Tiwari Bhada Pasal

समृद्ध नगर निर्माणमा तीन मेयरको प्रतिवद्धता

सेरोफेरो
५ जेठ, सुर्खेत । बुलबुले एफएम १०३ विन्दु ४ मेगाहर्ज सुर्खेत बाट रेडियो धुर्वतारा सामूदायिक एफएम ८९.८ मेगाहर्ज र सेरोफेरो डट कमको लागि स्थानीय तहका नवनिर्वाचित तीनजना नगर प्रमुखहरुसंग आगामी योजनाका विषयमा गणेश वलीले गरेको कुराकानीको सारसंक्षेप ।


प्राविधिक सहयोग : त्रिप्ती शाही, बुलबुले एफएम सुर्खेत तथा सर्वजित थापा मगर धुर्वतारा एफएम दैलेख ।


कान्तिका सेजुवाल, मेयर, चन्दननाथ नगरपालिका, जुम्ला


कार्यक्रममा स्वागत छ ।


तपाईं प्रदेश नं ६ को प्रथम महिला मेयर पदमा निर्वाचित हुनुभएको छ । जुम्ला जिल्लाको चन्दननाथ नगरपालिकाको विकासको योजना के छ ?

सर्बप्रथम मैले गुरुयोजना बनाएकी छु । अल्पकालिन र दीर्घकालिन । यी योजनाहरु कार्यान्वयन गर्न आफैमा कठिन छ । किनभने अन्य पार्टीहरुसंग सहकार्य गरेर जानुपर्ने भएकोले र नेपाली काँगे्रसको बहुमत नभएकोले योजना कार्यान्वयनमा कठिनाई छ । नगरबासीको समस्यालाई पहिचान गरेर अगाडि बढ्ने छु । मैले बनाएका योजना सबै पुरा हुन्छन् भन्ने त होइन तर म पदमा रहुन्जेल निरन्तर प्रयास गर्छु ।

 

जुम्ला जिल्ला सम्भावनाले भरिएको जिल्ला हो । युवा रोजगारीको विषयलाई कसरी अगाडि बढाउनुहुन्छ ?
युवाहरुको रोजगारीको लागि मेरो घोषणा पत्रमा उल्लेख भएअनुसार गर्नेछु । यहाँको सम्भावनालाइ पहिचान गरी श्रोतहरुको परिचालन गर्छु र जतिसक्दो युवाहरुको रोजगारीको लागि लाग्छु ।

 

अन्त्यमा, यस क्षेत्रका अन्य पार्टीहरुसंग कसरी समन्वय गरेर अगाडि जानुहुन्छ ?
पार्टीबाट प्रतिनिधित्व गर्ने मित्रहरु नगरमा आउनुभाछ । उहाँहरुले जवाफदेहिता, कर्तव्य र अधिकार बुझ्नु प¥यो । सुशासन र सुरक्षाका विषयमा सबै पार्टीहरुमा पारदर्शिता र इमान्दारीता हुनुप¥यो । मत सधैं सबै पार्टीहरुसंग समन्वय र सहकार्य गरेर जान तयार छु ।

धन्यबाद ।

 

गगनसिंह सुनार, मेयर, लेकबेशी नगरपालिका, सुर्खेत

 

कार्यक्रममा स्वागत छ ।


लेकबेशी नगरपालिकाको विकासका लागि यहाँका योजनाहरु के के छन् ?
शुरुमा हामी सवै दलहरुसंगको बैठक वसी यहाँका विभिन्न समस्याहरुको पहिचान गर्ने योजना छ । हामीले चुनावको क्रममा जारी गरेको प्रतिवद्धता पत्रलाइ आधार मानेर सबैसंग समन्वय गरेर योजना बनाउने छु । साथै, यहाँका अन्य विभिन्न समस्याहरु, श्रोत पहिचान गरी र कर्मचारीहरुसंग समन्वय गरी अगाडि वढ्नेछु । चुनावको क्रममा प्रतिस्पर्धामा रहेका दलहरुसंग पनि समन्वय गरी काम गर्नेछु ।

 

यो नयाँ नगरपालिका हो । यसमा विभिन्न भौतिक निर्माण, कार्यालय व्यवस्थापन र रोजगारीका विभिन्न अवसरहरुको सृजना गर्नुपर्ने छ । संबैधानिक जिम्मेबारी कसरी निर्वाह गर्नुहुन्छ ?

यो नगरपालिकामा धेरै सम्भावना रहेको छ । यहाँ धेरै खालका श्रोत साधनहरु छन् । प्रकृतिले दिएको उपहार छ । यसमा गर्न सक्ने धेरै सम्भावना छन् । हामीले सबैसंग समन्वय गरी हाम्रो लेकबेशीलाई राम्रो लेकबेशी बनाउनको लागि म प्रतिवद्ध छु ।

 

तपाईं सबैको साझा व्यक्ति हुनुहुन्छ । नगरपालिकाको विकासको लागि तपाईंको प्रतिवद्धता के हो ?
श्रोत साधन परिचालनमा हामी सबै दल, स्थानीय र कर्मचारीहरु लागेमा यसलाइ विकास गर्न सकिन्छ । म यो कुरामा प्रतिवद्ध छु । साथै, चुनावी घोषणापत्रलाई समय अनुसार सबैको साझा बनाउन म सबैसंग समन्वय गर्नेछु ।

धन्यवाद ।

 

रत्नबहादुर खड्का, मेयर, नारायण नगरपालिका, दैलेख ।

कार्यक्रममा स्वागत छ ।

 

नारायण नगरपालिका र दैलेखको विकासको लागि तपाईंको योजना के छ ?
सर्वप्रथम मलाई विजय बनाउनुहुने सवैलाइ धन्यवाद । म २०५४ सालको चुनावबाट उपमेयर पदमा निर्वाचित भएर काम गरको हुँ । म यहाँको सडक, खानेपानी, पर्यटन विकास र अन्य क्षेत्रको विकासमा लाग्नेछु । यस नगरपालिकाका विद्युत् नपुगेका वडामा विद्युतीकरणको लागि प्रमुख प्राथमिकता दिनेछु ।

 

धेरै सम्भावना भएको जिल्लाको सदुरमुकामको प्रमुख भएको हैसियतले यहाँले अन्य दलहरुसंग कसरी समन्वय गरी जानुहुन्छ ?
पार्टीका ऐजेण्डालाई स्थापित गर्न र यहाँको विकासको लागि सवै दलहरुसंग समन्वय गर्नेछु । हामीसंग प्रतिष्पर्धामा रहेका दलहरुको घरमा गएर भेट गर्ने र उहाँहरुलाई आगामी दिनमा समन्वय गरेर जाने विषयमा सवै निर्वाचित पदाधिकारीहरुलाई भनेको छु ।

 

स्थानीय तहलाइ धेरै अधिकार प्रदान गरिएको छ । यस जिल्लामा पेट्रोलियम पदार्थको खानी छ । धार्मिक, पर्यटकीय दृष्टिकोणले यो जिल्ला अगाडि छ । पेट्रोलियम उत्खनन, पर्यटन प्रवद्र्धन र समग्र विकासमा यहाँको पहल के हुन्छ ?
नेकपा एमालेको सरकार हुँदा यहाँको पेट्रोलियम पदार्थको सम्भावनाबारे विज्ञद्वारा अध्ययन गरिएको छ । यसको उत्खननमा हामीले पहल गर्नेछौं । कोटिलामा मानव निर्मित ताल निर्माण गर्ने र मन्दिरहरुको व्यवस्थापन गर्ने साथै अन्य विभिन्न सम्पदाहरु र माहावु जस्ता पर्यटकीय स्थलको विकासको लागि काम गर्छु ।

धन्यवाद ।

विस्तृत कुराकानीको लागि अडियो सुन्नुहोस् :

 

२०७४ जेठ ५ मा प्रकाशित

प्रतिकृया दिनुहोस्