Tiwari Bhada Pasal

विद्रोही आमा जसले आफ्नै छोरीलाई युद्धमा पठाइन्

बिमला केसी
विद्रोही आमा जसले आफ्नै छोरीलाई युद्धमा पठाइन्

हरेक व्यक्तिका कथा हुन्छन् । व्यथा हुन्छन् । र, यी सुन्नलायक हुन्छन् । यस्ता कथालाई टपक्क टिपेर हामीले प्रस्तुत गर्छौं । जसलाई हामी जनकथा भन्छौं । तत्कालिन माओवादीले शुरु गरेको सशस्त्र द्वन्द्वमा होमिएकी रुकुमकी विमला केसी, जो हाल राज्य पुनःर्संरचनापश्चात् निर्मित कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री छन्, को कथा प्रस्तुत गरेका छौं । विभिन्न ५ खण्डमा रहेको उनको कथाको पहिलो भाग ।-सम्पादक

 

जन्म 

पश्चिम रुकुमको सानाीभेरी गाउँपालिका वडा नम्वर ९ सिम्लीमा डम्बरसिङ खत्री र मोति (कालि) खत्रीबाट जन्मिएकी हुँ ।

 

निम्न मध्यम खालको परिवार हो हाम्रो । बुवा कपडा पसल गर्नुहुन्थ्यो । आमा २८ वर्षको हुँदा बुवा बित्नु भयो । त्यतिबेला म ६ वर्षको थिएँ । झाडापखाला लागेर एउटा एमजीटको अभावमा एक रातकै विरामीले बुवालाई २९ वर्षकै उमेरमा लग्यो ।

 

दुई भाई र दुई बहिनी गरी हामी जम्मा ४ जना छौं । बुवा बितेपछि हजुरबुवाको अभिभावकत्वमा हुर्कियौं । एउटा भाई मेडिकल र अर्कोले कृषि गर्छ । दिदीले नाति नातिना देखिसक्नुभो ।

 

बाल्यकाल
घर नजिकै स्कूल हुँदा पनि हामीले पुरै समय पढ्न पाएनौं । हाम्रो जग्गा धेरै ठाउँमा थियो । खेल्न पनि पाएनौं । सधैं घरको काम गरिन्थ्यो । राती १२ बजे सम्म पनि काम गर्नुपर्ने ।

 

बुवा बितेपछि आमाले पसल गर्न सक्नु भएन । कान्छा बुवाले गरिरहेको होटल आमाले गर्ने र पसल कान्छा बुवाले गर्ने भन्ने भो । त्यसपछि होटेल निकै चल्यो । चौरजहारी एयरपोर्ट भएकोले सरकारी मान्छेहरु यही बाटो आउँथे जान्थे ।

 

भैंसी, गोरु, बाख्रा, भेडा सबै थियो घरमा । त्यसैले अलिकति समय भयो कि घरको काम गर्नै पर्ने । बिहान ४ बजे उठेर भाँडा माझ्न गयो, घाँस काट्यो । काम मात्र हुने । अनिदोले उङ्दै बाउरे खोज्न जाँन्थें ।

 

एकपटकको कुरा हो आमाले बस्तुभाउलाई घाँस हाल्न भन्नुभो । हाम्रो गोठ र स्कूल जोडिएको थिया । घाँस हालेर स्कूलको कोठामा गएर सुतें । आमाले खोजेर पिट्नुभो ।

 

आमाको संघर्ष
चढ्दो उमेर । गाउँमा विधवा महिलाले भोग्नुपर्ने पीडा । बच्चा बच्चीको स्याहार सुसार । भाईहरु साना, दिदीलाई भन्दा मलाई अलि भर मान्थे घरमा । झारा पनि मै जान्थें ।

 

आमाले बुवाको अभाव फिल गराउनुभएन । हामीलाई खान, लाउन कमी गर्नुभएन । हजुरबुवाको शासन चाहिं कडा । एकछिन पनि बस्न नदिने । आमाले जति काम गर्दा पनि गाली गर्नुहुन्थ्यो । भैंसीलाई घाँस नहुँदा जा भैंसीको मालामा गएर सुत् सम्म भन्नहुन्थ्यो । हुनत उहाँले हाम्रै निम्ति भन्नुभएको हो ।

 

आमाको संघर्ष र आउने आक्षेपको बिरुद्धमा प्रतिवाद गर्नहुन्थ्यो । समाजमा भात बेचेर पैंसा कमाइराछे पनि भने ।


पढाई
हजुरबुवाले आमासंग छोरीहरुलाई घरमा राखे बिग्रन्छन्, पढाउन हुँदैन विहे गर्दिनुपर्छ भनेको सुन्थ्यौं । तर बुवाले छोरा छोरीलाई बोर्डिङमा पढाउने इच्छा छ भन्नुभएको कारण आमाले जसरी पनि पढाउन पर्छ भनेर लाग्नुभो ।

 

मैले ५० सालमा घर नजिकै सिम्लीको स्कूलबाट एसएलसी पास गरें । परीक्षाको केन्द्र चौरजहारी परेको थियो । तत्कालिन नेता यदु गौतमको घरमा डेरा लिएर बसेका थियौं ।

 

मुसीकोट खलंगा क्याम्पस पढ्दै थिएँ । भुमिगत भइयो ।

 

पछि जागँर त थिएन तर अरु साथीहरुले पढ्नुस्, आदर्शवादी भएर के हुन्छ ? पढेर के बिग्रन्छ भनेर प्रेरित गर्नुभो ।

 

सविंधान सभामा गई सके पछि पोलिटिकल साइन्समा स्नातक गरें । अहिले एलएलबि तेस्रो वर्ष हो । मास्टर्स पनि पढ्दै छु ।

 

अहिले पार्टीले दिएको जिम्मेवारी नै मेरो परीक्षा हो ।

 

यसरी राजनीतिमा लागें
हाम्रो होटलमा खाने बस्ने हुनाले मलाई सबै पार्टीका नेताहरुले चिन्थे । माया गर्थे । आफ्नो बनाउन कोशिस पनि गर्थे । कांग्रेसका नेता गोपाल जिजङ्ग शाहले शिक्षक बनाउने आश्वासन दिएर नेविसंघमा लाग्न धेरै कर गरे ।

 

कक्षा ६ मा पढ्दा म ११ वर्षको थिएँ । हलक्कै बढेकोले उमेर अलि धेरै अनुमान गर्थे । बहुदल आएपछि हुने विभिन्न कार्यक्रममा म नाच्न जान्थें । क्रान्तिकारी विद्यार्थी संगठनका नेताले मलाई सदस्यता दिए ।

 

म सानोमा कथा र नाटकहरु लेख्थें । स्कूलमा र युद्धकालमा धेरै कार्यक्रमहरुमा मैले लेखेका नाटक प्रस्तुत गरियो । ती सिर्जनालाई मैले संस्थागत गर्न सकिन । मेरो कमजोरी भयो । पढेर जागिर खान्छु भन्ने कहिल्यै सोचिन ।

 

१३ वर्षको हुँदा एक जना शिक्षकले पढेर के गर्ने? भन्नुभयो ।त्यसबेला मैले राजनीति गर्छु भन्न जानिन, तर जानेका कुरा समाजलाई सिकाउँछु भनें । यसरी हेर्दा सामाजिक वातावरण र म भित्रैको भावनाले नै राजनीतिमा तान्यो भन्ने ठान्छु म । त्यसलाई मूर्त रुप दिने शिक्षक, आमाले भोगेको पीडा र विद्यार्थी नेताहरु हुन ।

 

घर र समाजबाट असहयोग
राजनीतिमा जोडिएपछि सामाजिक दबाव धेरैनै खेप्नु पर्‍यो ।


राजनीतिमा लागेका मान्छे बेश्यावृत्ति गर्छन्, चरित्रहीन हुन्छन् भन्ने थियो । छोरीलाई किन पठाइस्? भनेर आमालाई पनि दबाव आउँथ्यो । यस्तोमा लाग्नु हुदैन भनेर आमाले कुट्नुहुन्थ्यो । हजुरबुवाले त झन् कति कति ।

 

म हलो जोत्न खोज्थें । हजुरबुवा लखेटी लखेटी पिट्नुहुन्थ्यो । पहिले देखि नै केटाहरुले गर्ने काम गर्न चाहन्थें । म अन्याय पनि सहन सक्दैनथें ।

 

भाइहरुलाई दुध बढी दिंदा मलाई किन कम भनिहाल्थें । अरुको गरिबी, पीडा, अन्याय र अभाव देख्न सक्दैनथें । भावुकता र विद्रोहीपन दुवै मसंग थियो ।

 

विद्यार्थी संगठनको सदस्यता प्राप्त गर्दा ठूलो नेता भएको अनुभूति भयो । समाजमा हुने थिचोमिचो, विभेद र अन्याय कसरी हट्छ होला भन्ने प्रश्नले घोचिरहन्थ्यो । महिलाहरु कुटिन्थे । दलितहरुलाई हेपेर बोलिन्थ्यो । यो सबै अन्याय झैं लाग्थ्यो ।

 

त्यो बेला यसै त महिलालाई राजनीतिमा लाग्न गाह्रो । त्यसमाथि मैले झन् धेरै संघर्ष परिवारभित्रै गर्नुप¥यो । कलाकारको रिहर्सल गर्दै थियौं आमा आएर मलाई मात्र लट्ठीले पिटेर जानु हुन्थ्यो ।

 

शिक्षकहरु पनि वामपन्थी बिचार धाराको हुनुहुन्थ्यो, कतिपय सन्दर्भमा उहाँहरुले पनि राजनीतिमा लाग्न प्रेरित गर्नुहुन्थ्यो ।

 

भूमिगत जीवन
फागुन ७ गते । जुन दिन म भुमिगत हुन घरबाट हिंडे । त्यो दिन घरभन्दा पाल्लोपट्टी चौरसम्म पु¥याउन जानुभएको थियो मेरी आमा ।

 

एउटी आमाले छोरीलाई युद्धमा पठाउने कुरा चानचुने पनि त थिएन । म टोलिसंग जाँदा त्यो बेला आमाले हामीलाई आँखाले देख्न सक्ने जति हेरिरहनुभो पर सम्म । पछि

 

आमालाई मेरा बारे धेरै कुरा सुन्नुपर्यो । भूमिगत जीवनमा पनि आमाले घरबाट पठाइदिने माछा, सिरौला, चिउरा खान्थ्यौं । पैसा र कपडा पठाइदिने गर्नुहुन्थ्यो ।

 

जिम्वेवारीमा फड्को
१३ वर्षमा महिला संगठनको एकाइ सदस्य भएँ । सम्मेलनको आयोजना गरेर एरिया अध्यक्ष भएँ ।

 

५१ सालतिर विद्यार्थी, कलाकार र महिला संगठनको अध्यक्ष भएँ एकैपटक । सुरक्षा दल (वाइसिएल)मा पनि सदस्य थिएँ । वाइसिएलमा काम गरेर मात्र पार्टीको सदस्यता पाइन्थ्यो ।

 

युद्धको सुरुवाती दिनमा फौजी कारबाही पनि गथ्र्यौं । औपचारिक रुपमा सैन्य फाँट सुरु नभएसम्म हरेक कार्यकर्ताले बम बनाउने, बन्दुक पड्काउने गर्नु पथ्र्यो । पछि रुचि, क्षमता र आवश्यकताले जिम्मेवारी बाँडफाँड गरिन्थ्यो र म पार्टी राजनीतिमा काम गरें ।

 

पार्टीले सेनामा जाने भनेको भए नजाने भन्ने नै हुन्थेन । त्यो बेला चाहना भन्दा पनि पार्टीको आवश्यकता नै ठूलो हो भन्ने लाग्थ्यो ।

 

क्रमश:..

२०७५ असार १४ मा प्रकाशित

प्रतिकृया दिनुहोस्