Hilsa Yatayat

हुम्लाको नेक्पामा सुक्खा पहिरो खस्दा दुई जनाको मृत्यु, एक वेपत्ता : चार जना घाईते

रत्न भण्डारी (रबिन)/हुम्ला
हुम्लाको नेक्पामा सुक्खा पहिरो खस्दा दुई जनाको मृत्यु, एक वेपत्ता : चार जना घाईते

३० भाद्र सिमकोट । शनिवार दिउँसो खसेको सुक्खा पहिरोमा परि हुम्लाको चंखेली गाउँपालिका वडा नम्बर ५ नेक्पामा दुई जनाको मृत्यु भएको छ। एक जना बालिका वेपत्ता भएको जनाइएको छ । पहिरोमा परि चंखेली गाउँपालिका वडा नम्बर ५ की २४ वर्षीया बसन्ती तामाङ र १३ वर्षीया अनिता तामाङ्गको घटना स्थलमै मृत्यु भएको वडा अध्यक्ष भैरव बहादुर तामाङ्ले सेरोफेरोलाई जानकारी दिए ।

 

एक जना नाम नखुलेकी बालिका अझै बेपत्ता रहेकाले उनको खोजी कार्य जारी रहेको अध्यक्ष तामाङ्गले बताए । सुख्खा पहिरोमा परि अन्य ४ जना घाइते भएका छन् । घाइते हुनेहरूमा ११ वर्षीया अस्मिता तामाङ्ग, ९ वर्षीया बिनिता तामाङ्ग, ११ वर्षीय हेमन्त तामाङ्ग र ८ वर्षीय युकेश छन् । उनीहरुको सिम्रीक एयरको हेलिकोप्टरबाट उद्धार गरि जिल्ला अस्पतालमा उपचार भइरहेको अध्यक्ष तामाङ्गले बताए ।

 

घाईते मध्ये बिनिताको दायाँ खुट्टामा गम्भीर चोट र हेमन्तको टाउकोमा गम्भीर चोट लागेकाले उनीहरूलार्इ थप उपचारका लागि नेपालगंज रिफर गरिएको उपचारमा संलग्न डाक्टर नबिन रोकायाले बताए । अन्य दुई जनाको भने अवस्था समान्य रहेकोले जिल्ला मै उपचार भइरहेको डाक्टर रोकायाले बताए ।

 

शनिवार बेलुका सिम्रीक एयरबाट दुबै जनालाई नेपालगंज रिफर गरिएको निमित्त प्रमुख जिल्ला अधिकारी महेश कुमार पोखरेलले जानकारी दिए । घटना स्थल गाउँपालिका केन्द्रबाट ६ घण्टा पैदल लाग्ने भएकाले प्रहरी त्यसतर्फ लागेको भए पनि शनिवार बेलुकासम्म पुग्न सकेको छैन ।

२०७५ भाद्र ३० मा प्रकाशित

प्रतिकृया दिनुहोस्