Hilsa Yatayat

हिल्सामा अध्यागमन कार्यालय स्थापना

रत्न भण्डारी (रबिन)/हुम्ला
हिल्सामा अध्यागमन कार्यालय स्थापना

२३ असोज । हुम्ला जिल्लाको हिल्सा नाकामा अध्यागमन कार्यालयको उद्घाटन गरिएको छ । गृह मन्त्री रामबहादुर थापाले हिल्सामा अध्यागमन कार्यालयको उद्घाटन गरेका हुन् । कार्यक्रम गृहमन्त्री थापाले नाका कर्णाली प्रदेशको मात्र नभई नेपाल कै ब्यापारिक मेरुदण्ड भएको बताए । मंगलबार बिहान काठमाडौंबाट नेपाली सेनाको हेलिकोप्टरमा आएर गृह मन्त्री थापाले हिल्सामा सो कार्यालयको बिधिवत रुपमा उद्घाटन गरेका हुन्।

 

कार्यक्रममा गृहमन्त्री थापाले देशको ब्यापारिक बिकास र सम्बृद्धिमा यो नाकाले निकै उपलब्धी हाँसिल गर्ने बताए । देशको बिकास को लागि ब्यापारिक नाकाको महत्वपुर्ण स्थान रहने बताउदै थापाले मित्र राष्ट्र चीनको बिकास र सम्बृद्धि पनि यसैमा निर्भर रहेको बताए । हिल्सा नाका भारतसंग पनि जोडिने मात्र नभई चीन हुँदै युरोपसंग पनि जोडिने भएको कारण यसको आफ्नै महत्व रहेकोले अब हुम्ला जिल्ला र कर्णाली प्रदेशले सम्बृद्धिका लागि आत्तिनु नपर्ने उनको भनाइ छ।

 

कार्यक्रममा कर्णाली प्रदेशका मुख्य मन्त्री महेन्द्र बहादुर शाहीले ब्यापारिक नाकाको ढोका अध्यागमन कार्यालयको स्थापना संगै औपचारिक रुपमा खुलेको बताउदै यसलाई बिस्तार गर्न अझै बाँकी रहेको र यसलाई प्रदेश सरकारले पुर्णता दिने बताए ।

 

यो कार्यलाई पुर्णता दिन यस आर्थिक बर्षमा कर्णाली प्रदेश सरकारले भन्सार, अध्यागमन, क्वारेनटाईन, सीमा प्रहरी बलका संयुक्त कार्यालय सचालनको लागि पुर्बाधार बिकास गर्न चार करोड बजेट बिनियोजित गरेको बताउदै मुख्य मन्त्री शाहीले पुर्बाधार संरचना निर्माणमा बजेटको अभाब भए थप बजेटको ब्यबस्था गरेर पनि यसै आर्थिक बर्षमा निर्माण कार्य पुरा गर्ने बताए।

 

यस अघि अध्यागमनको काम सिमा प्रहरी चौकी हिल्साले गर्दै आएकोमा आजबाट अध्यागमन कार्यालयबाटै सुरु भएको छ । हाललाई एक जना नायव सुब्बालाई कामु बनाएर बुधबारबाट कार्यालय संचालन भएको छ ।

 

उद्घाटन कार्यक्रममा कर्णाली प्रदेशका आन्तरिक मामिला मन्त्री नरेश भण्डारी, सामाजिक बिकास मन्त्री दल रावल, हुम्ला जिल्लाका सांसद छक्क बहादुर लामा, प्रहरी महा निरीक्षक सर्बेन्द्र खनाल, शसस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल, राष्ट्रिय अनुसन्धानका मुख्य अनुसन्धान निर्देशक दिलीप रेग्मी लगाएतको उपस्थिती रहेको थियो ।

२०७५ असोज २३ मा प्रकाशित

प्रतिकृया दिनुहोस्