Hilsa Yatayat

सुर्खेत बसाइको शैक्षिक आत्मसमीक्षा

जीतबहादुर शाह

करीव २३ महिना अघिदेखि बस्दै आएको कोठामा अव बस्नका लागि एक दिन मात्र बाँकी छ । कुनै बेला त यो कोठामा प्रवेश गर्दा पनि अन्यत्रको आक्रोश कोठासँग फेर्न मन लाग्थ्यो । कोठामा छरपष्ट परेका सामानहरु देख्दा पनि मसँग नै नानाथरि निहु खोजेर मलाई नै उपहास गरे जस्तो लाग्थ्यो । अहिले भने त्यस्तो हुदैन ।

 

बर्षाको पानी सिलीङबाट चुहिएर भित्र नपसोस भन्नका खातीर ठाउँ–ठाउँमा टालो हालेको कोठा पनि चिटिक्क जस्तो लाग्छ । कोठामा सानो कागज र अरु कुनै सामान देखे पनि काम लाग्ने चिज पो हो कि भनेर वल्टाइपल्टाइ नियाल्न मन लाग्छ । झ्यालमा झुण्डिएका पर्दा र पलङभरि असरल्ल परेका लत्ताकपडाहरुको पनि त्यसै त्यसै माया लागेर आउछ । घोत्लिएर हेरिरहन मन लाग्छ, कुनै मन परेको मान्छेलाई जति हेर्दा पनि मन नअघाएजस्तै । यस्तो लागिरहेको छ कि अव यो कोठामा म फेरि नफर्किने गरी छोडेर मात्र जाँदै छैन कि म यो धर्तिमा बाँचिरहे पनि यो कोठाका निम्ति भने मरेर जाँदैछु । सायद यो धर्ति छोडेर सधैंका लागि मृत्युको मुखमा जान तयार भएको बेला पनि मृत्यू सैयामा पल्टिरहेका मानिसलाई यो धर्ति प्रति यस्तै सम्मोहन पलाउँछ होला ।


म पहिले देखि नै त्यति नकारात्मक सोच भएको ब्यक्ति त होइन त्यसमा पनि सुर्खेत छोड्ने बेला आउदै गर्दा जीवन प्रति झनै सकारात्मक भए कि झै लाग्दैछ । कसैले पीडा र दुख दिएको भए पनि त्यसको कुनै हेक्का र हिसाव किताब छैन मसँग । बरु त्यसबाट केही सिकाइ भएकोमा खुशी भएर धन्यवाद दिन खोजिरहेको छ यो मन । सुरुमा जिल्ला शिक्षा अधिकारीको जिम्मेवारी लिएर जुम्लामा जाँदा जुम्ला मेरो लागि रोजाइको जिल्ला नभए जस्तै सुर्खेत आउँदा पनि यो जिल्ला पनि मेरो रोजाइमा थिएन । तथापि जुम्लाले मेरो लागि सिकाइका सन्दर्भमा एउटा विश्विद्यालयले गर्ने काम गरे जस्तो लागिरहेको छ ।

 

अहिले सुर्खेत पनि सिकाइका हिसावले जुम्ला भन्दा झनै महत्वपूर्ण लागिरहेको छ । कहिलेकाही मन नपरेका स्थानहरु पनि जीवन भोग्ने क्रममा अन्तत मुटुका टुक्राजस्ता हुँदा रहेछन् र मन परेका स्थानहरु पनि विझाउने तीखा काँडा जस्तै पीडादायक हुँदा रहेछन् । अर्थात यसो पनि भन्न सकिन्छ, मन परेर विवाह गरेकाहरुसँग पारपाचुके गरेर बाबा आमाले खोजिदिएकासँग जीन्दगी सुखद भए जस्तै अनुभूति भइरहेको छ । यस्तै यस्तै जीवन र जगतप्रति सकारात्मक हुने क्रममा मैले सुर्खेत बसाइको २३ महिनालाई पनि सकारात्मक रुपमा लिएको छु जसलाई केही शब्दहरु खर्च गरेर पस्कन मन लागिरहेको छ ।


म बर्दियाबाट सुर्खेत आउने क्रममा कार्तिक महिना आरम्भ भएको थियो । आउने वित्तिकै तत्कालीन जिल्ला शिक्षा अधिकारीको भूमिका निर्वाह गरिरहेको यो पङ्तिकारसँग अन्य कुराका अतिरिक्त विद्यालय भौतिक निर्माणका कोटाका निम्ति आवश्यकता भन्दा बढि भेटघाट, भलाकुसारी र टेलिफोन हुन्थे । हाम्रो नीतिगत असावधानीका कारणले साँच्चिकै सुर्खेतमा यो समस्या अलि चर्को देखियो । बर्दियामा तीनसय सामुदायिक विद्यालय र सुर्खेतमा पाँचसय भन्दा बढि विद्यालय । विद्यालयका भौतिक पूर्वाधारका कोटाको संख्या भने उस्तै उस्तै । विद्यालय संख्या भन्दा पनि विद्यार्थी संख्याको हिसाव गर्ने कारणले यस्तो हुँदोरहेछ । यस्तो अवस्थामा विद्यालय संख्याको अनुपातमा विद्यालय भौतिक निर्माणका कोटाहरु स्रोतकेन्द्रहरुलाई बाँडियो र स्रोतकेन्द्रस्तरमा सञ्चालन हुने प्रधानाध्यापकको बैठकलाई निर्णयको जिम्मा दिने काम भयो । यसबाट जसले पाउनु पर्ने हो उसैले नै निर्णय गर्नेगरी लोकतान्त्रिक अभ्यास गरियो ।


यसको सकारात्मक प्रभाव विद्यालय र प्रधानाध्यापकहरुले गर्ने कार्यसम्पादनमा समेत देखियो । विद्यालय भौतिक सुधारका कोटा पाउनेहरुको बीचमा छिटो कार्य सम्पन्न गर्ने हेतुले प्रतिष्पर्धाको भावना सिर्जना गर्नका लागि सवैभन्दा पहिले कार्य सम्पन्न गर्ने विद्यालयहरुलाई अर्कोपटक पनि उनीहरुको आवश्यकतालाई मध्यनजर राखी भौतिक पूर्वाधारको कार्यक्रम प्रदान निर्णय गरियोे । यही निर्णयकै कारण त्यो वर्षका भौतिक पूर्वाधारका कार्यक्रमहरु सम्पन्न हुन नसकेको कारण अर्को वर्ष बेरुजु लेख्नु परेन । कोटा वितरणको यो पद्धतिले जसलाई चाहिएको थियो र जो यो कार्यक्रमको भोको थियो त्यसलाई यथोचित किसिमबाट सम्बोधन गर्न सहज भयो र भनसूनको गुञ्जायस भएन । यसका साथै पहुँचका आधारमा भौतिक पूर्वाधारका कोटा लिने र आफ्नो सजिलो हेरेर समय मिलाइ त्यो काम गर्ने परिपाटीले बेरुजुको भोलुम बढ्ने समस्याको पनि पूर्णरुपमा रोकथाम भएको देखियो ।


तत्कालीन जिल्ला शिक्षा कार्यालयले सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुसँग तेइस बुँदे कार्य सम्झौता गर्ने कार्यको थालनीले धेरै विद्यालयहरुमा सुधारका लक्षणहरु देखा परेका छन् । यो काम अहिले पनि पालिकास्तरमा शिक्षा शाखाबाट सञ्चालन भइरहेको छ । यसले गर्दा सक्षम, जागरुक र केही गरेर देखाउ भन्ने स्वभावका प्रधानाध्यापक भएका विद्यालयहरुमा अभिभावक र विद्यार्थीमैत्री क्रियाकलापहरु सञ्चानल गरेर विद्यार्थीहरुको घट्दो संख्यालाई बृद्धि गर्ने काम भइरहेको छ । यो क्रममा विद्यालयहरुले सम्पादन गरेका गतिला र नवप्रवर्तनात्मक कार्यहरुलाई सार्वजनिक गर्ने काम पनि भएको छ ।

 

मा.वि. गुटुले साना कक्षाका विद्यार्थीहरुलाई नैतिकबान र अनुशासित बनाउन प्रयोग गरेको कलश र मञ्च एक प्रतिभा अनेक कार्यक्रम, मा.वि. साल्कोटले ३ मिनेटमै तेरहसय भन्दा बढि विद्यार्थीहरुको उपस्थिति उठाउने कार्यको सफल अभ्यास, मा.वि. लाटीकोइलीले गरेको मनिटर र विषयगत दक्ष विद्यार्थीको प्रयोग, मा.वि. विरेन्द्रनगर र मा. वि. गाग्रेतालले माथिल्ला कक्षाहरुमा सिकाइ सुधारका लागि प्रयोग गरेको प्लस तालिकाको प्रयोग, आ.वि. चिसापानीले धेरै हाजिर हुने विद्यार्थीहरुका निम्ति मासिक रुपमा पुरष्कार प्रदान आदि यो पङ्तिकारले आफ्नै आँखाले देखेका सफल प्रयोगहरु हुन भन्ने लाग्छ ।

 

तेइस बुँदे कार्यसम्झौताकै असरले अहिले धेरै विद्यालयहरुमा धेरै कुराको सुधार भएको देखिन्छ । विद्यालयमा जङक पूmड निषेध गरिएको छ । यसको दृष्टान्तको रुपमा प्रा.वि.पदमपुर लगायतका विद्यालयहरुलाई लिन सकिन्छ । कतिपय विद्यालयहरुका एकाध शिक्षकहरु विद्यालय समयमै निर्धक्कसँग मदिरा सेवन गरेर आउने प्रचलनमा अव भारी कटौती भएको छ । विद्यालयका तथ्याङ्कहरु ब्यवस्थित भएका छन् । सुर्खेतको सदरमुकाममा काजमा थन्किएका शिक्षकहरु आ–आफ्नो विद्यालयमा फर्केका छन् । यो मामलामा द्विविधामा देखिएको शिक्षक महासङ्घ अहिले सहकार्यमा सङ्लग्न छ ।

 

शिक्षाका सरोकारवालाहरुमा नियम कानून मिचेर भनसून, भेटघाट र फोनको भरमा काम गर्न सकिन्छ भन्ने रवैया अव शून्यमा झर्दैछ भन्दा अतिशयोक्ति हुन्छ जस्तो लाग्दैन । सवैभन्दा गर्वकोे कुरा त यो पङ्तिकारलाई धेरैजसो माध्यमिक तह अर्थात कक्षा ९–१० मा अध्ययनरत धेरै विद्यार्थीहरुले चिन्छन् र कतै भेट भयो भने हार्दिकतापूर्वक अभिभावदन गर्छन । कतिपयले ‘तपाईका कुराले हामी बदलिएका छौं’ भन्छन् । यो सुन्दा आनन्दको अनुभूति हुन्छ ।


अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा विभिन्न विद्यालयहरुसँग सम्बन्धित उजूरी र मुद्धाहरु भए पनि जिल्ला शिक्षा कार्यालय र इकाइसँग सम्बन्धित मुद्धाहरुको परिमाण शून्य छ । विद्यालयसँग सम्बन्धित मुद्धाहरुको परिमाण पनि घट्दो क्रममा छन् । एकैदिन एकै समयमा धेरै विद्यालयहरुमा गरिएको प्रशासनिक अनुगमनले अधिकांस शिक्षकहरुलाई आफ्नो जिम्मेवारीप्रति अलिकति भए पनि सचेत र जिम्मेवार बनाएको देखिन्छ । पछिल्ला दिनहरुमा शिक्षक महासंघ सँगको सहकार्यले जिवन्तता पाएको छ । महासंघसँगकै सहकार्यको परिणामस्वरुप राष्ट्रिय शिक्षा दिवसलाई शिक्षामा राम्रो काम गर्नेहरुलाई सम्मान गर्दै जिल्लास्तरमा प्रभावकारी रुपमा मनाउने काम भएको छ । यसका साथै पहिलेदेखि नै यो पङितकारका पूर्वजहरुले कायम गरेको विद्यालय शान्ति क्षेत्रको अवधारणाले निरन्तरता पाइरहेको छ ।


यो पङ्तिकारलाई सुर्खेतमा काम गर्ने क्रममा सुशील नामका दुइजना विज्ञसँग काम गर्ने अवसर जु¥यो । एउटा मनोबैज्ञानिक डा.सुशील कडेल र अर्को यूनिक ब्रेनका प्रशिक्षक सुशील गुप्ता । डा. सुशील कडेलले मनोसामाजिक समस्यामा परेका धेरै विद्यार्थीहरुको समस्या समाधानका लागि हामीसँग सहकार्य गर्नुभयो । अहिले ती बालबालिकाहरु त्यस्ता समस्याबाट मुक्त छन् । त्यसरी नै यूनिक ब्रेनका सुशील गुप्ताबाट सफ्टवेयर मार्फत बालबालिकाहरुको ब्रेनको विश्लेषण गर्ने विधिको बारेमा परिचित हुने अवसर मिल्यो । मेरो कार्यसम्पादनको स्तर सुधार गर्ने मामलामा सुशील द्वयकोे योगदानलाई पनि सम्मान गर्न मन लाग्छ ।

 

यो पङ्तिकारले सार्वजनिक पदमा बसेर काम गर्ने क्रममा सुर्खेतबासी मात्र नभइ समग्र कर्णालीबासीले मेरो निम्ति असल अभिभावकको भूमिका निर्वाह गरे जस्तो अनुभूत भइरहेको छ । उचित कामको प्रशंसा गर्ने र अनुचित कामको खवरदारी गर्ने कार्यले मानिसलाई राम्रो हुनका लागि अभिप्रेरित गर्दोरहेछ जुन कुरा मैले सुर्खेतमा पाएँ । मैले जस्तै सवैले यो अवसरमा पाउने हो भने मान्छेका मन र सोचहरु कुत्सित भावनाका सिकार हुने थिएनन् होला जस्तो लाग्छ ।

 

एउटा संस्था वा कार्यालय सञ्चालन गर्ने कुरा टिममा आधारित हुन्छ । भलिबल वा पूmटवल टिममा एउटा खेलाडी मात्र कमजोर भइदियो भने अरुको दक्षता र निपूणता पनि कामयावी हुन सक्दैन । कहिलेकाही त्यस्तो हविगत भोगेको अनुभूति पनि फ्यास ब्याकमा सुरक्षित छ । तर नगण्य रुपमा । कार्यालय र त्यसको प्रमुखले तोकेको जिम्मेवारी भन्दा पनि अरु कुनै अमुक शक्ति र स्रोतप्रति आशक्त हुने एकाध पात्रहरु भेटिनु अस्वाभाविक हो जस्तो पनि लाग्दैन ।

 

चार जात छत्तिस वर्णको फूलबारीमा एकै किसिमका फूलहरुको खोजी गर्नुपनि मुर्खता हो जस्तो पनि लाग्छ । समग्रमा शिक्षाको विकास र सुधारका कुरा एउटाबाट मात्र सम्भव हुदैन । यसका लागि डोरी तान्ने खेलमा जस्तै एकैपटक झट्का दिने अर्थात ब्रेक थ्रो हुने गरी सरोकारवालाहरु जुटेपछि मात्र बिजय सम्भव हुन्छ । शिक्षाका निम्ति र त्यसमा पनि असल र जीवनोपयोगी शिक्षाका निम्ति तीनवटै सरकार लगायत शिक्षाका सम्पूर्ण सरोकारवालाहरु गम्भीर र संवेदनशील भइ जुट्यौंं भने गुणस्तरीय शिक्षा हाम्रा निम्ति आकाशको फल भइरहने छैन । सवैलाई चेतना भया ।

 

(लेखकको फेसवुकबाट साभार गरिएको)

२०७५ असोज ५ मा प्रकाशित

प्रतिकृया दिनुहोस्