Hilsa Yatayat

सकियो मानसरोवर कैलाश यात्राको सिजन

रत्न भण्डारी /हुम्ला
सकियो मानसरोवर कैलाश यात्राको सिजन

१९ असोज । मानसरोवर कैलाशको धार्मिक यात्रा गर्ने सिजन यो वर्षको लागि सकिएको छ ।


असोजको दोस्रो हप्ता लागे संगै मुख्य गरी भारतीय धार्मिक पर्यटकहरु आउन बन्द हुँदा सिजनको अन्त्य भएको हो ।


मानसरोवर कैलाशको धार्मिक यात्रा गरि फर्केका ४५ जना भारतीय धार्मिक पर्यटकहरु गत मंगलबार नेपालगंज फिर्ता भए संगै यो सिजनको यात्री संख्या सकिएको होटेल हिमालयका राजु रोकायाले बताए ।


यस वर्ष मानसरोवर कैलाशका लागि ९ हजार ८ सय ९५ जना भारतीय धार्मिक पर्यटकहरुले सिमकोट, हिल्सा हुँदै मानसरोवर कैलाशसम्मको यात्रा गरेको प्रहरी नायव उपरिक्षक रबिन श्रेष्ठले जानकारी दिए । जसमा ४ हजार ४ सय ६० जना महिलाले र ५ हजार ४ सय ३५ जना पुरुषले थिए ।

 

अघिल्लो वर्ष भने साढे बाह्र हजार भारतीयले यात्रा गरेका थिए ।


गत बैशाख २८ गते यसपटकको मानसरोवर कैलाशका लागि भारतीय धार्मिक पर्यटक आउन सुरु भएको थियो भने असोज दोस्रो हप्ताबाट भारतीय पर्यटकहरु आउन बन्द भएको उपरिक्षक श्रेष्ठले बताए ।


महिना अनुसार बैशाखमा ६३ जनाले यात्रा गरेका थिए भने जेठमा सबै भन्दा बढि ४ हजार ६३ जनाले धार्मिक यात्रा गरेको उनले बताए । त्यसैगरी असारमा २ हजार ७ सय ६७, साउनमा ९ सय २७, भदौमा १ हजार ७ सय ५४ र असोजमा ३ सय ५३ जनाले मानसरोवर कैलाशको यात्रा गरेको प्रहरीले जनाएको छ ।


उमेर समुहको आधारमा ४० देखि ६० बर्ष उमेरका चार हजार नौ सय १८ जना थिए भने चालिस वर्ष भन्दा कम उमेरका दुई हजार नौ सय ४२ जना र ६० बर्ष माथिका दुई हजार ३५ जना थिए ।


पर्यटकीय सिजन बन्द संगै होटेलहरु सुनसान छन् । अब आगामी बैशाखसम्म होटेल सुनसान हुने होटेल पोतला प्यालेसका संचालक एवं होटेल संघ हुम्लाका अध्यक्ष मिम बहादुर तामाङले बताए ।


सिमकोटमा यस्ता होटेलहरु २१ वटा रहेका छन । 

२०७५ असोज १९ मा प्रकाशित

प्रतिकृया दिनुहोस्