Tiwari Bhada Pasal

कालिकोटका द्वन्द्वपीडितलाई राहत रकम अपुग

पंखवहादुर मल्ल /कालिकोट
कालिकोटका द्वन्द्वपीडितलाई राहत रकम अपुग

२१ साउन । सशत्र द्वन्द्वको समयमा विस्थापित भएका परिवारहरूको नाममा आएको रकममा ८४ लाख ६९ हजार रुपियाँ अपुग भएको छ ।


द्वन्द्वको समयमा विद्रोही तथा राज्यपक्षबाट विस्थापित भएकाहरू २ सय ५२ परिवार मध्ये १ सय ४३ जनाको नाममा मात्रै रकम आएकाले थप व्यक्तिलाई दिन रकम अपुग भएको हो ।

 

जम्मा १ सय ४३ परिवारका १ हजार ४१ व्यक्तिलाई ५ हजार ३ सय ९८ रुपियाँका दरले ५४ लाख ७३ हजार ५ सय ७२ रुपियाँ आवश्यक पर्नेमा विस्थापित परिवारको नाममा १८ लाख २३ हजार रुपियाँ मात्र रकम आएको निमित्त प्रमुख जिल्ला अधिकारी राजकुमार दुलालले बताए ।

 

उनका अनुसार वर्णानुक्रम अनुसार २१ परिवारका १ सय ३४ जनालाई राहत रकम दिए पनि बाँकी १ सय २२ परिवारका ९ सय ७ जनाका लागि ८४ लाख ६९ हजार रुपियाँ रकम अपुग भएको हो । अपुग राहत रकम माग गर्न निर्णय गरी गृह मन्त्रालयमा पठाइएको निमित्त प्रमुख जिल्ला अधिकारी दुलालले जानकारी दिए ।

 

निकासा आएको रकम वर्णानुक्रम अनुसार वितरण गरेपछि आफूलगायत धेरैजनाले राहत नपाएको खाँडाचक्र नगरपालिका ८ का प्रकाश चौलागाँइले गुनासो गरे ।

 

यस्तै द्वन्द्वकालमा घरवारविहीन भई विस्थापित भएका महावोई गाउँपालिका ८ का राजेन्द्र थापाले आफ्नो नाम २ सय ५२ जना विस्थापित भित्र भएपनि रकम नआएको गुनासो गरे । शान्ति तथा पूर्ननिमाण मन्त्रालय खारेज भएपछि जिल्लाको स्थानीय शान्ति समिति पनि विघठन भएको छ ।



विगतमा शान्ति मन्त्रालयवाट हुदै आएका कामकाज केन्द्रमा गृह मन्त्रालय, सत्यनिरुपण तथा मेल मिलाप आयोग र जिल्ला प्रशासन कार्यालयवाट हुदै आएका छन । कामकाज जिल्ला प्रशासन मार्फत भएपनि आयोगले कुनै समन्वय नगरेको निमित्त प्रमुख जिल्ला अधिकारी दुलालको भनाइ छ । 

२०७५ साउन २१ मा प्रकाशित

प्रतिकृया दिनुहोस्