Tiwari Bhada Pasal

हरेक ४० सेकेन्डमा एकजनाको आत्महत्या

डा. नरेन्द्रसिंह ठगुन्ना/देशसञ्चार

स्वेच्छाले जानीजानी मर्ने मनसायले आफुले आफ्रनै ज्यान लिने कामलाई आत्महत्या भनिन्छ। अहिले विश्वभरि नै आत्महत्याको दर बढ्दै गएको छ। विश्व स्वास्थ्य संगठनले सार्वजनिक गरेका विभिन्न अध्यान प्रतिवेदन अनुुसार विश्वमा प्रत्येक ३ सेकेन्डमा आत्महत्याको प्रयास प्रत्येक ४० सेकेण्डमा १ जनाले, १ दिनमा ३००० जनाले र बर्ष भरिमा ८ लाख व्यक्तिले आत्महत्या गर्ने गरेको तथ्याङ्क छ।

 

नेपाल विश्वमा सातौं र दक्षिण एशियामा श्रीलंकापछि दोस्रो बढी प्रतिव्यक्ति आत्महत्या हुने देशमा पर्दछ। विश्वमा प्रत्येक १ लाखमा ११ जनाले आत्महत्या गर्ने गर्छन् तर नेपालमा भने प्रत्येक १ लाखमा २४ जनाले आत्महत्या गर्ने गर्छन्। विगत २ वर्षमा नेपालमा ९ हजार भन्दा बढी मानिसले आत्महत्या गरेको सरकारी तथ्याङ्क छ। नेपालमा गएको विनाशकारी भूकम्प पछि आत्महत्या गर्नेको संख्या करिब ४१ प्रतिशतले वृद्धि भएको सरकारी तथ्याङ्क छ।

 

आर्थिक वर्ष २०७४/७५ मा नेपालमा आत्महत्या बाट ५३४६ व्यक्तिको मृत्यु भएको तथ्याँक रहेको छ जुन आर्थिक वर्ष २०७३/७४ मा ५१२४ रहेको थियो। यो वर्ष २२२ जना बढी व्यक्तिको मृत्यु भएको तथ्यांक छ। नेपालमा एक दिनमा करिब १५ जनाले र प्रत्येक दुई घण्टामा एक जनाले आत्महत्या गरिरहेको दुःखद स्थिति छ तर नेपाली समाजमा अझै पनि कलंक र लान्छनाको रुपमा हेरिन्छ। नेपालमा प्रतिबर्ष १६ प्रतिशत मृत्युको कारण आत्महत्या हुने गर्छ।

 

विकासशील मुलुकहरुमा आत्महत्याको तथ्यांक भरपर्दो रुपमा नआउने अवस्था त छँदैछ। यसको आाधिकारिक तथ्याङ्क भएको भन्दा न्यून देखिनुको मुख्य कारणहरुमा सामाजिक लान्छना, धार्मिक कारण र सामाजिक मनोवृत्ति आदि पर्छन्। आत्महत्याका तथ्याङ्क आईसवर्गको देखिने टुप्पोको रुपमा मात्र जानकारीमा आएका हुन्छन्। आत्महत्या सुषुप्त, निष्कृय र लुकेर रहेको अपराधको बर्गमा पर्छ।

 

यसमा व्यक्ति आफैँ पीडित बन्न पुग्छ तर परिवार तथा समाजमा यसको गहिरो र दुरगामी चोट परेको हुन्छ। तथ्याङ्क अनुसार आत्महत्याको दर सबभन्दा बढी पूर्बी यूरोपका देशहरु जस्तैः लिथुआनिया, रुस आदिमा छ भने आत्महत्याको सर्बाधिक कम दर मध्ये दक्षिणी अमेरिकी मुलुकहरु पेरु, मेक्सिको, ब्राजिल र कोलम्बियामा छ। पश्चिम युरोप र एशियाका देशहरु मध्यममा पर्छन्।

प्रत्येक बर्ष हत्या र युद्धमा मर्नेहरुको संख्या भन्दा आत्महत्याका कारणले बढी व्यक्तिहरुको मृत्यु हुने गरेको छ। आत्महत्या गरेर जती व्यक्तिहरुको मृत्यु भइरहेको हुन्छ त्यसको तुलनामा आत्महत्याको प्रयास गर्नेको संख्या २० गुणाले बढी हुन्छ।

 

यो अनुमान गरिएको छ कि विश्वका ५ प्रतिशत मानिसहरुले आफ्नो जीवनको कालखण्डमा एकचोटि आत्महत्याको प्रयास गर्छन्। ७० प्रतिशत भन्दा बढी आत्महत्या गरीब देशहरुमा हुने गरेको छ। प्रत्येक आत्महत्याको पछाडि करीब २० देखि २५ वटा त्यस्ता प्रयास हुन्छन्। विश्वमा मृत्युको कारण मध्ये आत्महत्या एक प्रमुख कारण बनेको छ।

 

बिश्व स्वास्थ्य संगठनले गरेको सर्वेक्षण अनुुसार उच्च आयस्रोत या विकसित देशहरुमा आत्महत्या मुख्य स्वास्थ्य समस्या र मध्यम र निम्न आयस्रोत या विकाशोन्मुख देशहरुमा उदाउँदो स्वास्थ्य समस्याको रुपमा देखिएको छ।

 

आउँदो २ दशक सम्ममा सम्पूर्ण रोगीहरु मध्ये २५ प्रतिशत रोगीहरु मानसिक रोग बाट ग्रसित हुने अनुमान लगाइएको छ। आत्महत्याबाट मृत्यु हुने व्यक्तिहरु मध्यें प्रायजसो मानसिक समस्यावाट ग्रसित हुन्छन्। विश्वभर ७० बर्षभन्दा बढी उमेरका मानिसहरुमा आत्महत्याको दर उच्च छ। आत्महत्या युवायुवतीहरुमा (१५देखि ४४वर्ष) मृत्युको मुख्यकारण मध्ये एक हो।

 

प्रति लाखमा १५ पुरुष र ८ जना महिलाको मृत्यु आत्महत्याका कारण हुन्छ। आत्महत्याकोे प्रयास पुरुषहरुको तुलनामा महिलाहरुले २, ३ गुणाले बढी गरेको देखिन्छ। विकसित देशहरुमा आत्महत्याबाट ज्यान गुमाउने संख्या महिलाको तुलनामा पुरुषको ३ गुणाले बढी देखिन्छ भने कम विकसित देशहरुमा महिलाको तुलनामा पुरुषको १.५ गुणाले बढी देखिन्छ।

 

एक सामान्य व्यक्तिले भन्दा एक चोटी आत्महत्याको प्रयास गरेका व्यक्तिमा भविष्यमा आत्महत्या गर्ने सम्भावना ३० देखि ४० गुना बढी हुन्छ। १५ देखि १९ बर्ष समूहका व्यक्तिमा मृत्युको दोस्रो ठूलो कारण आत्महत्या हो। विश्वमा प्रतिबर्ष यस उमेर समुहका १ लाख व्यक्तिहरु आत्महत्या गरेर इहलिला समाप्त गर्छन्।

 

आत्महत्या सम्बन्धी महत्वपूर्ण तथ्यहरु:

-विश्व स्वास्थ्य संगठनका अनुसार बर्षेनी करीब आठ लाख भन्दा बढी व्यक्तिहरुले विश्वभर आत्महत्याका कारण ज्यान गुमाउँछन्।

-प्रति लाख मा १५ पुरुष र ८ जना महिलाको मृत्यु आत्महत्याको कारण हुन्छ।

-प्रत्येक ३ सेकेन्डमा आत्महत्याको प्रयास र ४० सेकेण्डमा एक जना मानिसले विश्वभर आत्महत्याका कारण जीवन गुमाइरहेका हुन्छन्।

-विश्वभर हत्या र युद्ध भन्दा बढी आत्महत्याका कारण बढी मानिसहरुको मृत्यु हुन्छ।

-विश्वभर मृत्यु हुने प्रमुख कारणहरु मध्ये आत्महत्या पन्ध्रौं प्रमुख कारणको रुपमा छ।

-विश्वभर ७० बर्षभन्दा बढी उमेरका मानिसहरुमा आत्महत्याको दर उच्च रहेको छ।

-१५ देखि २९ बर्षको उमेर समूहमा विश्वभर आत्महत्या दोश्रो सबैभन्दा प्रमुख मृत्यु हुने कारण हो।

-आर्थिक वर्ष २०७४/७५ मा नेपालमा आत्महत्या बाट ५३४६ व्यक्तिको मृत्यु भएको तथ्यांक छ।

-जीवन गुमाउनेको संख्या ७० प्रतिशत भन्दा बढी आत्महत्या गरीब देशहरुमा हुने गरेको छ।

-प्रत्येक सफल आत्महत्याको पछाडि करीब २० वटा त्यस्ता प्रयासहरु हुने गर्छन्।

-आत्महत्याको प्रयास पुरुषहरुको तुलनामा महिलाहरुमा २/३ गुणाले बढी देखिन्छ। तर आत्महत्याको कारण ज्यान गुमाउनेको संख्या भने महिलाको तुलनामा पुरुषको ३ गुणाले बढी छ।

-नेपालमा प्रतिबर्ष १६ प्रतिशत मृत्युको कारण आत्महत्या हुने गर्छ।

-नेपालमा प्रत्येक महिना करीब एक दर्जनभन्दा बढी व्यक्तिले आत्महत्या गर्छन् जुन् विश्वमै सातौं उच्च आत्महत्याको दर हो। यो दर दक्षिण एशियाली देशहरुमा श्रीलंका पछि सर्वाधिक हो।

-नेपालमा १५ देखि ४९ बर्षका प्रजनन उमेर समूहका महिलाहरु मध्ये मत्यूको प्रमुख कारण आत्महत्या हो जसको दर विश्वमै सर्वाधिक तेश्रो हुन आउँछ. यो उमेर समूहका महिलाहरुले प्रमुख रुपमा विष सेवनका माध्यमबाट आत्महत्या गर्छन्।

-नेपालमा पुरुषहरुले आत्महत्या गर्ने दर विश्वमै १७ औं उच्च दर हुन आउँछ र उनिहरुले धेरैजसो झुण्डिएर आत्महत्या गर्दछन्।

-आत्महत्याका धेरै कारणहरु मध्ये बसाइसराइ पनि एउटा हो  विश्व श्रम संगठनका अनुसार बैदेशिक रोजगारीका क्रममा मृत्यु हुने नेपालीहरु मध्ये करीब १०.४ प्रतिशतले आत्महत्याको कारण ज्यान गुमाउँछन्।

 

मानिसको मनोवैज्ञानिक सोच बुझिनसक्नुको हुन्छ ।ग्लुमी सन डे अर्थात उदासिँदो आइतबार बोलको गीतले मात्र केही युरोपियन मुलुकका स्रोताहरु उदास, निराश र भावविह्ल भएर आत्महत्याको श्रृङखला नै चलेको थियो र पछि त्यो गीत बजाउन निषेध गर्नु परेको थियो।

 

आत्महत्याको सभाबना भित्र सबै तह र तप्काका ब्यक्ति र समुहहरु पर्छन्। आत्महत्याले के शिक्षक,के विद्याथी, के केटा,के केटी ,के धनी, के गरिब, के युवा,के बृद्धा, के शिक्षित के अशिक्षित, के पुरुष,के नारी,के रोजगार के बेरोजगार, के शहरिया के गांउँले, के धनी के गरिब सबैलाई नै प्रभावित गरेको देखिन्छ ।

 

केहि दशक अघिसम्म गरिबहरुले खान नपाएर वा गरिबिको कारण आत्महत्या गर्छन् भन्ने सपाट बिश्लेषण सुनिन्थ्यो। तर हिजोआज शहरका बलियो आर्थिक जगमा उभिएका ब्यक्तिपनि आत्महत्याको शिकार बन्ने गरेको देख्न पाइन्छ । यसैगरि मनोविक्षिप्तताका रोगीहरु, लागु पदार्थ सेवन गर्नेहरु र जसले जीवनमा तनावपूर्ण घट्नाको अनुभव गरेकाहरु आत्महत्याको जोखिम निकट हुने गर्दछन्।

 

आत्महत्याको मनोबैज्ञानिक र सामाजिक असर परिवार तथा समुदायमा अत्याधिक पर्ने गर्दछ । आत्महत्या एक बहुकारकीय तत्व हो जसमा वातावरणीय, जैविकिय, सामाजिक, मनोबैज्ञानिक र वाताबरण बीच गहिरो सम्बन्ध हुन्छ । मनोवैज्ञानिक सिग्मण्ड फ्राइडका अनुसार व्यक्तिमा हुने बिध्वंसात्मक उद्धेगका कारण आत्महत्या हुने गर्दछ ।

 

मनोविश्लेषणत्मक सिद्घन्त अनुसार मानिसका दमित इच्छा, आवश्यकता र चाहनाहरु पुरा हुन अवरोध भएमा, आत्म सम्मानमा न्यूनता, जीवन प्रति दिक्दारीको अवस्था , मनका कुरा गुम्स्याएर राख्न परेमा,गहिरोचोट परेमा र मनोविक्षिप्तता भएमा व्यक्ति संवेगात्मक रुपमा अस्थिर भएर आत्महत्या तर्फ आकर्षित हुन्छ । विश्व स्वास्थ्य संगठनका अनुसार आत्महत्याको करिब ९० प्रतिशत कारण मानसिक रोग रहेको छ ।

 

मानसिक रोगका कारणले आत्महत्या गर्ने मध्ये ८० प्रतिशतमा आत्महत्या पुर्ब उदासिनता देखिएको हुन्छ । लागुऔषध दुव्र्यसनीहरु मध्ये १५ प्रतिशत,व्यक्तित्व गड्बडी मध्ये १० प्रतिशत र सिजोफ्रनिया भएकाहरु मध्ये १० प्रतिशतले आत्महत्या गरेको देखिन्छ ।

 

नेपालमा बढ्दो आत्महत्याका कारणहरु सामाजिक,साँँस्कृतिक विचलन, मानसिक रोग, शारिरीक अपाङ्गता, लामो समयसम्म नीको नहुने शारिरिक रोगहरु लागेर व्यक्तिमा नैराश्यता हुनु, पारिवारिक कलह, अनमेल विवाह,यौन दुर्वलता, ब्यस्तता, असन्तुष्टि,आपसमा अविश्वास, इमान्दारिताको कमि, असुरक्षा, अन्यायमा पर्नु, द्धन्द्ध, बेरोजगारी, गरिबी , सञ्चार माध्यम तथा इन्टरनेटको दुरुपयोग, व्यक्तिगत गुण, मादक तथा लागु पदार्थको दुव्र्यसनी, जीवनमा सधैं असफलता आदि उल्लेखनिय छन् ।

 

नेपाली समाजमा आत्महत्याको लागि सामाजिक जीबनमा चालु अस्वस्थ प्रतिस्पर्धा, असमानता, घरेलु हिंसा, संचार प्रविधिको दुरुपयोग, नैतिक शिक्षाको अभाव र नक्कल गर्ने मनोविज्ञान पनि उत्तिकै जिम्मेवार कारक तत्व देखिन्छ ।

 

१० सेप्टेम्बरलाई विश्व आत्महत्या रोकथाम दिवसका रुपमा मनाउन थालेको १६ वर्ष हुनगईरहेको छ । १० सेप्टेम्बरलाई आत्महत्या रोकथाम सम्बन्धी अन्तराष्ट्रिय संस्था आइएएसपीर बिश्व स्वास्थ्य संगठनले संयुक्त रुपमा १६ औं विश्व आत्महत्या रोकथाम दिवस विश्वभरि विभिन्न कार्यक्रम गरि मनाई रेहेको छ । नेपालमा पनि मानसिक स्वास्थ्यको क्षेत्रमा कामगर्ने मनोविज्ञान सम्प्रदाय नेपाललगायत विभिन्न संघ संस्थाहरुले विभिन्न कार्यक्रम गरि मनाई रेहेका छन ।

 

यस दिवसको नारा “आत्महत्या रोकथाममा सवैको सहकार्य ”रहेको छ । आत्महत्या विश्वव्यापी समस्याको रुपमा रहेको छ । आत्महत्याले गर्दा घरपरिवार र समाज मात्र नभई समग्र राष्ट्र प्रभावित हुने गर्दछ । आत्महत्यातर्फ अग्रसर हुनु मानवको कहालीलाग्दो पक्ष हो । नेपालले पनि सेप्टेम्बर १० लाई आत्महत्या रोकथाम दिवसको रुपमा मनाउदै आएता पनि बढ्दो आत्महत्याको श्रृंखलालाई प्रभावकारी रोकथाम गर्न सकिरहेको छैन ।

 

नेपालमा आत्महत्यासँग सम्बन्धित नियम कानुनको व्यवस्था तथा कार्यान्यवयन पक्षको प्रभावकारीताको खांचो देखिन्छ । सत्य, अहिंसा, सदभाव, मानवता र मेलमिलापको भावनाले साँस्कृतिक सहिष्णुता र सौहार्दपुर्ण वातावरण निर्माण गर्दछ, यसलाई उच्च प्राथमिकतामा राखिनु पर्दछ। व्यक्ति मनमा डर, त्रास, तनाव, चिन्ता, उदासिनता, दिग्दारी र अन्यौलतापुर्ण भविश्य लिएर धेरै दिन वाँच्न मान्छेसक्दैन ।

 

रोकथाम
आत्महत्या रोकथाम दिवसले लाञ्छना उल्मुलनको लागी समाज र व्यक्तिहरुलाई काम गर्न उत्प्रेरित गर्ने महत्वपूर्ण दिनको रुपमा प्रयोग गर्न सकिन्छ । यस सम्बन्धि अज्ञानता कम गर्नको लागि समुदायमा आधारित मनोशिक्षा सम्बन्धि कार्यक्रम समाजका विभिन्न समुदाय जस्तैः शिक्षा, उमेर, लिङ्ग, धर्म, सस्कृति आदिमा दिनु आवश्यक छ ।

 

ब्यक्तिको मनोवैज्ञानिक पक्षलाई घर परिवार र साथीहरुबाट प्रोत्सँहन, हौसला, एवं मनोवैज्ञानिक,मनोचिकित्सक, मनोविमर्शकर्ता र मनोसामाजिक कार्यकर्ताको उचित मनोविमर्श, मनोचिकित्सा एवं उपचारबाट समयमै आत्महत्याको बढदोक्रमलाई रोकथाम गर्न सकिन्छ ।आत्महत्या रोकथाम तथा प्रभावित व्यक्ति एवं परिवारहरुको हेरचाहको लागि नेपालको आत्महत्या सम्बन्धी कानूनी व्यवस्थाको सम्बोधन गर्नु अत्यन्त महत्वपूर्ण छ ।

 

सूचना सचेतना मार्फत संचारमाध्यमहरुले आत्महत्या रोकथाममा महत्वपूर्ण भूमिका खेल्न सक्छन् । किशोर किशोरीहरुकोआत्महत्यालाई रोकथामको लागी तनाव,असुरक्षा,असमानता, घरेलु हिंसा,सास्कृतिक विचलन कम गर्न मनोवैज्ञानिक मनोविर्मश एवं जीवन उपयोगी सीपहरुको तालीम प्रदान गरी किशोर किशोरीहरुलाई आत्मनिर्भर बनाउन सके आत्महत्याको बढ्दोक्रमलाई रोकथाम गर्न सकिन्छ।

 

आत्महत्याको रोकथामको लागीमनोवैज्ञानिक सम्प्रदाय नेपाल(टिसप नेपाल) ले गत २ वर्षमा३० वटा समुहमा ५५८ जनालाई २ दिने आत्महत्या रोकथाम सहजिकरण तालिम संचालन गर्नुका साथै २४ वटा जिल्लामा १९२ वटा आत्महत्या रोकथाम सचेतना कार्यक्रमवाट १७,००० जना प्रत्यक्ष सहभागि गराई शिक्षित गरेको थियो ।

 

आत्महत्याको उच्च जोखिममा रहेको समुह र मानसिक रोगीहरुको लागी बिशेष मानसिक स्वास्थ्य नीति कार्यान्व्यन गरी आवश्यकता अनुसार मानसिक स्वास्थ्य केन्द्र र मनोविमर्शकर्ताको व्यवस्था गरी आत्महत्या न्यूनिकरण गर्न आमरुपमा पहल गर्दा आत्महत्याको वढ्दोक्रमलाई रोकथाम गर्न सकिन्छ । मानसिक स्वास्थ्य एवं आत्महत्याको बारेमा पर्याप्त जनचेतना जगाउनु पर्ने हुन्छ।

 

(मनोविज्ञानमा विद्यावारिधि गरेका ठगुन्ना मनोविज्ञान सम्प्रदाय नेपालका अध्यक्ष हुन्। उनी त्रिचन्द्र कलेजमा पढाउँछन्।)

२०७५ भदौ २५ मा प्रकाशित

प्रतिकृया दिनुहोस्