Tiwari Bhada Pasal

सुर्खेत कारागारमा क्षमताभन्दा तेब्बर बढी कैदी

धेरै कैदी जबर्जस्ती करणीका
सीता वली/सेरोफेरो

२५ साउन । सुर्खेत कारागार भवनको क्षमता पचास जनाको हो । तर त्यहाँ १ सय ९७ जना कैदीबन्दी छन् ।

 

यतिका कैदी राख्नुपर्दा थुपै समस्या बेहोर्नु परेको कारागार कार्यालय सुर्खेतका जेलर लालबहादुर खत्रीले बताए । उनले भने, ‘कारागार कार्यालय सुर्खेतको भवन क्षमता ५० जना कैदीको मात्रै हो । तर हाल १ सय ९७ जना केदीलाई राख्दा धेरै समस्या भएको छ । उनीहरु पालो गरेर सुत्न बाध्य छन् ।’

 

महिला कैदीहरुका लागि त्यति समस्या नभएपनि पुरुष बस्ने भवनमा ठाउँ अभावका कारण यस्तो समस्या देखिएको हो । कैदीहरुलाई खेल्न, खान, बस्न, सुत्न र शौचालयको समेत समस्या भएको कार्यालयले जनाएको छ ।

 

आजकल कारागारलाई सुधार गृहको रुपमा हेरिने भएकाले न्यूनतम मानवीय आवश्यकता समेत पूरा हुन नसक्दा उनीहरुको मानव अधिकारकै हनन हुने अधिकारकर्मीहरु बताउँछन् । उनीहरुलाई कारागारमा पशुसरह कोच्दा झन् अन्य विकृति बढ्न सक्ने खत्रीले सेरोफेरोलाई बताए ।

 

किन निर्माण हुन सकेन नयाँ भवन?
कारागार कार्यालय सुर्खेतको भवन निर्माणका लागि जिएम कन्ट्रक्शन कम्पनी काठमाडौंले ठेक्का लिएको हो । तर ठेकेदार पुरुषोत्तम मानन्धर आधा भुक्तानी लिएर आधा काम समेत नसकी भागेपछि भवन निर्माण हुन सकेको छैन । कार्यालय प्रमुख खत्रीले भने, ‘२०६६ सालबाट काम शुरु भएपछि करिब तीनवर्षसम्म त काम गरेको थियो । त्यसपछि ठेकेदार सम्पर्कमा छैनन् ।’

 

खत्रीका अनुसार यही भदौको महिनामा भवन निर्माण तथा सहरी विकास कार्यालयले पुरानो ठेकेदार कम्पनीसंग ठेक्का तोडी नयाँ ठेक्का आव्हान गर्दैछ । ‘नयाँ भवन बनेमा सबै कैदीहरुलाई राम्रो सुविधा उपलब्ध गराउन सकिन्छ’, उनले भने । प्रस्तावित भवनमा पुरुषका लागि ७ र महिलाका लागि र ६ कोठा बन्नेछ ।

 

धेरै कैदी जबर्जस्ती करणीका
कारागार कार्यालय सुर्खेतमा सबैभन्दा बढि कैदी जबरजस्ती करणीका रहेका छन् । कारागार कार्यालय सुर्खेतमा रहेका १५९ कैदीमध्ये ५७ जना जबरजस्ती करणी मुद्दाका रहेको कार्यालयले जनाएको छ । सुर्खेत कारागारमा विभिन्न मुद्दामा दोषी पाइएका १४२ पुरुष र १७ महिला कैदी रहेका छन् ।

 

यस्तै कारागारमा कर्तव्य ज्यान, लागु औषधमा, बहुविवाह तथा बालविवाहमा सजाय पाएका तथा चेलीबेटी वेचविखन, सार्वजनिक अपराध, चोरी, ठगी, सवारी ज्यान लगाएतका मुद्दाका थुनुवा तथा कैदी रहेको कार्यालयले जानकारी दिएको छ ।

 

२०७५ साउन २५ मा प्रकाशित

प्रतिकृया दिनुहोस्