Tiwari Bhada Pasal

कसरी गर्न सकिन्छ कर्णालीमा लगानी?

माधव चौलागाईं/सेतोपाटी
कसरी गर्न सकिन्छ कर्णालीमा लगानी?

जुम्लाको चन्दननाथ नगरपालिकाले आउँदो भदौ २९ गते लगानी प्रवर्द्धन सम्मेलन गर्ने भएको छ।

 

सदियौंदेखि ओझेल परेका तर प्रचुर सम्भावना भएका ठाउँको विकास सामर्थ्य उजागर गर्न यस्ता सम्मेलनले ठूलो भूमिका खेल्न सक्छ।

 

कर्णालीमा विविधतायुक्त र नौला लगानी अवसर प्रशस्त छन्। पर्याप्त खोज, वर्गीकरण, प्रचार र प्रयास हुन भने सकेको छैन।

 

केहीवर्ष अघिसम्म कर्णालीको विकटता, अभाव, अशिक्षा, अन्धविश्वास, रुढिवादी परम्परा, रोग, महामारी, भोकमरी, फोहोरबारे राष्ट्रिय समाचार बन्थे। अचेल कम भएको छ। बरु त्यहाँको अपार सम्भावना, सम्पदा, सँस्कृति र सफलताका गाथा वर्णित हुन थालेका छन्।

 

अर्थात्, कर्णालीले रुप फेरेको छ। लगानी सम्भावनाका लागि यो स्वनिर्मित र सुखद संकेत हो।

 

त्यसो त अत्यन्त न्यून जनघनत्व भएको विशाल र विविधतापूर्ण भूभागले नै कर्णालीमा अपार सम्भावना रहेको प्रमाण दिन्छ।

 

केन्द्र सरकारको बाँडफाँटबाट भाग लागेको सीमित बजेटले स्थानीय जनअपेक्षा पूरा गरेर समृद्धि ल्याउन मुस्किल छ। आफ्नै प्रयासले वैदेशिक ऋण र अनुदान सहयोग खोज्ने स्थानीय सरकारको बाटो पनि केन्द्रको मध्यस्थता मार्फत मात्र सम्भव हुन सक्छ। यो प्रक्रियाको पनि कुनै टुंगो लागिसकेको छैन।

 

वैदेशिक सहयोग आए पनि अनेक ज्ञात-अज्ञात शर्तसहित आउँछ। जनताको टाउकोमा थप ऋण बोकाएर बस्छ। यस्तो अवस्थामा सम्भावित स्वदेशी लगानी आकर्षण गर्ने स्थानीय सरकारको प्रयास प्रशंसनीय छ।

 

सरकारले पछिल्लो पल्ट २०७३ फागुनमा 'नेपाल लगानी' सम्मेलन गरेको थियो। सम्मेलनमा भारत, चीन, अमेरिका, बेलायत, दक्षिण कोरिया, नेपाल लगायत देशका हजारभन्दा धेरै कम्पनी सहभागिता थियो। दुई दिनको सम्मेलनमा अपेक्षा गरेभन्दा धेरै बढी रकमको प्रतिबद्धता आयो। ११ खर्ब रुपैयाँ बराबरको प्रतिबद्धताका कारण सम्मेलन सफल ठानियो।

 

प्रतिबद्धतालाई लगानीमा परिणत गराउन विश्वासिलो र स्थिर संयन्त्र निर्माण गर्नुपर्छ। अनावश्यक कानुनी र नीतिगत जटिलता हटाउनुपर्छ। सुधारात्मक र सुरक्षित वातावरण प्रदान गर्नुपर्छ। तर यी कुराको अभावमा त्यो सम्मेलनका अधिकांश प्रतिबद्धता आज एकपाने कागजमा सेलाएका छन्। यसबीच सरकारले फेरि लगानी सम्मेलन गर्ने घोषणा गरेको छ।

 

यो संकेत हो, केन्द्रीय मात्र हैन, स्थानीय सरकारहरू पनि लगानी आकर्षित गर्न आतुर छन्। भविष्यमा प्रदेश र अरु स्थानीय सरकारले पनि लगानी ल्याउने प्रयास गर्नेछन्।कर्णालीमा पनि यो प्रयास हुनेछ।

 

मानव गतिविधि हुने हरेक स्थान लगानीयोग्य हुन्। तथापी हरेक लगानीको निर्णय त्यसले दिने प्रतिफलसँग जोडिन्छ। झन् निजी लगानीको रुचि त त्यसबाट हुने प्रत्यक्ष नाफामा भर पर्छ। यसलाई भूगोल, जनसंख्या, भौतिक संरचना, बजार पहुँच र सरकारी नीतिले प्रोत्साहित वा निरुत्साहित गरिरहेको हुन्छ।

 

कर्णालीमा बाटो र सञ्चार पहुँच बढेसँगै थुप्रै सम्भावना उजागर हुँदै गएका छन्। तर संस्थागत र दीगो लगानीका लागि संरचना विस्तार हुनु अत्यावश्यक छ। सडक, बिजुली, विमानस्थल, सहरी विकासजस्ता ठूला आयोजना केन्द्रीय सरकारकै लगानी र नेतृत्वमा गरिनुपर्छ।

 

यसनिम्ति आवश्यक वैदेशिक वा अन्य श्रोत जुटाउने जिम्मा पनि केन्द्रीय सरकारले लिनुपर्छ। प्रदेश वा स्थानीय सरकारको यस विषयमा अनुभव छैन। तत्काल क्षमता पनि छैन। नीति पनि बनेको छैन।

 

कर्णालीमा निजी स्वदेशी लगानीनिम्ति मझौला तथा साना उद्योगधन्दा र व्यवसाय उपयुक्त छन्। पत्रकार सम्मेलनमा भनिए जस्तो निजी स्वदेशी वा बाह्य लगानी आकर्षण गर्ने क्षेत्र कृषि, पर्यापर्यटन र जडिबुटी मात्र हैनन्। यी परम्परागत रुपमै चर्चा भइरहने प्रमुख सम्भावना क्षेत्र हुन्। समयक्रमसँगै नयाँ मौकाहरू पनि उदाएका छन्। सम्मेलनमा त्यस्ता लगानी भित्र्याउन सकिने क्षेत्रबारे चर्चा गरिनु आवश्यक छ।

 

अर्थात, अपरम्परागत शैलीले सोच्न जरुरी छ।

 

अपरम्परागत ढंगले सोच्दा 'मेडिकल टुरिजम' आश लाग्दो क्षेत्र देखिन्छ। आपतकालीन शल्यक्रियाबाहेक हाडजोर्नी, छाला, घाउ लगायत लामो उपचार र आरामपछि स्वास्थ्यलाभ लिने अवस्थामा जुम्लाको हावापानी सहयोगी हुनसक्छ। सुविधासम्पन्न उपचार र आरामको व्यवस्था गर्ने लगानीको एउटा क्षेत्र हुनसक्छ।

 

आवासीय सुविधासहितका शिक्षालयहरु - अंग्रेजी स्कुल, कलेज र तालिम केन्द्रहरु अर्को दीर्घकालीन लगानी सुनिश्चित हुनसक्ने क्षेत्र हो।

 

३५ वर्षअघि कर्णाली र आसपास जिल्लाका विद्यार्थीका लागि कर्णाली प्राविधिक शिक्षालय खुलेको छ। यहाँ बीस वर्षअघिदेखि नै देशभरबाट विद्यार्थी आउन थालेका छन्। यसले कर्णाली 'दुर्गम' भन्ने त केवल सोच मात्र भएको प्रमाणित गरिसकेको छ। हाल कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले सञ्चालन गर्ने कोर्षमा भर्ना हुन चाहनेको संख्याले पनि यो उच्च सम्भावना देखिएको छ।

 

खेलकुद अर्को लगानी सम्भावना बोकेको क्षेत्र हो। विशेषगरी साहसिक खेलकुद यहाँ फ़स्टाउन सक्छ। कीर्तिमानी धावक हरि रोकायाले कोरेको 'कर्णालीमा हाई अल्टिच्युट ट्रेनिङ सेन्टर' सपना वास्तविक बन्न सक्ने क्षेत्र हो। पूर्वाधारबिनै हौसलाको भरमा मात्र त्यही माटोमा दौडाएर स्थानीय युवालाई मेडल जित्नसक्ने बनाउन सकिएको छ। पर्याप्त संरचना र सुविधा उपलब्ध गराउन सके देशविदेशबाट आकांक्षीहरू नओइरिने कुरै छैन।

 

जुम्लाको लाम्रामा पाराग्लाइडिङको पनि सफल परीक्षण भइसकेको छ। रुख-बुट्यान उम्रन नसकेका डाँडाबाट कावा खाँदै तल तिला नदीको फाँटतिर ओर्लनुको मज्जा बेग्लै हुनेछ। यी ठाउँ पाराग्लाइडिङका लागि प्राकृतिक रुपले उपयुक्त हुन सक्छन्। चिल, गरुड लगायत चराहरु यिनै डाँडा आसपास घुमिरहेका हुन्छन्। उनीहरूको उडान एरोडाइनामिक्स सिद्धान्तसँग मेल खान्छ।

 

साइक्लिङ अर्को भविष्य भएको व्यवसाय लगानी हुन सक्छ। जुम्ला उपत्यकाको २५-३० किलोमिटर पश्चिम राजमार्गको बाटो। तिला नदी वारिपारि। पूर्वतिर गुठिचौर। उत्तरपूर्व चौधबीस क्षेत्र।

 

सिंजा उपत्यकाका जिउला र बस्तीका फाँटमा साइकल चलाउन मिल्छ। हाइ अल्टिच्युड अभ्यास गर्ने उपयुक्त थलो रुपमा विकास गर्न सकिन्छ।

 

जुम्लादेखि रारा पुग्ने बाटोमा पर्ने चट्टाने भीरहरूमा 'रक क्लाइम्बिङ' खेल बन्न सक्छ। कतिपय भीरमा परम्परागत तरिकाले भिरमह र शिलाजीत खोजी भइरहेको हुन्छ।

 

अहिले अव्यावहारिक झैं लागे पनि उचाइका भूभाग र हिमाली चौरहरू अर्थात डोल्पा, मुगु, जाजरकोटसँग जोडिने भाग, पाटनका थुम्का, भिरालो र फाँट 'स्किईङ' गन्तव्य हुने सम्भावना राख्छन्।

 

फिल्म उद्योगको आगमन प्रतिफल सुनिश्चित गर्न सकिने लगानी क्षेत्र हुनसक्छ। उही चोभार, पोखरा, मुस्ताङ जस्ता स्थान, उही लवजको सम्वाद, एकै खाले गुन्यूचोलीको नाच, उही पिँढी र छानाका बस्तीका दृश्य हेर्दाहेर्दा हैरान दर्शकका निम्ति कर्णालीमा नयाँ स्वाद भेटिन्छ। श्रव्यदृश्यमा मौलिकता दिन सक्ने अनेक विषयवस्तु छन्।

 

काराभान र कालोपोथी जस्ता फिल्मले त्यो सम्भावनाको सफलता प्रमाणित गरिसकेका छन्। यहाँको इतिहास, सँस्कृति, भाषा, भेसभुषा, भूगोल, बस्ती सबै मौलिकता बोकेका विशिष्ट स्वाद दिने क्षेत्र हुन्।

 

आयुर्वेद र परम्परागत उपचार पद्धतिको अध्ययन र विकासले व्यवसायिक व्यापकता पाउन सक्छ। जडिबुटीको संकलन र निर्यात केन्द्रित व्यवसायले केवल दोहन निम्त्याएको छ। कच्चा पदार्थ रुपमा निर्यात नगरी स्थानीय रुपमा उत्पादन गर्न सक्ने उपाय ल्याउन आवश्यक छ।

 

अझै खोज्ने हो भने अरु थुप्रै क्षेत्र देखिन सक्छन्।

 

कसले गर्ला लगानी? 

भर्खर भर्खर मूलधार सडक सञ्जालसँग जोडिन खोजिरहेको छ कर्णाली। विद्युत र सञ्चारको भरपर्दो व्यवस्था भइसकेको छैन। यस्तोमा कतिपय लगानीकर्तालाई जोखिम महशुस हुन्छ। स्वभाविक हो।

 

यसको समाधाननिम्ति स्थानीय सरकारले लगानी क्षेत्र पहिल्याउँदा ध्यान दिनुपर्छ। सकेसम्म कम जोखिमयुक्त क्षेत्र रोज्नुपर्छ। शासकीय सुधार गरी यथेष्ट सहजीकरण र सुविधाका साथै जोखिम न्यूनिकरण प्रत्याभूति दिनुपर्छ।

 

कर्णालीमा लगानी गर्ने सोच बनाउने सम्भावित लगानीकर्ता आफैं पनि केही गुण र आदर्शले निर्देशित हुनुपर्छ। अहिलेको सत्य के भने कर्णालीमा व्यवसाय स्थापना तुलनात्मकरुपले महँगो पर्छ। यसले प्रतिफल कम वा ढिलो हुन्छ। रातारात कमाइ हुने ठाउँको खोजीमा रहका लगानीकर्ताका निम्ति कर्णाली हाललाई उपयुक्त गन्तव्य नहुन सक्छ।

 

ठूला व्यापारिक घराना, बहु-व्यवसाय तथा लगानी परिचालन गर्ने समूह र संगठनले व्यवसायिक विविधिकरण गर्न कर्णाली रोज्न सक्नुपर्छ। पूर्णतः नाफामुखी मात्र नभई सामाजिक उत्तरदायित्वसहितको मानव हित र दीगो विकासको मूल्यमान्यता बोक्ने जिम्मेवार व्यवसायिक अवधारणायुक्त लगानी प्रवर्द्धन गरिनुपर्छ।

 

उदाहरण, कर्णालीमा चाउचाउ, बिस्कुट लगायत अन्य तयारी खानेकुरा निकै खपत भइरहेको छ। स्थानीयरुपमा उपलब्ध खानेकुरा विस्थापित गर्दै तयारी खाजाप्रति मान्छेको रुचि बढेको छ। आक्रामक बजार नीति, आकर्षक विज्ञापन र देखासिकी यसका कारण हुन्।

 

सर्वसाधारणले उनीहरूको जीवनमा बजारले कसरी प्रभावित गरिरहेको छ भन्ने भेउ पाउन सक्दैनन्। ती उद्योगले अहिलेसम्म कर्णालीका बासिन्दालाई आफ्ना उपभोक्ता मात्र बनाएका छन्। अब कुनै क्षेत्रमा लगानी गरी उद्योग व्यवसाय चलाएर ती जनतालाई रोजगार अवसर उपलब्ध किन नगराउने?

 

हवाइ उद्योग चलाउने कतिपय एयरलाइन्स कम्पनीले पहाडी रुटमा अनिवार्य सेवा पुर्याउनुपर्ने नियम छ। तर तिनले नियम लत्याउँदै तराई र पोखरा जस्ता सहज रुटमा चलेर वर्षौंदेखि लाभ लिइरहेका छन्। ती व्यवसायीले नयाँ योजना वा लगानी विस्तार गरी कर्णालीमा पहुँच बढाउन, रोजगार र अन्य अवसर सृजना गर्न किन नहुने?

 

यस्ता अरु धेरै उदाहरण पाइन्छन्।

 

देशभरका कर्मचारीको रकम परिचालन गर्ने सञ्चयकोष, नागरिक लगानी कोषले सहरमा व्यापारिक कम्प्लेक्स बनाएर भाडामा लगाएका छन्। यो अनुभवलाई जुम्लाजस्तो बजारमा सुलभ र वातावरणमा खलल नपार्ने सपिङमलको अवधारणा फैलाउन किन नसक्ने? भाटभटेनी लगायत मलहरूले आफ्ना पसलमा राख्ने अर्गानिक उत्पादनहरू कर्णाली मै किन नफलाउने? त्यसका लागि आवश्यक संयन्त्र र साना-मझौला पूर्वाधारमा लगानी किन नगर्ने?

 

यसैगरी सेना र प्रहरीले पनि थन्किएर बसेको आफ्नो कोषको केही रकम परिचालन गरी उनीहरूकै संयन्त्रमार्फत कर्णालीमा लगानी गर्न सक्छन्।

 

कर्णाली जन्मथालो भएका गैरआवासीय नेपाली निकै कम छन्। तर कर्णालीमा एनआरएनले रुचि देखाउन सक्ने होटल र यातायात व्यवसायको पनि सम्भावना प्रबल छ।

 

यसका साथै स्थानीय लगानीको सम्भावना पनि खोतल्न सकिन्छ।

 

लगानी सम्मेलनको उद्देश्य जिल्ला बाहिरका लगानीकर्ता मात्र केन्द्रित हुनु हुँदैन। विकास र रुपान्तरणका निम्ति स्थानीय प्रयास अत्यन्त प्रभावकारी हुन्छन्। समूह र सहकारी माध्यमबाट ठूलो रकम संकलन गरी जलविद्युत, यातायात, सुपथ पसल लगायत सफलतापूर्वक संचालन गरिएका उदाहरण विद्यमान छन्।

 

कर्णालीका बासिन्दामा पैसा कमाउन सक्ने भएदेखि तराईमा घरजग्गा जोड्ने रहर र बाध्यता हुन्छ। यो सामाजिक हैसियतसँग जोडिन्छ। विकटता झेल्दै हुर्किनेले सुगम बसाईको परिकल्पना गर्नु स्वभाविक हो। यो होड व्यापारी, ठेकेदार र सरकारी कर्मचारीमा बढी छ। अचेल सामाजिक कार्यकर्ता र राजनीतिकर्मीमा पनि यस्तै लहड छ।

 

तर जब कर्णालीमा आवागमन सहज हुन्छ र स्थानीय अवसरका क्षेत्र खुल्छन्, यो क्रम आफैं कम हुन्छ। फलस्वरूप यसले जिल्ला बाहिर जाने ठूलो रकम स्थानीय स्तरमा परिचालन हुनसक्छ।

 

कर्णालीमा भर्खर भर्खर रेमिटेन्स पनि भित्रिन थालेको छ। यसको उपयोग भने समग्र देशकै जस्तो अनुत्पादक क्षेत्रमा बढी भइरहेको छ।

 

स्थानीय साना व्यापारीहरू व्यवसायको विविधिकरण गर्नेभन्दा पनि अर्काको देखासिकीमा दौडेका छन्। उही व्यवसाय दोहोर्याउने प्रवृति बढी छ। व्यापारका अन्य सम्भावनाको पर्याप्त ज्ञान नहुँदा सामान्य लगानी हैसियत हुनेले जोखिम मोल्न सक्दैन। अनि उही छिमेकीले गरेको जस्तै काम आफू पनि सुरु गर्छ।

 

स्थानीयबाट लगानी जुटाउने विषयमा केही चुनौती पक्कै छन्।

 

जस्तो, जुम्ला भाग्यवाद मान्ने समाज हो। आन्तरिक आयका स्रोत सीमित छन्। निश्चित केही जातीबाहेक अधिकांश हिस्सा बाहुन, क्षेत्री र दलित समुदायको छ। उनीहरूमा व्यापारिक परम्परा छैन। प्रायः सबै कृषि र पशुपालन गर्छन्। त्यसैले सबैको गतिविधि घडीको समयभन्दा पनि घरायसी कामकाजले निर्धारण गर्ने 'किसान समय'मा चल्छ।

 

स्थानीय सरकारले यी अवस्था र चुनौतीलाई मध्यनजर गर्दै लगानी योग्य वातावरण बनाउन प्रयास गर्नुपर्छ।

 

लगानी सम्मेलनको औचित्य

इतिहासमा एकदमै विकट र सुदूर मानिने कर्णालीको एउटा नगरपालिकाले देशका निजी क्षेत्र, गैरआवासीय र वैदेशिक स्रोत समन्वय गरी गरेको लगानी प्रवर्द्धन प्रयासले रोजगार तथा तालिम, सीप विकास र हस्तान्तरण, लगानी विविधिकरण, प्रविधि स्थानान्तरण, जनशक्ति सशक्तिकरण, दिगोपन हासिल गर्न सक्छ।

 

उचित लगानीबाट लगानीकर्ताले नाफा लिने मात्र होइन स्थानीय रोजगार सृजना गरी दिगो आर्थिक गतिविधिको माहोल बनाउन मद्दत पुग्छ।

 

सम्मेलनले सम्भावित लगानीकर्तासँग एकआपसमा वार्तालाप गर्ने वातावरण बन्छ। स्थापित उद्योगी र व्यापारी, नयाँ र उदाउँदा व्यवसायी, नीति निर्माता, सरकारका प्रतिनिधि र स्थानीयको सहभागितालाई परिणाममुखी बनाउन बलियो, विश्वसनीय र तथ्यपरक राष्ट्रिय तथा स्थानीय दृष्टिकोण प्रस्तुत गरिनुपर्छ।

 

स्थानीय सरकार निरन्तर रुपमा भरपर्दो सहजकर्ता बन्न सक्नुपर्छ। सरकारको कामकारबाहीमा लगानी तथा आर्थिक विकासको उत्प्रेरक तत्वहरू देखिन सक्नुपर्छ।

 

जस्तै: छरितो र सहज निर्णय प्रकिया। 'रेड टेप' प्रवृत्ति व्यवस्थापन। सार्वजनिक-निजी साझेदारी सोचको विकास। संरचनाहरुको आधुनिकीकरण। सक्रिय र अर्थपूर्ण समन्वय। लगानीकर्ता प्रति सम्मान। लगायत।

 

र अन्तमा,

'लगानीको करमा भारी छुट दिइने' भन्ने विषयले जुम्लाका स्थानीय स्तरमा एकखाले विवाद सुरु भएको छ। लगानी योग्य वातावरण दिन कर दायरामा समय-सापेक्ष यथोचित सुधार गर्दै जानु अनिवार्य हुन्छ।

 

अर्को विचारणीय पक्ष, स्थानीयको जमिनको स्वामित्व बचाइ राख्न विशेष व्यवस्था गरिनुपर्छ। नभए लगानी, विकास, समृद्धि खोजमा कर्णालीबासी आफैं भूमिहीन बन्न नपरोस्!


(लेखक चौलागाईं कर्णाली प्रदेश, जुम्ला जिल्ला, तातोपानी गाउँपालिका, लाम्रा गाउँका बासिन्दा हुन्)

२०७५ भदौ १९ मा प्रकाशित

प्रतिकृया दिनुहोस्