Hilsa Yatayat

विमस्टेकका पाहुना काठमाडौं आउन शुरु

सेरोफेरो/काठमाडौं 
विमस्टेकका पाहुना काठमाडौं आउन शुरु

 १२ भदौ । बिहिबार र शुक्रबार  काठमाडौंमा हुने बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (विमस्टेक) मा सहभागी हुन सदस्य राष्ट्रका सरकार प्रमुखहरू काठमाडौं आउने क्रम सुरू भएको छ ।

 

म्यानमारका राष्ट्रपति विन मिन्ट आज दिउँसो काठमाडौं आइपुगेका छन् । राष्ट्रपति मिन्टलाई उपप्रधान एवम् रक्षा मन्त्री ईश्वर पोखरेलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका छन् ।

 

यसैगरी बुधबार श्रीलंकाका राष्ट्रपति मैत्रिपाल श्रीसेना र भुटानका प्रधानन्यायाधीश तथा सरकारका अन्तरिम सल्लाहकार दसो छिरिङ वाङचुक नेपाल आउनेछन् ।

 

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, बंगलादेशका प्रधानमन्त्री शेख हसिना र थाइल्याण्डका प्रधानमन्त्री प्रयुट च्यान सम्मेलन उद्घाटनका दिन बिहिबार काठमाडौं आउने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।

 

विशिष्ट व्यक्तिको सुरक्षाको सम्पूर्ण जिम्मेवारी नेपाली सेनालाई दिइएको छ । सम्पूर्ण सुरक्षा तयारी पुरा भएको नेपाली सेनाका प्रवक्ता सहायक रथी गोकुल भण्डारीले बताए ।

२०७५ भदौ १२ मा प्रकाशित

प्रतिकृया दिनुहोस्