Hilsa Yatayat

स्थानीय सरकारका १ बर्ष, कसले के गरे?

सीता वली/सेरोफेरो
स्थानीय सरकारका १ बर्ष, कसले के गरे?

२ जेठ । गाउँगाउँमा सिंहदरबार भन्ने नारा दिएर गत बर्ष बैशाख ३१ गते स्थानीय तहको निर्वाचन सम्पन्न भएको थियो । यससंगै मुलुकमा संघीयता कार्यान्वयन भएको हो । स्थानीय सरकार गठन भएको एक बर्षसम्म पनि जनताले महसुस गर्ने गरी परिवर्तन हुन सकेका छैनन् ।

 

कहिले कानुन त कहिले कर्मचारी अभाव कहिले बजेट त कहिले स्रोत साधनको अभाव देखाउँदै स्थानीय तहले आफूलाई प्राप्त संवैधानिक अधिकारको प्रयोग गर्न सकेको देखिंदैन ।

 

नयाँ संविधान निर्माण पश्चात् सम्पन्न स्थानीय सरकारको निर्वाचन भएको १ बर्ष पूरा भएको छ । यस अवधीमा सुर्खेतका ९ स्थानीय सरकारले गरेका महत्वपूर्ण कार्य र उनीहरुको चुनौतीबारे सेरोफेरोले गरेको कुराकानी ।

 

मोहनमाया ढकाल
उपप्रमुख वीरेन्द्रनगर नगरपालिका

Mohanmaya Dhakal

अनुभूति
संविधान जारी भएपछि स्थानीय तहको निर्वाचन भयो । अधिकार र जिम्मेवारी धेरै छ । संविधानको कार्यान्वयन गरेर अगाडि बढ्न पाउँदा खुशीको अनुभूति भएको छ ।

 

चुनौती
स्वभावैले पुरानो व्यवस्थाको अन्त्य गरी नयाँ व्यवस्थामा काम गर्दा अप्ठ्याराहरु त हुन्छन् नै तर जनतासंग काम गर्दा चुनौती पार गर्न सहज हुन्छ । स्थानीय तहमा अधिकार थुप्रै छ तर कर्मचारीको ओ एन्ड.एम भएको छैन । स्रोत र साधनको कमी छ तर पनि निरन्तर जनताको सेवामा खटिएका छौं ।

 

एक बर्षका ५ महत्वपूर्ण काम
– वीरेन्द्रनगर नगरपालिकामा न्यायिक समितिले पूर्णता पाई सक्रिय रुपमा नगरका मुद्दाहरु समाधान गरिरहेको छ ।
– वीरेन्द्रनगर नगरपालिकाले दिने सबै किसिमका सेवा वडा स्तरबाट दिन शुरु गरेका छौं ।
– काँक्रेविहारलाई पर्यटकीय स्थलको रुपमा विकास गर्नको लागि गुरुयोजना बनाई अगाडि बढेका छौं ।
– वीरेन्द्रनगरमा अतिक्रमण भएका सार्वजनिक जग्गालाई अतिक्रमणबाट रोक्नका लागि काम अगाडि बढाएका छौं ।
– शिक्षा सम्बन्धि ऐन बनाएका छौं ।

 

गगनसिंह सुनार, प्रमुख
लेकवेशी नगरपालिकाका

Gagan Sunar

अनुभूति 

जनताको काम गर्न पाउँदा खुसी लागेको छ ।

 

चुनौती
चुनौती त धेरै छन् । सामाजिक सोचमा परिवर्तन गर्नै अप्ठ्यारो छ । जनताका माग पुरा गर्न नपाउँदा र जनतासँग प्रत्यक्ष सरोकारवाला विषयहरु समेटेर बजेट ल्याउन नसक्दा झन् थुप्रै चुनौती आइपरेका छन् ।

 

एक बर्षका ५ महत्वपूर्ण काम
– प्रत्येक वडामा सडक सञ्जाल जोडेको छु ।
– जेष्ठ नागरिकका लागि स्वास्थ्य शिविर तथा सम्मान गर्ने कार्यक्रम गरेको छु ।
– स्वास्थ्य सेवालाई प्रभावकारी बनाउनको लागि वर्थिङ् सेन्टरहरुमा स्वास्थ्यकर्मीहरु पठाएको छु ।
– शिक्षामा गुणस्तर ल्याउनको लागि शिक्षा सम्बन्धी कामहरु गरेको छु ।
– नगरपालिकाको योजना बनाएका छौं ।

 

तेजबहादुर बस्नेत, अध्यक्ष
बराहताल गाउँपालिका

Tej

अनुभूति

जनतासँग प्रत्यक्ष सहकार्य गरेर काम गर्न पाउँदा खुशी लागेको छ ।

 

चुनौती
यो एक वर्षमा जनतासँग प्रत्यक्ष सहकार्य गरेर काम गर्दा थुप्रै चुनौती आए । हामीले बादी बस्तीको व्यवस्थापन गर्न सकेका छैनौं । भट्टेघारीमा आफै लाग्ने आगलागि नियन्त्रण गर्न कठिन छ । यसका अलावा कानुन निर्माणका चुनौती छन् ।

 

एक बर्षका ५ महत्वपूर्ण काम
– बराहताल गाउँपालिका ५ मा आफै लाग्ने आगोको कारण पत्ता लगाई पेट्रोल छ भन्ने तथ्य फेला पारेको ।
– भट्टेघारीमा आगलागीबाट पीडित जनताको घरमा जस्ताको पाता लगाईदिएको छु ।
– पर्यटन प्रवद्र्धनका लागि बराहाताल महोत्सव सञ्चालन गरिसकेको छु ।
– आधारभुत विद्यालय स्तरीय खेलकुद प्रतियोगिता सञ्चालन गरें ।
– बराहतालमा चक्रपथ निर्माणका लागि काम शुरु गरेको छु ।

 

उपेन्द्र थापा, प्रमुख
पञ्चपुरी नगरपालिका

Upendra Thapa

अनुभूति 

स्थानीय तहको नेतृत्व गर्न पाउँदा खुशी लागेको छ । रमाईलो अनुभव गरिरहेको छु ।

 

चुनौती
केन्द्रीय सरकारले बजेट पठाउँदा घटाएर पठाएको छ । जसले गर्दा काम गर्न असजिलो भइरहेको छ । केन्द्रले स्थानीय तहसम्म अधिकार दिन नचाहेजस्तो व्यवहार गरेको छ । त्यो पनि चुनौतीको रुपमा मैले लिएको छु ।

 

एक बर्षका ५ महत्वपूर्ण काम
– पञ्चपुरीका प्रत्येक वडामा सडक सञ्जाल संग जोड्ने कार्यअनुरुप सडकको काम गरेको छु ।
– भौगोलिक विकटतालाई ध्यानमा राखी ३ वटा स्वास्थ्य इकाई सञ्चालन गरेको छु ।
– सुत्केरी प्रोत्साहन भत्तामा थप गरेको छु । नेपाल सरकारले दिने १४ सय रुपैयामा पञ्चपुरी नगरपालिकाले २ हजार थप गरेको छ ।
– पञ्चपुरीमा विद्युत् उत्पादन गरी वितरण गरेको छु ।
– सिंचाई सुविधा नभएका ठाउँमा सिंचाई सुविधा पुर्‍याएको छु ।

 

मैना विक, उपप्रमुख
गुर्भाकोट नगरपालिका

Maina

अनुभूति 

एकदमै खुशी लागेको छ । निर्वाचनमा जनताले काम गर्नका लागि निर्वाचित गर्नुभएको हो ।

 

चुनौती
ऐन नियम नबन्दा थुप्रै चुनौती आएका छन् । जनतालाई सन्तुष्ट गर्न नसक्दा चुनौती थपिन्छन् ।

 

एक बर्षका ५ महत्वपूर्ण काम
– प्रत्येक वडाहरुमा सडक सञ्जाल जोड्ने काम भईरहेको छ ।
– गुर्भाकोट नगरपालिकामा विशेषगरी महिलाहरुका लागि सिपमुलक तालिम सञ्चालन गरी आत्मनिर्भर बनाउने प्रयास गरेका छौं ।
– न्यायिक समिति मार्फत समुदायका मुद्दाहरु मिलाउने काम भईरहेको छ ।
– सिंचाई सुविधा जनतालाई दिनका लागि गाउँगाउँमा कुलो निर्माण भईरहेका छन् ।
– प्रत्येक कार्यका लागि स्रोत पहिचान र सम्भाव्यता अध्ययनको काम भईरहेको छ ।

 

भुपेन्द्र चन्द, प्रमुख
भेरीगंगा नगरपालिका

Bhupendra Chand

अनुभूति
स्थानीय तहको नेतृत्व गर्न पाउँदा अधिकार प्राप्त भएको महसुस भएको छ । खुशी लागेको छ ।

 

चुनौती
चुनौती त थुप्रै छन् । व्यवस्थापन गर्नै अप्ठ्यारो परेको छ । स्थानीय तहमा सबै अधिकार छ भन्ने तर नियम कानुनले बाँधेको छ ।

 

एक बर्षका ५ महत्वपूर्ण काम
– सडक निर्माण गरेका छौं ।
– सिंचाईको काम गरेका छौं ।
– उज्यालो शहर अभियान अन्तर्गत १ सय २२ वटा सार्वजनिक ठाउँमा सोलार सिस्टम राखेका छौं ।
– शहरी विकास स्वास्थ्य केन्द्र स्थापना गर्ने निर्णण गरेका छौं ।

 

निर्मला राना मगर, उपप्रमुख
चौकुने गाउँपालिका

Nirmala Rana

अनुभूति

खुशी लागेको छ जनतालाई प्रत्यक्ष सेवा दिन पाउँदा ।

 

चुनौती
जहाँ समस्या त्यहाँ समाधानको उपाय आइहाल्छ । खासै चुनौती आएको छैन । नयाँ संरचना भएको कारण केही असहज परिस्थिति आउनु स्वभाविकै हो ।

 

एक बर्षका ५ महत्वपूर्ण काम
– हाइड्रो पावरको काम गरेका छौं ।
– खानेपानीको अभाव थियो यो गाउँपालिकामा त्यसलाई पूर्ति गरेका छौं ।
– बाटो निर्माणको कामहरु गरिरहेका छौं ।
– कृषि र पशुपालनमा विशेष हौसला प्रदान गर्ने कामहरु गरिरहेका छौं ।
– पछाडि परेका समूदायका निम्ति जनचेतना मुलक कार्यक्रमहरु गरिरहेका छौं ।

 

मनमाया आचार्य, उपप्रमुख
चिङ्गाड गाउँपालिका

Manmaya Acharya

अनुभूति
स्थानीय तहको पहिलो निर्वाचनमा निर्वाचित भइएको छ । खुशी लागेको छ ।

 

चुनौती
चुनौती थुप्रै छन् । फरक पार्टीकाको मन बुझाउनै अप्ठ्यारो हुँदो रैछ । जहाँपनि काम गर्ने क्रममा अवरोध मात्र आईलाग्ने ।

 

एक बर्षका ५ महत्वपूर्ण काम
– खास काम केही गरेको छैन निर्वाचित भएपछि फूलमाला लगाएर हिंड्नै ठिक्क भयो ।
– न्यायिक समितिले पनी पूर्णता पाएको छैन ।
– नीति बनाउँदै छौ ।
– सबै नीति साउनमा पास गर्छौं ।
– पुर्वाधार विकासका कामहरु भईरहेका छन् ।


कविन्द्र कुमार केसी, अध्यक्ष

सिम्ता गाउँपालिका

Kabindra KC

अनुभूति 

राज्य पुनर्संरचना पछिको नयाँ व्यवस्थामा काम गर्न पाउँदा उत्साह नै छ । जनताको प्रत्यक्ष सवाल समाधानमा काम गर्दा खुशी लागेको छ । ५ वर्ष पछि कहाँ पुग्ने भन्ने गुरुयोजना तयार गर्ने कुरालाई एउटा अवसरको रुपमा लिएको छु ।

 

चुनौति
नयाँ संरचनामा जनप्रतिनिधि र जनता दुवैको पुरानै सोच र परम्परामा काम गर्न एकदमै चुनौति छ । केन्द्र, प्रदेश र स्थानीय सरकार संचालनका लागि आवश्यक नीति निर्माणमा दुविधा र तहगत शीतकालीन द्वन्द्व छ । आन्तरिक स्रोत अभिवृद्धि र परिचालनमा चुनौति छ ।

 

एक बर्षका ५ महत्वपूर्ण काम
- आर्थिक, विनियोजन, कृषि, स्वास्थ्य, सभा संचालन, शिक्षा लगाएतका नीति पास गरियो ।
- सिम्ता उज्यालो कार्यक्रमको प्रारम्भ भयो ।
- पहुँच मार्ग निर्माण कार्य प्रारम्भ भयो ।
- जनतासंग सिम्ता गाउँपालिका (यो अलि महत्वकांक्षी योजना पनि हो) कार्यक्रम अगाडि बढेको छ ।
- गाउँपालिकाको संस्थागत विकासका निम्ति पहल भएको ।

२०७५ जेठ २ मा प्रकाशित

प्रतिकृया दिनुहोस्