Tiwari Bhada Pasal

क्षेत्रीय अस्पतालको इमर्जेन्सी : जहाँ डाक्टर नै भेटिंदैनन्

कमल लम्साल
क्षेत्रीय अस्पतालको इमर्जेन्सी : जहाँ डाक्टर नै भेटिंदैनन्

९ चैत । भोली शनिबार र पर्सि रामनवमीको विदा परेकोले रिपोर्टिङकै लागि भनेर सेरोफेरोको टिम शुक्रबार सवा १२ वजे सुर्खेतबाट सल्यानको पर्यटकीय स्थल कुभिण्डे दहतर्फ लाग्यो ।

 

मेरो मोटरसाइकलको पछाडी बसेका यात्रुलाई अचानक ढाड दुखेपछि टोली धुलियाबिटबाटै फर्कियो । विरामीको उपचारका लागि सिधै कर्णाली प्रदेशको सबैभन्दा ठूलो मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पताल पुग्यौं ।

 

विरामीको भनाई अनुसार मृगौला भएको स्थानमा दुखेको आशंका थियो । तर दुखाई खपिनसक्नु भएपछि सोझै इमर्जेन्सीमा लगियो ।

 

त्यहाँ डाक्टर थिएनन् । कर्मचारीले रगत र पिशाब परीक्षणका लागि लेखिदिए । मैले विल काटें । पिशाब लिएर सिधै ल्याबमा जान आग्रह गरे । यहाँबाटै पठाउने व्यवस्था के छ? भन्दा आफैं गए छिटो हुन्छ भने ।

 

विरामी बोकेर हिडें । ल्याब जाने यता वा उता लेखिएको निस्सा कतै केही थिएन । करीब ५०० मिटर पर रहेको ल्याबमा पुगियो । त्यहाँ रगत निकालेपछि रिपोर्ट आउन २ घण्टा लाग्ने बताए । केहीबेर वरपर गरियो । विरामीलाई बस्ने आरामदायी कुर्चीहरुको पनि त्यहाँ व्यवस्था थिएन ।

 

मैले रिपोर्ट अलि छिटो निकाल्न मिल्छ कि भन्ने जिज्ञासा राखें । करीब २ बजेतिर रिपोर्ट आयो । रिपोर्ट देखाउन पुनः इमर्जेन्सीमा गइयो । तर त्यहाँ डाक्टर थिएनन् ।


मैले डाक्टर आउने समयबारे जिज्ञासा राखें । 'भर्खरै जानुभो, अब केही बेरमै आउनुहुन्छ', भन्ने उत्तर आयो । मैले किटानी समय मागें । आधा वा एक घण्टा कति ?

 

बिरामीको उपचारका लागि जाने जो कोही पनि डाक्टरले निको बनाउने आशामा अस्पताल पुगेको हुन्छ । त्यसका विरुद्ध सामान्यतया बोलिंदैन पनि । तर घडी नै हेरेर दुई घण्टा वित्दा पनि रिपोर्ट अर्थ्याउने डाक्टर नआउँदा मेरो पनि धैर्यताको सीमा टुट्यो ।

 

हेल्थ डेस्कमा रहेका कर्मचारीसंग डाक्टरको फोन नम्बर मागें । नम्बर दिन मानेनन् । बरु डाक्टरलाई बोलाइसकेको बताए । मैले राम्रैसंग 'यस्तो तरीकाले पनि हुन्छ त!' भन्दा उनीहरुले 'डाक्टरलाई नै भन्नुस्' भने ।

 

डाक्टरलाई कसले के भन्ने ? सामान्यतया सरकारी अड्डामा जाँदा सेवाग्राहीले कार्यालय प्रमुखको टेवल ठोकेर कुरा गर्न सक्छन् । तर अस्पतालमा त्यस्तो असम्भव छ । मानव स्वास्थ्य संवेदनशील विषय भएकोले पनि होला । अर्कोतर्फ 'डाक्टरले केही तलमाथि गरिदियो भने!' भन्ने सोचेर पनि हुनसक्छ । यस्तो अवस्थामा हामीले पनि डाक्टरलाई 'बेनिफिट अफ डाउट' दिन्छौं ।

 

यतिकैमा मसंग भएको क्यामेरा निकालेर तस्बिर खिच्न थालें । शौचालयको ढोकामै दिशाको थुप्रो थियो । त्योपनि क्यामेरामा कैद भयो । बीचमै एक दुईजनाको फोन आयो । प्रदेशको सामाजिक विकास मन्त्रालयका अधिकारीसंग पनि मैले फोनमै अस्पतालको बेथितिबारे कुरा गरें । स्वाभाविक रुपमा मेरो स्वर चर्को भैसकेको थियो । यतिन्जेलसम्म त्यहाँका कर्मचारीले म पत्रकार पनि भएको थाहा पाइहाले ।

 

कर्मचारीले तुरुन्तै डाक्टरलाई बोलाएर ल्याए । डाक्टर नमोवुद्ध शाक्य आए । आउनासाथ मैले 'किन यतिविधि ढिलो हो त डाक्टर साहेव ?' भनें । उनले पहिला पनि आएको र अहिले खबर हुनासाथ आएको बताए । डाक्टर साहेव केही आत्तिएका जस्ता देखिन्थे । उनलाई आफ्नो गल्तीबारे महसुस भएको हुनसक्छ । डाक्टरलाई बोलाएर ल्याउने कर्मचारीले म पत्रकार भएको बताइसकेका थिए शायद ।

 

उनले विरामीको रिपोर्ट अर्थ्याए । 'पिशाबको सामान्य इन्फेक्सन' भने । बिरामीको सामान्य तलाश लिए । केही औषधी लेखे र गए । मैले औषधालयबाट ती औषधी किनें ।

 

मन शान्त भएकै थिएन । त्यही समय अस्पताल विकास समितिका अध्यक्ष नारायण सापकोटा ठ्याक्कै सामुन्ने परे । मैले जिज्ञासा राखिहालें । 'अस्पतालको बाहिरी सुन्दरता थपिएपनि भित्री समस्या त जस्ताको तस्तै रैछ नि दाई ।' उनले प्रतिप्रश्न गरे । 'के भो ?' मैले भर्खरै भोगेको तातो समस्या सुनाएं ।

 

तुरुन्तै मेसु (मेडिकल सुपेरिन्टेन्डेन्ट)लाई उनले फोन लगाए । डाक्टर अभावका कारण इमर्जेन्सीमा पुरा समय एमविविएस डाक्टर बस्न नसक्ने उत्तर आयो । मैले शौचालय पनि फोहर छ भनें ।

 

दाईले आफू नयाँ भएकोले धेरै कुरा बुझ्न बाँकी रहेको बताए । उनले आफ्नो पद सेरेमोनियल जस्तो भएकोले चाहेर पनि धेरै गर्न नसक्ने बाध्यता बताउँदै निरीह भए ।

 

मैले यसमा कसको बढी दोष छ भन्ने कुरा खोजेको थिइन । उनले नै भने, 'स्वास्थ्य क्षेत्रमा स्वास्थ्यकर्मीको मात्र दबदबा चल्दोरहेछ ।' मैले त्यसको खण्डन गरें । सार्वजनिक पदमा बस्नेले गैरजिम्मेवार बन्न नमिल्ने बताएं ।

 

मैले डाक्टरको अस्पताल बस्ने समयबारे सोधें । उनले 'टेन टु फाइभ' भने । अर्को जिज्ञाशा तेर्स्याएं- 'डाक्टरहरु त तीन बजेदेखिनै निजी क्लिनिकमा भेटिन्छन् नि ?' उनले 'आफूले मात्रै केही गर्न नसक्ने' स्वीकार गरे । दाईको कुरा त ठीकै हो तर चित्त बुझेन ।


मैले 'सामाजिक उत्तरदायित्वको भावनाले यो कुरा उठाउन खोजेको हो दाई' भनें । 'हामीले पनि नबोले कसले बोल्ने?' उनले 'ठीक हो' भने ।

 

यही अस्पतालमा आफ्नी छोरीको उपचारका क्रममा भोग्नुपरेको सास्तीबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेतका प्रवक्ता जंगबहादुर डाँगीले गत मंगलबार आफ्नो फेसबुक वालमा लेखेका थिए । 

 

उनले व्यंग्य शैलीमा लेखेका छन्- 'कर्णाली प्रदेशको राजधानी सुर्खेतमा क्षेत्रीय अस्पताल छ तर मेरो अनुरोध तपाईंहरु दिउँसो बिरामी नभईदिनुहोला ।' उनले आफू कार्यालयको प्रतिनिधिको रुपमा नभई सेवाग्राहीको नाताले उक्त कुरा लेखेको बताएका छन् ।

 

डाँगीको उक्त स्टाटसले सामाजिक सञ्जालमा निकै चर्चा पायो । उनको कमेन्ट बक्समा थुप्रैले बेथितिको विरुद्धमा आलोचना खसाले ।


तर, प्रत्यक्ष बेथिति भोगेको एक रिपोर्टरले आज यति लेखेर के अस्पताल प्रशासन सुध्रेला ?

 

म बिरामी लिएर इमर्जेन्सी बाहिर निस्कंदा पुगनपुग पाँच बजेको थियो । भोक र झोंक दुबै असाध्य भएको थियो ।

 

क्यान्टिनमा खाजा खाएर फर्कंदै गर्दा समितिका अध्यक्ष सापकोटा दाईले भने- 'भाई ट्वाइलेट सफा भैसक्यो । एकपटक हेरेर जानु है ।' भाईको सकारात्मक सुझाबका लागि धन्यबाद !

IMG_6459

IMG_6454

IMG_6449

IMG_6461

IMG_6453

२०७४ चैत ९ मा प्रकाशित

प्रतिकृया दिनुहोस्