Hilsa Yatayat

धेरैको सपना पूरा गर्ने ठाउँमा छु, गर्छु !

विमला केसी
धेरैको सपना पूरा गर्ने ठाउँमा छु, गर्छु !

आत्मनिर्भर जनता 

फलफूल, खाद्यान्न, दुध, मासुजन्य चिजमा आत्मनिर्भर कर्णाली बनाउने हो । मेरै कार्यकालमा पूर्ण रुपमा आत्मनिर्भर बनाउँछु भन्दिन तर मैले योजना बनाउँछु । काम शुरु गर्छु । मेरो विचारमा पाँच वर्षमा आत्मनिर्भर बनाउन सकिन्छ ।

 

हामीले कर्णालीको अभाव, भोक र गरिबीलाई न्युनीकरण मात्र गर्न सक्यौं भने पनि ठूलो उपलब्धि हुन्छ । सहकारी समाजवाद निमार्णको बलियो आधार हो । सहकारीमार्फत् हामीले धेरै काम गर्न सक्छौं । सहकारी भनेको बल हो । एक्लै केही पनि गर्न सक्दैनौं ।

 

सहकारीको माध्यमबाट अगाडि बढेमा ठूल्ठूला आयोजना पनि सम्पन्न गर्न सकिन्छ । सहकारीले विजुली उत्पादन, उद्योग, विद्यालय, अस्पताल सञ्चालन गर्न सक्छ । सहकारीबाटै बजारीकरण हुन्छ । यसमा आम जनतालाई सहभागी गराउन सकिन्छ ।

 

विकृति रोक्छु
सहकारीमा विकृती भएको छ । वित्तिय सहकारीका नाममा शोषण भइरहेको छ । सहकारीका नाममा सञ्चालक मात्रै मोटाउने प्रवृत्ति छ । सदस्यलाई कुनै नाफा नहुने अभ्यासको अन्त्य हुनेगरी मैले काम गर्छु ।

 

मेरो कार्यकालमा अनुदान लिएर नक्कली कृषकले नक्कली फर्महरु देखाएर फोटो खिचेर पैसा खाने कुरा बन्द हुन्छ । राज्यले लगानी गर्ने तर लगानी अनुसारको आम्दानी कहिल्यै नहुने भनेको राज्यलाई माया नगर्दा हुने हो ।

 

राज्यको लगानी र अनुदानलाई व्यवस्थित गरी वास्तविक किसानलाई प्रोत्साहन गर्नुपर्छ । गल्ती गर्नेलाई कडा कारवाही गर्ने प्रबन्ध मिलाउँछु । कम्तीमा सच्चा किसानले अनुदान पाउन् । वास्तविक सहकारीले अनुदान पाओस् । उनीहरुलाई प्रोत्साहन मिलोस भन्ने हिसाबले काम गर्नुछ ।

 

अर्गानिक प्रदेश
हाम्रो ठूलो सपना भनेको कर्णालीलाई अर्गानिक प्रदेश बनाउने हो । यहाँ गरिबी छ । तर यहाँका विभिन्न स्थानलाई अर्गानिक क्षेत्र घोषणा गर्दै प्रदेशलाई नै क्रमशः अर्गानिक बनाउने लक्ष्य छ ।

 

हाम्रो उत्पादनलाई विभिन्न मुलुकमा निर्यात गर्नुपर्छ । त्यसका लागि त्यही गतिमा काम गर्नुपर्छ । यहाँका सबै चिजको महत्व छ । आ–आफ्नो स्थानबाट सबैजना लाग्ने हो भने यो संभव छ । म त्यसतर्फ लागिसकें ।

 

महिला र राजनीति
महिलाहरु राजनीतिमा लाग्दा धेरै संघर्ष गर्नुपर्छ पुरुषको तुलनामा । तर हिजोभन्दा केही सहजता छन् । परिवर्तन निरन्तर हुने कुरा हो । त्यसैले राजनीतिमा लागेका महिलाहरु लाई निराश नहुन मेरो सुझाव छ । हरेक अप्ठेरो र कठिन संघर्षबाट प्रेरणा मिल्छ । मलाई त कसैले सक्दिन भन्यो भने जसरी पनि त्यसको अगाडि झन् राम्रो गरेर देखाउन मन लाग्छ ।

 

हामी सबै महिला जुन ठाउँमा भएपनि एकतावद्ध हुन जरुरी छ । पार्टी, क्षेत्र, वर्ग जुनसुकै होस्, महिलाका मुद्दा साझा छन् । पीडा एकै किसिमका छन् । र, समाजवाद नआउँदा सम्म हामी लडिरहनुपर्छ । अहिले पनि म धेरैचोटी अनुभूति गर्छु– महिला भएकै कारणले हामीले कैयौं मान्छेको दृष्टिमा अविश्वास व्यहोर्नुपरेको छ ।

 

हरेक परिस्थितिमा पुरुष भन्दा मैले काम कम गरेको छैन । बरु राम्रो गरेजस्तो लाग्छ । मैले त यस्तो अनुभूति गर्नुपर्छ भने सामान्य महिलाहरुले त झन् धेरै भोगेका छन् । स्थानीय तहका उप–प्रमुख महिलाले यो भोग्नुभएको छ । साँचो कुरा के हो भने महिलाले सही रुपमा जिम्मेवारी पूरा गर्न सक्छौं । व्यवस्थापनमा त महिलाहरु पुरुष भन्दा धेरै अगाडि छन् । किनभने उनीहरुलाई हरेक स्थानमा संघर्ष जो गर्नु छ ।

 

म कमजोर छैन
अहिले प्रदेश सरकारमा जति पनि मन्त्री छौं, ती मध्ये म कमजोर हो भन्ने लाग्दैन । म अरु पुरुषहरु जत्तिकै काम गर्न सक्छु । जनतासंग प्रत्यक्ष सरोकार राख्ने सहकारी, कृषि, पशु, भूमि आदि आधारभूत रुपमा जनतासँग प्रत्यक्ष जोडिएका क्षेत्र हुन् । मेरो मन्त्रालयको काम यही हो । गरिबी निवारण मेरो सपना हो । यस प्रदेशका जनता आत्मनिर्भर भएको हेर्ने मन छ ।

 

राजनीतिमा आउँदा पनि मेरो प्रेरणा यही हो । गरिबी, अभाव, अत्याचार र विकृतिहरु हटाउने सपना थियो । सपना पूरा गर्ने ठाउँमा आएकी छु । मेरो व्यक्तिगत स्वार्थ केही पनि छैन । मलाई घर बनाउने, छोरा छोरी पढाउने वा पैसा कमाउनु छैन । सामान्य खर्चका निम्ति तलब नै तमाम छ ।

 

गर्नुपर्ने काम धेरै छन् । विज्ञको सहयोग र सुझावको खाँचो छ । कमजोरी नहुने मान्छे नै छैन । तर त्यसका पनि सीमाहरु हुन्छन् ।

 

खास अभिभावक छैन
सानैमा बुवा गुमाएँ । बेला बेलामा अभिभावकको फिलिङ हुन्छ । राजनीतिमा पनि अभिभावक त चाहिन्छ नै । मलाई यसो गर्, यसो नगर् भन्ने मान्छे कोही पनि छैन । मैले जे गरिरहेकी छु आफै जानेर हो । खास अभिभावकत्व दिलाउने मान्छे छैन । अहिले मन्त्री बन्दा पनि कसैको चाहना होइन । मेरो आफ्नै नैतिक धरातल थियो । कामको पृष्ठभूमि थियो ।

 

प्रस्तुति : टीका विष्ट

 

यो पनि पढ्नुहोस् :

छोरी दुध खान नपाएर तड्पिने, मैले यता निचोरेर फाल्नुपर्ने

धन्न बिउझिएँ र बाँचियो

‘आइमाई’ देखि सजग हुनु, ड्याम्मै हानिहाल्छन्

विद्रोही आमा जसले आफ्नै छोरीलाई युद्धमा पठाइन्

२०७५ असार २८ मा प्रकाशित

प्रतिकृया दिनुहोस्