Hilsa Yatayat

सुर्खेतका कलाकार जसले जिते लगातार २२ पटक राष्ट्रिय पुरस्कार

कुलमान नेपाली
सुर्खेतका कलाकार जसले जिते लगातार २२ पटक राष्ट्रिय पुरस्कार
२०२२ साल असार २६ गते सुर्खेतको वीरेन्द्रनगर ७ मा जन्मेको हुँ । पाँच भाईबहिनीमध्ये म कान्छो हुँ । बुवाको नाम गगनबहादुर र आमा जुनकिरी नेपाली हो ।
 
४० सालमा श्री कृष्ण संस्कृत माध्यामिक विद्यालयबाट एसएलसी पास गरें । सानैदेखी कलाक्षेत्रमा रुची थियो । हरेक काममा सक्रिय हुने स्वभाव छ । परिवारबाट मलाई यो क्षेत्रमा लाग्न पटक्कै सहयोग थिएन । म भागेरै विभिन्न कार्यक्रममा जान्थें । 
 
९ कक्षा पढ्दा नै म राष्ट्रिय कलाकारको रुपमा स्थापित भइसकेको थिएं । शिक्षक लक्ष्मीनारायण पौडेलले मलाई धेरै सहयोग गर्नुभयो । यस्तै चुडामणी रेग्मी र बाल पुस्तकालय इत्रामका संस्थापकहरुले मलाई हौसला दिनुभयो । 
 
मलाई भलिबल र फूटबल दुबैमा रुची थियो । भेरी अञ्चलबाट राष्ट्रिय स्तरको भलिबल र फूटबल खेलमा सहभागी हुने मौका मिल्थ्यो । हाम्रो टीम धेरै पटक प्रथम भएको थियो । खेल यात्रा ४२ सालसम्म जारी रह्यो । 
 
नाचेर ६ पटक सम्म नेपाल प्रथम भएको छु । ३९ देखी ४४ सालसम्म । जसलाई टेकराज भारतीले निर्देशन गर्नुभएको थियो । म आफैले निर्देशन गरेका नृत्य भने २२ पटकसम्म लगातार नेपाल प्रथम भएका छन् ।
 
मेरो निर्देशनमा कलाकारिता सिकेका अहिले नेपालका उत्कृष्ट कलाकार तथा निर्देशक छन् । नृत्य निर्देशक शंकर बिसी, चलचित्र निर्देशक दिपाश्री निरौला, अर्जुन सोनाम, नन्दा बस्याल, टिका पुन, चन्द्र मन्दिर, जानकी तारामी लगायत दर्जनौं कलाकार राष्ट्रिय स्तरमा पुगेका छन् । मलाई यसमा गर्व छ । मैले साँस्कृतिक संस्थान, राष्ट्रिय नाचघर र नेपाल प्रज्ञा प्रनिष्ठानका वरिष्ठ नृत्य कलाकारहरुलाई पनि निर्देशन गरको छु । 
Kulman 1
मैले निर्देशन गरेको ३ वटै फिल्म नेपाल प्रथम भए । अब बेली भन्ने फिल्म सुटिङ हुँदैछ । जसको निर्माता डाक्टर सिं गुरुङ हो । आशा छ त्यो पनि टप हुन्छ । 
 
म नृत्य निर्देशक मात्रै होइन लोकगीत संकलक तथा संगीतकार पनि हो । ६० देखी ६३ सालसम्म भएका राष्ट्रिय स्तरको लोकगीत प्रतियोगितामा म ३ पटक नेपाल प्रथम भएको छु । 
 
कलाकारितामा निरन्तर लाग्ने प्रण र साधना नै मेरो सफलताको राज हो । मलाई सबै अवसर समान लाग्छ । यो ठूलो काम यो सानो काम भन्ने कहिल्यै लागेन । जस्तोसुकै परिस्थितिको पनि सामना गर्दै अघि बढ्दा सफलता मिलेको हो । 
 
आफूलाई संस्कृतिकर्मी भनेर चिनाउन चाहन्छु । कला क्षेत्रको संरक्षण गर्ने अभियन्ता हुँ । पछिल्लो समय कला क्षेत्रमा विभिन्न विकृती र छाडापन आएको छ । त्यो मलाई पटक्कै मन पर्दैन । राज्यले पनि कला क्षेत्रलाई माया गर्न सकेको छैन । 
 
मलाई नेपालमा बजाइने सबैखाले बाजा बजाउन आउँछ । सबैखालका लोकभाका आउँछ । देउडा, कौडा, ¤याली जस्ता कर्णाली प्रदेशमा प्रचलित सबै नृत्य आउँछ । तर, खोई राज्यले मेरो क्षमतालाई प्रयोग गरेको? 
 
वास्तविक कलाकार भन्दा पनि कलाक्षेत्रमा व्यापारीको विगविगी छ । अग्रज श्रष्टाको सम्मान न राज्यले गरेको छ न त कलाकारले नै । यस्तोमा मलाई एकदमै दुःख लाग्छ । नेपाली लोक नृत्य अहिले प्राथमिकतामा छैन । सबैले छ्या भन्ने अवस्था सिर्जना भएको छ ।
 
पछिल्लो समय तीजमा पुरुष पनि नाच्ने गाउने गर्छन् । तीजमा पुरुष नाच्ने होइन । तीजमा त महिलाका दुःख, सुख, अधिकार र समाज परिवर्तनका कुरा आउनुपर्छ । 
 
जिन्दगीलाई फर्केर हेर्दा चाहेको कुरा पूरा नभएको महसुस हुन्छ । मैले धेरै गर्न सक्छु । देउडा, कौडा, न्याउली, हलेदी, धामी नाच, ठाडी भाका जस्ता थुप्रै नाच मलाई आउँछ । मेरो क्षमतालाई राज्यले चिन्न सकेको छैन । 
 
राज्यले कलाकारको  संरक्षण गर्न सकेको छैन । आज मैले जानेको सीप ५ वर्षपछि लोप हुन सक्छन् । जसका कारण राज्यलाई नै घाटा हुन्छ । हाम्रा मौलिक कला संस्कृति देखाएर पर्यटनको विकास गर्न सक्छौं । यतातिर पनि राज्य नतमस्तक छ । कलाकारको सम्मान गर्न र कला संरक्षण गर्न प्रत्येक प्रदेशमा प्रज्ञा प्रतिष्ठानको स्थापना गरिनुपर्छ । वास्तविक कलाकारको पनि पहिचान हुनु जरुरी छ । 
Kulman 3
मेरो वास्तविक जीवन कथा लेख्ने धोको छ । जसबाट भावी पुस्ताले केही सिक्ने मौका पाउन् । विभिन्न क्षेत्रबाट पाएका झण्डै ६ सय प्रमाण पत्र राख्ने ठाउँ पनि छैन । यसलाई कसरी व्यवस्थापन गर्ने भन्ने चिन्ता छ । 
 
मेरा १ छोरा र १ छोरी छन् । छोरा शिव संगीत पनि कलाकार हुन् । छोराले सुगम संगीतका करिब ३५ एल्बममा स्वर दिएका छन् । छोरी पनि स्नातकोत्तर पढ्दैछिन् । श्रीमती सीता नेपाली गृहणी हुन् । मलाई बुझ्ने मेरी श्रीमती नै हुन् । म जहाँ गएपनि उनी घर धानेर बस्छिन् । परिवारमा सन्तुष्टी छ । 
 
मैले ४५ साल देखी श्री कृष्ण संस्कृत उच्च माध्यामिक विद्यालयमा शिक्षण गर्दै आएको छु ।  कक्षा ८/९ का भाईबहिनीलाई सामाजिक तथा नैतिक शिक्षा अध्यापन गराउँदै आएको छु । मलाई जानकारीनै नगराई विद्यालयले चौकुने गाउँपालिकाको घाटगाउँको कुमाला भन्ने ठाउँमा सरुवा गरिदियो । त्यहाँ जाँदा भीरबाट खसेर धन्नै मरिएन । 
 
त्यो मेरो जीवनको दुःखद क्षण थियो । जसलाई म भुल्नै सक्दिनँ । त्यहाँ ५/६ महिना तलब पनि नलिएर बसें । त्यो क्षेत्रमा जानै नसक्ने भएपछि श्रीकृष्ण संस्कृत माध्यामिक विद्यालयमानै अध्यापन  गराइरहेको छु । 
 
४५ सालमा राजा वीरेन्द्र शाहको हातबाट गोल्ड मेडल लगाउन पाउँदा औधी खुशी लागेको थियो । 
 
मेरो योग्यताको कुरामा धेरैलाई चासो होाला । मैले विद्यालय शिक्षा त एसएलसी पास गरेको छु । तर कलाक्षेत्रको भने म विज्ञ नै हो । नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान र सांस्कृतिक संस्थान राष्ट्रिय नाचघरले लोक नृत्य विज्ञको प्रमाण पत्र दिएको छ । म लोक नृत्य विज्ञ पनि हो । 
 
म बागीना समूहमा पनि आवद्ध छु । ५० सालमा बागीना समूहको स्थापना भएको हो । त्यसमा धेरै सुर्खेती कलाकारको योगदान छ । विशेषगरी गणेश गौतमको ठुलो योगदान छ । यस्तै प्रेददेव गिरी, गंगा केसी, प्रकाश पौडेल, यामलाल आचार्य, ललीत सिंजाली र म लगायत धेरै सुर्खेती कलाकारहरुले सुर्खेतमा बागीना समूहको स्थापना गरेको हो ।
 
बागीना समूहको उद्धेश्य यस क्षेत्रमा भएका श्रष्टाहरुलाई राष्ट्रिय स्तरमा लैजान सहयोग गर्नु हो । यो बाध्यबादन, गीत, नाच र नाटकलाई संरक्षण गर्नको लागि कलाकारहरुले स्थापना गरेको हो । 
 
बागीना समूहको स्थापनाको उद्धेश्य पूरा हुन सकेको छैन । पछिल्लो समय यसमा राजनीतिकरण भएको छ । कलाकारहरुबीच फाटो आएको छ । संगसंगै आर्थिक अवस्था समेत कमजोर भएकोले कलाकारहरु छिन्नभिन्न भएका छन् । 
 
कलाकारितालाई पेशाको रुपमा अवलम्वन गर्न चाहनेहरुलाई बागीनाले सहयोग गर्न सक्नुपर्छ । कलाकारको सम्मान गर्न नसक्ने संस्था कलाकारको हितमा पनि हुँदैन । 
 
कलाकारको लागि पनि राज्यले मापदण्ड बनाउनुपर्छ । विकृती ल्याउनेलाई कारवाही गरिनुपर्छ । राज्यकै सकृयतामा लोक विधा संरक्षण होस् भन्न चाहन्छु । मध्यपश्चिमाञ्चल विश्वविद्यालयले लोकवार्ता विज्ञान विषयमा स्नातकोत्तर कक्षा सञ्चालन गर्न लागेको कुरा सुनेर खुशी लागेको छ ।
 
(प्रस्तोता : सीता वली)
२०७५ असोज २४ मा प्रकाशित

प्रतिकृया दिनुहोस्