Hilsa Yatayat

कमरेड प्रज्वल र शिविर ‘फ्ल्यासव्याक’

टीका विष्ट
कमरेड प्रज्वल र शिविर ‘फ्ल्यासव्याक’

युद्धकालमा उनको नाम पहिले विशाल थियो । पछि प्रज्वल भयो । ७० पछि उनी महेन्द्र बहादुर शाही नामले नेताको रुपमा परिचित भए ।


अहिले पनि पुर्व माओवादीका नेता कार्यकर्ताले कमरेड प्रज्वल भनेर बोलाउँछन् । भूमिगत नाम प्रति उनलाई गर्ब छ ।

IMG_7362


२०६३ माघ ९ मा अनमिन स्थापना भएपछि विभिन्न ठाउँमा ७ वटा मुख्य र २१ वटा सहायक शिविर बसे । मुख्य डिभिजन मध्येको छैटौं डिभिजन दशरतपुरमा थियो र त्यसका कमाण्डर थिए, कमरेड प्रज्वल ।


२०७० असारमा सेना समायोजन प्रक्रिया पुरा भएसंगै उनी शिविरबाट बाहिर निस्के । लडाकु जीवनबाट बाहिर निस्केका उनलाई समाजमा राजनीतिक नेताको रुपमा छवि बनाउनु थियो ।


आफु बसेको शिविरमा फर्केर जान मन थियो तर विविध कारणले भ्याएनन् । भन्छन् ‘जाने मन थियो । तर मिलिरहेको थिएन ।’


भदौको १० गते भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले हाइटेक नर्सरीको अध्ययन गर्ने शिलशिलामा शाही शिविर रहेको कृषि अनुसन्धान केन्द्रमा पुगे ।

IMG_7369
दशरतपुर पुगेपछि उनलाई शिविरको संरक्षण गर्न मन लागेको छ । उक्त शिविरलाई संग्रहालयको रुपमा विकास गर्ने र तत्काल एउटा डकुमेन्ट्री बनाउने सोच बनाएका छन् ।


आफुसंग युद्धकालका प्रशिक्षण, सैन्य तालिम, आक्रमणको योजना, दोहोरो भिडन्त लगाएत धेरै कुराहरु सुरक्षित भएको भन्दै सेरोफेरोसंग उनले भने यसलाई दस्तावेजको रुपमा सुरक्षित गर्न मन लागेको छ ।


‘हिजोका धेरैं बंकरहरु छन् । जनमुक्ति सेना हिड्ने बाटो, बस्ने डाँडा/खोल्साहरु भोलिका इतिहास हुन् । अन्तिम लडाइ भएको कालिकोटको पिली जसले राज्यलाई शान्तिप्रक्रिया शुरु गर्न बाध्य बनायो । यस्ता सबै कुरा अध्ययन अवलोकनका विषय हुन ।’ उनले ‘वार टुरीजमको कन्सेप्ट’ बाट पर्यटक भित्र्याउने योजना सुनाए ।


राज्यले गुरिल्ला ट्रेड मार्ग घोषणा पनि गरिसकेको छ ।

IMG_7394
उनका अनुसार इतिहास किताबमा मात्रै सिमित भएमा सन्ततीले कथाको रुपमा मात्र लिन सक्छन् । त्यसैले भोलिको पुस्तालाई ऐतिहासिक अध्ययनको लागी पनि उनी जनयुद्धका सम्पुर्ण अवशेष सहित संरक्षणको आवश्यकता देख्छन् ।


दशरतपुरमा जाँदा समय अभावले उनले त्यहाँका जनतासंग धेरै भलाकुशारी गर्न पाएनन् । तर शिविरको संरचना नियाले मनैदेखि ।


उनी बस्ने भवनको गेटमा एउटा प्रतिक्षालय छ । जो अहिले जिर्ण अवस्थामा छ । त्यहिँ बसेर सम्झिए व्यारेक संचालन हुदाको अबस्था ।


शिविर संचालन हुँदाको समया अध्ययन अवलोकनको लागी शिविरमा आउने स्वदेशी, विदेशीहरु उनलाई नभेटी जाने कुरै भएन । अहिले सुनसान छ । त्यतिबेलाको चहलपहल दौडीयो उनका आँखामा ।

IMG_7372

सुरुको शिविर बसाईको क्रममा जनमुक्ति सेनाको लागी चुनौतिपुर्ण थियो । संरचना बनेकै थिएनन् । टन्टलापुर घाममा प्लाष्टीकको टेन्ट भित्र बस्थे उनीहरु । जब उनीहरु सम्पुर्ण रुपमा व्यवस्थित भए, छोड्नु पर्यो त्यहाँको बसाई । अनि सम्झना बने शिविरका दिनहरु ।


भावुक हुँदै भने ‘कति राम्रो, व्यवस्थित ठाउँ अहिले कुरुप र जिर्ण अवस्थामा रहेछ । शिविरमा जाँदा संगै युद्ध लडेका साथीलाई सम्झिएँ । त्यतिबेला घाइते, अपाङ्गलाई शिविरमा व्यवस्थित रुपमा राखिएको थियो । राज्यले पाँच लाख रुपैंया दिएर पठायो । अहिले कस्तो अवस्थामा हुनुहुन्छ ? उहाँहरुलाई यस्तै शिविरमा राख्न पाएको भए न्याय हुन्थ्यो की ।’

 

यस अघि उर्जा मन्त्री भइसकेका उनी अहिले कर्णाली प्रदेशको मुख्य मन्त्री छन् । यो उनको कल्पना भन्दा बाहिरको कुरा थियो ।

IMG_7396

६४ देखि ७० सम्म उनले शिविरको नेतृत्व गरे ।

 

त्यतिबेला उनलाई लागेको थियो, अब युद्ध अन्त्य भयो । अबको यात्रा सत्तामा जाने नै हो । विकास, गरिवि, राष्ट्रियताका मुद्दा लगाएत तमाम समस्याको निकासका लागि अब सरकारमा जाने भन्ने थियो । तर आफु यो वा त्यो जिम्बेवारी लिएर जान्छु भन्ने थिएन ।


पार्टीको कसैले नेतृत्व गर्ला भन्ने सोचेका उनले महत्वपुर्ण अविभारा पुरा गर्ने जिम्बेवारी पाए । 

IMG_7397
जनयुद्धमा उनलाई लाग्थ्यो राजनीतिक नेतृत्व भनेको व्यवस्थापन मात्र हो । युद्ध जित्ने भनेको लडाइ गरेर हो । त्यसैले लडाईको संधै अग्र मोर्चामा रहि नेतृत्व गर्नु पर्छ । उनी कमिसार र कमाण्डर भएर दुवै भूमिका निर्वाह गरे ।


पश्चिम नेपालका सबै लडाइ र आक्रमणको नेतृत्व उनले गरेका हुन् । आफ्नै नेतृत्वमा धेरै हतियार कब्जा गरेको उनको दाबि छ ।


दशरतपुर पुगेका उनले त्यहाँका सबै संरचना र तत्कालिन कामको बारेमा उपस्थित सबैलाई जानकारी दिए । आफू बस्ने भवन, मनोरञ्जन हल, कन्ट्रोल रुम, हतियार राखेको कन्टेनर आदीको बारेमा सम्बन्धित ठाउँमा पुगेर व्याख्या गरे ।

IMG_7420

कन्ट्रोल रुममा उनले एउटा फाइल भेटे । सामान्य अध्ययन पछि उनले आफ्ना सहयोगीलाई सुरक्षित राख्नु भनि आदेश दिए । जसमा शिविरका व्यक्तिहरुको नामावलि थियो ।

IMG_7423

आफू चढ्ने गाडी सुमसुम्याए ।  'पुर्ननिमाण गरे त प्रयोग गर्न मिल्थ्यो कि !' भन्दै हेरे भित्र । मोवाइलमा तस्बिर लिए ।

IMG_7434IMG_7432

IMG_7436
मुख्य गेटको छेउमा भएको मुख्य सेन्ट्री पोष्टमा उक्लिए । माथि पुगेर नियाले चारै तिर । फोटो खिचाए । मुस्काए । सायद आफ्नो विगत प्रति पनि उनी सन्तुष्ट थिए ।

IMG_7447


उनको श्रीमतिले पनि सम्झिइन्, शिविरमा बस्दाका दिनहरु । सरकारी विद्यालयमा पढाउने उनी बिदा मिलाएर श्रीमान भेटन आउँथिन ।


छुट्टै रमाइलो । अत्यन्त व्यवस्थित शिविरको बिजोक अवस्था देख्दा मन अमिलो बनाइन् ।

IMG_7391

२०७५ असोज १३ मा प्रकाशित

प्रतिकृया दिनुहोस्