Hilsa Yatayat

पर्यटकको रोजाई बन्दै जुम्लाको गुठीचौर

शुभाकर विश्वकर्मा/जुम्ला
पर्यटकको रोजाई बन्दै जुम्लाको गुठीचौर

२४ साउन । कर्णाली प्रदेश प्राकृतिक सौन्दर्यका हिसावले अनेक सम्भावना भएको क्षेत्र हो । यहाँको जनजीवन, परम्परा र प्रकृति भिन्न प्रकृतिको छ ।

 

आर्थिक समृद्धिका हिसावले यहाँको जल, जमीन र जंगलको अनेक महत्व छ । पर्यटनका दृष्टिले समेत प्रशस्त सम्भावना यहाँ छन् । मुगुको रारा ताल, डोल्पाको शे फोक्सुण्डो ताल, कालिकोटको पचाल झरना, हुम्लाको मानसरोवर र जुम्लाको गुठीचौर यहाँका प्रमुख पर्यटकीय गन्तव्य हुन ।

 

यसका अलावा यहाँका विभिन्न जिल्लामा रहेका धार्मिक स्थलहरु घुम्न लायक छन् । यहाँको साँस्कृतिक विविधता, प्राकृतिक छटा तथा मनोरम दृश्यनै यस प्रदेशको विकासको आधार बन्न सक्छन् ।

 

प्रदेशकै प्रमुख पर्यटकीय गन्तव्यको रुपमा रहेको जुम्ला जिल्लाको गुठीचौर गाउँपालिका २ अवस्थित पर्यटकीय स्थल गुठीचौर प्रचार प्रसारको अभावले ओझेलमा परेको छ । जुम्ला सदरमुकाम खलंगादेखि करीब ४ घण्टाको पैदल यात्रापछि गुठीचौर पुग्न सकिन्छ । जुम्लाका अन्य स्थानजस्तै यहाँ पनि पर्यटकीय गतिविधि बढाउन सके जुम्लाको आर्थिक विकासमा टेवा पुग्नेछ ।

 

आन्तरिक पर्यटकको प्रमुख रोजाई
आवश्यक प्रचारको अभावमा बाह्य पर्यटकको नजरमा पर्न नसकेको गुठीचौरमा जुम्लाकै विभिन्न ठाउँबाट हेर्न जानेको भीड लाग्ने गरेको छ ।

 

प्राकृतिक छटाको मनोरम दृष्यावलोकननै गुठीचौरको विशेषता हो । विषेश गरी युवायुवतीहरुको प्रमुख रोजाईको गन्तव्य बनेको छ गुठीचौर । यस्तै विद्यालयमा अध्ययनरत विद्यार्थीहरु अध्ययन तथा अवलोकन भ्रमणका लागि पनि गुठीचौर जान्छन् । 

 

तिला गाउँपालिकाका गम्भीर तिरुवा पहिलो पटक गुठीचौर पुग्दा स्वर्ग पुगेको अनुभुति गरे । उनले भने, ‘यस्तो होला भन्ने त सोचेकै थिइन । स्वर्ग पुगेजस्तो लाग्यो ।’ उनका अनुसार पर्यटकका लागि आवश्यक पूर्वाधार, सडक, संचार र होटलको सुविधा भएमा यो आर्थिक उपार्जनको राम्रो माध्यम बन्न सक्छ ।

 

यस्तै चार जना साथीसंग घुम्न गुठीचौर पुगेकी चन्दननाथ नगरपालिका १० की सुनम गिरीले पनि पहिलो पटक त्यहाँ पुग्दा स्वर्गीय आनन्द अनुभति भएको बताइन् । उनले भनिन्, ‘सबैले गुठीचौरको विषयमा चर्चा गरेको सुनेकी थिएँ, आज आफै पुगें, रमाईलो महशुस भइरहेको छ ।’

 

स्थानीय होटल व्यवसायी जानकारी महताराका अनुसार साउन महिनाको दोस्रो साता सम्म करिब १५० जना जति गुठीचौर घुम्न आएका छन् । शुक्रबार र शनिबारका दिनमात्रै १५ देखी २० जनाको समूहमा घुम्न आउने गरेको महताराले बताइन् ।

 

के के छन् त गुठीचौरको मुख्य आकर्षक

Guthi1
गुठीचौरको पहिलो आकर्षण हो प्राकृतिक सुन्दरता । त्यहाँ रहेको मानव बस्ती पनि उत्तिकै हेर्न लायक छ । गुठीचार वर्षायाममा स्थानीयको बस्ने ठाउँ (लेक) पनि हो । यहाँ उनीहरु पशु चराउन आउने गर्छन् ।

 

गोठ राख्ने चौर भएकाले यसलाई गुठीचौर भनिएको हो । यहाँ जाने पर्यटकले दुध, दही, मही तथा खिर खान पाउँछन् । गुठीचौरका मानिसले मुख्य व्यवसायको रुपमा आलु खेती गर्छन् । यहाँ जाने पर्यटकले आलुका विभिन्न परिकार खान पाउँछन् । 

 

गुठीचौरमा भेडाबाख्रा अनुसन्धान र कृषि अनुसन्धान केन्द्र समेत रहेको रहेको छ । हरीया पाटनमा मानिसले स्थायी बसोबासका लागि बनाएका दाउरा, घाँस र प्लाष्टिक वेरेर बनाईएका बस्तिले पर्यटकको ध्यान तान्छ ।

 

गाउँपालिकाको सक्रियता आवश्यक
सिंगो गाउँपालिकाको आर्थिक समृद्धिसंग जोडिएको यहाँको पर्यटनको विषयमा बहस हुनु जरुरी छ ।

 

यस सुन्दर स्थानले थुप्रै सम्भावना बोकेको भएपनि प्रचार प्रसारमा कमी हुँदा ओझेलमा परेको स्थानीय कालीबहादुर परियारले सेरोफेरोलाई बताए । पर्यटक आकर्षित गर्न गाउँपालिकाले विस्तृत कार्ययोजना निर्माण गरेर अघि बढ्नु पर्ने उनको सुझाव छ ।

 

यस्तै गुठीचौर गाउँपालिका ३ युवा लक्ष्मण सुनारले यहाँको विकासका लागि गाउँपालिकाले कार्ययोजना बनाएर अघि बढ्नु पर्ने बताए । उनले भने, ‘गाउँपालिकासंग युवा पनि साझेदारी गर्न तयार छन् । गाउँनै समृद्ध बनाउन हामी पनि ईच्छुक छौं । यसमा युवाले हातेमालो गर्छन् ।’

 

गुठीचौर ३ का वडा अध्यक्ष प्रेम बुढाले गुठीचौर जाने पर्यटकलाई सजिलोको स्थानीय परिकार सहितका पसल सञ्चालन गर्ने नीति लिइएको बताए । उनले भने, ‘हामी गुठीचौरको विकासका लागि योजनाबद्ध रुपमा अघि बढ््ने तयारी गरेका छौं ।’

 

गुठीचौरलाई कृत्रिम ताल बनाउने
कर्णाली प्रदेशको जुम्लामा रहेको पर्यटकीय गन्तव्य गुठीचौरलाई कृत्रिम ताल बनाउन पूर्व सम्भाव्यता अध्ययन शुरु गरिएको छ । पर्यटकीय गन्तव्यको रुपमा विकसित गर्नको लागि गाउँपालिककाले विज्ञको सहभागितामा उक्त अध्ययन शुरु गरेका हो ।

 

गाउँपालिकाले आर्थिक वर्ष २०७५/७६को वजेटमा गुठीचौरलाई बहुउद्धेश्यीय गन्तव्य बनाउने नीति लिएको छ । सोहि नीति अनुसार पहिलो वर्ष २० लाख रकम समेत विनियोजन गरिएको गाउँपालिकाले जनाएको छ ।

 

गुठीचौरलाई पर्यटकीय हब बनाउने गाउँपालिकाको योजना रहेको प्रमुख प्रशासकीय अधिकृत केशवराज शर्माले बताए । ‘यहाँ कृत्रिम ताल बनाएर ५ मेगावट विद्युत उत्पादनको लक्ष्य लिईएको छ’, उनले भने ।

 

गुठीचौरको कोल्ते र चोत्र गाउँमा होमस्टे सञ्चालन गरिने पनि शर्माले बताए । उनले भने, ‘यसका लागि अध्ययन प्रक्रिया शुरु भइसकेको छ । गाउँपालिकाले गुठीचौरमा वीन्टर एयरपोर्ट सञ्चालन, पार्क निर्माण र पिकनिट स्पट निर्माण गर्नेछ । यहाँका ताल चिमारा, ठाकुरज्यू लगायतका क्षेत्रमा सुरक्षित पर्यटककीय मार्ग निर्माण गरिनेछ ।’

 

यहाँका विभिन्न सास्कृतिक तथा धार्मिक महत्वका गन्तव्यको संरक्षणका लागि पनि गाउँपालिकाले योजना अघि सारेको छ ।

 

गुठीचौर गाउँपालिकाका अध्यक्ष हरिबहादुर भण्डारीले सिंगो गाउँपालिकालाई नै पर्यटकीय गन्तव्यका रुपमा विकास गरिने बताए । उनले भने, ‘यहाँ रहेका सबै चिज बस्तु हेर्न लायक छन् । यहाँको संस्कृति संरक्षण गर्न सके यो अध्ययनको विषय पनि हुन सक्छ । मनोरम प्राकृतिक छटाको त कुनै वर्णन नै गर्न सकिंदैन ।’

२०७५ साउन २४ मा प्रकाशित

प्रतिकृया दिनुहोस्