Hilsa Yatayat

कर्णालीमा र्‍याफ्टिङ्गको सम्भावना

ज्ञानेन्द्र गौतम (समुन्द्र)
कर्णालीमा र्‍याफ्टिङ्गको सम्भावना

नेपालमा र्‍याफ्टिङ्गको व्यावसायिक सुरुवात सन् १९८० को दशकबाट भएको पाइन्छ । डिसेम्वर १९८९ मा नेपाल एसोसिएसन अफ र्‍याफ्टिङ्ग (NARA) को गठन भइसके पश्चात यस व्यवसायले त्रिशुली, भोटेकोशी, कालीगण्डकी हुदै देशका विभिन्न नदीहरुलाई समेटी ठूलो आकार लिँदै गएको देखिन्छ ।


सुरुवात दिनहरुमा गोरा छाला भएकाहरुले मात्र र्‍याफ्टिङ्ग गर्दछन् वा गर्नुपर्दछ भन्ने मान्यता बोकेको हाम्रो नेपाली समाज सन् २००० देखि २०१० हुँदै हालसम्म आउँदा ठुलो भन्दा ठुलो संख्यामा जलयात्रामा सहभागी हुने र आनन्द लिने गरेको देखिन्छ । फलत जलयात्रामा सहभागी हुनेहरु मध्ये सवैभन्दा ठुलो हिस्सा आन्तरिक पर्यटक कै छ भने त्यसपछि मात्र भारतीय र वाह्य मुलुकका पर्यटकको संख्या देखिन्छ ।


नेपालमा साहसिक पर्यटन अन्तर्गत पद यात्रा र पर्वतारोहण पछि वढी सम्भावना बोकेको र्‍याफ्टिङ्ग अर्थात् जलयात्रा पर्यटन हो । नेसनल जियोग्राफिका अनुसार विश्वका उत्कृष्ट देश, जल यात्रामा नेपाल १० औँ स्थानमा पर्दछ भने एसियाको सर्वोत्कृष्ट जलयात्राको सम्भावनाको रुपमा नेपाललाई लिइन्छ ।


नेपालमा ६ हजार नदिनाला छन् । जस मध्ये नेपालले १६ वटा नदी हरुलाई मात्र जलयात्राका लागी खुल्ला गरेको छ । जसमा जलयात्रा नियमावली २०६३ वमोजिमका मापदण्ड पूरा गरी नेपाल पर्यटन वोर्ड वाट अनुमति प्राप्त जलयात्रा व्यवसायीहरुले मात्र जलयात्रा सञ्चालन गर्दै आएका छन् । नेपाल सरकारले जलयात्राका लागि खुल्ला गरिएका नदिहरुमा व्यवसायि कम्पनीहरुले एक दिने प्याकेज देखि लिएर १२ दिने प्याकेजहरु विक्रि गरि ¥याफ्टिङ्ग सञ्चालन गरिएको पाइन्छ ।


सवभन्दा छोटो दुरीको र्‍याफ्टिङ्गको लागी भेरी, त्रिशुली, भोटेकोशी, बलेफि आदि प्र्रख्यात छन् । जसमा १ घण्टा देखि ४ घण्टा सम्म ¥याफ्टिङ्ग गर्न सकिन्छ भने सुनकोशी (तल्लो), तमोर र कर्णालीमा क्रमश ९, ११ र १० दिनको प्याकेजमा जलयात्रा सञ्चालन हुदै आएको पाइन्छ ।


हाम्रो प्रदेशमा अव्यवस्थित भेरी नदीलाई विश्वका कायकिङ्गका लागि उत्कृष्ट नदीहरु मध्य एकमा गनिन्छ । कायकिङ्ग अर्थात एकल जलयात्राका लागी Grade1 देखि Grade2 र्‍यापिड उपयुक्त मानिन्छ । जो भेरी नदीको धेरै हिस्सामा पर्दछ । Grade 3 देखि Grade 4 सम्म र्‍यापिडको मज्जा लिनका लागि भेरी नदीको समझी घाट देखि रानीघाट सम्मको जलयात्रालाई उपयुक्त मानिन्छ ।


त्यसैगरी Grade 1 देखि Grade 6 सम्मको र्‍यापिडको मज्जा लिनको लागि कर्णाली नदिको तल्लो डुङ्गेश्वर देखि बर्दिया र कैलालीको सिमानामा पर्ने चिसापानि पुलसम्मको यात्रालाई उपयुक्त मानिन्छ । जसका निम्ति डुङ्गेश्वर देखि ८ दिन ७ रात को यात्रा तय गर्नु पर्ने हुन्छ ।


विश्वमा र्‍याफ्टिङ्गको लागि उपयुक्त भएका नदी नभएका देशहरुले ठुलो धनराशी खर्च गरेर कृत्रिम नदी वनाई र्‍याफ्टिङ्ग, कायकिङ्ग सञ्चालन गरिरहेको छन् जसको मुख्य उद्देश्य भन्नु नै आफ्ना नागरिकलाई र पर्यटकहरुलाई भरपुर मनोरञ्जन दिने, व्यावसायिकता प्रदान गर्ने अनि ठुलो मात्रामा पर्यटन भित्राउनु नै हो ।


सन २०१२ को लण्डन ओलम्वीकमा पनि र्‍याफ्टिङ्गकै लागी कृत्रिम नदि वनाइएको थियो । यस सन्दर्भलाई हेर्दा नेपालमा प्राकृतिक रुपमै सेताम्य हिमाल देखि हराभरा पहाडहरु छिचोल्दै सुन्दर छहरा, छालको रुप लिई कलकल वगिरहेका नदिहरु छन । यहाँ कृत्रिमताको कुनै पनि अंश छैन । वारीपारी मनोरम देखिने जंगलहरुको वीचवाट जलयात्रा गर्दा विभीन्न प्रजातीका चराचुरुङ्गी, जङ्गली वन्यजन्तु आदीको भरपुर आनन्द लिन सकिन्छ ।


अर्को महत्वपुर्ण कुरा के छ भने हाम्रो देशमा कर्णाली प्रदेश नै यस्तो प्रदेश हो जसका दश वटै जिल्लाहरुलाई दुई विशाल नदिहरु भेरी र कर्णाली बगिरहेका छन । यस पृष्टभुमीमा कर्णाली प्रदेशले जलयात्रा पर्यटनलाई प्रवद्र्धन गर्दै यसलाई यहाँको समृद्धिको मुख्य आधारको रुपमा विकास गर्दै लैजानुपर्ने ठोस आवश्यकता देखिन्छ ।

 

त्यतिमात्र नभएर काञ्जीरोवा देखी अपी सैपाल सम्मको हिमश्रृङखला र रारा देखि फोक्सुन्डो सम्मको पदमार्गलाई विकास गरी समग्र कर्णाली प्रदेशलाई नेपालकै उत्कृष्ट शाहसिक पर्यटनका गनतव्यको रुपमा अगाडी लैजानु पर्दछ ।


नेपालमा ७० भन्दा वढी र्‍याफ्टिङ्ग कम्पनीहरु दर्ता भएको पाइन्छ भने नेपाल एसोसियसन अफ र्‍याफ्टिङ्ग एजेन्सीज (नारा) मा आवद्ध भएका गत आ.व. २०७४/७५ को तथ्याङ्कलाई हेर्ने हो भने देशभरमा ३० वटा र्‍याफ्टिङ्ग कम्पनीहरु सञ्चालनमा रहेका छन् । कर्णाली प्रदेशमा भेरी र कर्णाली नदीलाई लक्षित गरी खोलिएको तथा पर्यटन वोर्ड वाट अनुमति प्राप्त दुइवटा कम्पनीहरु सञ्चालनमा रहेका छन् ।


जसमा भेरी कर्णाली र्‍यापिड एड्भेन्चर प्रा.ली ले मध्य तथा सुदुर पश्चिम नेपालमै पहिलो पटक वि.स. २०६९ साल देखि व्यावसायिक रुपमा जलयात्रा सञ्चालन गर्दै आइरहेको छ । नेपालमा नारायणी नदि देखि पश्चिम तिर आउँदा कर्णाली नदि सम्म लाई लक्षित गरि हाल झण्डै आधा दर्जन र्‍याफ्टिङ्ग कम्पनीहरु दर्ता भई सञ्चालनमा आएको देख्न सकिन्छ ।


त्यसैगरी पछिल्लो समय पश्चिम सेती र कर्णालीलाई लक्षित गरि सञ्चालनमा ल्याइएको कर्णाली र्‍याफ्टिङ्ग एण्ड एडभेन्चर प्रा.लि ले ठुलो मात्रामा नेपाली, भारतीय र तेश्रो मुलुकका पर्यटकहरुलाई सेवा प्रदान गर्दै आइरहेको पाइन्छ । वर्दिया राष्ट्रिय निकुञ्ज देखि टिकापुर पार्क क्षेत्र तथा सेती र कर्णाली नदी क्षेत्रको संगमको रुपमा रहेको कर्णाली चिसापानी पछिल्लो समय ठुलो पर्यटकिय गन्तव्यको रुपमा विकासित हुँदै जाँदा त्यस क्षेत्रमा जलयात्रा पर्यटन ले ठुलो आकार लिने प्रशस्त सम्भावना देखिन्छ ।


कर्णाली प्रदेशमा शाहसिक पर्यटन जलयात्रा पर्यटनको प्रचुर सम्भावना रहेता पनि धेरै चुनौतीहरु छन् । सुर्खेतमा जलयात्रा पर्यटन भित्रिएको झण्डै ६ वर्ष पुग्न लाग्दा पनि एउटा दरिलो व्यावसायको रुपमा यो उभिन सकेको छैन ।


स्पष्ट व्यावसायिक भिजन, व्यावसायिक योजना नहुँदा साथै जलयात्रा व्यवसायको मूल मर्म, भावना, मूल्य र मान्यतालाई नवुझि अस्वस्थ लगानी र प्रतिस्पर्धाको वाटोमा अगाडि जाँदा व्यवसाय नै धरासयी र नाजुक रहेको तितो यथार्थलाई स्वीकार गर्नै पर्ने हुन्छ ।


हामीले जलयात्रा व्यवसायलाई स्वत स्फूर्त अगाडी लैजान नसक्नुको पृष्ठभूमिमा यथार्थ र त्रुटिहरुलाई आत्मसाथ गरि व्यवसायलाई फलाउन र फुलाउन यसलाई उत्साह उमङ्ग उर्जाशिलता र श्रृजनशिलताका साथ अगाडी बढाउने वातावरण तयार गर्न सम्बन्धीत सम्पुर्णले आ–आफ्नो भूमिका निर्वाह गर्नै पर्दछ ।


यो व्यवसाय हामी कोही १/२ जना सँग मात्र जोडिएको अवस्य होइन यो त समग्र कर्णाली प्रदेशको पर्यटन क्षेत्र, यहाँको जनतासँग, काम गरि खाने मजदुरहरुसँग पत्यक्ष वा अप्रत्यक्ष रुपमा जाडिएको छ, तसर्थ सम्बन्धीत हामी सवैले एक पटक निधार खुम्च्याएर सोच्नै पर्दछ र जलयात्रा व्यवसाएको प्रवद्र्धनमा खुलेर सहयोग गर्नु पर्दछ ।


त्यसै गरि कर्णाली प्रदेशमा जलयात्रा व्यवसाय फस्टाउन नसक्नुको अर्को महत्वपुर्ण कारण भनेको हामीले स्थानीय र्‍याफ्टिङ्ग गाइड उत्पादन गर्न नसक्नु पनि हो । वर्ष भरीमा अआसेज कार्तिक, मंशिरको एक सिजन र चैत्र, बैशाख, जेष्ठ गरि २ सिजन मा ६ महिना र्‍याफ्टिङ्गका लागि उपयुक्त मानिन्छ ।


६ महिना दुःख गरि वर्ष भरी धान्नु पर्ने यस व्यवसायमा एक वोटमा एक जना तालिम प्राप्त गाइडको आवश्यकता पर्दछ । सुरुवातका दिन देखि नै हामीले सुर्खेतमा चितवन गोर्खा र धादिङ्ग देखि गाइड मगाएर सञ्चालन गरिरहेका छौँ।


सिजनका वेला त्यहाँका गाइडहरुले दैनिक ३ हजार देखि ५००० सम्म कमाउने गर्दछन् । उनिहरुलाई त्यती टाढाबाट हामी कहाँ वोलाएर र्‍याफ्टिङ्ग सञ्चालन गर्दा ट्रिपमनि भत्ता, खाना, यातायात खर्च सवै जोड्दा सञ्चालन खर्च (Operation cost)  नै एकदम हाई जान्छ , फलतः व्यावसायिले वढि घाटा व्यहोर्नु परिरहेको छ ।


त्यसैगरि तेस्रो महत्वपुर्ण कुरा के हो भने हामीकहाँ नदि संरक्षण सम्वन्धी स्पष्ट नीति नहुँदा नदिबाट आन्धाधुन्दा रोडा, वालुवा निकाल्ने, नदि भित्रै स्काभेटर, टिप्पर, टेक्टर लैजाने गर्नाले नदि सम्म जाने बाटोको रुप रंग नै बदलिएको, आफ्ट्यारो बनेको छ । नदिका छेउछाउका रमणीय पिकनिक स्थलहरुको स्वरुपनै बदलिएको छ ।


सबै खाल्डा खुल्डा र फोहोर देखिएको छ जसका कारणले पर्यटकले गाडीमा नदि सम्म जाँदा सास्ती व्यहोर्नु पर्ने, त्यहाँ पुगिसके पछि आकर्षित भन्दा विकर्षित हुनु पर्ने तितो यथार्थ व्यहोर्नु परिरहेको छ । माथि उल्लेखित समस्याहरुका बीचमा हामीले जल यत्रालाई प्रचार प्रसार गर्न नसक्नु, राज्य र सम्बन्धित निकायहरुसँग आवश्यक समन्वय गरेर संरक्षण र सम्बर्धनमा अगाडी बढ्न नसक्नु पनि अर्को समस्या तथा चुनौतिको विषय हो ।


अतः अस्वस्थ प्रतिस्पर्धाको अन्त्य, तालिम प्राप्त स्थानिय गाईडको उत्पादन, नदि र नदिसम्म जानेबाटोको संरक्षण ठूली भेरी सानी भेरी हुँदै बनेको भेरी नदि, मुगु कर्णाली हुम्ला कर्णाली हुँदै बगेको कर्णाली नदिहरुको सिरै देखि जामु काईने, घाटगाउँको संगम स्थल हुँदै कर्णाली चिसापानी भएर टिकापूर पार्क सम्मका छोटा तथा लामा जल यात्रा दुरीहरुको पहिचान गरि स्थानियलाई गाईड तथा होमस्टे संचालन तालिम प्रबन्ध साथै वाटर स्पोटर्सहरु र्‍याप्टिङ्ग कायकिङ्गको आयोजना, समुचित प्रचार प्रसार भएमा यसले प्रत्यक्ष परोक्ष रुपमा समग्र कर्णाली प्रदेशको विकास र समृद्धिको यात्रामा कोसेढुङ्गा सावित हुनेछ ।

२०७५ असोज ७ मा प्रकाशित

प्रतिकृया दिनुहोस्