Rara Pharmacy

'कर्णालीमा लगानीको सुरक्षा र नाफाको ग्यारेण्टी सरकारले दिन्छ’ : मुख्यमन्त्री शाही

सेरोफेरो
'कर्णालीमा लगानीको सुरक्षा र नाफाको ग्यारेण्टी सरकारले दिन्छ’ : मुख्यमन्त्री शाही

१८ चैत्र ।कर्णाली प्रदेशका मूख्यमन्त्री महेन्द्रबहादुर शाहीले लगानीकर्तालाई निश्चित अवधि सम्म कर नलगाउने बताएका छन् । लगानीकर्ताको लगानी नउठ्ने बेलासम्म कर नलगाउने गरी प्रदेश सरकारले नीति बनाउने उनको भनाइ छ ।


स्वतन्त्र उर्जा उत्पादकहरुको संस्थाले आज सुर्खेतको वीरेन्द्रनगरमा गरेको कर्णाली प्रदेशको समृद्धिका लागि जलविद्युत विषयक कार्यक्रमको उद्घाटन गर्दै मूख्यमन्त्री शाहीले लगानी कर्तालाई ढुक्कसंग लगानी गर्न आग्रह गरे । उनले भने– ‘लगानीको सुरक्षा र नाफाको ग्यारेण्टी प्रदेश सरकारले दिन्छ, तपाईहरुले ढुक्कले लगानी गर्नुहोस् ।’


ठूलो स्तरको लगानी विना विकास असम्भव भएको भन्दै मुख्यमन्त्री शाहीले लगानी मैत्री वातावरण बनाइने प्रतिवद्धता समेत व्यक्त गरे । कर्णाली प्रदेश जलविद्युत विकासको हिसावले सवैभन्दा राम्रो सम्भावना बोकेको क्षेत्र भएको उल्लेख गर्दै मुख्यमन्त्री शाहीले जलविद्युत क्षेत्रमा सामुहिक ढंगले ठूलो स्तरको लगानी आवश्यक रहेकोमा जोड दिए । विकासका लागि नीजि लगानी मैत्री वातावरण सृजना नगरीकन देश नवन्ने उनको भनाई छ ।


लगानीका लागि प्रदेश सरकारले राष्ट्रिय लगानीकर्ताहरुलाई प्राथमिकता दिने वताउदै मुख्यमन्त्री शाहीले विदेशी लगानीलाई राष्ट्रिय लगानीकर्तासंगको सहकार्यमा स्वीकार गर्ने नीति बनाईने स्पष्ट पारे । माथीबाट आउँछ भनेर पर्खने प्रवृतिले विकास नहुने भन्दै शाहीले अव त्यसको लागि आफै जुट्नुपर्नेमा जोड दिए ।


संविधानले अहिले दिएको अधिकारले कर्णालीको विकास नहुने भन्दै उनले कर्णालीलाई स्वायत्त प्रदेश हुनुपर्ने माग गरे । कर्णालीको समस्या विशिष्ट प्रकृतिको रहेको भन्दै मुख्यमन्त्री शाहीले अहिलेको अधिकार विकासका लागि अप्रयाप्त छ, कर्णाली प्रदेशमा विशेष अधिकार दिईनुपर्ने बताए ।


कार्यक्रममा नेपाल उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष कुशकुमार जोशीले अन्य प्रदेशभन्दा कर्णाली प्रदेशमा लगानी गर्न नीजि क्षेत्रलाई लगानी गर्न सहज हुनेमा आफु विश्वस्त रहेको बताए । नाम र राजधानी तोक्न पहिलो हुनुले पनि कर्णाली प्रदेशमा लगानीका लागि राजनैतिक वातावरण अनुकुल रहेको पुष्टी हुने उनको भनाई छ ।

  

कार्यक्रममा प्रदेश सरकारका मन्त्रीहरु, जिल्ला समन्वय समिति सुर्खेतका संयोजक लगाएतले आफ्ना धारणा राखेका थिए ।

तस्विर : मुख्य मन्त्रीको सचिवालय

२०७४ चैत्र १८ मा प्रकाशित

प्रतिकृया दिनुहोस्