Tiwari Bhada Pasal

के के छन् मुलुकी संहितामा? जान्नैपर्ने नयाँ कानुनी व्यवस्था

१६५ बर्ष पुरानो मुलुकी ऐन विस्थापित
सेरोफेरो
के के छन् मुलुकी संहितामा? जान्नैपर्ने नयाँ कानुनी व्यवस्था

१ भदौ । आधुनिक नेपाली समाजलाई कानुनी रुपमा व्यवस्थित गर्न २०७५ भदौ १ अर्थात् आजदेखि मुलुकी संहिता लागू भएको छ । मुलुकी संहिता २०७४ असोज ३० मा राष्ट्रपतिबाट प्रमाणीकरण भएको हो ।

 

१६५ बर्ष पुरानो मुलुकी ऐनलाई विस्थापन गरेको मुलुकी संहिताले धेरै विषयमा नयाँ कानुनी व्यवस्था गरेको छ ।


मुलुकी संहिता भन्नाले?

  • अपराध संहिता, २०७४
  • मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४
  • फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) संहिता, २०७४
  • मुलुकी देवानी संहिता, २०७४
  • मुलुकी देवानी कार्यविधि संहिता, २०७४

 

कुन कुन कानुन विस्थापित भए?

  • नागरिक अधिकार ऐन, २०१२
  • नेपाल कोर्ट फी ऐन, २०१७
  • गाली र बेइज्जती ऐन, २०१७
  • जासूसी ऐन, २०१८
  • भिक्षा माग्ने (निषेध) ऐन, २०१८
  • मुलुकी ऐन, २०२०
  • जुवा ऐन, २०२०
  • केही फौजदारी मुद्दा खारेज गर्ने र दण्ड सजाय मिनाहा दिने ऐन, २०२०
  • केही सार्वजनिक (अपराध र सजाय) ऐन, २०२७
  • विवाह दर्ता ऐन, २०२८
  • राज्य विरुद्धको अपराध र सजाय ऐन, २०४६
  • सरकारी मुद्दा सम्बन्धी ऐन, २०४९
  • करार ऐन, २०५६

 

के गर्छ नयाँ कानुनले ? 

  • अन्तर्राष्ट्रिय मानव अधिकार कानुनले अंगीकार गरेका मानव अधिकारका सिद्धान्तलाई व्यवहारमा उतार्ने गरी प्रावधानहरूको विकास
  • यातना दिने, बेपत्ता पार्ने, गोपनीयता उल्लंघन गर्ने काम आदि दण्डनीय 
  • प्रहरी, सेना वा अन्य अधिकारीबाट हिरासतमा लिई कुटपिट गर्ने/गराउनेलाई ५ वर्ष वा ५० हजार जरिवाना वा दुवै सजाय
  • व्यक्ति बेपत्ता पार्ने काममा संलग्नलाई १५ वर्षसम्म कैद र पाँच लाख रुपैयाँसम्म जरिवाना
  • बोक्सी आरोपमा कुटपिट गर्ने, सामाजिक बहिष्कार गर्ने, रजस्वला भएका बखत छाउपडीमा पठाउनेलाई ३ महिना कैद
  • सार्वजनिक क्षेत्रमा मसाल जुलुस गर्नेलाई ६ महिनासम्म कैद
  • कुनै राष्ट्रसेवकलाई झूटा जानकारी दिएर कर्तव्यबाट विमुख गराउनेलाई एक वर्षसम्म कैद
  • बदनियतपूर्वक अनुसन्धान वा अभियोजन गर्ने प्रहरी अधिकारीलाई ६ महिनासम्म कैद
  • जुवा खेल्ने/खेलाउनेलाई तीन महिनासम्म कैद
  • कसैले गाई वा गोरु मारे तीन वर्षसम्म कैद
  • खुला रूपमा खसी, कुखुरा काट्नेलाई एक महिना कैद
  • बहुविवाह गर्नेलाई ५ वर्षसम्म कैद
  • ३ वर्षदेखि १० वर्षसम्म सजाय हुने कसुरलाई गम्भीर र १० देखि जन्मकैदसम्मको सजाय हुने जघन्य कसुर, जन्मकैद २५ वर्ष
  • कुनै नेपाली नागरिकले नेपालबाहिर अर्काे नेपालीको ज्यान लिएको वा लिने षड्यन्त्र गरेको वा अंगभंग गरेको, परित्याग गरेको वा जबर्जस्ती करणी गरेको वा अपहरण गरी शरीर बन्धक बनाएको कसुरमा पनि कारबाही
  • राज्यविरुद्धका कसुर, राजद्रोहको कसुर, जाति हत्याविरुद्धको कसुर, सार्वजनिक न्यायविरुद्धको कसुर, सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकताविरुद्ध कसुर तथा भेदभाव तथा अन्य अपमानजन्य व्यवहारसम्बन्धी कसुर

 

अपराध संहिताका मुख्य बुँदा

  • सार्वजनिक आवागमनमा बाधा पुर्‍याए ३ वर्षसम्म कैद वा ३० हजार रुपैयाँसम्म जरिवाना वा दुवै 
  • नभए/नगरेको अफवाह फैलाए १ वर्षसम्म कैद हुन सक्ने 
  • झूटो अभियोगमा उजुरी दिए जुन अभियोग लगाएको हो, त्यसैको आधासम्म सजाय हुन सक्ने
  • खाद्य पदार्थमा मिसावट गरे ५ वर्षसम्म कैद र ५० हजारसम्म जरिवाना हुने
  • कमसल वस्तुलाई असल भनी बेचे ३ वर्षसम्म कैद हुन सक्ने 
  • सार्वजनिक ठाउँमा अरूलाई अभद्र व्यवहार गरे १ वर्षसम्म कैद हुन सक्ने 
  • सार्वजनिक स्थलमा अश्लील बोले ६ महिनासम्म कैद वा ५ हजारसम्म जरिवाना वा दुवै 
  • राष्ट्रिय गान, झन्डा र निसान छापको अपमान गरे ३ वर्षसम्म कैद हुन सक्ने 
  • बालबालिकालाई फकाएर कसुर गर्न लगाए आफैंले गरेसरह सजाय

 

देवानी संहिताका मुख्य बुँदा

  • मञ्जुरी नलिई कसैको तस्बिर खिच्न नपाइने, निजी जीवनबारे प्रकाशन/प्रसारण गर्न नपाइने 
  • केटाकेटी दुवैले २० वर्ष नपुगी विवाह गर्न नपाउने 
  • कुनै पुरुषको शारीरिक सम्पर्कबाट शिशु जन्मिएको प्रमाणित भए स्वत: विवाह भएको मानिने 
  • सम्बन्धविच्छेदका लागि पुरुष पनि सिधै अदालत जान सक्ने 
  • मातृत्व वा पितृत्व दुवैका आधारमा सन्तानको पहिचान हुने 
  • प्रत्येक छोराछोरीले आमाबाबुलाई आदर, सम्मान र हेरचाह गर्नुपर्ने 
  • गर्भको शिशु पनि अंशको हकदार हुने 
  • कम्तीमा १४ वर्ष पुगेको व्यक्तिलाई मात्र उसको मञ्जुरी लिई काममा लगाउन सकिने 
  • कसैलाई पनि दिनमा ८ घण्टाभन्दा बढी काममा लगाउन नहुने

 

६ अपराधमा आजीवन कैदको व्यवस्था

  • क्रुर यातना दिई वा निर्ममतापूर्वक ज्यान मारेमा
  • वायुयान अपहरण गरी वा वायुयान विष्फोट गरी ज्यान मारेमा
  • अपहरण वा शरीर बन्धक गरी ज्यान मारेमा
  • पेय पदार्थमा विष हाली मारेमा
  • कुनै पनि जातजाति वा सम्प्रदायको अस्तित्व नै लोप हुने जातिहत्या गर्ने उद्देश्यले कसूर गरेमा
  • जबर्जस्ती करणी गरेमा

 

यस्ता अपराधीले जीवित रहेसम्म कैद भुक्तान गर्नुपर्नेछ। आजीवन कैद नयाँ व्यवस्था हो। यस संहितामा जन्मकैदलाई २५ वर्ष बनाइएको छ। साविकको मुलुकी ऐनमा २० वर्षलाई जन्मकैदको रूपमा राखिएको थियो ।

 

संहितामा सजायको वर्गीकरण गरी कसूरको प्रकृति र गम्भीरताका आधारमा आजीवन कैद, जन्मकैद, निश्चित अवधिको कैद, जरिवाना, कैद र जरिवाना, क्षतिपूर्ति, कैद, जरिवाना वा क्षतिपूर्ति वा दुवै, जरिवाना वा क्षतिपूर्ति नतिरेबापत कैद, कैदको सट्टा सामुदायिक सेवामा लगाउन जस्ता सजायका व्यवस्थाहरु गरिएका छन् ।

 

राष्ट्रहित प्रतिकूलको कसूर

सार्वभौमसत्ता, अखण्डता वा राष्ट्रिय एकतामा खलल पार्ने, राजद्रोह, नेपालविरुद्ध युद्ध गर्ने वा नेपालसँग युद्धमा संलग्न राज्यका सेनालाई सहायता गर्ने, राष्ट्रहित प्रतिकूल काम गर्ने र जातिहत्यालाई संहिताले कसूर मानेको छ ।

 

नेपालको प्रतिनिधित्व गरी खेल खेल्ने नेपाली खेलाडीले खेलमा मिलेमतो गरी कुनै खेल खेलेमा समेत राष्ट्रहित प्रतिकूलको कसूर मानिनेछ। यस्तो कसूर गरेमा दोषीलाई पाँच वर्षसम्म कैद र ५० हजार जरिवाना हुने कानूनी व्यवस्था छ ।

 

अपराध संहितामा नेपालविरुद्ध जासूसी गर्नेलाई २५ वर्षसम्म कैद हुने व्यवस्था छ। राष्ट्रपति वा संसदलाई धम्की दिएमा सात वर्षसम्म कैद वा ७० हजार जरिवाना वा दुवै हुने व्यवस्था छ।

 

कसुर र सजाय 

  • अनुसन्धान वा अभियोजन अधिकारीले निर्दोष व्यक्तिलाई फसाउने वा वास्तविक कसूरदारलाई जोगाउने मनसायले बदनियतपूर्वक अनुसन्धान वा अभियोजन गरेमा ६ महिनासम्म कैद वा पाँच हजार जरिवाना वा दुवै ।
  •  संक्रामक रोग फैलाउने काम गरेमा दश वर्षसम्म कैद र एक लाखसम्म जरिवाना ।
  •  खाद्य पदार्थमा मिसावट गर्नेलाई पाँच वर्षसम्म कैद र ५० हजार जरिवाना ।
  •  घर निर्माण गर्दा, भत्काउँदा वा मर्मत गर्दा लापरबाही गर्नेलाई एक वर्ष कैद वा दश हजार जरिवाना वा दुवै ।
  •  हिंस्रक वा अन्य पशुपक्षी राख्दा पूर्वसावधानी नअपानाई लापरवाही गर्नेलाई एक वर्षसम्म कैद वा दश हजार जरिवाना वा दुवै ।
  •  राष्ट्रिय गान, झण्डा वा निशाना छापको अपमान वा क्षति गर्नेलाई तीन वर्षसम्म कैद वा तीस हजार जरिवाना वा दुवै ।
  •  राष्ट्रिय विभूतिको अपमान गर्नेलाई ६ महिनासम्म कैद वा पाँच हजार जरिवाना वा दुवै ।
  •  यातना दिनेलाई पाँच वर्ष कैद वा ५० हजार जरिवाना वा दुवै ।
  •  छाउपडीमा राख्ने वा त्यस्ता अन्य भेदभाव, छुवाछूत र अमानवीय व्यवहार गर्नेलाई तीन महिनासम्म कैद वा तीन हजार जरिवाना वा दुवै ।
  •  विवाहमा लेनदेन गर्नेलाई पाँच वर्षसम्म कैद वा ५० हजार जरिवाना वा दुवै ।
  •  आफ्नो संरक्षकत्वमा रहेका नवजात शिशु, बालबालिका, अशक्त रोगी वा वृद्ध व्यक्तिलाई जीउ, ज्यानमा खतरा पुग्ने गरी फाल्ने, परित्याग गर्ने वा बेवास्ता गरी छोड्नेलाई तीन वर्षसम्म कैद र तीस हजार जरिवाना ।
  •  निर्माणको काम गर्दा निर्धारित मापदण्ड वा गुणस्तरको माल प्रयोग नगर्ने वा मालको परिमाण घटीबढी पार्नेलाई दश वर्षसम्म कैद र एक लाख जरिवाना
  •  आपूर्तिको काम गर्दा कमसल वा घटी परिमाणमा माल, वस्तु वा सेवा आपूर्ति गर्नेलाई पाँच वर्षसम्म कैद र ५० हजार जरिवाना ।
  •  चौपायालाई यातना दिने वा आफूले पालेको पशुपक्षी रोगी वा वृद्ध भएको कारण सार्वजनिक रुपमा छाड्नेलाई तीन वर्षसम्म कैद वा पाँच हजारसम्म जरिवाना ।
  •  अनुमति बिना कसैको तस्वीर खिचेमा वा निजको तस्वीरसँग अरु कसैको तस्वीर राखी अर्को तस्वीर बनाएमा एकवर्षसम्म कैद वा दश हजार जरिवाना वा दुवै । 
  •  एकको तस्वीरको केही भाग अर्को व्यक्तिको अर्को भागसँग राखी वा अन्य कुनै किसिमले विकृत बनाएमा दुई वर्षसम्म कैद वा २० हजार जरिवाना वा दुवै ।

 

अन्य व्यवस्था

  •  मन्जुरी बिना भएको विवाह, हाडनातामा भएको विवाह, बालविवाह, बहुविवाह भएको भए त्यस्तो विवाह बदर हुने ।
  •  अपराधबाट पीडित व्यक्तिलाई मुद्दाको पक्षका रुपमा स्वीकार गर्दै मुद्दाको काम कारबाहीको जानकारी पाउने हक उसलाई हुने । 
  • गाई वा गोरु मारे अभियोगमा संलग्नलाई ३ वर्ष कैद गरिने ।

 

नवीनतम पक्ष

  •  विवाह गर्ने उमेर १८ वर्षलाई २० वर्ष पु‍र्याइएको ।
  •  सम्बन्ध विच्छेदमा महिला र पुरुष दुवैका लागि समान व्यवस्था । अबदेखि पुरुषले पनि जिल्ला अदालतबाट सम्बन्धविच्छेद प्रक्रिया सुरु गर्नसक्ने ।
  •  १८ वर्ष उमेर नपुगेका व्यक्तिलाई नाबालक, १० वर्ष मुनिकालाई अक्षम, १०–१८ अर्धसक्षम र १८ वर्षमाथिकालाई सक्षम नागरिक भनेर परिभाषित गरिएको ।
  •  संरक्षक र बाबु–आमाको सम्बन्धमा नयाँ परिभाषा ।
  •  कुखुरा, हासजस्ता पंक्षीजन्य वस्तुलाई साईकल, मोटरसाईकलमा राखेर निर्दयी तरिकाले एक ठाउँबाट अर्को ठाउँमा लैजान बन्देज । त्यस्तो कार्य गर्नेलाई ३ महिनासम्म कैद वा पाँच हजार रुपैयाँसम्म जरिवाना तथा दुबै सजाय  ।
  •  आफूले पालेको वा आफ्नो नियन्त्रण रहेको कुनै पनि पशुपंक्षी अर्काको घर, जग्गामा वा सार्वजनिक बाटो घाटो तथा सार्वजनिक स्थलमा छाडा छोड्न नहुने । यसरी छाडा छाडे त्यस्तो व्यक्तिलाई तीन महिनासम्म कैद वा पाँच हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजाय ।
  •  मुलुकी संहिताले आमा र बाबु दुवैको थर लेख्न पाउने नयाँ व्यवस्था गरेको छ । बालबालिका सम्बन्धी ऐन २०४८ को व्यवस्थालाई संशोधन गर्दै बालबालिकाले आमाको थर राख्ने चाहेमा राख्न पाउने व्यवस्था गरिएको छ ।
  •  पिताको ठेगान नलागेको व्यक्तिले पनि आमाको थर राख्न पाउने र उक्त आधारमा विद्यालय भर्ना, जन्म दर्ता र नागरिकता प्राप्त गर्ने प्रक्रिया सुरु गर्न पाउने ।
  •  कुनै पनि व्यक्तिले कानुनी रुपमा लिएको हतियार भए पनि अरुलाई हस्तान्तरण वा बिक्री गर्नु परेमा सम्बन्धित जिल्ला प्रशासनको स्वीकृति लिनुपर्ने ।
  •  कसैले पनि घर वा बलेसीबाट अर्काको घर, जग्गा वा सार्वजनिक बाटोमा पानी झार्न नपाउने ।
  •  आगलागी, भूकम्प वा अन्य विपद्को समयमा, खानेपानी ढल, बिजुली, टेलिफोनको विस्तार गर्न, खेतीपाती गर्नजस्ता कार्यका लागि क्षतिपूर्ति दिई अर्काको सम्पत्ति भोग गर्न पाउने गरी सुविधाभारको व्यवस्था ।
  •  मासिक २० हजारभन्दा बढी बहालका लागि घर बहालमा दिँदा घर बहालमा लिने दिने व्यक्तिहरुले लिखित सम्झौता गर्नुपर्ने । 
२०७५ भदौ १ मा प्रकाशित

प्रतिकृया दिनुहोस्