१९ साउन । नेदरल्याण्डस्सँगको दोस्रो एक दिवसीय क्रिकेटमा नेपालले घरेलु टोलीलाई १ रनले हराएको छ। यो सँगै दुई एक दिवसीय शृंखला १-१ को बराबरीमा सकाएको छ।
नेपालले दिएको २१७ रनको लक्ष्य पछ्याएको नेदरल्याण्डस्ले निर्धारित ५० ओभरको खेलमा सबै विकेट गुमाउँदै २१५ रन मात्र बनाउन सक्यो।
उसका लागि वेस्ली वारेसीले सर्वाधिक ७१ रन बनाए पनि त्यो जितका लागि पर्याप्त रहेन। नेदरल्याण्डस्लाई रोक्न नेपालका सन्दिप लामिछानेले ३ विकेट लिँदा ललित भण्डारीले २ विकेट लिए।
यस्तै कप्तान पारस खड्का, सोमपाल कामी र बसन्त रेग्मी र दिपेन्द्र सिंह ऐरीले १-१ विकेट लिए।
खेलको अन्तिम ओभर दर्शकको ढुकढुकी बढाउने खालको थियो। नेदरल्याण्ड्सलाई जितको लागि ६ बलमा ६ रन चाहिएको थियो भने नेपाललाई एक विकेट पर्याप्त थियो।
यस्तोमा कप्तान पारस खड्का स्वयम्ले बलिङको जिम्मेवारी लिए।
पारसको बलमा पाउल भान मिकेरेनले पहिलो बलमा एक रन जोडे। दोस्रो बलमा कुनै रन लिएनन्। तेस्रो बलमा फेरि १ रन जोड्दै ३ बलमा ४ रन आवश्यक रह्यो।
चौथो बलमा फ्रेडेरिक ज्याक क्लासेनले २ रन जोडेपछि आयोजकलाई जितका लागि २ बलमा २ रन बनाउनुपर्ने भयो। पाँचौ बलमा पारसले कुनै रन दिएनन्। अब खेलको अन्तिम बलमा आयोजकलाई जितको लागि २ रन आवश्यक पर्यो। एक रन मात्र लिए पनि खेल बराबरी हुने थियो। कुनै रन नदिएमा भने खेल नेपालले जित्थ्यो। तर अन्तिम बलमा पारसले फ्रेडेरिक ज्याक क्लासेनलाई रन आउट गरिदिएपछि नेपालको रोमाञ्चक जित सम्भव भएको हो।
लर्ड्स मैदानमा भएको खेलमा नेपालले मेर्लबोन क्रिकेट क्लब एमसीसीलाई हराएको थियो भने नेदरल्याण्ड्ससँगको खेल वर्षाले विथोलिएपछि रद्द भएको थियो।
नेपालको यो पहिलो अन्तर्राष्ट्रिय एक दिवसीय जित हो।
नेपालका लागि सोमपाल कामीले सर्वाधिक ६१ रनको पारी खेलेका थिए। नेपाली खेलाडीमध्ये सबैभन्दा धेरै रन बनाएका कामीले ४६ बल खेल्दै ५ चौका र ३ छक्का प्रहार गरे।
यस्तै कप्तान पारस खड्काले पनि अर्धसतक पुरा गरे। पहिलो पटक एक दिवसीय अर्धसतक प्रहार गर्ने क्रममा खड्काले ६९ बल खेल्दै ६ चौका र २ छक्का प्रहार गरे।
यस्तै दीपेन्द्र सिंह ऐरी र सुवास खकुरेलले समान १९ रन बनाउँदा अनिल साह ४ र रोहित कुमार पौडेल ६ रनमा आउट भए। बसन्त रेग्मीलाई १ रनमा गुमाएको नेपालका लागि सन्दिप लामिछानेले ८ रन बनाएर आउट भए भने ललित भण्डारीले ४ रनमा अभिजित रहे।
नेदरल्याण्डस्का लागि कालासेनले ३ तथा रिपोन र सिलारले २-२ विकेट लिए।
पहिलो वान डेमा नेदरल्याण्ड्सले नेपाललाई ५५ रनले हराएको थियो।
यसअघि बेलायतमा नेपालले टी २० शैलीको त्रिकोणात्मक प्रतियोगिता खेलेको थियो।
प्रतिकृया दिनुहोस्