Hilsa Yatayat

प्रेम यति बिघ्न भयो कि नभागी सुखै भएन !

कृष्णबहादुर राई
प्रेम यति बिघ्न भयो कि नभागी सुखै भएन !

म काभ्रेपलाञ्चोक जिल्लाको महादेवीस्थान १ ढोडेनीमा २००५ सालमा जन्मिएको हुँ । बुवा जनक बहादुर राई र आमा कान्तीदेवी राईको म एक्लो सन्तान । बुवा आमा कृषी गर्नुहुन्थ्यो । एक्लो सन्तान भएकाले खेल्ने दाजुभाई पनि थिएनन् । एक्लो हुनुको नरमाइलोपन पनि मैले भोगें । मेरा पनि दाईभाई र दिदिबहिनी भएको भए जस्तो लाग्थ्यो । 

 

म एक वर्षको हुँदा आमाको मृत्यु भएको हो । म हजुरबुबा, आमा र काकाहरुसंग हुर्कें । आमाको अभावमा छुट्टै पीडा त थियो तर पनि बाल्यकाल रमाईलोसंग वित्यो ।


मलाई सानैदेखि व्यावसायिक किसान बन्न रहर थियो । विद्यालयमा पढ्दा पढ्दै हामी नमुना कृषक पनि बनेका थियौं । कक्षा ५ मा छँदा ५० जना साथीहरु मिलेर चारपाते क्लब गठन गरी तरकारी खेती र कुखुरा पालन गरेका थियौं ।

 

२०२३ सालमा मैले एसएली पास गरें । त्यही साल मैले भूभिसुधार कार्यलयमा खरिदारमा नाम निकालें । जागीरको शिलशिलामा त्यही साल सुर्खेत आएँ । एब वर्ष नहुँदै दरबन्दी कटौतीमा परें । त्यो बेला मलाई खासै नरमाईलो लागेन किनभने म लगायत देशभरका १२ सय खरिदारहरुको जागीर गएको थियो । म घर गएं ।

 

वीरेन्द्रनगर ६ गणेश चोककी शोभा कंडेलको घर नजिकै मेरो अफिस थियो । अफिस आउँदा जाँदा सामान्य चिनजान भैसकेको थियो । विस्तारै हाम्रो भेट बाक्ल्यिो । लुकेर पनि भेट्न थाल्यौं । त्यतिबेला भएका कुराकानी त्याति याद छैन तर पहिलो भेट भने अझै स्मरणमा छ ।

 

एकातिर शोभासंग छुट्नै नसक्ने उता नेपाल सरकारले जागीर कटौतीमा पारेर थप पीडा दिएको थियो । यस्तो अवस्थामा पनि उनी मसंगै जान तयार भइन् । जागीर बिना सुर्खेत बस्नुको औचित्य पनि थिएन । उनलाई छोडेर जाने कल्पना गर्न पनि सक्दिनथें ।

 

शोभालाई लिएर भाग्दाको क्षण आजपनि याद छ । एकदमै रमाईलो घटना । उनी बाहुनकी छोरी । म राईको छोरा । उनको घरपरिवारले स्वीकार्ने कुरै थिएन । उ बेलाको जमाना । शोभाको घरमा मनाउने प्रयास नै गरेनौं । भागेर काभ्रेपलाञ्चोक गयौं । केही वर्ष त्यहीं बसियो । २०२६ सालमा नेपाल सरकारले योग्यता पुगेकालाई बोलाएर नियुक्ति दियो । त्यसमा म पनि परे । खुशीको अनुभुति भयो ।

 

जागीरकै क्रममा सिन्धुपाल्चोक, दैलेख, ओखलढुङ्गा र सुर्खेत घुमेको छु । जागीरको शिलशिलामा साथीभाईहरुसंग रमाईलो हुन्थ्यो । बिहे गरेको ६ वर्षपछि संयोगले मलाई सुर्खेत आउने मौका मिल्यो । म संंगसंगै शोभा पनि आइन् ।

 

शोभाको जन्म २००६ सालमा भएको हो । उनी कक्षा ९ सम्म पढिन् । २४ सालमा भूमिसुधार कार्यालय अन्तर्गत विशेष अदालतको मुखिया पदमा नाम निक्लिएको रहेछ । उतिबेला कक्षा ८ पास भएपनि सरकारी जागीरमा जान पाइन्थ्यो । बिडम्बना विशेष अदालत नै खारेजीमा पर्‍यो ।

 

बिवाह गर्दा उनी १८ वर्षकी थिइन् । म १९ वर्षको । प्रेम यति बिघ्न भयो कि नभागी सुखै थिएन । एक अर्कामा धोका पाइएला कि भन्ने कुनै चिन्ता लागेन । अन्तरजातिय बिवाह गरेकोले करिब ६ वर्षसम्म श्रीमतीलाई माइत पठाउन सकिन । ६ वर्षपछि ससुराको चिठ्ठी आयो । माइती आउनु !

 

अन्तरजातिय बिवाह गरेपनि मलाई कहिल्यै नरमाइलो महशुस भएन । आजभोली रमाइलोसंग जीवन बिताएका छौं । कहिलेकाहीं झगडा त हुन्छ । तर सामान्य मात्र । खास कारण केही हुँदैन । एकछिनमै बोलिहाल्छौं ।

 

शोभा हाम्रो घरपरिवारको संस्कारमा भिजिसकेकी थिइन् । तीन छोरा र दुई छोरी छन् । पहिलो सन्तानको रुपमा छोरा जन्मँदा मेरो घरपरिवार सबै खुशी भए । शोभा र म पनि । मेरा छोराछोरी सबैले अन्तरजातिय विवाह गरेका छन् । नाती र नातिनिले समेत अन्तरजातिय विवाह गरेका छन् ।

 

जेठो छोराले नेवार, माईलोले मगर र कान्छोले क्षेत्रीका छोरीसंग विवाह गरेका छन् । दुबै छोरीको क्षेत्रीसंग विवाह भएको छ । नाती र नातिनीले समेत क्षेत्रीसंग विवाह गरेका छन् । सबै मिलेरै बसेको देख्छु । कहिल्यै झगडा गर्दैनन् । सबै खुशी छन् । उनीहरुको खुशीनै हामी आमाबाबुको आशिर्बाद हो । अन्तरजातिय विवाह नेपाली समाजमा स्वागतयोग्य छ । यसले समाजमा जातिय द्वन्द्व हुन दिंदैन भन्ने मेरो बुझाई छ ।

 

आफ्नै जीवन फर्केर हेर्दा रमाइलो लाग्छ । जीवनमा धेरै उतारचढाब पो पार गरिएछ ! खुशी भएर बाँच्न स्वास्थ्य राम्रो हुनुपर्छ । घरपरिवार र आफन्तसँग सुमधुर सम्बन्ध हुनुपर्छ । आर्थिक रुपमा पनि सफल बन्न सिक्नुपर्छ । अहिले मैले कुखुरा पालन गरेको छु । मेरो छोराहरु शिक्षक, खेलाडी र व्यवसायी छन् । हामी १४ जनाको परिवार संगोलमै छौं । सबैले एउटै चुलोमा पाकेको खान्छौं । कोही बेखुशी छैन ।

 

प्रस्तुति : सीता वली

२०७५ असार ३१ मा प्रकाशित

प्रतिकृया दिनुहोस्