Tiwari Bhada Pasal

मुसीकोटमा भेटिए ६ जना बालश्रमिक

मनिषा केसी/रुकुम
मुसीकोटमा भेटिए ६ जना बालश्रमिक

२९ जेठ । रुकुम पश्चिमको सदरमुकाम मुसीकोट स्थित खलंगा बजारमा ६ जना बालश्रमिकहरु फेला परेका छन् । बालश्रम विरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा मंगलबार जिल्ला बालकल्याण समिति र मुसीकोट नगरपालिकाको आयोजनामा बालश्रमको अनुगमन गर्दा होटेलमा काम गर्ने ३ जना र गाडी मर्मत सेन्टरमा काम गर्ने ३ जना बालबालिका भेटिएका हुन् ।


लालीगुराँस होटेल मुसीकोट नपा –१ मा सल्यान दार्मा गाउँपालिका –३ का १४ वर्षीय चन्द्रप्रकाश केसी र उनकी १६ वर्षीया दिदी पार्वती केसीले ३ दिन अघिदेखि मात्र काम गरिरहेको अनुगमनका क्रममा भेटिएको छ । उनीहरुको घरमा अभिभावक नभएर काम खोज्दै यहाँ आएकोले उनीहरुलाई काम दिएको होटेल सञ्जालक दिपेन्द्र बुढामगरले बताए । त्यस्तै शाईप्रसाद होटेल मुसीकोट नपा –१ मा बाँफिकोट गापा –३ का १६ वर्षीय कुशम विकले काम गरिरहेको भेटिएको छ । गतवर्षदेखि नै उनले यहाँ काम गरिरहेको होटेल सञ्चालक राजु ददेलले बताए ।


अनुगमनका क्रममा मुनामदन अटोपार्टस मुसीकोट नपा–१ मा सिस्ने गापा –८ रुकुम पूर्वका १६ वर्षीय रणबीर सुनार र युग इन्जिनियरिङ्ग मुसीकोट नपा–१ मा सिस्ने गापा –८ रुकुम पूर्वकै १३ वर्षीय शिवराज विकले काम गरिरहेको पाईएको छ । त्यस्तै कर्ण अटोपार्टस सर्भिस सेन्टर मुसीकोट नपा–१ मा कोहलपुर बाँकेका १६ वर्षीय कृष्ण चौधरीले गतवर्षदेखि काम गर्दै आएका छन् ।


यी बालबालिकाहरुलाई अभिभावकको खोजी गरेर पारिवारिक पुनस्र्थापनाका लागि पहल गरिने जिल्ला बालकल्याण समितिका बालअधिकार अधिकृत मानविर ओलीले बताए। अभिभावक विहीनको हकमा उद्दार गरेर पठनपानका लागि सहयोग गरिने उनले बताए । उनका रुकुमका अनुसार गतवर्षको भन्दा यसवर्ष बालश्रमिकको संख्या घटेको छ । गतवर्ष २७ जना बालश्रमिकहरु भेटिएकोमा विभिन्न सचेतना कार्यक्रमका कारण हाल बालश्रमकिको संख्या कम भएको बालअधिकार अधिकृत ओलीको भनाई छ ।


मुसीकोट नगरपालिकाका उपप्रमुख प्रेमकुमारी सुनार केसीको नेतृत्वमा भएको अनुगमन टोलीमा महिला तथा बालबालिका कार्यालयका निमित्त प्रमुख भावना शाह, जिल्ला प्रहरी कार्यालयका महिला तथा बालबालिका सेवा केन्द्र प्रमुख असई गोविन्दा पन्थी, बालअधिकार अधिकृत मानविर ओली, बालसञ्जालका प्रतिनिधि, बालबालिकाको क्षेत्रमा काम गर्ने संघसंस्थाका प्रतिनिधि, पत्रकार लगायतको उपस्थिति रहेको थियो ।

२०७५ जेठ २९ मा प्रकाशित

प्रतिकृया दिनुहोस्