Hilsa Yatayat

कर्णाली पर्यटन वर्ष २०७५ सफल पार्न दोस्रो स्यार्पू पर्यटन महोत्सव 

मनिषा केसी /रुकुम
कर्णाली पर्यटन वर्ष २०७५ सफल पार्न दोस्रो स्यार्पू पर्यटन महोत्सव 

११ असोज । रुकुम पश्चिमको वाँफिकोट गाउँपालिकामा आजबाट दोस्रो स्यार्पू पर्यटन महोत्सव सुरु भएको छ ।


गाउँपालिकाको आयोजनामा वडा नम्वर ३ र ५ मा पर्ने स्यार्पू तालको छेउमा पाँचदिन सम्म चल्ने महोत्सवको बिहिबार उद्घाटन गरिएको हो ।

 

“जल, जंगल, जडिबुटी, कृषि, कला, संस्कृति हाम्रा उत्सव, वाँफिकोटको समृद्धिका लागि दोस्रो स्यार्पू पर्यटन महोत्सव” भन्ने मूल नारा सहित स्यार्पू महोत्सवलाई प्रतिनिधिसभा सदस्य पुुर्व गृहमन्त्री जनार्दन शर्माले औपचारिक उद्घाटन गरेका हुन् ।


महोत्सवको उद्घाटन गर्दै प्रमुख अतिथि शर्माले यस्ता महोत्सवहरु रमाईलोका लागि मात्र नभएर उपलब्धीसँग जोडिनुपर्ने बताए । नयाँ संस्कृतिको विकास गर्दै पर्यटकका लागि उपयुक्त वातावरण बनाउन उनले स्थानीयलाई आग्रह गरे ।


अर्गानिक उत्पादन, सरसफाई र व्यवस्थित होमस्टे मार्फत पर्यटक लोभ्याउने संस्कारको विकास गर्नुपर्नेमा उनले जोड दिए ।


स्यार्पूतालको प्रचार–प्रसार तथा यहाँको पर्यटन प्रवद्र्धनका लागि बिहिबारदेखी असोज १५ गते सम्म महोत्सव लाग्ने गाउँपालिका अध्यक्ष धर्मबहादुर केसीले जानकारी दिए । उनका अनुसार महोत्सवमा गाउँपालिका भित्र रहेका स्थानीय जडिबुटी र कृषि उत्पादनको प्रचार प्रसार गरिने छ ।


महोत्सवमा स्थानीय सिंगारु नाच तथा पञ्चेवाजा लगायतको प्रतियोगिता रहने जानकारी दिईएको छ । यस्तै खेलकूद तर्फ महिला पुरुष भलिवल प्रतियोगिताको समेत प्रर्तिस्पर्धा हुने अध्यक्ष केसीको भनाई छ ।


महोत्सवले गाउँपालिका भित्र रहेका पर्यटकिय क्षेत्र संगै कर्णाली पर्यटन वर्ष २०७५ लाई समेत सघाउने बताईएको छ ।


यस महोत्सवमा गाउँपालिका भित्रका विभिन्न वडामा उत्पादित कृषि सामग्री तथा अर्गानिक वस्तुलाई पनि आकर्षणका रुपमा राखिने भएको छ ।


स्यार्पूतालको प्रचार–प्रसार मार्फत गाउँपालिकाको आन्तरिक तथा बाह्य पर्यटनमा थप विकास गर्ने भन्दै महोत्सव आयोजना गरिएको गाउँपालिकाको भनाई छ ।


महोत्सवको उद्घाटनमा राष्ट्रिय सभा सदस्य ठगेन्द्रप्रकाश पुरी, कर्णाली प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढा, भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसी, प्रदेश सांसद गोपाल शर्मा, रातो कामी लगायत जिल्लाका जनप्रतिनिधि, कर्मचारी लगायतको उपस्थिति रहेको थियो ।


यस महोत्सवमा स्थानीय तथा राष्ट्रिय कलाकारको पनि प्रस्तुति रहने छ । जिल्लाको ऐतिहासिक महत्व बोकेको स्यार्पूतालमा यसअघि २०६७ सालमा पहिलो स्यार्पू पर्यटन महोत्सवको आयोजना गरिएको थियो ।

Syarpu Mahotsab 2

२०७५ असोज ११ मा प्रकाशित

प्रतिकृया दिनुहोस्