Tiwari Bhada Pasal

उत्तर कोरियाले अझै आणविक हतियार बनाइरहेको राष्ट्रसंघको खुलासा

एजेन्सी
उत्तर कोरियाले अझै आणविक हतियार बनाइरहेको राष्ट्रसंघको खुलासा

१९ साउन । उत्तर कोरियाले अझै पनि आणविक र क्षेप्यास्त्र कार्यक्रम सञ्चालन गरिरहेको राष्ट्रसंघ सुरक्षा परिषदको एक प्रतिवेदनले खुलासा गरेका छन् ।

 

प्रतिवदेनअनुसार प्योङयाङले अवैध रुपमा जहाजबाट जहाजमै तेल स्थानान्तरण गरिरहेको छ र आफूले बनाएका हतियारहरु अन्य देशलाई बेच्ने खोजेको छ ।

 

स्वतन्त्र विज्ञहरुले तयार पारेको गोप्य प्रतिवेदन संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदलाई शुक्रबार बुझाइएको थियो । उत्तर कोरियाले भने प्रतिवेदनमाथि कुनै प्रतिक्रिया दिएको छैन ।

 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनबीच गत जुनमा सिंगापुरमा भएको शिखर वार्तामा निशस्त्रीकरणका लागि काम गर्ने सहमति भएको थियो । तर, प्योङयाङले गोप्य रुपमा नयाँ व्यालेस्टिक मिसाइल बनाइरहेको अमेरिकी अधिकारीहरुको पनि दाबी छ ।

 

प्रतिवेदनले के भन्छ ?

उत्तर कोरियामा अमेरिकी प्रतिवन्धको कार्यान्वयनलाई निगरानी गरिरहेका विज्ञहरुले राष्ट्रसंघको प्रतिवेदन तयार पारेका हुन् । प्रतिवेदनमा भनिएको छ, ‘उत्तर कोरियाले आफ्नो आणविक र क्षेप्यास्त्र कार्यक्रमलाई अझै पनि रोकेको छैन ।

 

सन् २०१८ मा अवैध रुपमा जहाजहरुबाट ठूलो परिणाममा पेट्रोलियम पदार्थ र कोइलाको स्थानान्तरण गरेर सुरक्षा परिषदको संकल्पलाई चुनौती दिइरहेको छ ।’

 

साथै ‘प्योङयाङले विदेशी बिचौलियाहरुमार्फत साना र हलुका हतियार, सैन्य सामग्रीहरु लिबिया, सुडान र यमन जस्ता देशहरुलाई बेच्ने प्रयास गरेको’ प्रतिवेदनमा उल्लेख छ ।

 

उत्तर कोरियाको क्रियाकलापहरुले आर्थिक प्रतिबन्धहरु निश्प्रभावी भएको विज्ञहरुको निष्कर्ष छ ।

२०७५ साउन १९ मा प्रकाशित

प्रतिकृया दिनुहोस्