Hilsa Yatayat

जोशी भोलिदेखि बिदामा बस्ने, मिश्रले पेशी तोक्ने

सेतोपाटी

१९ साउन । संसदीय सुनुवाइ समितिले प्रधानन्यायाधीशमा अस्वीकार गरेको कामु प्रधानन्यायाधीश दीपकराज जोशी भोलिदेखि बिदामा बस्ने भएका छन्। उनी बिदामा बसेपछि वरिष्ठतमको आधारमा न्यायाधीश ओमप्रकाश मिश्रले सर्वोच्चका पेशी तोक्ने सर्वोच्च अदालतका प्रेस विज्ञ किशोर पौडेलले जानकारी दिए।

 

संसदीय सुनुवाइ विशेष समितिले शुक्रबार जोशीलाई प्रधानन्यायाधीश बनाउन अस्वीकार गरेको थियो। समितिको औपचारिक निर्णय आएपछि उनले राजीनामा दिने/नदिने बारेमा सोच्नेछन्। अहिलेसम्म समितिको औपचारिक निर्णय आएको छैन।

 

उनले प्रधानन्यायाधीशमा अस्वीकृत भएपछि नैतिकताका आधारमा राजीनामा दिन्छन् कि दिन्नन भन्ने आमचासो छ। उनले राजीनामा नदिए न्यायाधीश भएर काम गर्न सक्छन्।

 

संवैधानिक परिषद्ले डेढ महिनाअघि जोशीलाई प्रधानन्यायाधीशमा सिफारिस गरेको थियो। संविधानमा उच्च नैतिक चरित्र भएका र सर्वोच्च अदालतमा ३ वर्ष काम गरेका न्यायाधीशलाई प्रधानन्यायाधीश हुने व्यवस्था गरेको छ। 

प्रधानमन्त्री अध्यक्ष, प्रमुख प्रतिपक्षी दलको नेता, प्रतिनिधिसभाको सभामुख, उपसभामुख, राष्ट्रियसभाको अध्यक्ष र कानुन मन्त्री सदस्य रहने परिषद्ले ३ वर्ष सर्वोच्च अदालतमा न्यायाधीशको रूपमा काम गरेका व्यक्तिको उच्च नैतिक चरित्र छ/छैन भन्ने हेरेर सिफारिस गर्छ।

 

योग्यता पुगेकामध्ये वरिष्ठलाई प्रधानन्यायाधीशमा सिफारिस गर्ने चलन थियो। वरिष्ठलाई मात्र प्रधानन्यायाधीश सिफारिस गर्नुपर्ने कानूनी व्यवस्था भने छैन।

 

आजसम्म यसरी सिफारिस भएका प्रधानन्यायाधीशलाई सुनुवाइ समितिले पनि अनुमोदन गर्थ्यो। यसपालि भने समितिले दुई तिहाइ मतका आधारमा परिषद्को सिफारिसलाई अस्वीकृत गरेको छ।

 

जोशी अस्वीकृत भएसँगै अब परिषद्ले कसलाई प्रधानन्यायाधीश सिफारिस गरेर पठाउँछ त भन्ने सवाल पनि उठेको छ। गोपाल पराजुली प्रधानन्यायाधीशबाट हटेपछि न्यायपरिषदले प्रधानन्यायाधीशका लागि योग्यता पुगेका ३ जनाको नाम संवैधानिक परिषद्मा पठाएको थियो।

 

जोशीबाहेक ओमप्रकाश मिश्र र चोलेन्द्रशमसेर राणाको नाम परिषद्ले पठाएको थियो। संवैधानिक परिषद्ले अब यीनै दुईमध्ये एक जनालाई प्रधानन्यायाधीश सिफारिस गर्न सक्छ। न्यायाधीश मिश्रको कार्यकाल आउने पुस १६ गतेसम्म छ।

 

त्यसपछि उनले उमेरहदका कारण अवकाश पाउने छन्। सर्वोच्च अदालतको न्यायाधीशले ६५ वर्ष उमेर पुगेपछि अवकाश पाउने व्यवस्था छ। न्यायाधीश राणा भने ६१ वर्ष पुगे। उनको कार्यकाल २०७९ साल मंसिर २८ गतेसम्म छ।

२०७५ साउन १९ मा प्रकाशित

प्रतिकृया दिनुहोस्