Hilsa Yatayat

कर्णाली संसद आज पनि अवरुद्ध

सेरोफेरो/सुर्खेत
कर्णाली संसद आज पनि अवरुद्ध

२४ असोज । गत साउन २५ पछि स्थगित भएको कर्णाली प्रदेश सभा बैठक आज पनि स्थगित भएको छ ।


प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरुले तीनवटा माग राख्दै संसद अवरुद्ध गरेपछि बैठक बस्न सकेन । उनीहरुले २३ गते पनि संसद अवरुद्ध गरेपछि बैठक बस्न सकेको थिएन ।


कर्णाली प्रदेश सरकारले रातो किताब ननिकालेको, प्रदेश सभा सदस्यहरुको सेवासुविधा सम्बन्धी विधेयक नल्याएको र यती लामो समयसम्म पनि सरकारले सांसदहरुलाई काम दिन नसकेकोले भन्दै यी मागहरुमा सकारको ध्यानाकर्षण गराउँदै संसद अवरुद्ध गरेको कर्णाली प्रदेशको प्रमुख प्रतिपक्षी दलका नेता सांसद जिवनबहादुर शाहीले बताए ।


उनले भने ‘रातो किताब अहिले सम्म आएको छैन । कर्णालीको विकासको मेरुदण्ड रातो किताब हो ।’


सरकारले कर्णाली गरिब छ मात्रै भन्ने तर हाईफाई भने धेरै गर्ने गरेको आरोप लगाउंदै उनले थपे ‘कानुन नबनाई फजुल खर्च गर्ने कर्णाली सरकारले जनता तथा प्रदेश सभा सदस्यलाई मेरो क्षेत्रमा कती बजेट परेको छ भन्ने जानकारी दिनको लागी पनि रातो किताब ल्याउनुपर्छ ।’


आंफुहरुले कर्णाली सरकारलाई धेरै विश्वास गरेको र सरकारका तर्फबाट बेवास्था भएकोले आंफूहरुका माग पुरा नभए सम्म संसद अवरुद्ध गरिरहने शाहीको भनाई छ ।


संसद अवरुद्धका विषयमा कर्णाली प्रदेशका सभामुख राजबहादुर शाहीले प्रतिपक्षीका तीन वटा मागमा कर्णाली सरकारले छलफल भईरहेको जानकारी दिए ।


‘आजपनि हामीहरु प्रतिपक्षीसंग छलफलमा बस्यौं तर छलफलको टुङ्गो लागेन । भोली पनि प्रतिपक्षसंग छलफल गर्ने तयारी छ ।’ उनले भने ।


उनका अनुसार भोली सहमती भए २६ गते संसद चल्ने छ ।

२०७५ असोज २४ मा प्रकाशित

प्रतिकृया दिनुहोस्