Hilsa Yatayat

आज घटस्थापना, दशैंघरमा विधिवत् राखियो जमरा

रासस
आज घटस्थापना, दशैंघरमा विधिवत् राखियो जमरा

२४ असोज । गोरखा कालिका मन्दिरको दशैं घरमा विधिपूर्वक जमरा राखिएको छ । घटस्थापनाको दिन बुधबार बिहान ७ बजेर १५ मिनेट तीन घडी ११ पलामा जौको जमरा राखिएको हो ।

 

परम्परा अनुसार बिहान सबेरै (नाडीको रौं देखिने बेला) भुकभुके उज्यालोमा देवी भगवतीको सवारी गराएपछि कालिका मन्दिर र गोरखनाथ गुफामा जमरा राखिएको गोरखकाली मन्दिरका मूल पुजारी प्रदीप योगीले जानकारी दिए ।

 

कालिका भगवती मन्दिरमा चार पाथी र गोरखनाथ गुफामा एक पाथी जौको जमरा राखिएको गोरखा दरबार हेरचाह अड्डाका सूचना अधिकारी रामेश्वर कट्टेलले बताए ।

 

यसअघि मूल दरबारको कैलाश कोठाबाट भित्री बाटो हुँदै देवी भगवतीको सवारी गराउने प्रचलन रहँदै आएको भए पनि भूकम्पले मूल दरबारमा पूर्ण क्षति पुगेकाले कैलाशकोठाको थपना गरी देवीको सवारी गराइएको उनले जानकारी दिए ।

 

जमरा राख्नुअघि मूलदरबारमा नै पानी घडी थपना गर्नुपर्ने प्रचलन रहेको भए पनि दरबार जीर्णेद्धारका लागि भत्काइएकाले नयाँ स्थानमा पानी घडी थपना गरी घटस्थापना गरिएको हो ।

 

गोरखाको गोरखकाली मन्दिरमा जमरा राखेपछि मात्र देशभरका हिन्दू धर्मावलम्बीले जमरा राख्छन् भन्ने धार्मिक मान्यता रहँदै आएको छ । बडादशैंमा लगाइने टीकासँगै जमरा लगाउँदा शुभ हुने विश्वासका कारण प्रत्येक वर्ष दशैंमा जमरा राखिन्छ ।

 

प्रतिपदा शुरु भएसँगै कालिका मन्दिरमा नियमितरुपमा कालो बोका बलिदिने प्रचलन रहँदै आएको छ । यसपटक दशैं अवधिभर ३२ बोका, १२ भेडा, ५ सुँगुर, १ सतारसहित १५ राँगा र ९ वटा कुखुरा बली दिने उनले बताए ।


यसअघि राजसंस्था रहँदासम्म मन्दिरमा १४० भेडा बोका र ८४ राँगा बलि दिने प्रचलन थियो । राजसंस्थाको अन्त्य भएसँगै गोरखा दरबार हेरचाह अड्डामा दशैं पूजाका लागि आवश्यक बजेटमा कटौती हुँदै आएकाले पशुपंक्षीको बलीसमेत घटाइएको छ । चालू आर्थिक वर्षमा बडादशैंका लागि ९ लाख विनियोजन भएको कट्टेलले बताए ।

२०७५ असोज २४ मा प्रकाशित

प्रतिकृया दिनुहोस्