Hilsa Yatayat

विश्वविद्यालयको 'म्यादी प्रहरी' हुँ : उपकुलपति कोइराला

सेरोफेरो/सुर्खेत
विश्वविद्यालयको 'म्यादी प्रहरी' हुँ : उपकुलपति कोइराला

२३ असोज । मध्यपश्चिमाञ्चल विश्वविद्यालय सुर्खेतमा दशैं, तिहार र छठको शुभकामना आदानप्रदान गरिएको छ । नेपाल प्रगतिशील प्राध्यापक संगठन तथा नेपाल राष्ट्रिय प्राध्यापक संगठनको संयुक्त आयोजनामा मंगलबार वीरेन्द्रनगरमा उक्त कार्यक्रमको आयोजना गरिएको हो ।

 

कार्यक्रममा विश्वविद्यालयका उपकुलपति प्रा. डा. उपेन्द्र कुमार कोइरालाले विभिन्न राष्ट्रिय चाड पर्वको अवसरमा सबैलाई शुभकामना व्यक्त गरे । शुभकामनाका क्रममा कोइरालाले आफू म्यादी प्रहरी जस्तो भएको र विश्वविद्यालयको विकासमा अहोरात्र खटेको बताए । उनले भने, ‘विश्वविद्यालयले मेरो कार्यकालमा गति बढाएको कुरा कतैबाट छिप्दैन । मैले गरेको कामको मूल्याँकन यहाँहरुलेनै गर्नुहोस् ।’

 

अब यसलाई ब्रेक नलगाई अगाडि बढाउने जिम्मा पुनः नेताहरुकै हातमा छ, ‘उनले भने– ‘टहरोमा चलेको विश्वविद्यालयको अहिले आफ्नै भवन छ । शिक्षक कर्मचारीहरु स्थायी भएका छन् । हाइड्रोपावर इन्जिनियरिङ, पर्यटन, होटल म्यानेजमेन्ट, कानुन जस्ता नयाँ शैक्षिक कार्यक्रम शुरु गरिएका छन् ।’

 

सुर्खेत क्षेत्र नं. २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य नवराज रावतले बडादशैं लगायत दीपावली, छठ एवं नेपाल संवत्को सबैलाई शुभकामना व्यक्त गरेका थिए । कार्यक्रममा रावतले विश्वविद्यालय स्थापनाकालको कुरा सम्झँदै भने, ‘यो विश्वविद्यालय धेरै मिहिनेतले बनेको हो । यसको संरक्षण गर्नु सबैको दायित्व हो ।’

 

विश्वविद्यालयजस्तो प्राज्ञिक स्थलमा तालाबन्दी तथा आन्दोलन गर्नु कुनै हिसाबले ठीक नभएको पनि उनले बताए । उनले मिलेर काम गर्न पनि विश्वविद्यालय पदाधिकारीहरुलाई आग्रह गरे ।

 

कार्यक्रममा प्रतिनिधिसभा सदस्य दुर्गबहादुर रावत, कर्णाली प्रदेश सभाका सदस्यहरु अम्मरबहादुर थापा, ठम्मर विष्ट, सुशील थापा, लेकबेशी नगरपालिकाका प्रमुख गगनसिं सुनार, वीरेन्द्रनगर नगरापालिका वडा नं. ४ का अध्यक्ष निलकण्ठ खनाल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

 

यस्तै कार्यक्रममा नेकपा कर्णाली प्रदेशका सचिव मायाप्रसाद शर्मा, नेताहरु नरबहादुर विष्ट, देबेन्द्र बिसी, कृष्ण जिसी, अमृत विसी, मोहन बडुवाल, बालकृष्ण बिसी, बालाराम शर्मा लगायत विश्वविद्यालयका विभिन्न पदाधिकारीहरुको उपस्थिति रहेको थियो । उनीहरु सबैले विश्वविद्यालयको उन्नति हेर्न चाहेको र सोहीबमोजिम गर्न शुभकामना व्यक्त गरेका थिए ।

 

नेपाल राष्ट्रिय प्राध्यापक संगठन मध्यपश्चिमाञ्चल विश्वविद्यालयका अध्यक्ष चित्रबहादुर खत्रीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेकपा नजिक रहेका विभिन्न संगठनमा आवद्ध शिक्षक, कर्मचारी तथा विद्यार्थीहरुको उपस्थिति थियो ।

 

शुभकामना मन्तव्य राख्ने क्रममा विद्यार्थी नेताहरु गनसिंह ठकुरी, महेश जिसीलगायतले विश्वविद्यालयमा हुने कुनै प्रकारको दादागिरी आफूहरुलाई स्वीकार नहुने बताएका थिए ।

 

कार्यक्रममा नवनियुक्त परीक्षा व्यवस्थापन प्रमुख डा. आनन्दप्रसाद सुवेदी, मानविकी र सामाजिकशास्त्र केन्द्रीय क्याम्पसका प्रमुख तेजबिक्रम बस्नेत, कार्यकारी परिषदका सदस्य पदमराज जोशी तथा विश्वविद्यालय सभा सदस्य (सिनेटर) भीमबहादुर खड्का र सोनालाल यादवलाई सम्मान समेत गरिएको थियो ।

 

नेपाल प्रगतिशील प्राध्यापक संगठनका कार्यवाहक अध्यक्ष खेमराज रावतले शुभकामना संगसंगै नेकपाको एकताको सन्देश दिन उक्त कार्यक्रमको आयोजना गरिएको बताए ।

२०७५ असोज २३ मा प्रकाशित

प्रतिकृया दिनुहोस्