Hilsa Yatayat

विमस्टेकले दक्षिण एशिया र दक्षिण पूर्व एशियालाई जोड्छ-प्रम ओली

सेरोफेरो/काठमाडौं
विमस्टेकले दक्षिण एशिया र दक्षिण पूर्व एशियालाई जोड्छ-प्रम ओली

१४ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले विमस्टेकको चौथो शिखर सम्मेलनको उद्घाटन गर्दै आगन्तुक राष्ट्र प्रमुख तथा सरकार प्रमुखहरुलाई गौतम बुद्ध र सगरमाथाको देशमा स्वागत गरेका छन् ।

 

प्रधानमन्त्री ओलीले विमस्टेकको माध्यमबाट दक्षिण एशिया र दक्षिण पूर्वी एशियालाई जोडिएको बताएका छन् । उनले भने, 'विश्वको कूल जनसंख्याको २२ प्रतिशत जनसंख्याको प्रतिनिधित्व गर्ने बंगालको खाडी क्षेत्रका राष्ट्रहरुका तर्फबाट हामी यहाँ यस क्षेत्रमा शान्ति, समृद्धि र दिगो विकास कायम गर्ने प्रतिबद्धताका साथ उपस्थित भएका छौं ।'

 

विमस्टेक राष्ट्रहरुमा उपलब्ध प्राकृतिक सम्पदा र कृयाशील जनसंख्याबाट श्रृजना हुने अनगिन्ति अवसरहरुको सदुपयोग गर्न सके विमस्टेकको सार्थकता हुने पनि उनले बताए ।


ओलीले विमस्टेक कार्ययोजनालाई पूर्ण रुपमा कार्यान्वयन गर्न आवश्यक भएको पनि औंल्याए । उनले दिगो विकास लक्ष्य प्राप्तिका लागि सबै मिलेर लाग्नुपर्ने पनि बताए ।


प्रधानमन्त्री ओलीले भने, 'आर्थिक विकासको इन्जिन व्यापार हो । वस्तु र सेवाको व्यापार, लगानी, भन्सारसम्बन्धी मामिलामा आपसी सहयोग, व्यापार सुविधाका सन्दर्भमा विवादको निराकरणजस्ता विषयहरुमा सहमति आजको आवश्यकता हो ।'

 

सरकारले समृद्ध नेपाल, सुखी नेपालीको लक्ष्य अघि सारेको बताउँदै उनले कनेक्टिभिटीलाई मजवूत बनाई क्षेत्रीय आर्थिक एकिकरणको जग बलियो बनाउनुपर्ने धारणा व्यक्त गरे ।


प्रधानमन्त्री ओलीले पर्यटनको प्रवद्र्धन गर्न बुद्धिस्ट सर्किटको अवधारणालाई मूर्तता प्रदान गर्नु पर्ने कुरामा पनि जोड दिए ।


सम्मेलनमा सबै सदस्य राष्ट्रका राष्ट्रप्रमुख तथा सरकार प्रमुखहरुले आफ्नो धारणा राखेका छन् ।


बिहिबार र शुक्रबार चल्ने उक्त सम्मेलनमा क्षेत्रीय सहयोगका विभिन्न क्षेत्रमा विभिन्न समझदारी कायम गरिने अपेक्षा गरिएको छ ।

B1

२०७५ भदौ १४ मा प्रकाशित

प्रतिकृया दिनुहोस्