Hilsa Yatayat

अंग्रेजीमा भाषण !

रमेश भुसाल/सेतोपाटी
अंग्रेजीमा भाषण !

गत जून महिनामा जेनेभामा भएको अन्तर्राष्ट्रिय श्रम संगठनको १०७ औं अन्तर्राष्ट्रिय श्रम सम्मेलन। तस्बिरः आइएलओ

 

सन् २०११ मा भुटानको राजधानी थिम्पुमा जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन थियो। भुटानी प्रधानमन्त्री जिग्मे थिन्ले, भारतका सरोकारवाला मन्त्रालयका सचिव, बंगलादेशका वातावरणमन्त्री र नेपालका वातावरणमन्त्री हेमराज तातेड मञ्चमा आसिन थिए।

 

आफ्नो पालो आएपछि वातावरणमन्त्री तातेडले कोटको खल्तीबाट भाषण लेखिएको कागज निकाले र पढ्न थाले। भाषण सकियो र धन्यवाद पनि भने। भाषणका पाना भने सकिएको थिएन।

 

उनले फेरि पढ्न सुरु गरे। दर्शकदिर्घाका सबै अकमक्क परे। तीमध्ये म पनि एक थिएँ। दुई हरफजति पढेपछि सायद उनलाई लाग्यो, दोहोर्याएर पढ्दैछन्। उनी अत्तालिए र हतार-हतार गोजीमा भाषण राखेर 'सरी' पनि नभनी मञ्चमा पुन:गएर बसे।

 

छेउमा बसिरहेको भुटानी पत्रकार साथीले जिस्क्यायो, 'तिमीहरुको मन्त्री त पढ्दैन कि क्या हो?'

 

मैले मुसुक्क हासेर टारेँ।

 

वातावरण मन्त्रालयका तत्कालीन सचिव कृष्ण ज्ञवाली, जल तथा ऊर्जा आयोगका सह-सचिव र वातावरण मन्त्रालयका अन्य कर्मचारी पनि कार्यक्रममा सहभागी थिए।

 

'भाषण दुईपटक किन पढियो? यो त लाजमर्दो विषय भयो,' मैले सोधेँ।

 

एक जना कर्मचारीले भनेअनुसार भाषण दुई प्रति प्रिन्ट गरिएको रहेछ। दुई प्रति नै भुलवश स्टिच गरेर मन्त्रीलाई दिइएछ। मन्त्री हतार-हतार विमानस्थलबाट कार्यक्रममा आउनुपरेको थियो। त्यसैले उनले हेर्न र पढ्न पाएनन् भन्ने कर्मचारीको कुरा थियो।

 

त्यो अलि हास्यास्पद भयो।

 

'केटाकेटी खेलेजस्तो भएन र,' मैले भनेँ।

 

'यस्तै हो, हतारमा हुन्छ,' हाम्रा सबैजसो नेताका विदेश भ्रमणका कुरा उनले यसरी नै टारे।

 

त्यो बेला म दी हिमालयन टाइम्स दैनिकमा काम गर्थें। जलवायु परिवर्तनको समाचारभित्र बोल्ड गरेर 'मन्त्रीले दुईपटक एउटै भाषण गरेर लाजमर्दो पारे' भनेर पनि लेखेँ। समाचार पहिलो पृष्ठमा छापियो हाइलाइटसहित।

 

कृष्ण ज्ञवालीजी धेरै समय मसँग रिसाउनुभयो। 'मानवीय गल्तीलाई यसरी लेख्न जरुरी थिएन' भन्ने उहाँको तर्क थियो। मैले त्यो 'मानवीय गल्तीभन्दा मन्त्री र तपाईंहरुको गल्ती हो' भनेँ। दुई प्रति नै भाषण झुक्किएर परेको थियो भने पनि मन्त्रीले कम्तीमा धन्यवाद भनिसकेपछि भाषण सकियो भन्ने त बुझ्नुपर्ने हो। उनले त्यो भाषण एकपटक पनि पहिला हेरेजस्तो देखिएन, नभए त्यति त थाहा हुनुपर्थ्यो। मन्त्रालयका कर्मचारीको पनि गल्ती देखियो। कसरी दुई प्रति भाषण मन्त्रीलाई दिइयो त?

 

अर्को उदाहरण सन् २०१५ मा फ्रान्सको राजधानी पेरिसको।

 

विश्वभरका हजारौं मान्छे जलवायु परिवर्तनसम्बन्धी छलफलमा सहभागी हुन पेरिस पुगेका थिए। अमेरिकी राष्ट्रपति बाराक अोबामा, चिनियाँ राष्ट्रपति सी चिनफिङ, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सबै त्यो सम्मेलनका वक्ता थिए। संसारका १ सय ८० भन्दा बढी राष्ट्र तथा सरकारप्रमुख भेला हुँदै थिए।

 

नेपालबाट राजनीतिक कारणले प्रधानमन्त्री गएनन्। वातावरणमन्त्री विश्वेन्द्र पासवान नेपालको नेतृत्व गरेर पेरिस पुगे। विश्वस्तरका नेताले भाषण गर्ने ठाउँमा उनले पनि भाषण गर्नुपर्ने थियो। एउटा मन्त्रीका लागि त्यो अवसर हो। ठूलो उत्साह र तयारी हुनुपर्ने थियो। तर, उनले सचिव र सहसचिवलाई एकदिन अगाडि मात्र अंग्रेजीमा भाषण गर्न नसक्ने जानकारी दिए। उनीहरूलाई फसाद पर्यो।

 

अब के गर्ने? उपाय निकालियो। नेपाली अक्षरमा अंग्रेजी लेख्ने। जस्तो- ‘नेपाल इज अ माउन्टेनियस् कन्ट्री।’

 

मन्त्रीलाई नेपालीमा अंग्रेजी लेखेर दिने पक्का भयो। फर्मुला काम लाग्यो। त्यसरी नै भाषण लेखियो। उनले भाषण पढे। तर, महिनौंअघि कहिले कार्यक्रम हुन्छ भन्ने थाहा हुने यस्ता ठूला कार्यक्रममा जानुअघि बोल्न सक्छु-सक्दिनँ भनेर अघिल्लो रात भन्ने कि अलि पहिला नै भन्न सकिन्थ्यो!

 

कर्मचारीले पनि त्यो कुरा नसोधेको हो कि उनले अन्तिममा थाहा पाएका हुन्, थाहा भएन। कर्मचारीका कुरा चाहिँ मन्त्रीले समयमै भनिदिएनन् भन्ने थियो। कस्तो कमजोर तयारी! देशको प्रतिनिधित्व गर्ने त्यो पनि त्यति ठूलो फोरममा।

 

यो सत्य हो, हाम्रा अधिकांश मन्त्री विदेश कार्यक्रममा जाँदा निकै कम तयारी गरेर जान्छन्। माथिका केही उदाहरण मात्रै हुन्।

 

अहिले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले अंग्रेजीमा गरेको भाषण यत्रतत्र आलोचनाको विषय बनेको छ। यस्ता घटना नौला होइनन्। यसअघि पनि बारम्बार मन्त्री-प्रधानमन्त्रीको आलोचना भएको छ र उनीहरुले बेलैमा तयारी नगरेका कारण त्यस्तो भएको देखिन्छ।

 

नेपालको सामाजिक सञ्जाल यो विषयमा दुई भागमा विभाजित छ। एकथरि मान्छे 'अंग्रेजी हुनेखाने, राम्रो अंग्रेजी स्कुलमा पढेकाले बोल्ने हो, अब गाउँबाट आएका, संघर्षमा जीवन बिताएका गोकर्ण विष्ट वा अरु राजनीतिमा लागेका मान्छेले टुटेफुटेको अंग्रेजी बोल्दा रोइलो किन' भनिरहेका छन्।

 

अर्काथरि चाहिँ 'नजान्ने भएपछि किन बोलेको? खुरुक्क नेपालीमा बोले भइहाल्थ्यो, देशको बेइज्जत गरे' भनिरहेका छन्। कतिले 'विदेशीले नेपाली टुटेफुटेको बोल्दा केही नहुने, हामीले चाहिँ अंग्रेजी फरर बोल्नुपर्छ भन्ने के छ?' भन्ने तर्क पनि गरिरहेका छन्।

 

को-कसका अगाडि के-कसरी बोल्नेभन्दा भाषाको उद्देश्य आफू जोसँग बोलिरहेको छु उसलाई बुझाउने नै हो। तर, गोकर्णजी वा अरु कसैले देशको प्रतिनिधित्व गरेर जाँदा दोहोरो संवाद गरेजस्तो हल्का विषय मान्नु हुँदैन। अरु कसैको मातृभाषा बोल्दा उसले जस्तै गरी बोल्न जरुरी छैन। यति मात्रै हो, सकेसम्म स्पष्ट र अनर्थ नलाग्ने गरी बोल्नुपर्यो।

 

हाम्रा मन्त्री, कतिपय उच्च पदमा पुगेका कर्मचारी वा अन्य राजनीतिक नियुक्ति पाएका उच्चपदस्थ व्यक्ति वा प्रधानमन्त्री नै धेरैपटक यस्ता कुरामा आलोचित हुने गरेका छन्। यसका दुइटा मुख्य कारण छन्।

 

एउटा, अंग्रेजी जानेको छैन, त्यसैले अर्को कुनै व्यवस्था गरौं भन्न लाज मान्ने र जेनतेन बोल्ने प्रयास गर्ने।

 

अर्को, लेखिएको भाषण धेरैपटक नपढ्ने। पढिहाले पनि नबुझेको खण्डमा नसोध्ने र अरुको कुरा पनि नसुन्ने।

 

यी सामान्य तर महत्वपूर्ण कुरामा ध्यान नदिँदा हाम्रा नेता चिप्लिन्छन्।

 

भाषणको खेल कस्तोसम्म हुन्छ भने सन् २००९ मा माधव नेपाल प्रधानमन्त्री थिए। जलवायु परिवर्तनकै निकै ठूलो सम्मेलन डेनमार्कको कोपनहेगन सहरमा भएको थियो। नेपालका प्रधानमन्त्रीले के-कस्ता कुरा समेट्ने भनेर वन र वातावरण मन्त्रालयबीच रस्साकसी थियो। मन्त्रालयले प्रधानमन्त्रीले बोल्ने भाषण तयार गरिदियो।

 

वातावरणभन्दा वन मन्त्रालय बलियो थियो। केही मान्छे नेपाल कार्वन न्युट्रल (शून्य कार्वन उत्सर्जन) गर्ने देश हुनेछ भनी घोषणा गर्नुपर्ने मत राख्थे। वातावरण मन्त्रालयका कर्मचारी त्यो निकै महत्वाकांक्षी योजना भएकाले भन्नै हुँदैन भन्नेमा थिए। उनीहरुले अन्तिम भाषण लेखेर प्रधानमन्त्रीलाई दिए, जसमा त्यो शब्द थिएन।

 

कोटको गोजीमा हालेको भाषण भोलिपल्ट त त्यो शब्द पनि समेटिएर आइपुग्यो। प्रधानमन्त्रीको गोजीबाट त्यो भाषणमा परिवर्तन गराउने को हो भन्दै वातावरण मन्त्रालयका कर्मचारी मुर्मरिएको मैले नै देखेँ। 'प्रधानमन्त्रीकै भाषण रातारात परिवर्तन भयो, अब के कुरा गर्नु' भनेर एक जना कर्मचारी निराश भएर मलाई सुनाउँदै थिए।

 

नेपालमा अंग्रेजी हुनेखानेले बोल्ने, इलिटको भाषा भनिन्छ। राजनीतिक रुपमा वामपन्थी सोचमा विश्वास गर्नेहरुले त अझ प्रचण्डजीहरुकै भाषामा 'यो सुकिला मुकिलाको हो' भन्ने बढी देखिन्छ। पक्कै पनि अंग्रेजहरुको भाषा भएकाले यसको राजनीतिक अर्थ पनि होला तर त्यो सबैबाहेक यो अन्तर्राष्ट्रिय भाषा हो। यसलाई राजनीतिकरण नगरिकन हेरौं।

 

हाम्रो समाजमा त अझै अंग्रेजी बोल्न सक्नेले आफूलाई अरुभन्दा अलि माथिल्लो तहको ठान्ने मैले पनि धेरै ठाउँमा देखे-भोगेको छु। अंग्रेजी बोल्ने सभ्य र शिक्षित हुन्छन् भन्ने मानसिकता व्यापक छ। अंग्रेजी सुरुदेखि नै ‘क्लास’ले बोल्ने भाषा हो भन्ने मानसिकता अझै छ। धेरै नेता पनि अंग्रेजी जान्दिनँ भन्न लाज मान्छन्। उनीहरुलाई हिनताबोध हुन्छ, सकिनसकी अंग्रेजी बोल्छन्। उनीहरुलाई आफूले नसक्ने भए एक जना दोभाषे लिएरै हिँड्दा तनाव कम र इज्जत धेरै हुन्छ भन्ने पर्दैन।

 

अंग्रेजी नजानेर इज्जत घट्दैन। त्यसैले अंग्रेजीलाई इज्जतको मापक बनाइनु जरुरी छैन।

 

हामी धेरैजसोलाई 'इंग्लिसफोबिया' पनि छ। अंग्रेजीदेखि डराइहाल्ने। अात्तिहाल्ने। त्यसको एउटा कारण विद्यालयमा तर्साएकाले पनि हो।

 

२०५० सालतिर म काठमाडौंमा ५ कक्षा पढ्थेँ। तीन कक्षामा ए, बी, सी, डी सिकेर काठमाडौं आएको म एक-डेढ वर्षमा खर्रर अंग्रेजी पढ्न वा बुझ्न सक्ने भएको थिएँ। त्यसको कारण अंग्रेजीमा पढाइ हुने स्कुल थियो र त्यो सामान्य कुरा थियो। त्यो ट्यालेन्ट भएरभन्दा त्यस्तै वातावरण र स्कुल भएका कारणले थियो। मलाई अंग्रेजी जानेकाले गाउँमा सबैले बडो उत्सुकतापूर्वक हेर्थे। मानसम्मान नै फरकजस्तो लाग्ने!

 

पुष-माघको विदामा म पर्वत जाँदा मेरो खोजी हुन्थ्यो। म घर आएको थाहा पाएपछि स्कुलका हेडसर पनि खोज्दै आएर 'ल है अब १० कक्षालाई अंग्रेजी पढाइदिनुपर्यो' भन्ने। म ‘फेवल्स अफ एसप’ देखि सबै कथा फर्रर सुनाउँथेँ। गुलमोहर किताब पढेर गएको मलाई १० कक्षाको अंग्रेजी खास गाह्रो लाग्दैनथ्यो। पाँच कक्षामा पढ्नेले १० कक्षाको किताब फर्रर सुनाउँदा र अंग्रेजी पनि बोलेको देखेर मेरा गाउँका दाइदिदी अचम्म मान्थे। ट्वाल्ल परेर हेर्थे।

 

चिट चोराउन अंग्रेजी शिक्षक नै टेस्ट र एसएलसीको केन्द्र परेको ठाउँमा तैनाथ हुन्थे। मलाई पनि त्यो टोलीमा सामेल गर्थे। मैले पनि एक-दुईपटक त्यसरी चिट लेखेर पठाइदिएको छु। सानो ढुंगामा कागज बेरेर झ्यालबाट फाल्थ्यौं। जसले पाउँछ उसैले टिप्छ। अनि आफूले लेखेपछि परीक्षार्थीले अर्कोलाई पास गर्दै जान्थ्यो।

 

त्यसरी अंग्रेजी पढेका वा अंग्रेजी बुझेका धेरैलाई यो विषय भयंकर लाग्छ। सबै कुरा जान्नुपर्यो भने जुन भाषा पनि गाह्रो हुन्छ। सबै कुरा बुझ्न सजिलो छैन। तर अंग्रेजीको भूतले धेरै नेपालीलाई तर्साइरहन्छ। हाम्रा धेरैजसो मन्त्रीले त्यही भूतरुपी अंग्रेजी शिक्षा पार गरेर आएकाले यसलाई 'क्लास' कै रुपमा लिएको पाइन्छ। त्यसैले उनीहरू धेरैपटक समस्यामा परेका छन्।

 

वास्तवमा गोकर्ण विष्टले अंग्रेजी नजानेका भए त भाषण नै गर्न सक्दैनथे। उनले अंग्रेजी त जानेका रहेछन् तर तह मिलाएर पढ्न अलि समय खर्चिए। उनले तयारी गरेनन् वा गर्न आवश्यक ठानेनन् वा उनलाई कमजोर छु भन्ने हिनताबोधले सतायो। उनको आवाज पनि कामेको देखिन्छ।

 

उनीसँग मैले अन्तर्वार्ता गरेको छु। धेरैपटक भेटेको छु। उनीजस्ता उदाँउदा राजनीतिज्ञले यसरी आफ्नो अन्तर्राष्ट्रिय उपस्थिति फितलो बनाउन हुँदैनथ्यो। उनले मात्र होइन, हाम्रा कतिपय नेताले तयारी नगरी बोल्दा दुःख पाएका छन्। आज सबैका हातहातमा मोबाइल छ। इन्टरनेट पहुँच छ।

 

जसले पनि नेताले बोलेका कुरा सार्वजनिक गर्न सक्छन्। त्यसैले ख्याल नगरी बोल्दा एउटै घटनाक्रमले पनि उनीहरूको राजनीतिक करिअरसम्म धक्का पुग्न सक्छ। हुन त हाम्रा नेता त्यति होस राखेर बोल्दैनन्। न हिजो के बोलेँ र आज के बोलेँ भन्ने हिसाब नै गर्छन्। तर, नेताहरूले अब आफ्ना बोलीबारे ध्यान दिनैपर्ने जरुरी छ।

 

गोकर्ण विष्ट पढेलेखेका मन्त्री हुन्। उनको भाषणमा भाषा समस्याभन्दा पनि लेखिएका कुरा सही तरिकाले नपढेको देखिन्छ। उनले शब्द पनि स्पष्ट उच्चारण गरेका छैनन्। तर यो कुनै अन्तर्वार्ता होइन। त्यसैले उनले अंग्रेजी जानेका छन् वा छैनन् भन्ने मापक यो होइन। मापन गर्न जरूरी पनि छैन। तै त्यतिको भाषण गर्नेले शब्दको सही उच्चारण नगर्नु वा शब्दै भन्न नसक्नु भनेको गृहकार्यको कमी हो।

 

लवज अमेरिकी वा बेलायती भन्ने होइन। यो त बकायदा लेखिएको भाषण हो। भाषण लेखिसकेपछि धेरैपटक पढ्ने अनि मात्रै अरुका अगाडि बोल्नपर्ने हो। हाम्रा मन्त्री भने एकाएक गोजीबाट भाषण एकहातले निकाल्दै मञ्चमा जान्छन् र अक्मकिँदै पढ्न थाल्छन्। यो अंग्रेजी नजानेर भएको समस्या होइन, तयारी नगरेर भएको समस्या हो।

 

म रेडियोमा वर्षौं लाइभ बोलेको मान्छे हुँ। तर पनि एकपटकमा लेखेको पढ्न हम्मेहम्मे पर्छ। धेरैपटक रिहर्सल गरेर बोल्नुपर्छ। आत्मविश्वास ल्याइराख्न जरुरी हुन्छ। त्यसैले गल्ती कम गर्न भाषण गर्नुअघि धेरैपटक पढ्नु राम्रो हो।

 

अझ लिखित भाषण झन् गाह्रो हुन्छ। कहाँनिर रोकिने, कहाँनिर कमा छ, कहाँनिर फुलस्टप, त्यो पनि पढ्नेबेला ख्याल गर्नुपर्छ। ताकि त्यो कमा भएको ठाउँमा यसो अडिएर अर्को शब्दतिर जान सकियोस्। वा फुलस्टपपछि अलि लामो समय रोकिएर मनलागे दर्शकतिर हेर्न र फेरि सुरु गर्न पाइयोस्। त्यसले प्राकृतिक भाव ल्याउँछ।

 

विश्वका कयौं भयंकर राम्रो बोल्ने नेता पनि लेखेको भाषण पढेजस्तो नहोस् भनेर बोलीचालीकै जस्तो देखाउन रिहर्सल गर्छन्। एकपटक होइन, कयौंपटक। त्यसको गतिलो उदाहरण पूर्व अमेरिकी राष्ट्रपति बाराक ओबामा हुन्। उनले कयौंपटक आफ्नो भाषण सच्चाउँथे र रिहर्सल गर्थे भनेर लेख नै प्रकाशित भएको थियो।

 

जाउँ, यसो बोल्दिउँ, मान्छेले सुनिहाल्छन् नी भन्ने पारामा सार्वजनिक स्थानमा बोल्ने नेता हामीकहाँ छ्यासछ्यास्ती छन्। त्यसैले ती अक्सर आलोचनाको शिकार बन्छन्।

 

केही वर्षअघि राष्ट्रिय निकुञ्ज विभागका एक महानिर्देशकलाई विश्व बैंककी एक महिलाले इमेल लेखिछन्। उनले ‘डाइरेक्टर जनरल, यो ह्याभ बिन डुइङ कमेन्डेबल जब’ लेखिछन्।

 

महानिर्देशक रिसले आगो भएर गाली गरेर इमेल फर्काएछन्। खासमा उनले 'कमेन्डेबल' भनेको भ्रष्ट भन्ने बुझेछन्। जबकि ती महिलाले 'तपाईंले गज्जब गरिरहनुभएको छ' भनेकी थिइन्। त्यति सामान्य कुरामा उच्च तहका कर्मचारी त त्यस्तो अवस्थामा छन् भने अरुको के कुरा! मलाई यी कुरा विश्व बैंककी ती महिलाले नै सुनाइन्।

 

महानिर्देशकलाई अन्यौल भएको भए सोधखोज गर्न सक्थे। बुझ्न सक्थे। तर उनी त्यतातिर ध्यान नदिई झोँकमा जवाफ फर्काउँछन्। उनको कुरा बिग्रन्छ।

 

अंग्रेजी अन्तर्राष्ट्रिय भाषा हो। त्यसैले, अन्तर्राष्ट्रिय फोरम‍मा यसको प्रयोग हुनु नौलो कुरा होइन। संयुक्त राष्ट्रसंघका सम्मेलनमा उसले मान्यता दिएका अन्तर्राष्ट्रिय भाषामा अनुवाद गर्ने व्यवस्था हुन्छ।

 

सबै सहभागीको हेडसेटमा चिनियाँ, फ्रान्सेली, रुसी, अरबी, स्पेनिस र अंग्रेजी भाषामा रिमोटले परिवर्तन गरेर सुन्न मिल्ने प्रविधि हुन्छ। तुरुन्तै यी भाषामा अनुवाद गरिन्छ र जानेको भाषामा सुन्न पाइन्छ। त्योबाहेकका भाषामा संयुक्त राष्ट्रसंघले अनुवादक राख्दैन।

 

ठूला सम्मेलनमा विशेष अनुरोध गरेर राख्न लगाएको मलाई थाहा छैन। बरु आफ्नै भाषामा बोल्ने तर अंग्रेजी भाषामा अनुवाद गरिएको भाषण बाँडेको चाहिँ देखिन्छ। कार्यक्रममा आफूले अनुवादक राखेर निर्धक्क आफ्नै भाषामा बोल्न भने मिल्छ। आयोजकलाई त्यसरी व्यवस्था गरिदिनु भन्दा इज्जत घट्दैन। विश्वका धेरै नेताले यसै गर्छन्। नेपाली वा अरु कुनै राष्ट्रिय भाषामा बोलेकामा लघुताभाषबाट मुक्त हुने प्रयास जरुरी छ।

मेरो अनुभवका आधारमा केही कुरा मनन गर्न सके हाम्रा नेताहरूलाई विदेशतिरका कार्यक्रममा अंग्रेजी बोल्न अलि सहज हुन्थ्यो होला।

 

जस्तो, अंग्रेजीमै भाषण गर्न गाह्रो भए इज्जत घट्ला भनेर सकिनसकी भाषण गर्नतिर नलाग्ने। दोभाषे खोज्ने वा मन्त्रालयकै अरु कसैलाई त्यो जिम्मेवारी दिने र लिखित भाषण मन्त्रीकै नाममा बाँड्ने।

 

मन्त्रीको भाषण समयमै बनाउन लगाउने। कुनै शब्द बुझिएको छैन भने दकस नमानी सोधी हाल्ने र अर्थ टिप्ने। जान्ने हुन जरुरी छैन। त्यो नजानी वा नबुझी बोल्नुभन्दा सोध्नु राम्रो हो। मन्त्रीले सबै कुरा जान्नैपर्छ भन्ने छैन।

 

नर्भस हुने समस्या छ भने लाज नमानी कयौंपटक ऐना अगाडि बोल्ने। सकिन्छ भने आफ्ना सचिव वा भ्रमण टोलीका मान्छेलाई मिले-नमिलेको वा कस्तो लाग्यो सोध्ने र सुधार गर्न सकिन्छ भने गर्ने। यसले कुनै इज्जत घट्दैन, झन बढ्छ।

 

अंग्रेजी सबैले जान्न जरुरी छैन र मातृभाषा बोले जस्तैगरी बोल्नुपर्छ भन्ने मान्यता त्याग्ने। आफ्नै शैलीमा बोल्ने। कतिले अरुको सिको गरेर लवज निकाल्दा जानेका कुरा पनि झन् नराम्रो बनाउँछन्। जुन जरुरी छैन। भारतीयले बोल्ने अंग्रेजी र चिनियाँले बोल्ने अंग्रेजी फरक लवजमा हुन्छ तर शब्दै बिगार्न हुँदैन।

 

धेरैले बोल्नुअगाडि 'साउन्ड थेरापी' गर्दैनन् जुन निकै जरुरी हुन्छ। जस्तो, आफ्नो बोल्ने पालो आउनुअघि बाथरूम वा एकान्त ठाउँ खोजेर एक मिनेट लामोलामो सास लिने, जिब्रो फट्कार्ने र कुकुरले जस्तो रोकीरोकी सास फेर्ने गर्नु राम्रो हुन्छ।

 

यी र यस्ता अनेक उपायले शब्द उच्चारणमा सजिलो हुन्छ। लिखित भाषणको महत्वपूर्ण पक्ष भनेकै कहाँ रोकिने र कहाँ अलि जोड दिने भन्ने हो। त्यसैले धेरैपटक नपढेसम्म त्यो पत्ता लगाउन गाह्रो हुन्छ।

 

गोकर्णजीको भाषणमा पनि यो अभ्यास शून्य देखिन्छ।

 

अरुका अगाडि बोल्दा जे पर्ला, त्यही टर्ला भनेर जाने प्रवृत्ति रोक्नुपर्छ। नेपालका धेरै नेताले अंग्रेजी नजानेर होइन, अभ्यास वा तयारी नगरेर यस्तो आलोचना खेपिरहेका छन्।

 

आलोचनाबाट बच्न गल्ती सुधार्नुपर्छ।

२०७५ असार २७ मा प्रकाशित

प्रतिकृया दिनुहोस्