Tiwari Bhada Pasal

ड्युटीमै प्रहरीमाथी कुटपिट, कारबाही नगर्न नेताहरुको दबाव

सेरोफेरो/सुर्खेत
ड्युटीमै प्रहरीमाथी कुटपिट, कारबाही नगर्न नेताहरुको दबाव

२३ साउन । मध्येपश्चिमाञ्चल क्षेत्रिय अस्पताल सुर्खेतमा कार्यरत प्रहरी हवलदार गत १७ गते कुटीए । ड्युटीमा रहेका हवलदारलाई राति करिब ११ बजे मादक पदार्थ सेवन गरेका युवाको समुहले आक्रमण गरेको थिए ।


कुटपिटमा संलग्न वीरेन्द्रनगर २ का २० वर्षका सन्लेस सुनार, १८ वर्षका सुजन विक र २२ वर्षका अजय सुनारलाई ज्यान मार्ने उद्योग अन्तर्गत मुद्दा चलाइएको प्रहरीले जनाएको छ ।


यसैगरी २१ गते दिउँसो ४ बजे सुर्खेत बिमानस्थलमा कार्यरत प्रहरी नायव निरिक्षकमाथी हातपात गरियो । प्रहरीका अनुसार घटनामा संलग्न वीननपा ७ का ३८ वर्षका कृष्ण न्यौपानेलाई सार्वजनिक मुद्दा चलाइएको छ ।


सोही दिन साँझ साढे ७ बजे शंकर चोक स्थित प्रहरी हवलदार (महिला) लाई हातपात गरियो । वीननपा ७ का ४२ वर्षीय जगत बिसीलाई पनि सार्वजनिक मुद्दा चलाइएको छ ।

 

प्रहरीका अनुसार यी सबै घटनामा संलग्नहरुले मादक पदार्थ सेवन गरेका थिए ।


समुदायको सुरक्षामा खटीएका प्रहरीमाथी आक्रमण गर्दा प्रहरीको मनोवल कमजोर हुने एक प्रहरी अधिकृतले बताए ।


गल्तीको महशुस गराउने भन्दै प्रहरीले घटनामा संलग्नहरुलाई पक्राउ गरेर हिरासद राख्ने गरेको छ । तर त्यस्ता युवाहरुलाई तत्काल छोड्नको लागि विभिन्न नेताहरुले दबाव दिने गरेका छन् ।


‘हुन्छ हजुर, चाँडै छोड्ने बातावरण बनाउँछुु, ड्युटीमा रहेका प्रहरीमाथी कुटपिट गर्नेलाई चेतावनीको लागी केहि दिन थुन्नु चाँही पर्छ’ यो पंक्तिकार मंगलबार प्रहरी कार्यालय पुग्दा प्रहरी उपरिक्षक उमाप्रसाद चर्तुवेदीले एक नेतालाई फोनमा भनिरहेका थिए ।


चर्तुवेदीका अनुसार प्रहरी सम्म आइपुग्ने धेरैजसो घटनामा राजनीतिक दवाव हुन्छ । नेताहरुको संरक्षण पाएर उदण्ड युवाहरु प्रहरी माथी जाइलाग्ने गरेको प्रहरीको बुझाइ छ ।


‘मदिराको लतमा को के हो भन्ने थाहा पनि हुदैन । मुख्य कुरा नेताहरुले छुटाइहाल्छन् भन्ने आड भरोसाले प्रहरीलाई कुट्ने हिम्मत जुटेको हो’ प्रहरी उपरिक्षक चतुर्वेदीले भने ।


पछिल्लो समयमा प्रहरी कुटपिटमा पर्ने गरेका घटनाको समाजमा चर्चा हुने गरेको छ । यस्ता घटना हुनुमा कतिपय प्रहरी स्वयम् जिम्बेवार भएको टीप्पणी हुन थालेका छन् ।


युवाहरुसंगै बसेर मदिरा खाने गरेका प्रहरी नै प्राय आक्रमणको सिकार भएको एक युवाले बताए । हुनपनि प्रहरी संगठनका कतिपय व्यक्तिले व्यापारी र कमजोरी गरेका व्यक्तिसंग मुल खोलेरै ‘रक्सी’ माग्ने गरेका छन् ।


माथि उल्लेख गरिएको पहिलो घटना घटेको भोलिपल्ट प्रहरी चौकी बाङ्गेशिमलका इन्चार्जले शनिबार मनाउन लागेको भन्दै एक युवासंग तुरुन्त ‘ब्ल्याक लेबल’ ल्याउन उर्दी गरे ।


यस अघि प्रहरी चौकी शुब्बाकुनाका केहि प्रहरीले रिचार्ज माग्ने गरेको एक अटो चालकले प्रहरीलाई गुनासो समेत गरेका थिए ।


सुरक्षाको जिम्मा लिएका प्रहरी नै असुरक्षित हुनुपर्ने वातावरण कम्तिमा प्रहरीबाट नभइदिए हुन्थ्यो भन्ने धेरैको अपेक्षा छ ।

२०७५ साउन २३ मा प्रकाशित

प्रतिकृया दिनुहोस्