Hilsa Yatayat

सार्वभौमसत्ताको प्रयोग

जनताले आफूले चाहे बमोजिम आफैलाई शासन गर्ने परीपाटीको विकाससंगै लोकतन्त्रको प्रादुर्भाव भएको हो । सबैले सबैलाई शासन गर्न प्राविधिक रुपमा कठिनाई हुने हुँदा प्रतिनिधिमार्फत् हामी शासित हुन थाल्यौं । जसलाई अप्रत्यक्ष लोकतन्त्रको नामले पनि चिनिन्छ । यसरी कसैलाई नेतृत्व सुम्पिंदा हामीले बहुसंख्यक जनताको भावना र विचारको कदर गर्ने मान्छेको खोजी गर्न थाल्यौं । सबैको विचार प्रतिनिधिको रुपमा भोटमार्फत् छनौट गरेको नेतृत्वले जनभावना अनुरुप कार्य गर्नुपर्छ र गर्छ पनि भन्ने मान्यताको विकास र अभ्यास हुन थाल्यो ।


सामन्ती शासन कालमा यस्तो नेतृत्व डर, धम्की वा आश र त्रासको भरमा छनौट गरिन्थ्यो । नेतृत्वले गरेको कृयाकलापको विरुद्ध जोकोही बोल्न सक्दैनथ्यो । बोलिहाले पनि उसलाई ठेगान लगाइन्थ्यो । तर, लामो राजनीतिक अभ्यास पश्चात् हामीले बैज्ञानिक रुपमा लोकतन्त्रको परिमार्जन गर्दै गएका छौं । हुनत लोकतन्त्रका पनि कमजोरी छन् तर यसको परिमार्जनसहितको अभ्यासको खाँचो छ ।


मानिस स्वभावैले स्वतन्त्रता चाहन्छ । कुनै पनि प्रकारको दमन वा शोषण चाँहदैन । यद्धपी मानव समाजमा संरचनागत हिंसा भने निर्मूल हुन सकेको छैन । स्वतन्त्र हुने नाममा मानिसले राजनीतिक स्वतन्त्रतालाई राजनीतिक अधिकारको रुपमा स्थापित गरेको छ विश्वव्यापी रुपमा । राजनीतिले नै गाउँ, समाज, देश र विश्वको नेतृत्व सिर्जना गरेको छ, अभ्यास गरेको छ । सफलता, असफलताको मापन गरेको छ । विकास र प्रगति गरेको छ ।


सात सालमा प्रजातन्त्रको स्थापना भएतापनि नेपालमा लोकतन्त्र सुदृढ हुन अझै बाँकी छ । एकातिर समाजमा रहेको व्यापक विभेद कम गर्नुपर्ने राजनीतिक चुनौति छ भने अर्कोतर्फ आजको विश्वमा देशलाई प्रतिष्पर्धी बनाई जनतालाई अधिकार सम्पन्न बनाउनुपर्ने जिम्मेवारी छ ।


राजनीतिक अस्थिरताका कारण मुलुक लामो समयसम्म निर्वाचन विहीन अवस्थामा रह्यो । यसैबीच मुलुकले सशस्त्र द्वन्द्व भोग्यो । जननिर्मित नेपालको संविधानले व्यवस्था गरेको तीन तहको संघीय संरचना कार्यान्वयनका लागि आज पहिलो खुट्किलोको रुपमा स्थानीय तहको निर्वाचन सम्पन्न हुँदैछ । जसका लागि जनता दुई दशकदेखि व्यग्र प्रतिक्षामा रहेका थिए । निर्वाचनमा स्वतस्फूर्त भाग लिन, मतदान गर्न र शान्तिपूर्ण ढंगले निर्वाचन सफल पार्न राष्ट्रपति, प्रधानमन्त्री, दलका नेता, निर्वाचन आयोग लगायत सबैले सबैलाई आग्रह गरेका छन् । जनता उत्साहित देखिएका छन् ।


आफ्नो प्रतिनिधि आफैं छनौट गर्न पाउने राजनीतिक अधिकारको प्रयोगमा अंकुश लगाइनु हुँदैन । अरुबेला जनतासंग प्रतिकार गर्ने कुनै अश्त्र हुँदैन । चित्त नबुझेको कुराको सामान्य विरोध गरिन्छ । तर, सत्ता फेरबदल गर्ने वा आफू अनुकुल नेतृत्व छान्ने काम निर्वाचनको दिन हो । जनताले यही संविधान प्रदत्त सार्वभौमसत्ताको अधिकारको प्रयोग गर्न लागेका छन् आजको दिनमा । उनीहरुको मतको फैसला नै अन्तिम फैसला हुनेछ । र, मतको कदर हुनेछ । आशा गरौं पहिलो पटक हुन लागेको स्थानीय तहको ऐतिहासिक निर्वाचन भव्य रुपमा सफल हुनेछ । जनमतको कदर गरिनेछ । जनभावना अनुरुप नेतृत्व चुनिनेछ । र, जनचाहना बमोजिम सत्ता सञ्चालन हुनेछ ।

 

२०७४ बैशाख ३१ मा प्रकाशित

प्रतिकृया दिनुहोस्