Rara Pharmacy

प्रधानमन्त्रीको कूटनीतिक भेटघाट : सुनाए समृद्ध र खुशी नेपालका ६ सूत्र

सेरोफेरो/काठमाडौं
प्रधानमन्त्रीको कूटनीतिक भेटघाट : सुनाए समृद्ध र खुशी नेपालका ६ सूत्र

१३ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालस्थित कूटनीतिक नियोगका प्रतिनिधिहरुसँग सामूहिक भेटघाट गरेका छन् । मंगलबार प्रधानमन्त्री निवास वालुवाटारमा डाकिएको लञ्च मिटिङमा ओलीले मुलुक समृद्ध र जनता खुशी बनाउने शुत्र सुनाएका थिए ।

 

प्रधानमन्त्री ओलीले मुलुकको पछिल्लो राजनीतिक विकासक्रम, आफ्ना सरकारका प्राथमिकता र विदेश नीतिका विषयमा कुटनीतिक नियोगका प्रतिनिधिहरुलाई जानकारी गराएका थिए । नेपाल राजनीतिक स्थायित्वको चरणमा प्रवेश गरेकोले समृद्ध तथा खुशी नेपालको स्थापनानै नेपाल सरकारको लक्ष्य भएको बताए ।

 

उक्त लक्ष्य प्राप्तिका लागि ६ आधारभूत स्तम्भहरु रहेको पनि ओलीले उल्लेख गरे । जसमा १ राष्ट्रियता, २ मौलिक हक र प्रजातन्त्रमाथि नेपालको प्रतिबद्धता, ३ समानतामा आधारित सामाजिक न्याय, ४ स्थिरता, प्रगति र विकास ५ सुशासनप्रति प्रतिबद्धता र ६ बृहत् मूल्यमा आधारित सहभागितामूलक दिगो विकास छन् ।

 

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीका अनुसार कूटनीतिक नियोगका प्रतिनिधिहरुसँग भएको छलफलमा प्रधानमन्त्रीले नेपालमा राजनीतिक स्थायित्व प्राप्त हुनुका साथै आर्थिक समृद्धिको युग शुरु भएको बताएका थिए । ज्ञवालीका अनुसार नेपालको विकासमा अन्तर्राष्ट्रिय सहयोगलाई पनि वैदेशिक नीतिको आधारका रुपमा लिइने प्रधानमन्त्री ओलीले खुलाएका थिए ।

 

छलफलमा प्रधानमन्त्री ओलीले स्थानीय तह, प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन सफलतापूर्वक सम्पन्न गरेको स्मरण गरे। साथै संसदमा ४१ प्रतिशत महिला प्रतिनिधित्व गराएको र संघीय सरकार पूर्णतः सञ्चालनमा आएकोसमेत उनले स्पष्ट गरे।

२०७४ चैत १३ मा प्रकाशित

प्रतिकृया दिनुहोस्