Hilsa Yatayat

कम्युनिष्टको गाउँमा छुवाछूतको जालो !

विश्वदेव भट्टराई
कम्युनिष्टको गाउँमा छुवाछूतको जालो !

छुवाछूत उन्मूलन भएको दशकौं बितिसक्दा पनि देशमा छुवाछूतको अवस्था विकराल छ भन्दा काठमाडौं खाल्डोका शिक्षित वर्गहरूलाई विश्वास नलाग्न सक्छ। हुन पनि राजधानी बसेर सारा संसारका खबर राख्न र विदेशी च्यानल र इन्टरनेटमा व्यस्त विद्धत् वर्गहरूलाई देशको ग्रामीण परिवेश र भोगाइहरूतर्फ ध्यान दिने सायदै फुर्सद होला।

 

एकातिर देशको व्यवस्था बदलिएर यूरोप अमेरिकाको भन्दा उत्कृष्ट संविधान बनायौं भन्ने सरकार र अर्कातिर छुवाछूतको पुरानै ढर्रामा जेलिएको तिनकै कार्यकर्ताको गाउँ । एकातिर देशले विकासको चरम गति लिन पर्ने समय, अर्कातिर हाम्रो कुण्ठित समाज।

 

प्रसंग एउटा भ्रमणको, जसमा ५ दिनको छोटो परिचर्या र स्व–मूल्याङ्कनबाट उकुसमुकुस भएको भावनालाई यस लेखमार्फत् उतार्ने प्रयास गरिएको छ।

 

केही समय पहिले कामको सिलसिलामा म्याग्दी जिल्लाको साविकको ताकम गाविसमा सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय बाग्लुङको परामर्शदाता भै सो क्षेत्रमा लागू धनाबस्ती विस्तार तथा विकास कार्यक्रम अन्तर्गत धनाबस्तीको योजनाको पुनर्मूल्याङ्कन तथा केही परियोजनाको डिपिआर निर्माण गर्ने कार्यमा समाजशास्त्री गणेश भट्टराईसँगै जाने अवसर जुट्यो।

 

काठमाडौंबाट धूँवाधूलो र जामको बडो सकसपूर्ण यात्रा, यात्राको क्रममा गाडीका सहचालकले यात्रुसँग शौच गर्न गाडी रोक्ने विषयमा भएको भनाभन र दुर्व्यवहार।

 

सो क्रममा ट्राफिक प्रहरीलाई १०३ मा फोन गरिदिएको उजुरीको झछपट प्रतिक्रिया देखी मनमा खुसी छाएको थियो । तर, त्यो कुरा त्यतिबेला सेलायो जतिबेलासँगै यात्रा गरेका यात्रु लगाएयत जुन यात्रुलाई सहचालकले दुर्व्यवहार गर्यो, उसैले ‘उजुरी चै नगरी हालेको भए हुने’ भन्दै ङिच्च परेको देख्दा आफैंले पो गल्ती गरेको तितो अनुभव भयो।

 

लगभग १६ घण्टाको अनवरत यात्रा पश्चात हिमालको काखमा अवस्थित रमणीय गाँउ ताकम पुगियो। विगतमा ताकम गाविसबाट चिनिने, हाल धवलागिरी गाउँपालिकाको वडा नं ७ मा रहेको ताकम क्षेत्रले वरिपरिका गाँउहरू, धारापानी, सिवांग, काफलडाँडा, हिलापोखरी, मच्छिम समेतलाई जनाउँदछ।

 

कामको सिलसिलामा त्यहाँका धेरै तथ्यांक संकलन गर्नुपर्ने र विभिन्न चरणमा छलफल तथा गोष्ठीहरू गर्नुपर्ने भएकाले केही दिन त्यतै बस्नुपर्ने थियो। ताकममा मगर, दलित, क्षेत्री, ब्रह्माण लगायतका जातजातिहरूको सगोल बस्ती बसेको छ।

 

थापा राजाहरूको राज्य रहेको इतिहास बोकेको ताकममा ऐतिहासिक तामा खानीका गुफाहरू यत्रतत्र रहेका देखिन्छन्। सो अवलोकनको क्रममा चाणक्यको अर्थशास्त्रमा उल्लेख भएको ‘नेपालको तामा, उन र छाला उत्कृष्ट रहेको’ कुराको याद आयो। ती गुफाहरू हेर्दा लाग्थ्यो, त्यहाँबाट निर्यात गर्ने किसिमले नै तामा खानीको उत्खनन हुन्थ्यो, जुन कुराको पुष्टि नजिकै रहेको छन्त्याल (खानी उत्खनन गर्ने विषेष पेशागत वर्ग) जातिको बस्तीले गर्दछ । त्यस क्षेत्रका निर्वाचित जनप्रतिनिधिमध्ये गाउँपालिकाका उपाध्यक्ष त्यस्तो प्रविधि अहिले लोप भएकोमा चिन्तित देखिनु हुन्थ्यो। आयातमुखी हाम्रो देशमा यस्तो किसिमको औद्योगिकरण सयौं वर्ष पहिल्यै भएको देख्दा, आजको हाम्रो अवस्थाप्रति आफैंलाई पनि लाज लागेर आयो।

 

ताकम भ्रमणकै सिलसिलामा धेरै कुराहरू उजागर भएको छ। ग्रामीण परिवेशसँग चिरपरिचित भएता पनि परिवर्तित समयमा अपेक्षा गरिए भन्दा पृथक पाइयो ताकम। नजिकै स्वास्थ्य चौकी, कृषि तथा पशुका सेवा केन्द्र, हुलाक कार्यालय, प्रहरी चौकी, विद्यालय, घना बस्ती कार्यक्रमले खुलाएका बाटाहरू अनि सेवा पुर्याउने घरधुरी जम्मा ८५० चानचुन।

 

विकट गाँउहरूमा पनि सेवा सुविधाको पहुँच राम्रैसँग पुगेको देखेर साह्रै खुसी लाग्यो। तर मन त्यति बेला कुडियो जब हेल्थ पोष्टमा कार्यरत ५ मध्ये तीन जनाले गाउँमै मेडिकल चलाएका रहेछन् र हेल्थपोष्ट ११ बजेदेखि ३ बजेसम्म मात्र खुलेको पाइयो। त्यो संयोग परेको हो या के हो, थाहा भएन, तर हामी त्यहाँ पुग्दा २ जना कर्मचारी आत्तिदै आइपुगेको देख्दा त्यहाँको चलननै त्यस्तै रहेछ भन्ने अनुमान गरियो।

 

होला, परेको बेला राति २ बजे पनि उठेर सुत्केरी सेवा दिनु परेको छ तर सो सेवा पुर्‍याउन सरकारले प्रजनन केन्द्रका स्वास्थ्यकर्मीहरूलाई सुत्केरी गराए बापत् प्रोत्साहन भत्ता दिँदै अएको छ। 

 

स्वास्थ्य कर्मचारीको मात्र कुरा होइन स्कुलका हेडसरको स्टेसनरीबाट नै विद्यालयका पुस्तकहरू बेचिदो रहेछन्। गाउँपालिका कार्यालय मूनामा (नजिकको अर्को साविकको गाविस) राख्ने कि ताकममा भन्ने लामो विवाद पश्चात् मूनानै राख्ने निर्णय भएता पनि कार्यालय चै १० घण्टाको पैदल दूरी वा ३ घण्टाको बस यात्रा टाढा सदरमुकाम बेनीमा नै राखिएको छ। घरघरमा सिंहदरबार पुगेको कुरा सम्झेर मित्र गणेश र म अवाक्क भयौं।  

 

हिमालको काखैमा रहेको ताकम प्रकृतिले जति सुन्दर बनाएको देखिन्छ, परिवेश भिन्न पाउँदा जोकोहीलाई खिन्न लाग्नु स्वभाविक नै हो। भ्रमण तथा कुराकानी कै सिलसिलामा छुवाछूतको अवस्थाबारे जान्न मन लागेर जनप्रतिनिधिसँग जिज्ञासा राखे। त्यहाँ पुगेपछि थाहा भैसकेको थियो, ताकममा नेकपा एमालेको स्थानीय सरकार भारी मतले विजयी भएको छ। यसै क्रममा उहाँले बताउनु भयो कि, स्थानीय मन्दिरहरूमा अझै दलितहरू प्रवेश गर्दैनन् (वा गर्न दिइन्नन्), मेला पर्वमा छोएको चल्दैन, भोज भतेरमासँगै लाइनमा बसेर खाइँदैन, अलग्गै दिइन्छ। दलितहरूले बोलाए, छुट्टै पकाउने व्यवस्था मिलाइन्छ। यो त नेपलाका तमाम गाउँहरूको परिदृश्य हो, जुन ताकममा अनपेक्षित थिएन ।

 

विडम्बना त्यतिबेला लाग्यो जतिबेला एमजना जेष्ठ नागरिक हाम्रो समूहलाई निकै बेर पछ्याइरहे। बडो पीडाको भाव झल्किन्थ्यो उनको अनुहारमा र लाग्थ्यो उनले हामीलाई केही भन्न खोजिरहेका छन्। निकै बेरपछि उनले पानी खान नपाएको र उनको घरमा जाने धारा बन्द रहको रहस्य खोले।

 

 केही स्थानीय साथीहरूले उनले मदिरा पिएको र उनको कुरामा ध्यान नदिन हामीलाई भन्दै थिए। हामीसँगै हिँडेका खानेपानी उपभोक्ता समितिको अध्यक्ष समेत रहनु भएका साथीलाई उहाँको कुरा सुन्न आग्रह गरेता पनि खासै महत्त्व दिएनन् । पछि समाजशास्त्री साथीले उनीसँग हामी हिँडेको मौकामा केहि बेर गफ गर्न भ्याएछन् । उनी दलित रहेको र उनको घरमा जाने धारासँगैका कथित उपल्लो जातिका छिमेकीहरूले बारीमा पानी लगाउन भनेर छुटाउँदा रहेछन्।

 

आफू दलित भएकै कारण आफूलाई यस्तो व्यवहार गरेकोप्रति दुखी थिए। आफ्नो पीडा कसैले पनि नसुनेपछि गाँउमा नयाँ मान्छे (जो उनको नजरमा ठूलो लागेको) आएपछि सुनुवाइ होला भन्ने आशामा पछि लागेका रहेछन् ।

 

तर, अपशोच हामीले त्यहाँका सम्बन्धित व्यक्तिलाई झिनो आग्रह गर्न मात्र सकेयौं।

 

सोही दिन, साँझ हामी बसेको खाजा घरको दृश्य पनि पृथक थिएन।

 

मित्र गणेश र म थाकेर खाजा पानी खान बसेका थियौं। एक जना अधबैंसे पुरुष आएर ढोका छेउमा कसैलाई छोइन्छ झैं बसे। पसले दिदीले अलग्ग गरेर एक गिलास रक्सी दिइन् । त्यसपछि मैले मेसो पाए, मेरो छेउमा बसेका बाजे (दलित रहेछन्) नहिँडे सम्म खाली त्यो टेबलमा (म र उनी मात्र थियौं, साथि गणेश अर्को टेबलमा थिए) उनी हिँड्ने बित्तिकै बाहिरका बाजेहरू भित्र पसे। टेबुलमा कोही नबस्नुको रहस्य ती अधबैंसैलाई पसले साहुनीले गरेको व्यवहारबाट थाहा भयो । पछि ती अधबैंसै दाजुले दिएका २५ रुपैयाँ हाताहात समाएको दृश्य देख्दा लाग्यो लक्ष्मी माता चै अछूत हुन्नन् रैछिन् । कस्तो समाज हाम्रो ? दलितले दिएको दूध नचल्ने, दही चल्ने, दूधबाट पकाएका मिठाइ चल्ने तर पकाएका अन्न नचल्ने, सिदा चल्ने पानी नचल्ने!

 

यात्राका क्रममा स्थानीयसँग सौहाद्रपूर्ण ढंगले कार्य सम्पन्न गरी उहाँहरूको मिठो आतिथ्यता साथै ल्याइएको छ। तै पनि, लगभग ७० प्रतिशत जनता कम्युनिष्ट विचार राख्ने र जनप्रतिनिधि सबै कम्युनिष्ट भएको त्यस गाउँको अवस्था देख्दा, देशमा छुवाछूत यसै अन्त्य होला जस्तो लाग्दैन।

 

कानूनका किताबहरू र राजनीतिक घोषणापत्रमा सीमित छुवाछूतरहित समाजको परिकल्पना व्यवहारमा लागू नभएसम्म समाज परिवर्तन असंभव छ। अझै निर्वाचित जनप्रतिनिधिहरूले छुवाछूतको पक्षपोषण गर्नु र परिवर्तनमा आफैं सहभागी नहुनु दुर्भाग्यपूर्ण छ। यो परिस्थितिको सोझो लाभ धर्म परिवर्तन गराउँदै हिँड्नेहरूले लिइ रहेका छन्, जसमा उपेक्षित र अपहेलित दलितहरू सहजै आकर्षित देखिन्छन्।

 

सायद, म आफैं पनि त्यही गर्थे होला। काठमाडौं खाल्डोमा बसेर देश विकासको सपना देख्ने विद्यमान सरकार र राजनीतिक नेतृत्वलाई एक पटक ताकम र यस्तै तमाम गाँउहरूमा गएर आफ्ना कार्यकर्तालाई सजग गराइदिनुहुन अनुरोध गर्दछु।

 

सरकारको नेतृत्व गर्नेले छुवाछूतविरूद्धको कानून कडाइ गरी मानिसलाई मानिसको दर्जा मिल्न मद्दत हुन्थ्यो कि ? सरकार बाहिरका दलहरूले अभियानको रूपमा यस्ता विकृतिविरूद्ध आफ्ना कार्यकर्ताहरूलाई सिकाउने पो हो कि? झण्डै ८० प्रतिशत जनता राजनीतिक दलका कार्यकर्ता भएर जन्मने यस देशमा त्यति गरे छुवाछूतरहित समाज निर्माण गर्न केही भए पनि राहत पुग्छ होला भन्ने मेरो बुझाइ छ ।

(सहरी तथा क्षेत्रीय योजनाकार)

 

 (सेतोपाटीबाट)

२०७५ असोज ११ मा प्रकाशित

प्रतिकृया दिनुहोस्