Tiwari Bhada Pasal

रारा पर्यटन वर्षको उद्घाटनको बजेट ४० लाख, कसरी खर्च भयो ६४ लाख ?

सेरोफेरो/सुर्खेत
रारा पर्यटन वर्षको उद्घाटनको बजेट ४० लाख, कसरी खर्च भयो ६४ लाख ?

२५ जेठ । कर्णाली रारा पर्यटन वर्ष २०७५ को उद्घाटन कार्यक्रममा मात्रै करिब ६४ लाख रुपैंया खर्च भएको छ ।


कर्णाली प्रदेश सरकारका अर्थमन्त्री प्रकाश ज्वालाले कर्णाली रारा पर्यटन वर्षको उद्घाटनको खर्च विभिन्न शिर्षकमा कुल ६३ लाख ८१ हजार ७ सय ९५ रुपैंयाको विवरण शुक्रबार प्रदेश संसदको बैठकमा प्रस्तुत गरे ।


जसअन्तर्गत प्रदेश सरकारबाट ४९ लाख ४१ हजार र नेपाल पर्यटन बोर्डबाट १४ लाख ४० हजार बजेट प्राप्त भएको थियो ।


मन्त्री ज्वालाका अनुसार अतिथि र सहभागीलाई पर्यटन वर्षको प्रचारका लागि वितरण गरिएको झोलाका लागि २ लाख, अतिथि र सहभागीको खाना र खाजा १७ लाख ४६ हजार, अतिथिलाई उपहार ५ लाख ५४ हजार, संचारकर्मीको यातायात र आवासमा ६४ हजार रुपैयाँ खर्च भएको छ ।


यसैगरी, प्रचारप्रसारका लागि टेलिभिजन जिंगल ४ लाख १२ हजार, रेडियोमा २ लाख ५८ हजार, पोस्टर लगायतका अन्य सामग्री २ लाख, हवाई भाडा १० लाख २९ हजार, स्थलगत यातायत ७६ हजार, मञ्च व्यवस्थापन, सांस्कृतिक कार्यक्रम लगायत ११ लाख ५० हजार, आवास ४ लाख ६२ हजार र स्थानीय तयारीमा २ लाख गरी जम्मा ६३ लाख ८१ हजार खर्च भएको ज्वालाले सार्वजनिक गरेको खर्च विवरणमा उल्लेख छ ।


बिहिबार बसेको नवौं संसद बैठकमा सरकारले पर्यटन वर्षको खर्च सार्वजनिक नगरेको भन्दै विपक्षीले संसद अवरुद्ध गरेपछि शुक्रबार बसेको दशौं बैठकमा मन्त्री ज्वालाले खर्च विवरण सार्वजनिक तत्काल गर्न नसक्नु सरकारको कमजोरी भएको स्वीकार समेत गरे ।


पर्यटन वर्ष शुभारम्भ लगत्तै नीति तथा कार्यक्रम र बजेट निर्माणमा व्यस्त हुनु परेकाले खर्च सार्वजनिक गर्न ढिलाइ भएको उनको जिकिर थियो ।


गत वैशाख १ गते प्रधानमन्त्री केपी शर्मा ओलीले मुगुको रारामा पुगेर कर्णाली रारा पर्यटन वर्षको उद्घाटन गरेका थिए ।


कर्णाली सरकारले शुक्रबार सरकारको निति तथा कार्यक्रम प्रस्तुत गर्ने भनिए पनि शनिबार प्रस्तुत गर्ने कार्ययोजना रहेको संसद सचिवालयले जानकारी दिएको छ ।

सुर्खेत २५, जेठ मा प्रकाशित

प्रतिकृया दिनुहोस्