Hilsa Yatayat

‘आइमाई’ देखि सजग हुनु, ड्याम्मै हानिहाल्छन्

विमला केसी
‘आइमाई’ देखि सजग हुनु, ड्याम्मै हानिहाल्छन्

युद्धको मूल पाटो : भावनात्मक एकता र विकास निर्माण
जनयुद्धले धेरै सकारात्मक परिवर्तनहरु ल्याएका छन् । युद्धकाल भित्रकै समयको कुरा गर्दा भावनात्मक एकतालाई नै म मूल कुरा ठान्छु ।

 

‘अरुबाट सिक्नुपर्छ’ भन्ने मान्यता थियो । ‘अरुको निम्ति धेरै गर्नुछ’ भन्ने हुन्थ्यो । स्कूलिङनै त्यस्तै । आफ्नो ज्यान जोगाउन गार्हो हुने समयमा पनि पार्टीले विकास निर्माणका काममा कार्यकर्तालाई निर्देशन दिन्थ्यो ।

 

जनसत्ताले त्यसअनुरुप पुल, बाटो, विजुली बनाउने काम पनि गरेको थियो । घरजग्गाको कर २ प्रतिशत हामीले लिन्थ्यौं । दण्ड जरिवानाबाट आएको रकमले विकास निर्माणका काम गथ्र्यौं ।

 

म इन्चार्ज हुँदा रुकुमको सिम्लीमा ५ किलो वाटको बत्ति बालेका थियौं । छिवाङ गाविसको छिवाङखोला पुलमा मान्छे हिंड्ने पक्की पुल बनायौं । सदरमुकामबाट ५ कोष पनि छैन होला त्यो खोला । जतिबेला पनि सेना आउन सक्थ्यो । पुलको ढलान समेत हामीले राती गरेका थियौं ।

 

त्यतिमात्र हैन त्यसपछि म संयोजक हुँदाखेरी रोल्पाको थवाङमा नमूना गाउँ बनाएको थिएँ । त्यहाँ पनि ५ किलो वाट विजुली निकाल्यौं । त्यो अहिले सम्म पनि चालु छ । घट्ट पनि बनायांै । रोल्पाको शहीद मार्ग खनियो । बाटो खन्नेहरुलाई माथि बाट हेलिकप्टरले गोली बर्साउँथ्यो । यस्तो जोखिम मोलेर जनताले बाटो खने ।

 

युद्धकालमा निर्माण सामाग्रीहरु पनि लैजान पाइँदैन्थ्यो । अहिले सम्झँदा छक्क लाग्छ । त्यो कठिन समयमा काम गर्ने त्यस्तो उर्जा अहिले कहाँ गयो ? त्यो स्प्रिटमा काम गर्ने हो भने त कति गर्न सकिन्थ्यो होला ?

 

अहिलेको अप्ठेरो
अहिले काम गर्न केही अप्ठ्यारा सञ्जालहरु छन् । एउटा विजुली बनाउँ भन्दा वनले रोक्छ । यहाँको बाढी पीडितलाई एउटा ठाउँमा बसालांै भन्दा वनको जग्गा पर्छ । तेतिबेला कसैले रोक्दैनथ्यो ।

 

जनतालाई श्रम गर्नुपर्छ भन्ने पनि छैन । सबै विकास बजेटबाट गर्नुपर्छ भन्ने मान्यता छ । ‘झारा’ गर्ने चलन पनि हरायो । आफ्नो काम गर्न कसले रोक्छ ?

 

त्यसैले विकासमा एक पटक सबै लाग्नु पर्छ । जनयुद्धमा सबै मान्छे होमिएर एउटा परिवर्तन भएको हो नि । सामाजिक सुधार राम्रो भयो । जनयुद्धमा कांग्रेस, एमाले सबैले सहयोग गरेका हुन् ।

 

कतिपयले ‘सिआईडी’ गरे, कसैले बदमासी गरे । हामीबाट पनि कमजोरी भए होलान् । रिसिवीका कारण पनि कति नराम्रा काम गर्न लगाइए । भए । समग्रमा जनयुद्वले ठूलो परिवर्तन ल्यायो ।

 

जनयुद्ध र महिला
जनयुद्धमा महिला पुरुष कोही पनि भिन्न हुँदैन भन्ने थियो । ४० प्रतिशत महिला सेनामा स्वतःस्फूर्त गएका हुन । सेनामा कमान्डर, कमिसार महिला थिए ।

 

अन्य महिलाहरु अत्यन्तै सिर्जनशील थिए । गाउँमा एक किसिमको जागरण थियो । कालिकोटको महिलाहरुले शाही सेनाको राईफल खोसेर जनमुक्ति सेनालाई बुझाएका थिए । महिलाहरुले नै जेल ब्रेकको कमाण्ड र ठूल्ठूला कारबाहीको नेतृत्व गरेका छन् ।

 

सरकारको सेना र पुलिसले माओवादी भित्रका पुरुष देखि डर नमान्नु तर ‘आइमाई’ देखि सजक हुनु । आइमाईले ड्याम्मै हानिहाल्छन् । भन्थे ।

 

महिलाको पार्टी प्रतिको प्रतिवद्वता देख्दा म दङ्ग पर्छु । हामीलाई यस्तो अनुभूति हुन्थ्यो कि अब हामी कहीँ कतै यो समाजमा कमजोर र दोस्रो दर्जाका महिलाहरु होइनौं । पुरै स्वतन्त्र छौं । हामीलाई कसैले रोक्दैन ।

 

फेरी उस्तै
त्यो समय गाउँहरु माओवादीमय थिए । समाज माओवादी जनसत्ताबाट चलेको । जाँड रक्सी थिएन तास बन्द । विकृति अन्त्य भएको थियो ।

 

म त ओहो ! महिलालाई अब जिन्दगीभर अन्याय अत्याचार हुँदैन होला भन्ने लागेको थियो । जब हामी संसदीय राजनीतिमा आयौं पुरानो परिवर्तनको स्प्रिट, कामको गति घट्दै घट्दै गयो ।

 

अनि समाजमा त्यही खालका विकृतिहरु हुन थाले । हिजो गाउँ गाउँमा जाँडका घैंटा फोडियो । जसले रक्सी खायो उसलाई पार्टीले कारबाही गर्यो ।

 

दोस्रो विवाह गरेपछि कारवाही हुन्थ्यो । गलत काम छिसिक्क पनि केही गर्न पाइँदैनथ्यो । नैतिक आचारण भन्दा विपरित काम भयो भने कडा भन्दा कडा कारवाही गरिन्थ्यो । धेरैलाई श्रम शिविरमा राखिन्थ्यो । यसरी हेर्दा सामाजिक र सांस्कृतिक परिवर्तनमा क्रान्ति नै ल्याएको हो जनयुद्धले ।

 

शान्ति प्रक्रियामा आएपछि जनमुक्ति सेनाभित्रका महिला साथीहरु.घर फर्किए । पार्टीमा लागेका नेताहरु पनि घर फर्के । विशुद्व श्रीमती भएर बसे । श्रीमानले रक्सी खाएर तिनैलाई कुटे । कसैमाथि दोस्रो बिहे पनि गरे ।

 

हिजो एउटा सपना देखेर सहमतिमा अन्तरजातिय विवाह गरेको पनि समाजले पचाउन सकेन । प्रतिवाद त उनीहरुले गरे । तर, सामाजिक दबाव सहन नसकेर कतिपयले सम्बन्ध विच्छेद पनि गरे ।

 

जनयुद्धकालमा भएका अन्तरजातिय विवाह मात्र होईन । समाजमा अरु बिहेहरु पनि सम्बन्ध विच्छेदमा गएका छन् । तर दुनियाँलाई बदल्न हिंडेकाहरुको धेरैलाई चासो भयो ।

 

मर्नपनि होडबाजी
त्यो समय बलिदानको समय थियो । जनताका निम्ती केही गरौं, नेपाल बनाउँ भन्ने संकल्प थियो । सारा मान्छेहरु त त्यसै होमिएको होइन नि । पार्टीमा लाग्नु भनेको मर्न तयार हुने हो ।

 

सैन्य फाँटमा काम गर्ने महिलाहरु पार्टीले र सेनाका कमान्डरहरुले आफूहरुलाई विश्वास गरेनन् भनेर हामीसंग गुनासो गर्नुहुन्थ्यो । लडाईंको अग्रमोर्चामा आफूहरुलाई नराखेकोमा उहाँहरुको दुःखेसो थियो । त्यो भनेको शुरुमा गएर ‘फाएरिङ’ गर्ने मोर्चा हो । ‘रिजर्ब ग्रुप’हरु हुन्थे । अगाडिको ग्रुप सिद्धिएपछि अर्को जान्थ्यो । सचेततापुर्वक मर्न जाने हो ।

 

मर्न जान पाइन भनेर महिलाहरु गुनासो गर्थे । त्यो खालको एकदम प्रतिबद्ध भावना थियो ।

 

समायोजनमा गरिएको मिस्टेक
समायोजन प्रक्रियामा थोरै हाम्रो बुद्धि पुगेन । हुनत समायोजन संख्या नै कम थियो ।

 

‘क्यान्टोनमेन्ट’मा आइसकेपछि समस्या देखिएका थिए । राजनीतिक चेतना सहित लडाईंको मोर्चामा रहेर काम गरेको मान्छे शिविरमा बसिरहँदा सिर्जनशीलता मर्दो रहेछ ।

 

शिविरमा धेरैका विवाह भए । बच्चा जन्मिए । सिमित मात्रामा समायोजन हुने प्रक्रियाले अबरोध ल्यायो । सबैलाई समायोजन गर्न सकेको भए आखिर अहिले साथीहरुको ‘सेफ ल्यान्डिङ’ हुन्थ्यो । जागिर गर्थे । पेन्सनमा बस्थे ।

 

समायोजनमा गएकाहरुको पेन्सन आउने समय भइसक्यो । महिलाहरुलाई पनि जति सक्दो पठाउन सकेको भए राम्रो हुन्थ्यो । तर त्यतिबेला हामीले महिलालाई प्रेरित गर्न नसक्नु हाम्रो समस्या हो ।

 

योद्धाहरुको बिचल्ली
कतिपय साथीहरुको एकदमै नाजुक अबस्था छ । घाइते साथीहरु अपाङ्ग साथीहरुको साँझ बिहान के खाने भन्ने छ । जीविकोपार्जनमा समस्या छ । हिजो त्यसरी लडेका साथीहरुको विचल्ली देख्दा पीडा हुन्छ । राज्यले पनि खास केही गर्न सकेन । पार्टीले झनै गरेन ।

 

अब हामी केही गरौं भन्ने छलफल भइरहेको छ । यसलाई फेरी राजनीतिक रुपबाट पनि हेरिएला । तर हामीले व्यवस्थापन गर्न सकेनौ भने झन् समस्या हुन्छ । विप्लव पार्टीतिर मान्छेको झुकाव भइरहेको छ । कोही गुन्डागर्दीमा लाग्लान् । जोसंग हतियार चलाउने सिप छ । उनीहरुलाई यत्तिकै छाड्ने हो भने त्यसले समाजलाई नै असर गर्छ ।

 

लुट्ने, अपहरण गर्ने जस्ता केसमा पनि त देखियो नि । देश बदल्न लडेका जनसेना लुटपाटमा किन लागे? बुझ्ने कोशिस नै भएन । अझै सोच्ने समय छ । बेरोजगार भयो भने मान्छे जे पनि गर्न तयार हुन्छ । उनीहरुलाई रोजगार बनाउनुपर्छ ।

 

सबै भन्दा राम्रो कुरा अब त्यो बेलाको शक्ति, त्यो बेलाको युवालाई कसरी स्वरोजगार बनाउने भन्ने राज्यले सोच्न सक्यो भने समस्या समाधान गर्न सकिन्छ । नत्र भने समस्या फेरी बल्झन सक्छ ।

 

क्रमशः..

 

यो पनि पढ्नुहोस् :

विद्रोही आमा जसले आफ्नै छोरीलाई युद्धमा पठाइन्

२०७५ असार १६ मा प्रकाशित

प्रतिकृया दिनुहोस्