Tiwari Bhada Pasal

महिलाको सार्वजनिक जीवनप्रति पत्रकारलाई किन चासो ?

झापा–वीरगञ्ज आवत जावत गर्दैमा बिहे गरेको हुन्छ ?
मायामितु
महिलाको सार्वजनिक जीवनप्रति पत्रकारलाई किन चासो ?

९ असार । मानिसका इच्छा र चाहनाहरु चलायमान हुन्छन्, निरन्तर चलिरहने घडीको समय जस्तै । जसरी घडीको सुईले सँधै एउटै समय देखाउँदैन त्यस्तै मानिसका चाहनाहरु सधैं एकनास हुँदैनन् । समयसँगै मानिसको सोचसँगसँगै इच्छा, चाहनाहरु पनि परिवर्तन हुन्छन् ।

 

बदलिँदो सोच, स्थिति र परिस्थिसँगै मानिसको इच्छा र चाहनाले उसलाई एक ठाउँबाट अर्काे ठाउँमा पुर्याउँछ भने फेरि त्यही ठाउँमा फर्किन बाध्य पनि बनाउँछ । यो निरन्तर चलिरहने पक्रिया हो । अनि एउटा यात्रा हो । कहाँ पुगेर कतिखेर कहाँ टुगिन्छ भन्ने नसिकने हो मानिसको जीवन यात्रा ।

 

यात्राको यस अवधिमा कतिपय उसका इच्छाहरु पुरा हुन्छन भने कतिपय अधुरा नै रहन्छन् । तिनै अधुरा इच्छाहरु पूर्ति गर्नका लागि मानिस निरन्तर अघि बढिरहन्छ । मानिसका आफ्नै ईच्छा, चाहना, स्थिति परिस्थितिले जीवनलाई एउटा गति दिइरहेको हुन्छ र मानिस निरन्तर चलिरहन्छ घडीको चलायमान सुईजस्तै । यही त परिवर्तनको नियम हो ।

 

परिवर्तनको यस्तै ईच्छा र सपना बोकेर म पनि झापाबाट वीरगञ्ज हानिएकी थिएँ कुनै दिन । समयले अहिले मलाई फेरि झापामै फर्काएको छ । यसवीच मैले के पाएँ वा के गुमाएँ ? मेरा कति सपना पूरा भए वा कति अधुरा रहे ? त्यो सब नितान्त मेरो व्यक्तिगत विषय र भोगाइ हो । जसलाई सार्वजनिक गर्नैपर्ने आवश्यकता देख्दिनँ ।

 

तर, वीरगञ्जदेखि झापासम्म र झापादेखि वीरगञ्जसम्मको मेरो यात्राको विषयमा वीरगञ्ज र झापामा चलेका टीका टिप्पणीहरुले मलाई आज केही लेख्न बाध्य बनायो ।

 

हरेक मानिसको आफ्नै रुचि र रोजाइ हुन्छ । हो, मेरो पनि केही रुचि र रोजाइ हुन सक्छ । हो त्यही रुचि अन्तर्गत पर्छ मेरो पत्रकारिता र साहित्य । आफूलाई पत्रकार र साहित्यकार चाँहि भन्दिनँ । कहिले काहीँ मन लाग्दा यसो लेख्ने मात्र हुँ । तर, पनि केही वर्ष लेखेरै बाँचेकी हुँ ।

 

मानिस समय र परिस्थितिको दास पनि हो । त्यही समय र परिस्थितिले कहिलेकाहीँ मानिसलाई यसरी थप्पड हान्छ कि कहाँ पुगिन्छ आफैंलाई थाहा हुंदैन । सायद त्यस्तै समयको थप्पडमै परेर त भन्नु पर्ला म पनि वीरगञ्ज पुगेकी ।

 

तर, झापाबाट वीरगञ्ज पुग्ने यो विषय नितान्त मेरो निजी विषय थियो । त्यति बेलाको सबैभन्दा ठूलो मेरो सपना भनेको मनासिक तनावबाट मुक्ति नै थियो । हो, तनाबलाई व्यवस्थापन गर्न मैले ठाउँ छाँडे केही समयका लागि । आफ्ना रहर, इच्छा र चाहनाहरु मारें । ती रहरहरु फेरि पलाउन सक्छन्, इच्छाहरु जाग्न सक्छन्, चाहनाहरु पूरा हुन सक्छन् । जसरी बर्खामा बाढीले धमिलो भएको पानी पर्खिन सक्यो भने हिउँदमा संग्लिन्छ । जसरी सुकेका रुखमा पनि पालुवा पलाउँछ समय आएपछि । यदि जरा सुकेको छैन भने ।

 

तर, जब म वीरगञ्ज पुगें, त्यसको हल्ला झापामा भयो । हल्ला हुनु र चर्चा चल्नुलाई मैले अस्वाभाविक ठानिनँ । हल्ला नगरी, चर्चा नगरी खाएको पनि त पच्नुपर्यो नि मानिसहरुलाई । तर, त्यही चर्चाको विषय र चर्चा गर्ने जमातप्रति चाँहि यो मेरो लेख केन्द्रित छ । जसलाई मैले एकदमै अस्वाभाविक र अवास्तविक ठानेकी छु ।

 

जब म झापाबाट वीरगञ्ज गएँ, झापामा चर्चा चल्यो कि मायामितुले दोस्रो बिहे गरेर वीरगञ्ज गएकी हो । श्रीमान एकदमै बुढो छ रे, तर सम्पति प्रशस्तै ! सम्पतिको लोभमा बुढोमान्छेसँग बिहे गरेर गएकी र त्यही भएर अहिलेसम्म झापा नआएकी रे !

 

यसरी हल्ला गर्ने जमात चाँहि सुरुमा पत्रकारहरु थिए । र, यो हल्ला मेरो घरसम्म पुग्यो । मेरो घरबाट मेरी भाउजू साँच्चै मैले विहे गरेको हो कि होइन भनेर बुझ्न मलाई थाहै नदिई एक्कासी वीरगञ्ज आउनुभयो । दुई दिन बस्दा केही त्यस्तो छनक नपाएपछि फर्केर जानुभयो ।

 

पत्रकारिता र साहित्यसँग आवद्ध भएकाले मेरो विषयमा पत्रकारले हल्ला वा चर्चा गरेको कुरालाई पनि म अस्वाभाविक ठान्दिनँ । तर, समाजको त्यो जमात, जसलाई बौद्धिक जमात भनिन्छ, कुनै कुरा बोल्दा वा लेख्दा त्यो विषयका बारेमा जानकारी राख्ने र सत्यतथ्य बोल्ने र लेख्ने जमातकै केही व्यक्तिले यस्तो अनर्गल हल्ला फिँजाएकोमा भने मेरो घोर आपत्ति हो ।

 

कसैको, कतैको यात्रा वा ठाउँ सरेको विषयलाई चरित्रसँग जोडनुभन्दा पहिले जोसुकैले पनि धेरैपटक विचार गर्न वा धेरै कुरा बुझ्न आवश्यक हुन्छ जस्तो मलाई लाग्छ । यहाँनिर मलाई लागेको कुरा के हो भने पत्रकारको काम सत्यतथ्य घटनाका विषयमा समाजलाई सूसुचित गर्ने होइन र ? पत्रकारले कसैको व्यक्तिगत जीवन र आचरणसँग सम्बन्धित कुरालाई यसरी हलुका रुपमा लिएर हल्ला फिँजाउन मिल्छ र ? के पत्रकारको आचारसंहिताले यही भन्छ ? कसरी भन्न सकेका होलान् ?

 

महिलाले एक ठाँउ छाडेर अर्काे ठाउँमा केही समयका लागि जाँदैमा बिहे नै गरेको हुन्छ र ? यसो हो भने ती सबै महिला जो अवसर वा पहिचानको खोजीमा आफ्नो ठाउँ छाडी मुलुककै अन्य शहर वा गाउँ वा बिदेश पुगेका छन्, ती सबै महिला बिहे नै गरेर गएका हुन् त ? यदि हो भने पनि बिहे त उसको व्यक्तिगत मामिला हैन र ?

 

कुनै व्यक्तिले गरेको काम वा उसको आचरणले सार्वजनिक रुपमा असर पारेको विषयभन्दा बाहेक अरुको व्यक्तिगत र निजी जीवनमा दख्खल दिन पाइन्छ ? बिहे गरेकै भए पनि त्यो उसको स्वतन्त्रता हो नि । यदि पुरुषले अर्काे बिहे गर्न हुन्छ भने महिलाले गर्नै हुँदैन भन्ने छ र ? कि हाम्रा आमा, हजुरआमाहरु बालविधवा र एकल भएर बाँच्न बाध्य भएजस्तै हामी पनि एकल नै भएर बाँचिरहनुपर्छ भन्ने छ र ?

 

हुन त यो पितृसतात्मक समाज भएर होला । पुरुषले जतिवटा बिहे गरे पनि, जोसँग हिडे पनि हुने, जे गरे पनि हुने । अनि हामी महिलाले चाँहि केही समय स्थानान्तरण हुँदैमा बिहे गरेको भनेर लाञ्छना लगाइदिने ? मेरा पनि साथी भाइ छन् । आफन्त छन् । ठाउँ छाड्दैमा साथीभाइ, इष्टमित्र सबैसँगको सम्बन्ध नै टुट्ने हो र ?

 

जीवनको उकुस मुकुस भनौँ वा परिस्थितिको प्रहार । या भनौं, समयले झापाबाट वीरगञ्ज पुर्याएकै हो । जब वीरगञ्ज पुगियो, धु्रवचन्द्र गौतम, धनुषचन्द्र गौतमहरुले सिञ्चित गरेको भूमिमा पाइला टेकियो । म पुग्दा भने वीरगञ्जको साहित्यिक माहोल शून्य जस्तै थियो । साहित्यमा शुन्यता देखिएको वीरगञ्जमा मैले केही गतिविधि अघि बढाएँ । केन्द्रसम्म जोड्ने थोरै कोशिष पनि गरेँ । मेरो थोरै क्षमता, मेहनत र लगनशीलताले केही भरिएजस्तो देखियो वीरगञ्जको साहित्यिक क्षेत्र ।

 

वीरगन्ज बसियो । नयाँ ठाउँ, नयाँ परिवेश अनि भिन्नै संस्कार । त्यसमाथि म एक्ली महिला । सहज थिएन मेरा लागि वीरगञ्ज । महिला भएकै कारण म कमजोर चाँहि पक्कै होइन । तर, महिलाप्रतिको सामाजिक सोचका कारण थोरै कठिन पक्कै भयो । त्यसैले हरेक पल संघर्षमै बिते । तर, आफूलाई सहज बनाउँदै लगियो । साथीभाइ पनि राम्रै बनाइयो जस्तो लाग्छ । सामाजिक क्षेत्रमा पाएको सम्मान त्यस ठाउँका सामाजिक अगुवा र बौद्धिक जमातले मप्रति देखाएको सम्मान र कदरले वीरगञ्जमा राम्रै परिचय बनाइयो जस्तो लाग्छ ।

 

छोटो समयमा जुन स्थान बनाएँ, त्यसलाई मैले महत्वपूर्ण उपलब्धि ठानेकी छु । वीरगञ्ज बसाइका क्रममा भोगेका भोगाइहरुको विषयमा पछि कुनै अर्काे लेखमा लेखौला । अहिले भने म महिलाको स्थानान्तरणको विषय मात्र उल्लेख गर्दैछु ।

 

वीरगञ्जले मलाई धेरै कुरा सिकाएको छ । सबैभन्दा ठूलो त जीवन के हो ? वास्तवमा वीरगञ्ज पुगेपछि मात्रै थाहा पाएँ । वीरगञ्ज बसाईको केही समयपछि पारिवारिक कामले झापा नै आउनुपर्ने भएर झापा आएँ । अहिले झापामै छु । पछि फेरि वीरगञ्ज नै फर्कन्छु ।

 

झापा आएको केही समयपछि वीरगञ्जका केही साथीहरुले फोन गरेर बधाइ दिनुभयो । मलाई अचम्म लाग्यो । केको बधाइ भनेर सोधें । भोज खुवाउनुपर्छ भनेर टारेको हो ? बिहे गरेर जानु भएको रे भनेको सुन्छु नि भनेर उताबाट जवाफ आउँथ्यो ।

 

जसको नि उस्तै कुरा सुनेर छाँगाबाट खसेजस्तै भएँ । यस्तो वाहियात कुरा कसले भन्यो भनी मैले सोँधे । भोलि थाहा भइहाल्ने कुरा हो, किन ढाँट्नु हुन्छ भन्दै झन् पो भन्छन् त बा !

 

अचम्मको कुरा त के भने यहाँ पनि त्यसो भन्ने अरु कोही नभएर पत्रकार नै थिए । पत्रकार पत्रकारकै वीचमा म बिहे गरेर झापा गएको भन्ने कुरा चलेको रे ! मलाई अचम्म लागेको कुरा के भने मेरो व्यक्तिगत जीवनप्रति पत्रकारलाई यति धेरै चासो र खोजीनीति किन ? पत्रकारले त व्यवसायिक जीवन र सार्वजनिक सरोकारको विषयमा कुरा गर्नुपर्ने होइन र ?

(अनलाइनखबरबाट)

२०७५ असार ९ मा प्रकाशित

प्रतिकृया दिनुहोस्