Tiwari Bhada Pasal

सरकारमा थपिए ३ मन्त्री, मन्त्रिपरिषद अब २५ सदस्यीय

रासस
सरकारमा थपिए ३ मन्त्री, मन्त्रिपरिषद अब २५ सदस्यीय

तस्बिर : रमेश क्षेत्री/गोरखापत्र

१८ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारमा दुई मन्त्री नियुक्त गरेका छन् । उनीहरुलाई राष्ट्रपति विद्यादेवी भण्डारीले शीतल निवासमा शुक्रबार पद तथा गोपनीयताको शपथ खुवाएकी छन् ।

 

नवनियुक्त मन्त्रीमा कानून, न्याय तथा संसदीय व्यवस्थामन्त्री भानुभक्त ढकाल र भूमि व्यवस्थापन, सहकारी तथा गरीबी निवारणमन्त्री पद्मा अर्याल रहेका छन् । मोरङका ढकाल र स्याङ्जाका अर्याल दुवै नेकपाबाट प्रत्यक्षतर्फ निर्वाचित प्रतिनिधिसभा सदस्य हुन् ।

 

यसैगरी राष्ट्रपति भण्डारीको उपस्थितिमा प्रधानमन्त्री केपी शर्मा ओलीले नवनियुक्त स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. सुरेन्द्रकुमार यादवलाई पद तथा गोपनीयताको शपथ गराएका छन् ।

 

अब मन्त्रिपरिषद्मा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित २२ मन्त्रालय छन् । नेकपा र सङ्घीय समाजवादी फोरम नेपाल सहभागी मन्त्रिमण्डलमा प्रधानमन्त्री, २ उपप्रधानमन्त्री र ३ राज्यमन्त्रीसहित २५ मन्त्री रहेका छन् । जसमध्ये चार जना महिला छन् ।

 

मन्त्रीहरुको सपथ ग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, संघीय संसद्का सभामुख कृष्णबहादुर महरा, मन्त्रिगण, संवैधानिक निकायका प्रमुख, मुख्य सचिवलगायत उच्च पदस्थ अधिकृतको उपस्थिति रहेको थियो ।

 

प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा विसं २०७४ फागुन ३ गते गठन भएको मन्त्रिपरिषद् गत वर्ष फागुन १४ र चैत २ तथा यस वर्ष जेठ १८ गते विस्तार भएको थियो । यो पाँचौं पटकको विस्तार हो ।

२०७५ साउन १८ मा प्रकाशित

प्रतिकृया दिनुहोस्