Hilsa Yatayat

धन्न बिउझिएँ र बाँचियो

विमला केसी
धन्न बिउझिएँ र बाँचियो

युद्धको प्रेम नीति

युद्धकालमा पनि विवाह गर्न र प्रेम गर्न छुट नै थियो । अझ विदुर वा विधवा व्यक्तिहरुलाई पनि विवाह गर्नुपर्छ भन्ने थियो । त्यसमा कहीं कतै विकृति थिएन । एकदम शिष्ट थियो ।


गल्ती गर्नेलाई कारवाही हुन्थ्यो । त्यही समाजका मान्छे न हुन्, संयमित नहुनेहरुले गलत गरिहाल्थे । धेरै कारवाहीमा परे । आलोक पनि त्यस्तै कारवाहीमा परेका हुन् । नाम नभनौं, अरुपनि परे त्यसमा ।


नीति कडा भएको कारण यस्ता घटना कम हुन्थे । मानौं, तपाईं र म भोलि विवाह गर्दैछौं । आज संगै बसेर अलि बढी समय उठबस गरेमा पनि कारवाही हुन्थ्यो ।

 

विवाह
पार्टीले १७ वर्षको बेला बिहे गर्ने प्रस्ताव ल्यायो । प्रस्तावमा ल्याएको व्यक्ति मलाई मन परेन । आफू सानै छु जस्तो लाग्थ्यो । अरु पनि प्रस्ताव ल्याए नेताहरुले । मैले मानिन ।

 

पछि मैले बसन्त कुमार शर्मालाई मन पराएँ । मैले नै प्रस्ताव गरें । १९ वर्षको उमेरमा बिहे भयो । ५४ सालमा ।

 

उहाँ म भन्दा धेरै सिनियर हुनुहुन्थ्यो । शुरुदेखि भूमिगत । ५९ बाट पाल्पाको इन्चार्ज भएर काम गर्नु भयो । पोलिटव्युरो सदस्य हुनुहुन्थ्यो । भर्खर जिल्लामा आउनु भएको छ । अहिले नेकपाको केन्द्रिय सदस्य हुनुहुन्छ । हद इमान्दारीता, एकदम त्यागी भावना भएको लाग्छ उहाँ ।

 

युद्धमै आमा भएँ

५४ मा बिहे भयो । ५६ मा छोरी जन्मिइन् । बच्चा नजन्माउने भनेको बेला बच्चा भयो । मैले ‘डिपो’ लगाइरहेको थिएँ । डिपोले नि काम गरेन । आफ्नै ज्यान जोगाउन कठिन त्यो समयमा बच्चा जन्माएर कसरी हुर्काउने भन्ने थियो । बच्चा भएपछि राजनीतिमा पछि परिन्छ भन्ने पनि लाग्थ्यो ।


बिरामी थिएँ । काठमाडौं जाने कुरा भयो । त्यतिबेला काठमाडौं जान दाङसम्म हिड्नुपर्ने । गाडी त सल्यानसम्म जान्थ्यो तर हामी जंगलको बाटो हिड्थ्यौं । ग्याष्ट्रिक भएको शंका गरें । तर पेटमा बच्चा आएको रहेछ । बच्चा बसेछ भनेर धेरै रोएँ ।


डाक्टरलाई बच्चा फाल्ने प्रस्ताव राखें । तपाईंको समस्या बढी छ, फेरी पहिलो बच्चा, नफाल्नुस् भन्ने सुझाव दिए । डाक्टरको सुझावले झन् पीडा भयो । अब के गर्ने ? नौ महिना बेड रेस्ट गरेर काठमाडौं बस्दा मेरो जिम्मेवारी के होला भन्ने सोचेर झन् रुन आउने । बुढोले पनि कन्भिन्स गर्न नसक्ने ।


विनोज अधिकारीको आमाले भोला रिजाल कहाँ जाउँ भन्नुभो ।


डाक्टरलाई आफू शिक्षक भएको बताएँ । भोला रिजालले पनि पहिलो बच्चा । अवस्था पनि नर्मल छैन । पागल त भाछैनौ भनी गाली गर्नुभयो । बच्चा फाल्नै पर्ने कुरा राखें ।

 

उहाँले मान्नु भएन । बच्चा राख्ने भए पनि म गाउँ जानुपर्छ भनें । तीनवटा सुई लाइदिनुभो । औषधी दिनुभो । म अत्यन्त खुशी भएँ ।


भोकै उकाली ओराली

भूमिगत अवस्थामा हाम्रा नाकाहरुबाट राती राती भोकै हिडेर दाङसम्म पुगियो । पुलिस आएको बेलामा भाग्न सकिँदैन, अब मरिने भइयो भन्ने लाग्थ्यो ।


डाक्टरले दुई वटा टिटी सुई लाउनु भनेका थिए । लाउने ठाउँ पनि भएन । बच्चालाई जन्म दिन नसक्ने भएँ भन्ने कुराले पीर हुन्थ्यो ।


एक रात लगातार रुकुमको छिवाङबाट हिडेको माथि टोट्केको डाँडा हुँदै फेरी तल छिबाङ खोला, त्यहाँबाट बाख्वरको उकालो काटेर फेरी तल अर्मा गाविस, त्यहाँबाट चिन्तुको पुरै उकालो हिंडेर सरे भन्ने ठाउँमा पुग्दा खुट्टा पुरै गलेर आयो ।


त्यतिबेला मैले आमालाई सम्झें । आमाले मलाई यति हिंडेर आइज भनेर अर्हाएको भए आमालाई कति गाली गर्थें होला । तर आफैले रोजेको काम जो थियो । अन्यथा, राजनीतिमा लागेर युद्धमा लागेर मैले दुःख पाएँ भन्ने अनुभूति भएन ।


अस्पतालको यातना

बच्चा जन्मिने दिन आयो । पुलिसको घेरा तोड्दै काठमाडौं जानुपर्ने भयो । आफूसंग पर्याप्त खर्च थिएन । पार्टीले पाचँ हजार रुपैया दियो । आमाले दिएको एक तोला सुन थियो । दुई तीन हजार अरु थियो होला । त्यतिले मात्र के हुन्थ्यो ?


जानेबेला आमासगँ भेट पनि भएन । भूमिगत बाटो, गाडी त सल्यानको खरीबोटसम्म जान्थ्यो तर हामी दाङको नारायणपुरबाट चढ्थ्यौं ।


काठमाडौं पुगें । अप्रेशन गर्नुपर्ने भो । श्रीमान्लाई लगिएन । लिनुपर्छ भन्ने चेतना पनि भएन । पार्टी हुन्छ, पार्टीले गर्छ भन्ने भयो । त्यहीं स्वास्थ्य विभागका साथीहरुसंग सम्पर्क भयो ।


बच्चाको माया कुन आमालाई नहोला ? तर अपाङ्ग जन्मिन्छ कि भन्ने डर थियो । डाक्टरलाई भनेकी थिएँ– बच्चा अपाङ्ग जन्मे फाल्दिनु, मलाई नदेखाउनु । किनकी आफ्नै ज्यान धरापमा भएको समयमा अपाङ्ग बच्चालाई कसरी हुर्काउनु ? बाध्यता थियो । मेरो राजनीति सबै सकिन्छ भन्ने लाग्यो । म अलि कडा नै भएँ होला ।
ओम अस्पतालमा भोला रिजालले अप्रेशन गर्नुभयो ।


अरु सुत्केरीका आफन्तहरु आइरहन्थे । आवश्यकता अनुसार खानेकुरा ल्याउँथे । म भने एक्लै । साथीहरु कति बेला आउलान्, भनेर कुरेर बस्थें । दिन रात पुरै एक्लै ।

 

वरिपरिकाले सोध्थे– श्रीमान, सासु ससुरा कहाँ छन्? आमा कहाँ छन्? सबै इन्डिया छन् भन्थें । बुढो पनि विदेश हुनुहुन्छ । यहाँ कोही छैनन् भनेर उम्किन खोज्थें ।


बच्चालाई दुध खुवाउन पाइएको छैन, आफ्नो घाउ दुखेको छ । त्यो भन्दा बढी ति मान्छेले सोध्ने अनेक कुराले मलाई दुःख्थ्यो । हेर, त्यो बिचरी! पहिलो बच्चा, त्यो पनि अप्रेशन गरेको, त्यसमा पनि ‘थुनेलो’ भाछ । आफ्नो मान्छे पनि कोही रहेनछ भनेर सारै टेन्सन गर्थे ।


डिस्चार्ज हुन सकिएन

अस्पतालले डिस्चार्ज लेखिदियो । अस्पताललाई दिनुपर्ने पैसा नहुँदा एक दिन त्यहीं बसें ।


साथी प्रतिभा श्रेष्ठ र उषा हुनुहुन्थ्यो । उहाँहरुले आफ्नो सुन बैंकमा राखेर पैसा ल्याउनुभो । डिस्चार्जपछि रुकुम मेलचौरको एकजना चिनेको सर भेट्टिनुभो । उहाँबाट सापटी मागें र साथीलाई दिएँ ।


सुत्केरीलाई भान्टाको तरकारी

सुत्केरी भएको पाँच÷छ दिनमै हिंड्न थालें । बच्चा २ किलो ६ सय ग्राम मात्रै थियो । भेट्न त अरु आउनु पर्ने हो तर म आफै जान्थें । छोरीलाई अहिले थाहा छ त्यो मेरो बाध्यता थियो भनेर ।

 

बुटवल जान साझा यातायातको टिकट काटें । एक्लै थिएं । पैसा पनि थिएन । रेखा शर्मा दिदी त्यो बेला केन्द्रको अध्यक्ष हुनुहुन्थ्यो । १९ दिनको सुत्केरी । त्यो पनि अप्रेशन गरेको । थुनेलो पनि भाछ । यस्तो अवस्थामा जानुहुँदैन भन्नुभो ।


मलाई चाहिँ काममा फर्किनुछ भन्ने हुटहुटी मात्र थियो । बुटवलमा भाईहरु डेरा गरेर बस्थे । भाईले ल्याव पढ्दै थियो । उनीहरुले १६ रुपैया किलो चामल र नेपालगञ्जबाट लगेको आलु र भान्टाको तरकारी पकाउँथे । भर्खरकी सुत्केरीलाई पोषिलो खुवाउनुपर्छ भन्ने न उनीहरुले जाने न मैले ।


खानाकै कारण होला बच्चालाई पखाला लाग्यो । नाइटोमा मासु पलाएछ । बुटवलका धेरै अस्पताल गएँ । सबैले अप्रेशन गर्नुपर्छ भने ।


आफ्नो घाउ निको नहुँदै २१ दिनको बच्चाको अप्रेसन गर्ने भन्दा म आत्तिएँ । साथीको आमाले काठमाडौं बोलाउनु भयो । २८ रुपैयाको औषधीले ठिक भयो । त्यसपछि म बुटवल हुँदै रुकुम आइहालें । दाङसम्म गाडीमा राती आइयो । अनि दाङबाट हिंडेर भूमिगत नाका हुँदै कार्यक्षेत्र आइयो । तुरुन्तै काममा लागें ।


झण्डै बाँचियो

खाना त्यस्तै । त्यही माथिको हिंडाई । सुत्केरो शरीर । एकदम थकाइ लाग्ने ।


एक रात सेल्टर लिएको ठाउँमा भित्तामा मैनबत्ती बालेर निदाएछु । त्यो खसेर मेरो टाउकोमा खसेछ । कपडा सल्केर बच्चा सम्म आइपुगेछ । धन्न बिउझिएँ र बाँचियो ।

क्रमश..

 

यो पनि पढ्नुहोस् :

‘आइमाई’ देखि सजग हुनु, ड्याम्मै हानिहाल्छन्

विद्रोही आमा जसले आफ्नै छोरीलाई युद्धमा पठाइन्

२०७५ असार १८ मा प्रकाशित

प्रतिकृया दिनुहोस्