Hilsa Yatayat

त्यो हुम्ला यात्रा

प्रकाश शर्मा
त्यो हुम्ला यात्रा

दिउँसो २:४० को यति एयर्लाइन्सको फ्लाइट थियो नेपालगञ्जको लागि। डीपाचर हलमा छिरेको केहि बेर सम्म तनाब भयो नबुझिने माइकको आवाजले यता जाउ कि उता जाउ भयो।

 

दगुर्दै यतिको काउन्टरमा पुगेको जाहजमा बोर्डिंग सुरु भएको रहेछ,हतार हतार जहाज तिर लागियो। करिब ५० मिनेटको उडान पछी उत्साहित मन नेपालगन्ज ओर्लियो। ओर्लिदा साथ तातो हावाले तराईको परिचय दियो, मैले पनि परिचय दिए ओहो गर्मि रहेछ! नेपालगञ्ज टावरमा एयर कन्डिसनर छ भन्ने बुझेर टावरतिर लागियो, हितैसी सहकर्मी अनि एयर कन्डिसनरले हल्का चिसोको अनुभूति भयो।

 

साथीहरु एयर ट्राफिकलाई निर्देशन दिदै थिए। बुद्धको ए टि आर, सौर्यको सि आर जे,ताराको ट्विनवटर,गोमाको लेट,सबै खाले ट्राफिक एकै ठाउँ केन्द्रित हुने हुनाले गर्दा नेपालगञ्जको ट्राफिक ब्यवस्थापन आफैमा विशिष्ट खालको मानिन्छ!

 

यसको पनि सफल बेवास्थापन गर्नु आफैमा चुनौती र अवसर पनि हो एयर ट्राफिक कन्ट्रोलरलाई। उत्कृस्ट मौसम हुनुको फाइदा सबै उडानहरु समय मै सम्पन्न हुन्छन्, कहिलेकाँही मात्रै उडान राति अबेरसम्म कायम रहन्छन्, प्रतिकुल मौसम अर्थात कुनै प्राबिधिक गढ्बढि नआएसम्म।

 

राराको कन्चन हावामा उढ्ने चिलदेखि भैरहवाको तातो बाफमा उड्ने गिद्दको संगम रहेछ नेपालगञ्ज।

 

साथीहरुको डियुटी सकिए सङ्गै भलाकुसारी सुरु भयो अनि चिसो सराबको शरणमा पुग्नुको बिकल्प रहेन। अगिल्लो भेट देखि चक्लेट बांड्ने बिमान सहचालिका सम्मको गफ भए !!!

HUmla yatra 1

केटा-केटा भेट हुनुको एउटा फाईदा भनौ या बेफाइदा,भल्गारिटी र वाइल्डनेसको सीमा नै हुँदैन। पानीमा डुबाएका बियर,दुख-सुखका मित्र,झ्याप झ्याप जाने बिजुली,समय पुरै “कक्टेल” भैरहेको थियो।

 

फ्रेश खसीको मासु,कर गरी गरी खुवाउने रेस्टुरेन्ट मालिक,भोलि पल्ट हुने हुम्लाको यात्रा,यी मेरा लागि संयोग नै हुन्। अमेरिका जान नपाएको झोक,जीआरइले दिएको धोका, घरमा बिहे गर्न दिइरहेको प्रेसर, नयाँ नयाँ केटिको प्रपोज,एटीसीको जागिर देखि पाइलट संग हुने अनौठा संवादको डबली बनेको थियो नेपालगञ्ज। नेपालगञ्ज एयरपोर्टको अथिति घरको बसाई थप सम्झन लाएक छ। बिग्रेको भाग्य हो कि ए सि अलमल्ल परे!

 

गर्मी भएको बेलामा एसीले चिसो हावा फाल्नुपर्ने तर यहाँ तातो हावा फाल्छ, हत्तेरी कस्तो कोठा रोजिएछ?

 

करिब आधा रात रिमोट मिलाउँदा मिलाउदै बित्यो, तीन चोटी नुहाउँदा पनि पसिनाको भल बग्न छाडेन, लाग्यो नेपालगञ्जको गर्मीमा सबै नसाको कनेक्सन भेरी नदिसँग हुन्छ जुन नेपालगञ्ज नछोड्दासम्म कायम रहन्छ!

 

बिहान सिमिकोटको मौसमको जानकारी त्यहीबाट टावरमा फोन गरेर लिएँ, भिजिबिलिटी ४००० मिटर रहेछ, तर घाम झुल्केको छ है भन्ने खबर आयो। खुल्ने सम्भावना छ भनेपछि झोला प्याक गरेर सिधै सिम्रिक एयरको काउन्टरमा पुगेँ, बुझ्दा सिम्रिक एयरको जहाज प्राविधिक कारणले उड्न असमर्थ रहेको कुरा जानकारीमा आयो।

 

अनि तारा एयरको जहाजमा क्याप्टेन सन्तोषसँग उड्ने निश्चित भयो, अत्यन्तै मिजासिलो स्वभाव भएका क्याप्टेन एटीसी माझ निकै लोकप्रिय छन्।

 

नयाँ उपडेट लिन टावरमा उक्लेको थिए साथीहरुले चिया मगाएछन्, चिया मुखमा हाल्न नपाउँदै सिमकोट वेदर अपडेट आयो, भिजिबिलिटी ५००० मिटर एयरपोर्ट ओपन। भारतीय पर्यटकको घुइँचोले गर्दा जहाजहरु छिटो पुग्न तछाड मछाड गर्छन् यो बेला, तारा एयरको इन्जिन स्टार्ट भइसकेछ।

 

हतार हतार जहाजमा पुगेँ,क्याप्टेन सन्तोष भन्दै थिए-तपाईँलाई कुरेको सर! आफ्नो कारणले ढिलो भएकोमा क्षमा माग्दै सिटबेल्ट कस्न लागेँ। जहाज रन-वे छिर्‍यो, अनि एटीसी क्लियरेन्स अनुसार जहाज उड्यो।

 

समतल जमिन, नागबेली नदि, घना जंगल, त्यो आइ भियु अत्यन्तै सम्झन लायक थियो। अनि जहाज उकाली लाग्यो, ठुल्ठूला चट्टान छल्नुपर्ने रहेछ, क्याप्टेन भन्दै थिए- इमर्जेन्सी केही पर्‍यो भने उपाय छैन।

 

ठूल्ठूला भीर, उडेका बादलु थुँगा,विपरीत तिरबाट आउने हिमालको सिरेटो,आफैं पनि उडानका चुनौतीहरु हुन्।

 

जंगलको बीचबाट उड्ने सेताम्मे बादलुका रुप् आफैंमा अनौठो थिए, कोहि घोडा जस्ता, कोही चन्द्रमा जस्ता! बादल र हावा संगको त्यो साइनो सायद मनले मात्रै व्याख्या गर्न सक्छ।

 

जहाज १२५०० फिट उचाईमा पुग्यो,अब सिमिकोट आउन धेरै छैन करिब ४३ मिनेटको उडान पछि क्याप्टेन सन्तोष भन्दै थिए।

 

खोचसँग मितेरी गाँस्दै, पहाडसँग साइनो लाउँदै जिन्दगीको यात्रामा सयर हुनुपर्ने रहेछ। जिन्दगी जिउने आ-आफ्नो तरिका भने पनि आफ्नै हातमा सधै कहाँ हुने रहेछ र?

 

घरमा आमाले भनको जस्तै, लाग्यो जिन्दगी भाग्य कै भरमा छ, भगवान कै भरमा छ। क्रस हावा र बादलले हल्लाउँदा जीन्दगी निमेषमै सकिन्छ कि जस्तो लाग्ने। निलो आकाश देख्ने बित्तिकै जीन्दगी अझम्बरी छ जस्तो लाग्ने।

 

प्रबिधि, प्रकृति र जिन्दगीको अनौठो संगम कहिले काहीँ भोगिदो रहेछ। जहाजले कुना च्याप्यो, एप्रोच मिलाएका रहेछन् ल्याण्ड गर्न, सिमिकोट विमानस्थलको धावनमार्गको बीचको सेतो लाइन देखेँ, मकालु एयरले फोर्स ल्याण्डिङ गरेको ठाउँ त्यही हो भन्दै देखाउँदै हुनुथ्यो क्याप्टेन साहेब।

 

कहिले काही प्रविधि, मौसम र भाग्यको भर हुन्न। आङ् सिरिङ्ग भयो। क्याप्टेन साङ्गे लामा आफैंमा कुशल चालक हुन्, जुन उनले पुष्टी पनि गरे।

 

जहाज टच भयो सिमिकोट विमानस्थलमा, शरीरले बल्ल ढुक्कको सास फेर्‍यो। क्रूलाई सफल यात्राको लागि धन्यवाद दिँदै जहाजबाट झरेँ।

 

दुर्गम, त्यो पनि यातायातमा जहाजको मात्रै भर पर्नुपर्ने अवस्था, पार्किंङको २५% ठाउँ आयतित खाद्यान्न, कपडा र निर्माण सामाग्रीले भरिएको थियो। उसो त त्यो पन्छाउन मान्छेमा मात्रै भर पर्नुपर्ने बाध्यताले त्यसो हुनु स्वाभाविक थियो।

 

बढ्दो भारतीय पर्यटकको चाप, छेवैमा लटरम्म फलेका स्याउका दानाले मन कता कता भड्काउँदो रहेछ।

Humla yatra 2

टावर जाऊ कि स्याउ पट्टि जाउ मन एकछिन दोधारमा पर्‍यो। छुच्चो देखिने डरले लुरूलुरू टावर मै गएँ। मानसरोबर सिजनमा सिमिकोट एयरपोर्ट आफैंमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभन्दा कम व्यस्थ हुँदैन। तेन्जिङ हिलारी विमानस्थल, लुक्ला विदेशी पर्यटक आवागमनमा अत्यन्तै व्यस्थ मानिन्छ।

 

पछिल्लो आँकडाले सिमकोट विमानस्थललाई पनि अग्र-स्थानमा देखाएको छ। विभिन्न कम्पनिका हेलिकप्टर,फिक्स्ड-विङ जहाजले गर्दा यो विमास्थल पछिल्ला केही वर्षमा अगाडि आएको पाइन्छ।

 

नेपालगञ्ज, सुर्खेत र काठमाडौंबाट यहाँ जहाज आउने गरेका छन्। हेलिप्याड र धावनमार्गको अवस्थितिले एयर ट्राफिक कन्ट्रोलरको चेतनालाई अब्बल बनाउनुपर्ने रहेछ।

 

एप्प्रोच पाथमा ल्याण्डिङ सिक्कोएन्समा जहाज रहेको बेला हेलीलाई एक्टिभ रन-वे क्रस गराएर हेलिप्याडमा ल्याण्ड गराउन सेकेन्डको हिसाब गर्नुपर्छ जुन चनाखो नभई नहुने कुरा मै पर्छ।

 

लेखन सामाग्री, रिपोर्टिङ पोइन्ट आदिको प्रारम्भिक जनाकारी पछी एक्टिभ ड्यूटीमा बस्ने निर्णय गरेँ, त्यहाँ गएको दुई घण्टा पछि मात्रै कन्ट्रोलमा बस्न सक्छु भन्ने निस्कर्षमा पुगेको हुँ।

 

अराइभल म्यासेज, डीपार्चार म्यासेज, जहाजलाई निर्देशन, पोजिसन लेखन कार्यसँगै गर्नु एयर ट्राफिक कन्ट्रोलर (एटीसी) को दैनिकी नै हो।

 

सही सूचना समयमै प्रवाह गर्नु एटीसीको धर्म पनि हो। यसो गर्न सकेनौं भने जहाज ढिला हुन्छ र हजारौं सेवाग्राहीलाई असर पर्छ।

 

सामरिक हिसाबले महत्वपूर्ण ठाउँमा कार्य गर्दा कहिलेकाहीँ आफ्नो धर्म कर्ममा ‘कम्प्रोमाइज’ गर्नुपर्छ। सरले सुनाउँदै हुनुन्थियो कहिले काहीँ जहाज आउन सकेन भने खाने कुराको हाहाकार हुन्छ।

 

खाद्य संस्थानको चामल, छेउमै फलाएका काउली र हिउँले खाएका आलु। ‘इ सर’, भन्दै एउटा भाइ खाना लिएर टावरमै आइपुगे। भोजन मिठो कि भोक मेसो पाइएन।

 

अत्याधिक चिसो मौसममा काम गर्नुको एउटा बेफाइदा अलिकति ढिला खाना खानुपर्‍यो भने कठाङ्ग्रिएर खाउ कि नखाउ कन्फूज बनाउँछ।

 

कतिपय दिनमा खाने फुर्सद नि हुन्न सिजनमा। अनि एक्टीभ ड्यूटी सुरू भयो, मन्द गतिको हावा छ है भनेर नेपालगञ्ज टावरलाई खबर गरेँ, जहाज लर्को लागेर उडेछन्। सिम्रिक एयर एक नम्बरमा थियो।

 

मन्द हावा कायमै भएको हुनाले त्यो जहाज ल्याण्ड भयो, दोस्रोमा रहेको गोमा एयरलाई फाइनल अप्प्रोच सुरु गर्न दिने कि नदिने तनाब बनायो हावाले, हावाको बेग बढेर ९ नट्स पुग्यो,जहाजसँग बोल्दा बोल्दै हावा स्थिर भयो झरेर ४ नट्स भयो।

 

कहिले काही एटिसीलाई कन्फ्युज बनाउँछ हावाले, हल्का बढेको बेला बोलाउँदा रूल्स अवोइड हुन्छ,नबोलाउँदा पक्षपात गरे जस्तो देखिन्छ।

Humla yatra 3

गोमा एयरका क्याप्टेन आङ दोर्जे शेर्पा फुरूङ्ग भएर ल्याण्ड गरे। सिमिकोटको मौसम र हावाको दिशा पनि मन झैँ परिवर्तन भइरहने रहेछ।

 

त्यती उचाईमा मन पुगेको भए मान्छे कल्पनाको संसारमा रमाउथ्यो होला सायद। झन्डै विमानस्थलले जनतासँग रियल फिल्ड मै सुविधा दिएको छ।

 

उता अन्य आउने / जाने जहाजले बोलाउन सुरू गरे अनि रेस्पोन्स गर्न तर्फ लागेँ। प्राय: दुर्गममा जहाज आउँदा जहाज हेर्नेको भीड लाग्छ जाने र आउने यात्रुको दाँजोमा, तर सिमिकोटमा भारीको पर्खाईमा रहने को भीड लाग्नेरहेछ।

 

गरिबी र अशिक्षाको विकल्प बल नै हो, उसो त जीवन उपयोगी सिप हुँदो हो त जहाज कुर्नुपर्ने दैनिकी परिवर्तन भैसक्दो हो नि! जहाज तिरको ध्यान एक छिन त्यता पुग्यो, सिंहदरबारको ध्यान कहिले पुग्ला?

 

गरिबी आफैंमा पूर्व जन्मको पाप होइन, राज्यको उपेक्षा को उपच हो, मन घोतल्लियो। जनताको निर्भरता र भरोसाको केन्द्र रहेछ विमानस्थल,जनताको सुख दुःखसँग साइनो गास्ने अवसर सबैलाई कहाँ मिल्छ र?

 

सिमिकोट एयरपोर्टले त्यो अवसर पाएको भान हुन्छ, जन्मदेखि मृत्युसम्म कयौं पटक सुखको हाँसो र दुःखका आँशु बिसाउने चौतारी बनेको रहेछ एयरपोर्ट।

 

विदेश जाने छोरोलाई छोड्न होस् या दशैंको टिका बनाउने चामल एयरपोर्ट, सबै हाँसो खुसी र आँशुको बिसौनी रहेछ। हरेक दैनिक पुनरागमन हुन्छ सिमिकोटमा।

 

हुर्केका हरिया पातहरुमा बुटी छ त्यहाँ,जन्मेका हरेक मनहरुमा हार्दिकता छ, हुम्लेलीहरुको जन्मजात विशेषता यही रहेछ।

 

झानेको कोदोको जाड दिँदा होस् या रिउको मासु, ब्यवसायिकताको अगाडि हार्दिकता आउने अचम्मको कल्चर त्यहाँ पाइने।

 

सिम्रिक हेलिकप्टरको सहयोगमा नेपाल चाइनाको सीमाना हिल्सा जाने अवसर जुर्‍यो। ड्यूटी मिलाएर चुट्ट घुम्न निस्कन पाउनु सबैलाई कहाँ मिल्छ र! त्यो पनि हेलिकप्टरमा!!

 

सिनियर क्याप्टेन विवेक खड्काले यहाँ आइसकेसी त हिल्सा पुग्नुपर्छ है सर भन्दै हिल्साको महत्वलाई दर्साइदिन्थे।

 

उनीसँगै उड्ने पक्का भयो। टावरबाट झरेर हेलिप्याडमा पुग्नासाथ् स्थल-सुपरभाइजरको आग्रह अनुसार क्याप्टेन विवेककै छेउमा बसेँ,हेलिले भुइँ छाड्यो। समथर एयरपोर्टबाट सिधै पहाडको बीचमा हाम फाल्दा कान रातो भएछ, सर पहिलो पटक हो हजुर हेली चढेको?

 

यूज-टु भएका क्याप्टेन साहेबको मिठो बोलिले झस्किएँ। साच्चै भौगोलिक उचाई फेस गर्न सामर्थ चाहिन्छ, ममा कम रहेछ, आफैं मन मनै सोचेँ। कतिपय भारतीय पर्यटकले डरले पिसाब नै गर्छन रे, डरको बीचमा हासो छायो। मौसम र भूगोल दुवै च्यालेन्जिङ! उचाई लिँदै जादा देखिने सेताम्मै हिमालले कैलाश र मानसरोवरको झल्को दिलाउने रहेछन्, कैलाशनै ठानेर कतिपय पर्यटक हेली भित्रैबाट नमन गर्दा पवित्र देशमा जन्मनुको गौरब महसुस हुने।

 

सेताम्मे हिउसँग लुकामारी खेल्दै, हुम्ला कर्णालीसँग मितेरी गाँस्दै हिल्सा पुग्नु आफैंमा अहोभाग्य हो। हेली हिल्साको चौरलाई फेरो मारेर बिसायो।

 

हुम्ला कर्णालीका दुई किनार हेर्दा नै चीन र नेपालको पछिल्लो विकासको अवस्थालाई चित्रण गर्न जो कोहीले पनि सक्छ। क्याप्टेन साहेब थप्नु भो- यो सिजनमा मैले फ्लाइट सुरू गर्दा निर्माण सुरु भएको अध्यागमन भवन अहिले सम्पन्न हुने अन्तिम चरणमा छ, हाम्रोमा हुँदो हो त अहिले टेन्डर मै अड्किराको हुन्थ्यो, देशको अवस्थालाई व्यङ्ग आयो।

 

चिनियाँ बियर अझै मिठो हुन्छ कि भनेर एक केस प्याक गरियो,नत्र त्यहाँ पुगेको चिनो देखाउने अरु केही पनि थिएन मसँग, बियर नप्यूने वालालाई चाही आरूको जुस गज्जब हुने रहेछ।

 

चीन र हिल्सालाई एकैसाथ बाई बाई भनियो। हेली सिमकोट तिर हुइँकियो। आजै त हो तपाईसँग घुम्ने म नयाँ ठाउँ देखाउँछु भन्दै क्याप्टेन साहेबले नयाँ ट्रयाकमा हेली मोड्नुभयो।

 

दुई तिर चट्टान,बीचमा हेली, उत्तेजित हावा यात्रा आफैंमा एकदमै एड्भेन्चरस बनिरहेको थियो। अन्तिम फ्लाइट थियो त्यो दिनको लागि।

 

हेर्दाहेर्दै, हुम्लाको बसाई अन्तिम तिर आइपुगेछ,भोलि बिहानै जाने निधो भयो।

 

मिलनसार मनसँग मित लाइयो, त्यो भूगोल आफ्नो हृदयमा राखेर, टारिखेतको धानको बाला झैँ मन गरूङ्गो पार्दे काठमाडौं लागियो।

(सेतोपाटीबाट) 

२०७५ असोज १३ मा प्रकाशित

प्रतिकृया दिनुहोस्