Tiwari Bhada Pasal

गरिबको परिचय पत्र धनिलाई वितरण ! कसरी भयो यस्तो ?

रत्न भण्डारी /हुम्ला
गरिबको परिचय पत्र धनिलाई वितरण ! कसरी भयो यस्तो ?

२४ साउन । हुम्लाका सात गाउँपालिकामा वितरण शुरू गरिएको गरिब घर परिचय पत्र हुनेखानेलाई वितरण गरेको पाइएको छ ।


तत्काली जिल्ला विकास समितिले गरिब घर परिवारको तथ्याङ्क संकलन गर्दा वास्तविक गरिब छुटेको र सम्पन्न व्यक्तिहरुलाई उपलब्ध गराएको भन्दै स्थानीयहरुले उजुरी गरेका छन् ।


जिल्लामा गरिब घर परिचय पत्र वितरणमा गरिब परिवार भन्दा पनि हुनेखानेकै बोलबाला रहेको सिमकोट गाउँपलिका २ का वडा अध्यक्ष नरबहादुर भण्डारीले बताए । उनले भने ‘यो त्रुटिपूर्ण छ सच्याइनु पर्छ ।


गरिब परिचयपत्र लिन पुगेका खार्पुनाथ गाउँपलिकाका ५ का गोर्ख रोकायाले भने, ‘हुनेखाने व्यक्तिले पहुँचका भरमा परिचय पत्र लिए ।’ सिमकोट, नेपालगन्ज, काठमाडांैमा पक्की घर भएकै व्यक्तिहरूले परिचय पत्र पाएको उनको भनाइ छ ।


अर्काको खेतमा काम गरेर जीविका धान्दै आएका सिमकोट गाउँपालिका ३ निवासी गोर्ख सुनारले भने ‘हलो जोतेर र पुडी मागेकै भरमा ६ जनाको परिवार पाल्छु । तर, गरिबको परिचय छैन् ।’


खार्पुनाथ गाउँपालिका २ निवासी राजकौरा नेपालीको श्रीमानको मृत्यु भएको १० बर्ष भयो । तीन जना बालबालिका र बुढा सासु–ससुराको पालन पोषण गर्ने जिम्मा उनीमा छ ।


‘श्रीमानले कपडा सिलाएर आर्जन हुने आम्दानीबाट घर चलेको थियो । ‘अहिले त्यो पनि छैन, के हामीले गरिब होइनौं ?’ राजकौराले आँशु झार्दै भनिन् ‘गरिबको तथ्याङ्क संकलन गर्ने बेलामा तत्कालीन जिल्ला विकास समितिबाट खटिएका कर्मचारीले हाम्रो नाम छुटाइदिएछन् ।’


खार्पुनाथ गाउँपालिका ५ का चतुरे विकको व्यथा पनि उस्तै छ । ‘न ओत लाग्न घर छ न त आम्दानीको स्रोत । सरकारले गरिबका लागि दिएको सुविधा झन धनीकै हातमा पर्ने भएपछि कसरी न्याय भो ?’ चतुरेको प्र्रश्न छ ।


हुम्लाका सात गाउँपालिका र ४५ वडामा गरिब घर परिचयपत्र वितरणमा अनियमितता भएको बारेमा स्थानीय जनप्रतिनिधि संग गुनासो आइरहेका छन् ।


सिमकोट गाउँपालिका अध्यक्ष पदमबहादुर लामा पनि तत्कालीन जिल्ला विकास समितिले संकलन गरेको गरिबी तथ्याङ्क त्रुटिपूर्ण भएको बताउँछन् ।


नाम्खा गाउँपालिकामा पनि अधिकांश हुने खानेकै नाममा परिचयपत्र बनेको छ । वास्तविक गरिबको नाम छुटेको गाउँपालिका अध्यक्ष विष्णु लामाले बताए । ‘यो सच्याउनु जरुरी छ’ उनले भने ।

 

कतिले पाए परिचय पत्र ?

जिल्ला समन्वय समिति अन्र्तगत गरिबी घरपरिवार पहिचान तथा सहयोग कार्यक्रमकी अधिकृत जीवनी शाहीका अनुसार हुम्लामा ४ हजार ५ सय ६० जनालाई परिचयपत्र वितरण गर्न लागिएको हो ।


अति गरिब घर धुरी मध्य २ हजार एक सय ९ जना, मध्यम गरिब १ हजार ४ सय २० र सामान्य गरिब १ हजार ३१ जनाले परिचय पत्र पाउने उनले बताइन ।


गरिबीको रेखामुनि रहेका व्यक्तिलाई राज्यले सामाजिक संरक्षण प्रदान गर्ने लक्ष्यका साथ शुरू गरेको यो कार्यक्रममा गरिबभन्दा धनीकै हालीमुहाली भएको आरोप लागेको छ ।


कर्मचारी, ठेकेदार व्यापारी, राजनीतिक दलका नेतासम्मले परिचयपत्र पाएको पाइएको छ । ८ हजार ५ सय ३५ जना घरघुरी भएको हुम्लामा ३ हजार ९ सय ७५ जना गैर गरिबी घर परिवार रहेको जिल्ला समन्वय समिति श्रोतले बताएको छ ।


नाम्खा गाउँपालिकामा ७ सय २८ घरधुरी मध्ये ३ सय ६७ गरिबी घरधुरी छ भने सर्केगाढ गाउँपालिकामा १ हजार ७ सय ८७ मध्ये ८ सय ८३ घरधुरी गरिब रहेको तथ्याङ्क छ ।


गरीब घर परिचय पत्रको लागि सरकारले २०६९ सालमा कार्यविधि तयार गरी २०७० सालमा लगत संकलन गरेको थियो । यहि आधारमा जिल्लाका तत्कालीन २७ वटै गाविसमा लगत संकलन गरिएको थियो ।


जनसख्ंया, भौगलिक विकटता, सम्पत्ति र जातिगत गरीबीको अवस्था लगायत १८ ओटा सूचकलाई आधार मानेर लगत संकलन गरिएको थियो । त्यसमा अति गरीब, मध्यम र सीमान्तकृत गरेर ३ समूहमा वर्गीकरण गरिएको थियो ।


बर्गीकरण बमोजिम अति गरीबले निःशुल्क स्वास्थ्य सुविधासहित कर छुट, सामाजिक सुरक्षाभत्ता लगायतमा पनि प्राथमिकता पाउने छन् ।


त्यस्तै, अन्य परिचय पत्रधारीले पनि क्रमशः सहुलियतमा सेवासुविधा पाउने कार्यविधिमा उल्लेख छ ।


गरिब परिचयपत्र वितरणमा अनियमितता भएको भन्दै गाँउपालिका, जिल्ला समन्वय समिति र जिल्ला प्रशासन कार्यालयमा उजुरी पर्न थालेका छन् ।


दिनहुँ जसो स्थानीयले गरिब घरधुरीलाई वितरण गरेको परिचय पत्रमा अनियमितता भएको छानबिनका लागि ती निकायमा उजूरी दिने गरेको समिति स्रोतको भनाइ छ ।


तर, यसबारे नियमनकारी निकाय न जिल्ला प्रशासन बोलेको छ, न त समन्वय समितिका पदाधिकारीले नै मुख खोलेका छन् ।

२०७५ साउन २४ मा प्रकाशित

प्रतिकृया दिनुहोस्