Hilsa Yatayat

जोखिम मोलें तर पत्रकारिता छोडिन

जीवनका ३ संयोग : नाम जीवन कुमार शाक्य, पढेको विद्यालय पाल्पाको जीवन ज्ञानोदय मावि र पढाएको सुर्खेतको जीवनज्योति निमावि ।
जीवनकुमार शाक्य
जोखिम मोलें तर पत्रकारिता छोडिन

डाक्टर बन्ने सपना
म २०११ साल पुस २२ मा बुटवलको फुल्चोकमा जन्मेको हुँ । बुबा मनिकलाल र आमा अष्टमाया शाक्यको जेठो छोरो हुँ ।

 

बुवाआमाको पेशा व्यापार भएपनि मैले बाल्यकालमा आर्थिक अभाव झेलें । करीब १४ बर्षको उमेरदेखि नै मैले प्रेसमा काम गरें ।

 

म रातमा पढ्थें । किनभने दिनभरी लुम्बिनी प्रेस र निर्मल प्रिन्ट प्रेसमा काम गर्थें । मैले पढेको स्कूल जीवन ज्ञानोदय मावि हो ।

 

त्यो बेलामा मेरो एक दिनको एक रुपैया तलब थियो । महिनाको एक सय कमाउनेले राम्रोसँग घर खर्च टार्थे । मेरो जम्मा तीस रुपैया हुन्थ्यो । स्कूलको फी तिरेर बचेको पैसा घरमा बुवाआमालाई दिनुपर्थ्यो ।

 

२७ सालमा बुटवलबाट नेपालगञ्ज बसाईं सरेर आइयो । त्यहाँपनि मैले रातीमा पढ्ने र दिउँसोमा प्रेसमा काम गर्न थाले । 

 

२०३१ बैशाख १ मा म सुर्खेत आएँ । कामको खोजीमा । मलाई शिक्षकको जागीर मिल्यो । त्यतिबेला मैले एसएलसी पास गरिसकेको थिएँ । जीवनज्योती निमावि दशरथपुरमा पढाउन थालें । तर केही पछि म फेरी नेपालगञ्ज फर्किएं । ३२ सालमा मेरा दाई नाता पर्ने एक जनाले प्रहरीमा जागीर लगाइदिए ।

 

बाल्यकालको चाहाना डाक्टर बन्ने थियो । त्यसैले ९/१० पढ्दानै वायोलोजी विषय लिएको थिएँ । आर्थिक अभावले सपना पूरा हुन सकेन । ३५ सालसम्म म आइएडमा तीन पटक फेल भैसकेको थिएँ ।

 

हुनत नेपालगञ्ज बस्दा म भारतमा बिए अनर्स पढेको थिएँ । भारतको युपी बोर्डबाट सन् १९८० मा बिए अनर्स मा भर्ना भएँ । त्यसलाई भारतमा बिए सरहको पढाई मान्दछ तर नेपालमा त्यसको भ्यालु भएन ।

 

मैले नेपालमा पनि बिए सरहको पढाई पूरा गर्न नखोजेको होइन तर आफूले पढाएका विद्यार्थीसंग परीक्षा दिन लाज लाग्यो ।

 

महेन्द्र बहुमुखी क्याम्पस नेपालगञ्जमा बिएको परीक्षा दिन गएको थिएँ । दशरथपुरमा आफैले पढाएका बिद्यार्थी थिए । उनीहरुले मलाई गार्डको रुपमा हेरे । तर म परीक्षा दिन गएको थिएँ । परीक्षा नदिएरै भागें ।

 

जागीर खाँदै छोड्दै

J1
४३ सालमा मैले प्रहरीको जागीर छोडें । पञ्चायत तालीम केन्द्रको सहायकको रुपमा नाम निकालें । त्यो सरकारी जागीर थियो । नेपालगञ्जबाट बझाङ जिल्ला प्रशासन कार्यालयमा सरुवा गरियो ।

 

त्यतिबेला म निष्पक्ष ध्वनी साप्ताहिक पत्रिकाको जिल्ला संवाददाताको पनि जिम्मेवारी लिएको थिएँ । मलाई सरकारी कर्मचारीले पत्रकारिता गर्न पाउँदैनन् भन्ने थाहा थिएन । जिल्ला प्रशासनमा कर्मचारीको रुपमा काम गर्थें । समाचार पनि लेख्थें ।

 

म एकदमै क्रान्तिकारी स्वभावको युवा । बझाङमा बस्दा हाकिमसंग कहिल्यै कुरा मिलेन । उल्टै जिल्ला प्रशासन कार्यालयमा भएका भ्रष्टाचारका कुरा उठाएँ । २०३५ सालमा पञ्चायत तालिम केन्द्र नेपालगञ्जमा सरुवा भयो ।

 

नेपालगञ्जमा पनि मैले पत्रकारिता गर्न छोडिन । तालिम केन्द्रले व्यवस्था विरोधी भनी प्रहरीमा रिपोर्ट ग¥र्यो । ४० सालमा महिला प्रशिक्षण केन्द्र सुर्खेतमा सरुवा भयो । सुर्खेतमा पनि निरन्तर पत्रकारिता गरें ।

 

महिला प्रशिक्षण केन्द्र सुर्खेतमा कर्मचारीहरुले खाने कमिशन बारे समाचार लेखें । यहाँ पनि हाकिमले पटक्कै नरुचाउने ।

 

त्यतिबेलै सुर्खेतमा न्युज सेन्टरको स्थापना गरें । त्यसपछि मेरो विभिन्न पत्रिका र पत्रकारहरुसंग सम्बन्ध बलियो भयो । पञ्चायतमा पत्रकारिता जोखिमपूर्ण पेशा थियो ।

 

महिला प्रशिक्षण केन्द्र सुर्खेतमा काम गर्दागर्दै मैले ४१ सालतिर रेयुुकाई भन्ने संस्थामा सक्रिय रुपमा काम गर्न थालें । हाकिमले जागीर छोड्न दबाब दिए ।

 

२०४७ सालमा मलाई डोटी सरुवा गरियो । एक बर्ष डोटी बस्दा माया गर्ने हाकिम पाएँ र सुर्खेतमै सरुवा भयो ।

 

जागीर र पत्रकारिता संगसंगै नमिल्ने भएपछि ४९ सालमा सरकारी जागीर छोडें । त्यसपछि मात्रै मेरो पत्रकारिता र समाजसेवा निरन्तर र सक्रिय रुपमा अगाडि बढ्यो ।

 

जहाँतहीं खुराफात

J2
मसंग १५ वर्षको निजामती सेवा, २ वर्षको प्रहरी जागीर, १ वर्ष शिक्षण पेशामा १७ वर्षसम्म रेयुकाईमा काम गरेको अनुभव छ । मलाई धेरैथोक रेयुकाईले दियो । जतिबेला नेपाल सरकारको सचिवको तलब १५ हजार हुन्थ्यो त्यतिबेला रेयुकाईमा मेरो तलब २२ हजार थियो ।

 

रेयुकाईमा काम गर्दा दुईपटक सम्म जापान जाने अवसर पाएको छु । रेयुकाईको निर्देशकको रुपमा गाउँ बस्तीहरुमा सक्रिए भएर काम गरेको छु ।

 

तर, रेयुकाईमा पनि खुरापात चल्न थाल्यो । मलाई पनि धोका भयो । आफूभन्दा पछि आएका कर्मचारी स्थायी हुँदा मलाई भने अस्थायी कर्मचारीमै राखेको रैछ । त्यो कुरा मलाई पछि थाहा भयो ।

 

सन् २०१२ मा मलाई रेयुकाईबाट निकालियो । त्यसमा पनि कारण बन्यो मेरो पत्रकारिता । त्यतिबेला रेयुकाईमा कार्यालयको कुरा बाहिर नल्याउने भन्ने नियम थियो । मैले निरन्तर समाचार सम्प्रेषण गरेर नियम उलङ्घन गरेको आरोप लाग्यो ।

 

आफूलाई पत्रकार भन्न खुब रुचाउँछु तर पत्रकारितामा धेरै पुस्ता फेरिएको छ । पत्रकारितामा पनि राजनीतिको रंग लागेको छ ।

 

नेपाल पत्रकार महासंघ सुर्खेतको कोषाध्यक्ष, सचिव र केन्द्रीय पार्षद भई काम गरेको छु । मैले कान्तिपुर दैनिकको पाँचौं अंकबाट काम गर्न शुरु गरेको हुँ ।

 

दुई बर्ष कान्तिपुरमा काम गरें । तर मलाई सुर्खेतकै एक जना पत्रकारले कम्युनिष्ट भएको आरोप लगाएपछि मेरो जागीर खोसियो । जनआस्थामा भने पछिसम्म लेखें ।

 

अर्को सपना देखिन
प्रहरीमा भर्ती हुनुभन्दा केही महिना अघि मैले नेपालगञ्जकै रमा श्रेष्ठसंग प्रेम विवाह गरें । नेवार जातिमा शाक्यले श्रेष्ठसंग विवाह गर्न छुट थिएन । हाम्रो प्रेमलाई नत मेरो परिवारले स्विाकार्थे न उनको । परिवारकै कारण प्रेम छुट्ने संकेत पाएपछि हामी भाग्यौं ।

 

जिन्दगीलाई फर्केर हेर्दा अचम्म लाग्छ । घरको जेठो छोरा भएकोले पनि धेरै सास्ती भयो । तीन भाई र दुई बहिनीमध्येको म जेठो । जीवन गुजार्दा पनि दुःख भो ।

 

अहिले मेरो पारिवारिक जीवन राम्रो छ । जेठो छोरा सुभास शाक्य आर्टको काम गर्छ । कान्छो छोरा प्रभास शाक्य पत्रकार हो । दुइटै बुहारी ब्युटीसियन । मेरा ४ नातिनी र १ नाती छन् ।

 

म लेखक कर्ण शाक्यको सकारात्मक सोचबाट प्रेरित छु । उनका धेरै किताब पढें र उनलाई भेटें पनि ।

 

मैले आफूलाई समाज सेवामा पनि लगाएको छु । ६७ सालमा सुर्खेतमा दृष्टिबिहीन हेरबिचार केन्द्रको स्थापना भयो । त्यसमा मेरो योगदान छ । केटाकेटी हुँदा डाक्टर बन्नुपर्छ भन्ने थियो । त्ययसपछि अर्को सपना देखिन ।

 

राजनीति, ध्यान र पञ्चशील

J3
४६ सालको जनआन्दोल । सुर्खेतमा नेपाल मजदुर किसान पार्टीका नारायणमान बिजुक्छे आएका थिए । मलाई सबै कम्युनिष्ट एउटै हुन् भन्ने लागेको थियो ।

 

बिजुक्छेजीलाई लौन मलाई पनि कम्युनिष्ट बनाइदिनुपर्‍र्यो भनें । त्यसपछि म काठमाडौं गएर पार्टीको सदस्य बनें । उबेला म सरकारी जागीरे थिएँ ।

 

म विपश्यना ध्यान पनि गर्छु । ६४ सालबाटै शुरु गरेको हुँ । रेयुकाईमा कार्यालय प्रमुख हुँदानै कसैलाई केही नभनी नेपालगञ्ज गएर विपश्यना साधनाको क्लास लिएको थिएँ ।

 

६६ सालमा सुर्खेतको कपासे ब्यारेकमा कर्नेल खगेश्वर अर्याल आए । उनले विपश्यना साधकको खोजी गरेपछि मसंग भेट भयो । त्यसपछि सुर्खेतमा विपश्यना केन्द्र स्थापना गर्ने योजना बन्यो ।

 

विपश्यनामा साधक मात्रै भान्से बन्न पाउने नियम छ । मैले धेरै समय ध्यान केन्द्रमा कुकको काम गरें । विपश्यनाको १० दिने शिविरमा ९ पटक भाग लिएं । ध्यानले जीवनमा आकाश पातालको फरक पार्छ ।

 

समाजमा हिंसा बढ्दै गएको छ । बुद्धको शिक्षालाई सबैले मनन गर्ने हो भने समाजमा हिंसा घट्छ । बुद्धको शिक्षााई धर्मको रुपमा बुझ्नुहुँदैन । जुनसुकै धर्म मान्नेले पनि बुद्धको शिक्षा ग्रहण गरे जीवनमा सुख र आनन्द मिल्छ ।

 

सबैले पञ्चशीलको पालना गर्नुपर्छ । प्रत्येक मानिसले विपश्यना ध्यान गर्नु जरुरी छ । सुर्खेतमा पनि विपश्यना आचार्यहरु उत्पादन भइसकेका छन् । मेरो अन्तिम ईच्छा विपश्यनाको आचार्य बन्ने छ ।

 

नयाँ पिंढीकालाई मेरो सुझाव छ सही बाटो रोजे सफल भइन्छ । जीवन संघर्षमय छ । सुख खोजे सुख र दुःख रोजे दुःख छ । युवालाई कुलत र हिंसाको बाटो नहिंड्न आग्रह गर्छु ।

 

प्रस्तोता : सीता ओली

२०७५ भदौ ९ मा प्रकाशित

प्रतिकृया दिनुहोस्