चार्ज केटा थिए । होस्टेलका कर्मचारीहरु हाम्रा गाला चिमोट्ने, आफ्नो संवेदनशील अंगमा छुन लगाउँथे । प्रतिवाद गर्दा यहाँ पढ्न मन छैन ? भनेर उल्टै धम्क्याउँथे । तर म चुप लाग्दिनथें । अपाङ्ग नवप्रतिभा बाल क्लवको उपाध्यक्ष पनि थिएँ । बाल क्लवका साथीहरुलाई भनिदिन्छु भन्दा उल्टै मलाई त्यहाँ बस्ने बातावरण भएन । उनीहरुका गतिविधिको बिरोध गरेपछि यसले होस्टेलको नियम विपरित काम गरी भनेर होस्टेलबाट निष्कासन गर्ने निर्णय गरियो । मलाई पनि त्यो दलदलमा बस्न मन थिएन ।


निस्किने कुरा भइरहँदा मैले बाल क्लवले गरेको सांस्कृतिक कार्यक्रमबाट उठेको करिब ७० हजार रुपैयाको हिसाब खोजें । मलाई काम गरेको प्रमाण पनि चाहिएको थियो । त्यसपछि झन् त्यहाँ मेरा बिरुद्ध षड्यन्त्र रचिएछ । अलिअलि देख्ने र अर्को नदेख्ने विद्यार्थीलाई प्रयोग गरेर मैले कपडा फेर्दै गर्दाको फोटो खिच्न लगाइएछ । योजना अनुसार मेरो कोठामा तिनीहरु पुगिसकेका रहेछन् । कपडा फेर्न लाग्दा मलाई समातियो । म जोडले चिच्याएँ । उनीहरुले हामीले फोटो खिचेका छौं । होस्टेलमा बसेर यस्तो अवैध काम गर्ने ? स्कूलको गेट गेटमा पोस्टर बनाएर टाँसीदिन्छौं भने ।

 

मलाई डर लाग्यो । साँच्चिकै खिचेका रहेछन् भने त भोलि चरित्रको कुरा उठ्छ । मैले बिहे गर्नुपर्छ, बाँच्नपर्छ भन्ने लाग्यो । त्यस्तो गर्नुपर्दैन म आफै निस्कन्छु भनें तर न्यायका लागि माइती नेपालमा निवेदन दिएँ । आफूमाथि भएको ज्यादतीलाई उल्लेख गरेर न्याय पाउँ भनी निवेदन दिएको माइती नेपालले पनि त्यही नेत्रहीन संघमा जानुस् भन्यो । माइती नेपालसंग अपेक्षा पनि बाँकी रहेन ।


मेरा आफन्त बलिया हुँदाहुन्, म संग पैंसा हुँदो हो त मैले यस्तो प्रपन्चको सामना गर्नु पर्दैनथ्यो होला । आखिर निस्कनु पर्ने भयो त्यहाँबाट । आफ्नो भन्ने त्यही फुपु त हुनुहुन्थ्यो, अन्त जाने ठाउँ थिएन । स्कूलबाटै निकाल्ने कुरा भइरहेको छ भन्ने सुनेपछि प्रध्यानाध्यापकलाई गएर गुनासो गरें । उहाँले त्यस्तो योजना छैन भन्नुभो । ६ बजेको स्कूल भेट्टाउन बिहान ४ बजे नै उठेर हिंड्नु पथ्र्यो । किताब बिना सरहरुको बोली सुनेर मात्र एसएलसी सेकेण्ड डिभिजनमा पास गरें ।


सुर्खेत स्थित शिक्षा क्याम्पसमा आइएड पढें । रमेश रानासंग विहे गर्ने निर्णय गरें । उहाँ मलाई हरेक काममा सहयोग गर्नुहुन्थ्यो । समाजमा गरिने अनेक कुराले मलाई चुनौती थपेका थिए ।


विहे गर्दा हामीसंग एक रुपैंया पनि थिएन । मन्जु रसाइली भन्ने साथीको घर गएर कुरा गरियो । आमाले भर्खर सिन्दुर किनेर ल्याउनु भएको रहेछ । बिहे गर्छौ भने लौ यहि सिन्दुर हाल भन्नु भयो । सिन्दुर हालियो, बिवाह भयो । वास्तवमा माइतिको आँगन साथीको घर भयो । त्यहाँबाट सिधै बिवाह दर्ता गर्न गाविसको कार्यालयमा गयौं । म १७ वर्षको थिएँ । उल्टै वालबिवाहको कानून लाग्दो रहेछ ।


अहिले परिवार, समाज वा अरु कसैको दबाव छैन । परीक्षा आउँदा लेख्ने मान्छे खोज्नु पर्दा भने नमिठो लाग्छ । वर्षभरी पढ्छु तर आफ्नै हातले लेख्न सक्दिन, त्यतिबेला दृष्टिबिहीन हुँदाको अत्यन्त पीडा महशुस हुन्छ । कुरा गरिरहेको मान्छेलाई १० प्रतिशत देख्न पाए पनि हुन्थ्यो जस्तो लाग्छ । कसैले मेरै वर्णन गरिदिँदा ५ प्रतिशत मात्रै पनि ऐनामा देख्न पाए भन्ने लाग्छ ।


पहिलो पटक महिनाबारी हुँदा थाहा भएन । ११ वर्षमा नछुने भएको । पिसाब फेरेको निकैबेर सम्म पनि च्याप–च्याप लाग्थ्यो, मलाई अच्चम लाग्थ्यो । हातले पुछें । कपडाले पुछें । पुछ्यो नरोकिने । हात, कपडा जताततै रगत लागेछ । पेट पनि दुखेको थिएन । महिनावारी हुँदा यस्तो हुन्छ पनि कसैले भनेको थिएन । त्यतिबेला पेन्टी पनि नलगाउने । साथीहरुले कपडाभरी रगत लाग्याछ भने । पछि दिदीले आमालाई यो त छुइ भइछे भन्नुभयो । आमाले छुट्टै राख्नुपर्छ भनेपछि नरमाइलो लाग्यो ।


महिनाबारी नियमित हुँदैन थियो । योजना थिएन तर बच्चा पेटमा आएको थाहा पाउँदा ५ महिना पुगिसकेको रहेछ । ५ महिना पछि गर्भपतन गर्न नमिल्ने । श्रीमान् जनमुक्ति सेनाको शिविरमा हुनुहुन्थ्यो । सावुन, ब्रस किन्नको लागि महिनामा ६ सय दिन्थ्यो । त्यही पनि बचाएर दुई महिनामा १२ सय ल्याउनुहुन्थ्यो ।

IMG_3072
छोरी जन्मी । मान्छेहरु भन्थे बच्चाको टाउकोमा जुम्रा पर्दा मुखमा फिँज छाड्छन् रे । त्यो म कसरी थाहा पाउनेहोला भन्ने लाग्थ्यो । दुध खुवाउँदा कानमा पर्छ रे कसरी जोगाउने होला ? संयोग दुबै कुराको सामना गर्नु परेन । नुहाउँदा चाहीं गाह्रो हुन्थ्यो । घरवेटी अन्टीले नै नुहाइदिनुहुन्थ्यो । बस्ने घरमा धारा थिएन । कपडा धुन बुलबुले जान्थें ।


सबैभन्दा तनाव बच्चा दृष्टिबिहीन छ कि भन्ने कुराले भयो । खोप लगाउन जाँदा प्रत्येक पटक म डाक्टरलाई सोध्थें । तपाईंजस्तो छैन भन्दा पनि विश्वास लाग्दैनथ्यो । ८ महिनामा बोल्न थालेको बच्चा अढाइ वर्षसम्म बोलिन । आमा नदेख्ने, छोरी नबोल्ने धेरै तनाव भयो । २ वर्ष सम्म हिडिन पनि । अढाई वर्ष पछि हिड्न थाली । अहिले १ कक्षामा  पढ्छे।


हाल ग्रामीण शिक्षा स्वास्थ्य र सेवा गुठीको सहयोगी शिक्षकको रुपमा नेपाल राष्ट्रिय आधारभूत विद्यालय चिसापानी सुर्खेतमा पढाउँछु । कालिन्चोकबाट डेढ घण्टा हिडेर स्कूल पुग्छु । बादल लाग्यो, झरी पर्‍यो भने बाटो बिराउने समस्या हुन्छ । अक्सर मानसिक रुपमा तनाव भएको अवस्थामा बाटो बिराइन्छ । महिनाको ४ हजार त्यसमा पनि ४० रुपैंया कर काट्छ । श्रीमान्ले मजदुरी गरेर कमाएको रकमले गुजारा चलिरहेको छ ।


देख्न सक्ने भए म नेपाली सेनामा जागिर खान्थें होला । हामी पनि अन्य मानिसले जस्तै राती सपना देख्छौं । तर सपनामा पनि दृष्टिबिहीन नै हुन्छौं ।


सुर्खेत नेत्रहीन संघको सचिव छु । मानव बेचबिखन बिरुद्धको समूह सुर्खेतको संयोजक छु । आफू हिंसामा हुँदाहुँदै पनि अरुको न्यायको लागि बोल्नुपर्छ । दृष्टिबिहीन र अन्य दुवै खालका व्यक्तिहरुका घटना लिएर म सरकारी तथा गैरसरकारी निकायमा गइरहेको हुन्छु । पीडितहरुले मप्रति देखाउने सद्भावले उर्जा दिन्छ । कोही यस्ता मान्छे पनि छन्, तपाइको आँखा बन्छ भने म आँखा दिन्छु भन्छन् । अफशोच मिल्दैन । मेरो आँखाको नशा नै ड्यामेज भएको छ । डाक्टरको सल्लाहमा एउटा आँखा हालेको तर देखिन । २०६४ सालमा बुवा बित्नुभएछ । मलाई थाहा भएन । सात वर्षमा घर छोडेकी थिएं । नेपालगञ्ज पढ्दा यसलाई पढाउने होइन, लाज हुन्छ । दैलेख फर्काइदे भनेर धर्म फुपुलाइ इशारा गर्नुभएको थियो रे ।


घर परिवारसंग राम्रो सम्बन्ध छ । बाँकेको बैजनाथ गाउँपालिकामा हाम्रो घर छ । माटोको । दुइटा हातले लिप्छु । गाउँलेहरु दंग पर्छन् ।


बाँच्न मन नलाग्नेहरुले मलाई हेरुन् । भोगाइले नै परिपक्क बनाउँछ । हरेकको जीवनमा संघर्ष छ । पीडा बिनाको मान्छे सायदै होला । हिंसाको प्रतिवाद गर्नुहोस् । आफ्नो जीवन आफ्नै तरीकाले बाँच्न सकिन्छ । मसंग त यत्रो आँट छ, आँखा देख्नेहरुले चाहे नसक्ने के छ र ? शारीरिक भन्दा मनको कमजोर मान्छेले जीवनको यात्रा छोट्याउने हो ।


यत्ति हो, स्थाई जागिर खान सकुँ । श्रीमान्लाई यस्तो लागोस् कि श्रीमतीले पनि पाल्न सक्छन् । म महिला भएकोमा र दृष्टिबिहीन भएकोमा कुनै गुनासो छैन । गर्व छ ।

२०७४ चैत ५ मा प्रकाशित

प्रतिकृया दिनुहोस्