Hilsa Yatayat

संस्कृति संरक्षण गर्न जुम्ली घोडा दौड प्रतियोगिता हुँदै 

शुभाकर विश्वकर्मा/जुम्ला
 संस्कृति संरक्षण गर्न जुम्ली घोडा दौड प्रतियोगिता हुँदै 

२० असोज । केहि दशक पहिले जुम्लाका प्राय घरमा पालिने जुम्ली घोडा लोपउन्मुख अवस्थामा पुगेको छ ।


जुम्लामा सडक संजालको पहुँच, चरन क्षेत्रको अभाव हुँदा घोडा पालन व्यवसाय लोप उन्मुख अवस्थामा पुगेको हो ।


जुम्ला विमानस्थल कालोपत्रे भएपछि परम्परा देखी चल्दै आएको घोडा दौड प्रतियोगिता करिव चौध वर्ष रोकिएको थियो । पछिल्लो समय जुम्लाका सरोकारवालाहरु जुम्ली घोडाको संरक्षणमा लागि परेका छन् ।

 

उनीहरुले जुम्लाको पहिचानको रुपमा रहेको जुम्ली घोडालाई संरक्षण गरि रोजगारीको अवस्था सृर्जना गर्नु पर्ने बताउँदै आएका छन् ।


गत वर्षको तथ्याङ्कअनुसार जुम्लामा ६ हजार ९ सय जुम्ली घोडा पालिन्छन् । यो संख्या विगत दुई दशकलाई हेर्ने हो भने निकै कम हो ।


जिल्ला पशु सेवा कार्यालय जुम्लाका नरसिंह थापाले जुम्ली घोडाको परम्परागत मान्यतालाई जोगाई व्यवसायिकरणमा जोड दिजु पर्ने बताए । ‘जुम्ली घोडालाई अन्तराष्ट्रिय स्तर सम्म चिनाउन आवश्यक छ’ उनले भने ‘यस बाट प्रसस्तै रोजगारीको अवस्था सिर्जना गर्न सकिन्छ ।’


यस्तै जुम्ली घोडा सम्बन्धि जानकार हिमालय खत्रीले जुम्ली घोडा सबैभन्दा लामो समय दौडिन सक्ने, चिसो र गर्मी हावापानीमा पनि टिक्न सक्ने विशेषता भएको बताए । उनका अनुसार यसलाई पर्यटनसंग जोड्न सकिएमा रोजगारी तथा जिविकोपार्जन हुनेछ।


कर्णाली स्पोटस् क्लव जुम्लाले बडा दशंैको अवसरमा “पुर्खा देखी चलेको परम्परालाई दिउ सम्मान, सस्कृतिलाई जर्गेना गर्नेहरुलाई सम्मान” भन्ने मुल नाराका साथ असोज ३० गते फूलपातीका दिने जुम्ली घोडा दौड प्रतियागिता हुने भएको छ ।


प्रतियोगितामा पालित, कदम र खुल्ला प्रतियोगिता गरि तीन विधामा दौड प्रतियोगिता गराईने भएको छ ।


उत्कृष्ट वर्ष घोडाको रुपमा जिल्लाभरी बाट एउटा घोडालाई सम्म्मान गरिने क्लवका अध्यक्ष शाहिले बताए ।


प्रतियोगिताका प्रथम, द्धितिय र तृतिय स्थान हासिल गर्नेलाई जनही ५ हजार, ३ हजार र २ हजार पुरस्कार र ट्रफि वितरण गरिनेछ ।


प्रतियोगिताको सहयोगीको रुपमा चन्दननाथ नगरपालिका, वडा नम्बर ३ र ५, उद्योग वाणिज्य संघ, रेस नेपाल रहेका छन् ।

२०७५ असोज २० मा प्रकाशित

प्रतिकृया दिनुहोस्