Hilsa Yatayat

नाटकको 'वादशाह' भन्दा भित्रैदेखि काउकुती लाग्छ

वागीनाको उदेश्य अनुरुप स्थापनाकालमा मैले नाटक हेर्ने, कुलमानजीले नृत्य र ललित सिंजालीले संगीत हेर्ने भनेर स्थापना गरेका हौं । सल्लाहकारको रुपमा प्रेम दाई, भिम बहादुर दाइ लगायत हुनुहुन्थ्यो । पछिल्लो समय खास कलाकार ओझेलमा पर्ने, कलाकारको व्यापार गर्ने र त्यसैलाई भजाएर खाने व्यक्तिहरु अगाडि आउन थालेपछि हामीलाई सह्य भएन । हामी त गरिखाने, साधना गर्ने मान्छे हो । किन अनावश्यक दबावमा बस्नु पर्‍यो र ?
गणेशभक्त गौतम
नाटकको 'वादशाह' भन्दा भित्रैदेखि काउकुती लाग्छ

पुर्ख्यौली घर दैलेख । कक्षा दुई सम्म उतै पढें । मामाघर सुर्खेत । आउने जाने हुन्थ्यो । ३४ सालमा बसोबास नै सुर्खेत भयो । बुवाको जागीर सरुवा भएपछि कक्षा ३ पढ्न म सुर्खेत आएको हो । २०४३ मा एसएलसीको जिल्ला स्तरीय परीक्षामा प्रथम भएँ । अहिले त डाक्टर हुने, इन्जिनियर हुने भन्ने छ भने त्यतिखेर नहुने भन्ने भएन । अभिभावकको पनि कलाकार, साहित्यकार बनाउने चाहना हुँदैन ।

 

साइन्स पढ्न काठमाडौं गएँ । अमृत साइन्स क्याम्पसमा भर्ना भइयो । तर मेरो रुचि थिएन । नेपाल एकेडेमीमा अभिनय पढ्न थालें । आर्टस र कमर्समा स्नातक गरें । रंगमञ्च र नाट्य विज्ञानमा मास्टर गर्छु भनेर त्रिभुवन विश्वविद्यालयमा भर्ना भएँ तर पुरा गर्न सकिन ।

 

जीवनमा भौतिक र मानसिक दुःख हुन्छ । त्यसलाई मान्छेले कसरी लिन्छ भन्ने हो । बुवा तत्कालिन पिडिओ हुनुहुन्थ्यो । खान, लाउन, पढ्नको समस्या भएन । तर अरुको नजरमा म आफुलाई कमजोर महशुस गर्थें । बुवाले ३ वटा बिहे गर्नु भएको हो । म कान्छीबाट जन्मेको एकमात्र छोरा । सायद धेरै मायाले होला अरुजस्तो मलाई खेल्न नदिने । म सक्छु जस्तो लाग्थ्यो तर घरकाले यसले सक्तैन भन्थे । बुवाले राम्रोको लागि हप्काउने, पिट्ने गर्दा पनि नरमाइलो लाग्थ्यो । हरासमेन्ट हुन्थ्यो । भित्र कता कता त्रसित भएजस्तो ।

 

कतिसम्म कमजोर भने, स्कूलमा हाजिरी लाउँदै जाँदा ६० कट्दा मेरा नौ नारी गलेर आउँथे । आफ्नो रोलनम्बरमा उठेर एस सर भन्नु मेरा निम्ति धेरै गाह्रो । दिदीले ६६ आउँदा एस सर भनेर सर ६५ पनि आ‘छ भनेर समातेर उठाइदिन्थी । त्यसपछि हल्का महशुस हुन्थ्यो । १ महिना पछि मैले आफै हाजिरी लाउन सक्ने भएँ, ओहो ! निकै ठुलो काम गरें जस्तो लाग्यो । त्यस दिन आमालाई दिदी भन्दा पहिला भेटेर भन्छु भनेर ओरालोमा बतासिएर घर आएँ । आमा पानी लिन जानु भएको रहेछ । धारातिरै दौडएिर गएँ र ‘आमा–आमा मैले आज एस सर भनिदिएँ’ भनें । सायद आमाले बुझ्नु भएन । सामान्य रुपमा लिनुभयो ।

 

दैलेखको गढीको ठ्याक्कै अगाडि स्कूल थियो । साँडुमा घर । हिंडेर जाँदा ढिला भइहाल्थ्यो । स्कूलको गेट बन्द भइसकेको हुन्थ्यो । हेडसर हातमा लठ्ठी लिएर बाहिर बसिरहने । ‘दुइ एकान दुइ, दुइ दुना चार’ भन्दा र्‍याँइ र्‍याँइ आवाज तलैसम्म आउँथ्यो । अब पिटाइ खान्छु भनेर मनबाटै पसिना आउँथ्यो । स्कूल पुग्दा हातमा पिटाइ पनि खाइन्थ्यो । घर देखि स्कूल सम्म पाइने वाल्यकालको डरको प्रभाव अझै पनि छ जस्तो लाग्छ । २/४ जनाको अगाडि बोल्नुपर्दा अहिले पनि ढक्क फुलेजस्तो हुन्छ । सजिलो हुँदैन । यस्तो खालको मानसिक दुःख जस्तो भयो, अन्यथा अरु भौतिक दुःख पाइन ।

 

आम मानिसले अरुलाई कसरी चिन्छन् ? त्यो नै परिचय हो । म त आफुलाई कलाकार भन्न रुचाउँछु । साहित्यमा पनि रुचि छ । रंगकर्मको विद्यार्थी हो । अहिले वीरेन्द्रनगर ७ इत्राममा बस्छु ।

 

मेरो अभिनयमा क्षमता छ । नाटक खेलें । नाटक लेख्न पनि थालें । अरुका नाटकमा खेल्न अनुमति लिनुपर्ने पनि हुन्छ । कतिपयमा भनेजस्तो नहुन पनि सक्छ । पछिल्लो समयमा करिब ५० सालतिरबाट आफैले नाटक लेख्ने जमर्को गरेको हुँ । त्यसपछि निर्देशन पनि गर्न थालें । यी सबै विधामा मैले काम गरेको छु । स्कूले जीवनमा जानी नजानि कथा लेख्थें । त्यसैले नै मलाई नाटकतिर डोर्‍यायो । रंगमञ्च र साहित्यमा आफूलाई हराउन रमाइलो लाग्छ । नाटक राम्रो लेखिदिएर मात्र भएन । त्यसलाई रंगमञ्चमा उतार्नु पर्ने भएकोले यसलाई जीवित विधा मानिन्छ ।

Ganesh 5

अरु विधा भन्दा नाटक लेख्न अलि गाह्रो छ । हुनत सबै विधा उत्तिकै गाह्रो नै हुन्छ । परिवेश मिलाउनु पर्ने, घटना समेट्नु पर्ने, उपयुक्त पात्रको छनौट गर्नु पर्ने, पात्रहरुको सम्बन्धलाई न्याय गर्नु पर्ने, संवादमा ढाल्नु पर्ने यावत कुराहरुले झन्झटीलो पनि छ । त्यलैले नाटक लेखनमा धेरैको रुचि हुँदैन ।

 

नाटक खेल्ने भन्ने कुरा प्राविधिक भएकोले लेखनमा उत्पे्ररित गर्न सबैभन्दा पहिला रंगमञ्च चाहिन्छ । त्यो ध्वनि, प्रकाश, दर्शकलाई बस्ने व्यवस्था सहितको सुविधा सम्पन्न रंगमञ्च चाहिन्छ । राम्रो नाटक मञ्चन भयो भने दर्शकको रुचि बढ्ने हो । नाटक प्रतिको मोहले नै नाटक लेखनलाई उर्जा दिन्छ । नाटकको माग नै छैन यहाँ (सुर्खेतमा) । काठमाडौं बाहेकका जनताले नाटकको बारेमा बुझेकै छैनन् नि । रंगमञ्चको स्वाद कस्तो हुन्छ थाहा छैन । संघ संस्थाका सामान्य नाटक उही परम्परागत रुपमा देखाउने गरिएको छ । घरको तन्ना, पर्दाहरु ल्याएर सडक नाटकहरु गर्ने प्रचलन अझै हराएको छैन ।

 

यो (कर्णली) प्रदेशमा एउटा थिएटर बनाउन अघिदेखि प्रयास गरेको हो । तर यो क्षेत्रमा लाग्ने मान्छेहरुको अन्तै जागीर गर्नु पर्ने वा व्यवसाय गर्नुपर्ने बाध्यतामा छन् । म सरकारी जागीरे छु । मेरो टिममा भएका साथीहरु पनि विभिन्न ठाउँमा काम गरिरहनु भएको छ । प्रकाश पौडेल नगरपालिकामा र यमनारायण बस व्यवसायी समितिमा हुनुहुन्छ । उमालाल आचार्य सरुवा भएर अन्त जानु भयो । यसरी हामीले जुन स्प्रिटमा काम हुनुपर्ने हो, त्यो हुन सकेन । हामी फुर्सदको समयमा नाटक खेल्ने शौखिन भयौं । साधना गरेर हामी गएनौं । नाटकको लागि कर्णाली प्रदेशमा कुनै पनि हलहरु बनेका छैनन् ।

 

‘छोरी बिग्रिई गाजले, छोरा बिग्रियो मादले’ भन्ने जमानामा हामी हुर्कियौं । ५० सालमा हामीले वागीनाको स्थापना ग¥यौं । म त्यसबेला सरकारी नासुको जागीर खान्थें । प्राविधिक सुब्बालाई ठुलै मानिन्थ्यो त्यतिखेर । सुब्बाजस्तो मान्छे के सडक सडकमा नाटक खेलेको होला भन्ने मान्छे पनि थिए । तपाईं अझै नाटक खेल्दै हुनुहुन्छ ? अब त अलि परिपक्क हुनुप¥यो नि भन्थे कसैकसैले । नाटक अल्लारेहरुले खेल्ने हो भन्ने बुझाई थियो समाजमा । त्यति हुँदा हुँदै पनि हामीले छोडेनौं । हाम्रा अग्रज प्रेमदेव गिरी दाजु अझै हामीसंग हिंड्नुहुन्छ । हामी भन्दा पछिल्लो व्याजसंग पनि उहाँ उत्तिकै रमाउनुहुन्छ ।

 

उहाँको जमाना झन् कस्तो थियो होला ? तर पनि उहाँले संघर्ष गर्नु भयो । नलुकाएर भन्दा हामीले आँट गरेनौं र जीवनको सुरक्षित पेशा अपनाउनु पर्छ भनेर लागियो । त्यसकारण यो क्षेत्रको जति विकास हुनुपथ्र्यो त्यो हुन सकेन । जागीर खानै पर्छ भन्ने पारिवारिक दवाव थियो । समाजले पनि पढे लेखेका, जिम्मेवार मान्छेले पनि नाटक खेल्दा रहेछन् । कला क्षेत्रमा आउँदा रहेछन् भन्दा हामीलाई गर्व लाग्छ । उदाहरण पनि बनियो होला ।

 

अन्तर प्रेरणाले नै यो क्षेत्रमा आकर्षित भएको हुँ । घरमा साँझ साँझ भजन हुन्थ्यो । बुवाले हार्मोनियम, तवला पनि बजाउनुहुन्थ्यो । त्यसले पनि केही प्रभाव पर्‍यो होला । तीन आमाको गरेर हामी ६ बहिनी ४ भाइ छौं । ठूलो दाई गायक हुनुहुन्थ्यो । बुवासंग संघर्ष गरेर घरबाट भागेर बनारस जानु भयो । उतै बिवाह गर्नु भयो । पढेर आउनु भयो । माइला दाइको पनि संगीतमा रुचि थियो । तर साहित्य संगीतलाई समाजमा सम्मान थिएन ।

Ganesh 3
म सानै देखि क्यारिकेचर गर्थें । गाउँ घरमै पनि को कसरी बोल्छ, हिड्छ त्यसकै नक्कल गर्ने रहेछु । एक जना हाम्रो आफन्तको प्यारालाइसिस् भएर मुख बाङ्गीएको थियो । म बाहिर आएर उनले बोले जस्तो गरी मुख बङ्गयाएर बोल्ने रहेछु । फुपुले देख्नु भएको रहेछ । के गरेको भनेर सोध्दा मैले चरा धपाएको भनेछु । सानै देखि नक्कल गर्ने भएर पछि अभिनयतिर रुचि बढ्दै गयो होला । यो क्षेत्रमा लाग्नु हुँदैन भन्ने बुवा आमाको असाध्यै ठूलो प्रेसर थियो । स्कूल तहमा नाटकहरु गर्थें ।

 

सुर्खेतमा फूलबारी क्लव थियो । ३८ सालमा खगेन्द्र थापाले लेख्नु भएको नाटकमा केटीको भूमिका गरेको थिएँ । नाम ठ्याक्कै याद भएन । स्वदेश फर्किने भन्ने सन्देश थियो । ११ वर्षको थिएँ होला । नाटक खेल्ने केटी हुन्थेनन् । केटीको भूमिका पनि केटाले गर्नुपथ्र्यो ।

 

अहिले सम्म दुई दर्जन नाटक लेखियो होला । १२ वटा नाटक समेटिएको युग आरम्भ नामको नाटक संग्रह प्रकाशित भएको छ । तर विभिन्न संघ संस्थाले अनुरोध गरे अनुसारको त धेरै लेखियो होला । करिब सय वटा नाटक जतिमा निर्देशन गरें ।

 

मैले अभिनय गरेको बन्धकी फिल्ममा मेरो अभिनय धेरै रुचाइयो । एशियन फिल्म प्रोडक्सनले निर्माण गरेको कमारो भन्ने टेलिसिरियल पनि निकै चर्चित भयो । नेपाल टेलिभिजनको सहनाइ रोइरहेछ, बस्ती मलाई कुरिरहेछ भन्ने टेलिसिरियल पनि राम्रो चल्यो । पछि काठमाडौं छोडियो । जागीर खाइयो । सुर्खेत आएपछि सानो भोलुमका छोटा नाटकहरु खेलें । सानो ठाउँमा मान्छेहरुले यो कलाकार भनेर चिने । त्यसमै मख्ख परियो । राष्ट्रिय परिचय जिल्लामा सिमित भयो ।

 

झट्ट हेर्दा एउटै देखिए पनि पर्दा र रंगमञ्चमा धेरै फरक छ । हुनत आफुलाई जानेको काम सजिलै लाग्छ । रंगमञ्चमा वास्तविक अभिनय हुन्छ, जिवन्त हुन्छ । फिल्ममा नमिलुञ्जेल सम्मको लागि टेक लिइन्छ । एउटा डाइलगको लागि ३/४ दिन दगाएर सुटिङ गरिन्छ । रंगमञ्चमा काम गर्नु भनेको तालमा पौडी खेल्नु जस्तै हो । फिल्म भनेको जादु जस्तै हो ।

 

सबैभन्दा पहिला यो प्रदेशको राजधानीमा एउटा रंगमञ्च स्थापना गर्नु पर्‍यो । दोस्रो कुरा यस क्षेत्रको समग्र विकासको निम्ति काम गर्न प्रदेश सरकारले एउटा जिम्मेवार निकाय बनाओस् । त्यो निकायमा आफ्ना मान्छे भर्ती केन्द्र बनाउन थालियो भने त केही काम भएन । यो क्षेत्रमा लागिपरेका, काम गर्न सक्ने, राजनीतिलाई हैन कला संस्कृतिलाई जीवन ठानेकाहरुलाई ल्याउने गरी योजना बनाउनुपर्छ । नेपाली भाषा उत्पति भएको कर्णाली प्रदेश र यहाँको संस्कृतिको प्रवर्धन गर्न सकिन्छ ।


सुर्खेतकै कुरा गर्ने हो भने पश्चिममा अछामतिरको देउडा संस्कृति छ । पूर्वको सिम्ता क्षेत्रमा छुट्टै मौलिक संस्कृति छ । त्यहाँको संस्कृती ‘सती पदशाको धमारी’ भन्ने नाटक लेखेको छु । काठमाडौंमा निकै लोकप्रिय भयो । आज मान्छे फेसबुकमा हराइरहेको छ । आफ्नो संस्कृति बिर्सने, विदेशी संस्कृतिमा रमाउने, आफ्नो मौलिकतालाई हेयको दृष्टिले हेर्ने गरिन्छ । हुड्के नाचको बारेमा नयाँ पुस्तालाई थाहै छैन । सिम्तामा सैरेलो भन्ने प्रचलन अहिले हराइसक्यो । यस्ता संस्कृतिको जगेर्ना गर्ने गरी प्रदेश सरकारले योजना ल्याउन जरुरी छ ।

Ganesh 1

कला संस्कृतिमा रुचि नभएको होइन । तर सरकारी तहबाट स्कूल, नगर, जिल्ला स्तरीय प्रतिष्पर्धाहरु गराइराख्ने, पुरस्कृत गर्ने, आर्थिक रुपमा पनि सम्पन्न हुन सकिन्छ भन्ने आशा देखाइदिन जरुरी छ । हाम्रो तहबाट यस्ता प्रोत्साहनका कार्यक्रम गरीरहेका छौं । नियमित हुन सकेको छैन । लोक नाटक यो समयमा प्रतिष्पर्धा हुन्छ भन्ने भयो भने तयारी गर्थे मान्छेहरुले र आफ्नो सम्भावनाको पनि खोजी गर्थे । प्रतिभालाई निखार आउँथ्यो । यसो भएन भने प्रतिभा हराउँदै जान्छ । उत्पादन विक्रि हुने ठाउँ हुनुपर्छ ।

 

कलाको प्रतिभा भएको मान्छे त कमै हुन्छन् । यो क्षेत्रमा आएर परिचय त बन्छ तर जीविकोपार्जन हुन सक्तैन । सम्मानित जीवन हुन्छ तर व्यवस्थित बजारको अभावमा पेशा बनाउनेहरुको कमी भएको हो । अस्ति भर्खर सुर्खेतमा कविता कन्सर्ट भयो । टिकट किनेर कविता सुन्ने कुरा चानचुने होइन । असाध्यै राम्रो र गर्व गर्न लायक कार्यक्रम भयो । हामीले पनि पहिले यस्तो गर्न नखोजेको होइन । तर हामी जमर्कोमै सिमित भयौं । नाटक नचल्ने पनि होइन । तर यहाँ कामको पनि नक्कल गर्ने प्रचलन छ । जस्तै एउटा मान्छेले बस किन्यो भने सबैले बस किन्ने । कसैले कुखुरा पाले सबैले त्यही गर्ने । नयाँ नयाँ काम नगर्ने । कला क्षेत्रको उत्पादन पनि बजारमा आउनु पर्छ अनि मात्र आकर्षण बढ्छ । नत्र त्यागी पेशा हुन्छ ।

 

मलाई अहिले पनि नाटक लेखिदिन अनुरोध गरे पैसा कति छ भन्न लाज लाग्छ । तपाईंले बिचार गरेर दिनुस् न भन्छु । नाटक खेलेर पैंसा पाइन्छ र भन्ने जस्तो लाग्छ । किनकी हामीले शोखको लागि काम गर्‍यौं । कसैले पैसा छैन भन्यो भने पनि सहयोग स्वरुप काम गरिन्छ ।

 

मेरै अध्यक्षतामा सुर्खेतमा वाध्यवादन, गीत र नाट्य विधालाई समेट्ने गरी (वागीना) समुह गठन भयो । लगातार ९ वर्ष म अध्यक्ष भएँ । त्यसबेला वागीनाको चर्चा पनि भयो । सबै साथीहरुले निकै योगदान दिनु भयो । योगदानको जति प्रशंसा गरेपनि कम हुन्छ ।

 

वागीनाको उदेश्य अनुरुप स्थापनाकालमा मैले नाटक हेर्ने, कुलमानजीले नृत्य र ललित सिंजालीले संगीत हेर्ने भनेर स्थापना गरेका हौं । सल्लाहकारको रुपमा प्रेम दाई, भिम बहादुर दाइ लगायत हुनुहुन्थ्यो । पछिल्लो समय खास कलाकार ओझेलमा पर्ने, कलाकारको व्यापार गर्ने र त्यसैलाई भजाएर खाने व्यक्तिहरु अगाडि आउन थालेपछि हामीलाई सह्य भएन । हामी त गरिखाने, साधना गर्ने मान्छे हो । किन अनावश्यक दबावमा बस्नु पर्‍यो र ? भन्ने खालको अनुभुति भएर वागीना छोड्नु परेको हो । पछि नाटकको लागि मात्रै भनेर आरङ्ग नेपाल भनेर स्थापना गर्‍यौं । तर त्यसलाई पनि साधनाको रुपमा अगाडि बढाउन सकेनौं ।

 

सुर्खेत लगायत कर्णाली प्रदेशका सबै जिल्लामा संस्कृतिको विविधता छ । पहिले पहिले सुर्खेतमा थारुहरु नाच लिएर घर घर आउँथे । आफ्नो संस्कृति देखाउन लाज मान्ने वातावरणको सिर्जना भयो । जुम्लामा फल्ने फापर नखाने, तराइको चामल बोकेर खाने चलन भयो । समग्रमा हेर्ने हो भने हाम्रो मौलिक संस्कृति लोप भइरहेको छ । प्रविधिको कारण पाश्चात्य संस्कृति हाबी भइरहेको छ ।


बैंसमा एक पटक सबै कवि कलाकार हुन्छन् । बैंसको झोकमा मात्रै बन्ने कवि, साहित्यकारले कलाकारितामा योगदान दिन सक्तैन । त्यसको भविष्य के त ? कलाकार भएरै उसको रोजी रोटीको व्यवस्था हुने वातावरणको निर्माण गर्नुपर्‍यो । सुर्खेतकै कलाकारहरु अहिले नेपालको संस्कृति लिएर विदेश जानेहरु धेरै हुनुहुन्छ । अझै त्यसलाई व्यवस्थित गर्नु पर्छ । स्थानीय सरकारले मौलिक संस्कृतिलाई जगेर्ना गर्ने, त्यस क्षेत्रमा लागेकालाई संरक्षित गर्ने, रोजगारी दिने गरेमात्र कलाकार र कालाकारिताले उचाइ लिन्छ ।

Ganesh 2

म झट्ट हेर्दा भौतिकवादी जस्तो देखिएता पनि भित्री रुपमा आध्यात्ममा विश्वास गर्छु । यो भन्दै हिड्नु पर्ने कुरा त होइन, तर कहिले काहीं भन्नु पर्ने हुँदो रहेछ । खुशी र दुःखलाई समान किसिमले हेर्ने कुरामा आफूलाई ढाल्ने प्रयास गरिरहेको छु । भौतिक रुपमा मान्छेलाई सुखी वा दुःखी बनाउने धेरै कुराहरु हुन्छन् । मान्छेसंग जे कुराको अभाव वा चाहना छ, त्यो परिपुर्ति नहुँदा उसलाई दुःख हुन्छ । आकस्मिक र अनपेक्षित रुपमा कुनै कुरा प्राप्त भयो भने खुशी हुने हो । त्यस किसिमको खुशी मलाई छोरी जन्मिएपछि भयो । ५० सालमा बिहे भयो । आफ्नै कारणले ५८ सालसम्म हाम्रो बच्चा भएन ।

 

म त त्यति दुःखी थिइन । श्रीमती घरमै बस्ने । समाजमा घर परिवारमा अनेक कुरा गर्दा हुन् । अरु महिलाहरुले टर्चर गर्छन् होला जस्तो लाग्थ्यो । हामीले किन सन्तान जन्माउनु पर्‍यो र? कैयौं बालबालिका अभिभावक बिहीन छन् । उनीहरुलाई ल्याएर आश्रय दिनुपर्छ भन्ने कुरामा दुवै सहमत थियौं । एउटा खालको उकुस मुकुसमा ५८ सालमा छोरी जन्मिएपछि हामी असाध्यै खुशी भयौं ।

 

जीवनमा गर्न चाहेका र गर्न नसकेका धेरै कुराहरु छन् । रंगमञ्चको कुरा गर्दा आफ्नो क्षेत्रमा एउटा व्यवस्थित रंगमञ्च बनाउने, यहाँको कला र संस्कृतिको अध्ययन गर्न देश विदेशबाट मान्छेहरु आउन् भन्ने लाग्थ्यो र अहिले पनि लागिरहेको छ । नाटक लेखेर मदन पुरस्कार वा यस्तै अन्य पुरस्कार पाउन पाए त भन्ने पनि लाग्छ । अदृश्य शक्तिले जीवन फेरी १६ वर्ष देखि जीउने अवसर प्रदान गरे छुटेका कामहरु व्यवस्थित रुपमा गर्न सकिन्थ्यो । गर्न नहुने कतिपय कामहरु पनि गरियो । तिनलाई नदोहोर्‍याउन हुन्थ्यो ।


नाटकको वादशाह भन्दा भित्रैदेखि काउकुती लागेर आउँछ । आफैलाई मूल्याङ्कन गर्दा मैले जति गर्नु पथ्र्यो, त्यति गर्न सकिन । मैले गर्न सक्ने चाहना, क्षमता, अनुभव र सम्भावनाको २५ प्रतिशत मात्र गर्न सकेजस्तो लाग्छ । केही कलाकार उत्पादन गरें । मैले नगरे पनि अरु कसैले पनि यो भन्दा बढी केही गर्न सकेनन् । त्यसो भनेर चित्त बुझाउँछु ।

 

प्रस्तोता : टीका विष्ट

 

२०७५ जेठ १४ मा प्रकाशित

प्रतिकृया दिनुहोस्