Hilsa Yatayat

कर्णालीको विकासका लागि लगानी गर्न दाताहरु सकारात्मक, सुरुमा विज्ञ वैंक निर्माण गरिने

सेरोफेरो/सुर्खेत
कर्णालीको विकासका लागि लगानी गर्न दाताहरु सकारात्मक, सुरुमा विज्ञ वैंक निर्माण गरिने

२३ असोज । कर्णालीको विकासका लागि प्रदेश सरकारको प्राथमिकताका योजनामा लगानी गर्न दाताहरु सकारात्मक देखिएका छन ।


सोमवार सम्पन्न कर्णाली प्रदेश सरकार र वहुपक्षीय विकास साझेदारहरुको वैठकका विषयमा जानकारी दिन मंगलबार आयोजना गरिएको पत्रकार भेटघाटमा भुमी व्यवस्था तथा कृषि सहकारी मन्त्री एवं कर्णाली प्रदेश सरकारकी प्रवक्ता विमला केसीले वैठक उपलब्धीमुलक भएको जानकारी दिइन् ।


कर्णालीको बहुआयामिक विकासका लागि कर्णाली प्रदेश सरकारले विकास साझेदार संस्थाहरु डिएफआईडी, विश्व वैंक, युरोपीएन युनियन, युएनडिपिसंग संयुक्त रुपमा वैठक गरेको प्रवक्ता केसीले बताइन् ।


बैठकमा मुख्यमन्त्री महेन्द्रवहादुर शाही र आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले कर्णाली प्रदेशको वस्तुगत अवस्था, प्रदेश सरकारको नीति तथा कार्यक्रम र विकासका प्राथमिकताका क्षेत्रहरुको बारेमा दाताहरुलाई स्पष्ट गरेको प्रवक्ता केसीको भनाई छ ।


‘प्रदेश सरकारको विकास लक्ष्य, प्राथमिकताहरु र सहकार्यका क्षेत्रहरुका वारेमा दाताहरुसंग महत्वपुर्ण छलफल भयो ।’ पत्रकार भेटघाटमा प्रवक्ता केसीले भनिन् ‘प्रदेश सरकारका प्राथमिकताका क्षेत्रहरु सडक, जलविद्युत, कृषि, पर्यटन, उद्योग, शिक्षा–स्वास्थ्य र गरिवि निवारणका क्षेत्रमा लगानी गर्न विकास साझेदार संस्थाहरु अत्यन्तै सकारात्मक पाएका छौं ।’


प्रदेश सरकारको तर्फबाट संघीय सरकारसंग समन्वय गरि साझेदार संस्थाहरुसंग सहकार्यको वातावरण बनाउन आवश्यक प्रक्रिया अघि वढाउन प्रदेश सरकारको तर्फवाट प्रतिवद्धता गरिएको पनि प्रवक्ता केसीले जानकारी दिइन ।


साझेदार संस्थाहरुसंग प्रदेश सरकारको तर्फवाट आवश्यक सम्पर्क तथा समन्वयका लागि आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालालाई सम्पर्क व्यक्ति तोकिएको छ ।


पत्रकार भेटघाट कार्यक्रममा आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले कर्णालीको विकासका लागि प्रदेश सरकार निकै आतुर रहेको र जनअपेक्षा वमोजिम विकास कार्यलाई तिव्र गतिमा संचालन विकास साझेदार संस्थाहरुसंग वैठक गरिएको बताए ।


नेपालमा रहेका मित्रराष्ट्रका विकास साझेदार संस्थाहरुको बैठकले कर्णालीको विकासका लागि अन्तराष्ट्रिय लगानी जुटाउन मार्गप्रशस्त गरेको मन्त्री ज्वालाको जिकिर थियो ।


विकास साझेदारहरुको वैठकमा प्रदेश सरकार र साझेदार संस्थाहरुको प्राविधिक जनशक्ति रहने गरि विज्ञ वैंक स्थापना गर्ने सहमति भएको पनि मन्त्री ज्वालाले बताए । मन्त्री ज्वालाका अनुसार विज्ञ वैंकले कर्णाली प्रदेश सरकारको परियोजना वैंक तयार गर्ने र प्राथमिकताका आधारमा विकास कार्यलाई अगाडि बढाईने छ ।


विकास साझेदारहरुको बैठकमा कर्णाली प्रदेश सरकारको तर्फवाट मुख्यमन्त्री महेन्द्रवहादुर शाही, आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वाला, आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारी, भुमि व्यवस्था तथा कृषि सहकारी मन्त्री विमला केसी, समाजिक विकास मन्त्री दल रावल, साझेदार संस्थाहरुको तर्फबाट यूरोपियन यूनियनका ओभिडु मिक, विश्व बैंकका फारिस हाडाड, क्रिश्चियन इगन र सइद खादेद असन, डिएफआईडीका रुरिक मार्सडेनलगायत सहभागीता रहेको थियो ।

 

२०७५ असोज २३ मा प्रकाशित

प्रतिकृया दिनुहोस्