Tiwari Bhada Pasal

फस्टाउँदो सामुहिक बाख्रापालन

मनिषा केसी/रुकुम
फस्टाउँदो सामुहिक बाख्रापालन

२२, साउन । मुसीकोट नगरपालिका १ डाँग्रीचौरका चारजना कृषकहरुले सञ्चालन गरेको व्यवसायिक बाख्रापालन फस्टाउँदै गएको छ । परम्परागत पशुपालन तथा कृषि खेतीबाट गुजारा चलाउनै मुस्किल भएको भन्दै मनग्य आम्दानी कमाउनका लागि उनीहरु व्यवसायिकतातर्फ लागेका थिए ।


०७४ फागुनदेखि मुसीकोट नगरपालिका १ का देवबहादुर खड्का, धनबहादुर गिरी, जीतबहादुर भण्डारी र मनवीर खत्रीले जिल्ला पशु सेवा कार्यालयमा शाईकुमारी संयुक्त बाख्रा फर्म दर्ता गरी काम सुरु गरेका थिए ।


सुरुमा एकलाख रुपैयाँको लगानीमा खोर निर्माण गरेर ४७ वटा बाख्रा खरिद गरिएको कृषक देवबहादुर खड्काले जानकारी दिए । उनीहरुले मासु उत्पादनलाई मध्यनजर गर्दै स्थानीय खरी जातिका बाख्रापालन गरेका छन् ।


करिब चारलाख रुपैयाँ मूल्यमा स्थानीय स्तरमै बाख्रा खरिद गरेको उनको भनाई छ । ‘आउँदो दशैं, तिहार र डिग्रे मेला सम्ममा मासुका लागि खसी बोकाहरु उत्पादन गर्ने लक्ष्य लिइएको छ ।’ उनले भने, ‘अहिले साना बोका पाठाहरु खरिद गरेर पनि त्यतिबेलासम्म हुर्काएर बढि मूल्यमा बेच्न सकिन्छ ।’


यसका अलावा सोही समुहले व्यवसायिक माछापालन र तरकारी खेती समेत गर्दै आएको छ । ५ महिना अघि २ हजार माछाका भूराहरु राखेर माछापालन व्यवसाय सुरु गरेकोमा अहिले आधा किलोसम्मका माछा भएको कृषक जीतबहादुर भण्डारीले बताए । दशैँ तिहारको समयसम्म माछा पनि विक्री गर्न लायक हुने उनको भनाई छ ।


त्यस्तै व्यवसायिक तरकारी खेती अन्तर्गत टमाटर, बन्दा, प्याज, भेडेखुर्सानी लगायतबाट आम्दानी सुरु गरिएको कृषक खड्काले बताए । यसपटक असिनापानीले क्षति गरेका कारण सोचे अनुसार आम्दानी हुन नसकेपनि दुःख गरे अनुसार आम्दानी भएको उनले जानकारी दिए ।


अरु व्यवसाय सबै चारजनाको लगानीमा भईरहेको र तरकारी खेतीका लागि प्रधानमन्त्री कृषि आधुनिकीकरण आयोजनाले ८३ हजार रुपैयाँमा टनेल निर्माणका लागि सहयोग गरेको उनले बताए । बाख्रापालन, तरकारी खेती र माछापालन समेत सबै क्षेत्रको काम चार जना मिलेर गर्ने गरेको खड्काले बताए ।


कर्णाली प्रदेश सरकारले यसरी सामुहिक रुपमा कुनै पनि व्यवसाय गर्नेहरुलाई प्रोत्साहन गर्ने बताउँदै आएको छ । प्रदेशलाई मासुमा आत्मनिर्भर बनाउनका लागि सरकार र जनताको स्वामित्वमा नमुना व्यवसाय सुरु गर्ने सरकारको योजना छ ।

२०७५ साउन २२ मा प्रकाशित

प्रतिकृया दिनुहोस्