Tiwari Bhanda Pasal

शान्ति बाल पुस्तकालयको स्थापना

सेरोफेरो/सुर्खेत
शान्ति बाल पुस्तकालयको स्थापना

१७ चैत । सुर्खेतको बराहतालमा शान्ति बाल पुस्तकालयको स्थापना भएको छ । बराहताल गाउँपालिका ८ कुनाथरी स्थित सरस्वती आधारभुत विद्यालयमा गौतमराज अधिकारी र प्रेम क्षेत्रीको पहलमा स्थापित पुस्तकालयको शनिबार उद्घाटन गरिएको हो ।

 

५ हजार पुस्तक राख्ने योजना गरिएको उक्त पुस्तकालयमा करिब १३ सय पुस्तकहरु छन् । १ लाख ५० हजारको नयाँ पुस्तक किनिएको र १५ हजार बराबरको पुस्तक एक पटक प्रयोग गरिसकेपछी विभिन्न व्यक्ति तथा संस्थाहरुले सहयोग गरेको गौतमराज अधिकारीले जानकारी दिए ।

 

वर्षमा दुई वटा पुस्तकालय स्थापना गर्ने योजना बोकेका अधिकारीले सेरोफेरोसंग भने ‘विद्यार्थीलाई पढ्ने बानिको विकास गराउन र ज्ञानको दायरा फराकिलो बनाउन पुस्तकालयको अभियान थालिएको हो ।’ किर्डार्क नेपालको काठमाडौं कार्यालयमा कार्यरत उनले पढ्ने उमेरमा आफुले भनेजस्तो पुस्तक पठ्न नपाएको स्मरण गर्दै ग्रामीण स्तरका बालबालिकाले पुस्तकको अभाव व्यहोर्नु नपरोस भनि पुस्तकालय स्थापनाको अबधारणा आएको सुनाए ।

 

यस अघि रुम टु रिडमा समेत काम गरेका अधिकारी ६५ जिल्लाका विभिन्न विद्यालयमा पुगेका छन् । कर्णालीका अधिकांश विद्यालयमा पुगेको अधिकारीले चितवन लगत्तै कर्णालीमा पुस्तकालय स्थापना गर्दैछन् । विद्यार्थीका अलावा अविभावकले समेत पुस्तक पढ्नुपर्नेमा जोड दिँदै भने ‘पुस्तकले विद्यार्थी र अविभावकलाई हेर्ने अवस्था नआओस् ।’ पुस्तकालय र बालकक्ष व्यवस्थापनमा किडार्क नेपाल, गाउँपालिका, खुसीयाली नमुना गाउँमुल समिती र स्थानिय स्वाबलम्बन समुहले सहयोग रहेको छ ।

 

प्रमिलालाई अनमोलको सहयोग

pramila

पुस्तकालय उद्घाटनको कार्यक्रममा अनमोल स्मृति प्रतिष्ठान सुर्खेतले मेहेलकुना निवासी प्रमिला सुनारको परिवारलाई शैक्षिक सामाग्री तथा खाद्यान्न सहयोग गरेको छ । मृगौलाको खराबीले श्रीमान गुमाएकी तीन सन्तानकी आमा प्रमिलाको न्युन आर्थिक अवस्थालाई मध्येनजर प्रतिष्ठान, बराहताल गापा र पञ्चपुरी नगरपालिकामा संचालित संवाद केन्द्र र स्वाबलम्बन आमा समुहले छात्र वृत्ति, शैक्षिक सामाग्री र खाद्यान्न गरी करिब ३० हजारको सामाग्री सहयोग गरेको छ ।

 

कार्यक्रमका अवसरमा उक्त सहयोग गरिएको हो । स्वस्थ नागरिक र सभ्य समाज निर्माण गर्ने उद्देश्यका साथ स्थापना गरिएको अनमोल स्मृति प्रतिष्ठानले आउदो भदौमा सरस्वति आधारभुत विद्यालयमा दुई दिने अनमोल कपको आयोजना गर्ने प्रतिष्ठानका अध्यक्ष निराजन शाहीले बताए ।

२०७४ चैत १७ मा प्रकाशित

प्रतिकृया दिनुहोस्